सेयरबजारमा ११ महिनायताकै उच्च कारोबार

कारोबारमा आएका २५४ कम्पनीको २ करोड ८ लाख ४३ हजार कित्ता सेयर ७ अर्ब ६५ करोड ८८ लाख २३ हजार रुपैयाँ बराबरको किनबेच भएको छ।

काठमाडौँ– नेप्से परिसूचकमा करेक्सन आएको छ। कारोबारको शुरूआतमा ६५ भन्दा बढी अंकले बढेको नेप्से अन्तिम समयमा आएर घटेको हो।

मंगलबार नेप्से परिसूचक २१.३५ अंक घटेर २१९०.४२ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.७५ अंकले घटेको छ भने फ्लोट इन्डेक्स १.३२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.१७ अंकले घटेको छ।

कारोबारमा आएका २५४ कम्पनीको २ करोड ८ लाख ४३ हजार कित्ता सेयर ७ अर्ब ६५ करोड ८८ लाख २३ हजार रुपैयाँ बराबरको किनबेच भएको छ। नेप्सेमा गिरावट आए पनि कारोबार रकम भने ११ महिनायताकै उच्च भएको छ।

नेप्सेका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने २ उपसमूहको परिसूचक बढेको हो। जसमा बैंकिङ र म्युचुअल फन्ड उपसमूहको बढेको छ। त्यस्तै, वित्त उपसमूहको परिसूचक ४.३१ प्रतिशत, होटल तथा पर्यटन उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी घटेको छ।

नेप्से परिसूचक घटे पनि बाराही हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, सिंगटी हाइड्रो इनर्जी र विन नेपाल लघुवित्तको सेयरमूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ।

यता, तारागाउँ रिजेन्सी होटलको सेयरमूल्य करिब ९ प्रतिशत घटेको छ। ङादी ग्रुप पावर कम्पनीको २१ करोडभन्दा बढीको सेयर कारोबार भएको छ।