पृथ्वीनारायण शाहका उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक: राष्ट्रपति भण्डारी

३०१औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शाहको एकीकरण अभियानको आधारभूमिमा उभिएरै लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा तय गर्न सफल भएको उल्लेख गरेकी छन्।

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहका दिव्य उपदेश अहिलेको सन्दर्भमा पनि उत्तिकै मननयोग्य रहेको बताएकी छन्। 

शाहको ३०१औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा दिएको शुभकामनामा राष्ट्रपति भण्डारीले उनको एकीकरण अभियानको आधारभूमिमा उभिएरै सार्वभौम, स्वतन्त्र, समावेशी, लोकतान्त्रिक गणतन्त्र नेपालसम्मको यात्रा तय गर्न सफल भएको उल्लेख गरेकी छन्। 

“स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न, जनतालाई अधिकार सम्पन्न बनाई राज्यसँग अपनत्वको भाव कायम राख्न तथा कुशल परराष्ट्र सम्बन्ध सञ्चालनमा हामीले पृथ्वीनारायण शाहका उपदेशलाई सर्वकालिक सन्दर्भ सामग्रीका रूपमा लिन सक्छौँ”, राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ।

छरिएर रहेका साना राज्यको एकीकरणबाट आधुनिक नेपालको निर्माण हुनु इतिहासको विशिष्ट एवं गौरवपूर्ण अध्याय भएको उनको भनाइ छ। राष्ट्रिय एकता दिवसले मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र राष्ट्रिय एकतालाई अक्षुण्ण राखी जनताको सुख र समृद्धि हासिल गर्न प्रेरणा प्राप्त हुने विश्वास पनि राष्ट्रपतिले व्यक्त गरेकी छन्।