नेमकिपा र राजमोले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

नेमकिपा र राजमोले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावलाई समर्थन नगर्ने भएका छन्।

काठमाडौँ– नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चा पार्टी (राजमो) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावलाई समर्थन नगर्ने भएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेमकिपाका प्रेम सुवालले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने जानकारी गराए। नेता सुवालले नेपाल–भारत सीमालाई नियमन गर्न, ढिलासुस्ती र भ्रष्टाचार अन्त्य गर्न, काठमाडौँ उपत्यकामा भएको धुलो धुवाँ न्यूनीकरण गर्न र यहाँका सम्पदा र संस्कृतिको जोगाउने कार्यलाई सरकारले प्राथमिकता दिनुपर्ने बताए।

त्यस्तै, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारका प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सुन्दा कर्णप्रिय रहे तापनि कार्यान्वयनमा कठिनाइ भएको बताए। उनले भने, “हामी सरकारलाई समर्थन र मत दिन सक्दैनौँ, निरन्तर राष्ट्र, राष्ट्रियता र स्वाभिमानको मुद्दालाई उठाइरहन्छौँ।"