मामाचेला फुपूचेला बिहेका स्वास्थ्य समस्या: टुटानदेखि ह्याब्सबर्गसम्म

जापानका राजपरिवारमा कुनै समय निश्चित चार-परिवारभित्र मात्रै बिहेबारी गर्ने चलन थियो। झन्डै आठ सय वर्षसम्म चलेको यो चलनले राजपरिवारका सदस्यको सरदर उचाइ अरू जापानीको भन्दा कम भयो।

हामी मानव प्रजाति आफ्नो विकाश क्रममा धेरै खाले विनाशहरूको सामना गर्दै यहाँसम्म आइपुगेका हौँ। प्राइमेट, बाँदरहरूको सह-पुर्खाबाट झन्डै ५० लाख वर्षअघि छुटेका हामी प्रकृतिका अन्य कतिपय प्रजातिको तुलनामा धेरै नयाँ छौँ। टोबा ज्वालामुखी र जलवायुको परिवर्तनको आनुवंशिक (जेनेटिक) बोटलनेक, हिमयुगको कठोरता र अनेक भौगोलिक असुविधा र सिमानाहरू सामना गर्दै हामी आधुनिक मानिस बनेका हौँ। हाम्रो प्रजाति–होमो सेपिएन्स अस्तित्वमा आएको झन्डै तीन लाख वर्ष अघि मात्रै हो।

इन्डोगेमीले खुम्च्याएको जेनेटिक विविधता
बाहिरी कठोरता सामना गर्दै हामी यहाँसम्म आइपुग्यौँ, तर मानव जातिले आफैभित्र अनेकन् पर्खालहरू ठड्याएर, जेनेटिक विविधता संकुचित बनाउन थप योगदान पुर्‍याएका छौँ। मानिसको जेनेटिक विविधता अरू जनवारभन्दा किन कम भयो भन्नेबारे पछिल्लो लेखमा लेखेको छु। सभ्यता विकाश हुन थाल्दैबाट नै विभिन्न आवरणमा आफ्नो वंश र समुदायको शुद्धता बचाउन निरन्तर चलिआएको यो प्रचलनले विभिन्न आनुवंशिक रोगहरूको खतरा पनि बढाएको हुन्छ।

आदिम युगको धेरै समय सिकार गरेर जीवन गुजारे हाम्रा पुर्खाले। लामो समय यी दायराहरू बिना नै हाम्रो विकाश क्रम चलिरहेको थियो। टर्कीको टोरस पर्वत वरपर बस्ने कुनै सिकारी समूहकी एक महिलाले झन्डै पन्ध्र हजार वर्षअघि पहिलो पटक खेती गर्न सिकेपछि मात्रै 'सभ्यता'को सुरुवात भयो। सभ्यताको विस्तारसँगै कुल, धर्म, जात, समुदाय वा राजवंशसँग 'सम्बन्ध' राख्न खोज्ने चाहना हाम्रो स्वभाव बन्यो।

हामीले आफ्नै कूलभित्र, आफ्नै जातभित्र, आफ्नै समुदाय र धर्मभित्र विवाह (इन्डोगेमी) गर्न थाल्यौँ। प्रकृतिको अनियमितताले बढाउने हाम्रो जेनेटिक विविधतालाई, समाज विकाशसँगै बनेका यस्ता सीमाहरूले संकुचित पार्दै गयो। तर समुदाय वा वंशको पहिचान र शुद्धता जोगाउन सुरु भएको परम्परा, समय क्रमसँगै जेनेटिक कारागारमा परिवर्तित भएको छ। हाम्रो विकास क्रमको विरोधाभास–हामी जति भौगोलिक रूपमा फैलियौँ, हामीले उत्ति नै भौगोलिक, सामाजिक र सांस्कृतिक संरचना आदि विभिन्न आवरणमा हाम्रो जिनहरूको विविधता (जेनेटिक डाइभर्सिटी) लाई अझै संकुचित बनाउँदै गयौँ। यसले मानव जातिको विकाशमा क्षति पुर्‍यायो। 

प्राचीन सभ्यताहरूमा राजा बन्ने चलन सुरु हुँदै गर्दा, राजवंशको शुद्धता बचाइराख्न आफ्नो परिवारभित्र विवाह गर्ने परम्परा पनि सुरु भयो। पहिले राजाहरू र पछि सर्वसाधारणले पनि सुरु गरेको आफ्नै परिवार वा नजिकका नातेदारबीच विवाह गर्ने यस्तो प्रथाले पहिलेबाट नै खुम्चिएको हाम्रो जेनेटिक विविधतालाई अझै खुम्च्यायो, जसले कतिपय जेनेटिक रोगहरू देखिए।

टुटान खामुनको चिहान र प्रमाण
प्राचीन इजिप्टबारे रुचि हुने कतिपयले 'टुटान खामुन'को नाम सुनेको हुनुपर्छ। टुटान छोटो समय इजिप्टका राजा (फारो) बनेका थिए। उनी बितेपछि उनको ममी (लामो सयसम्म नबिग्रने गरेर राखिएको शव) राखिएको चिहान झन्डै चार हजार वर्ष मरुभूमिमा बन्द थियो। पुरातत्वविद्हरूले सन् १९२२ मा 'जस्ताको तस्तै' भेट्टाएका थिए। लुटेराहरूले नछोएको फारोहरूको पहिलो चिहान थियो उनको चिहान। त्यस कारण पनि उनको नाम बढी सुनिएको हो। इजिप्टका अरू सबै राजा र फारोहरू भन्दा उनको नाम बढी सुनिनुको पछाडि गज्जबको प्राकृतिक संयोग जोडिएको छ।

प्राचीन इजिप्टबारे खोज-अनुसन्धान गर्नेहरू त्यहाँको झन्डै तीन हजार पुरानो सभ्यतालाई तीन मुख्य समयमा बाँड्छन्–पुरानो, मध्य र नयाँ। इजिप्ट भन्ने बित्तिकै हामी त्यहाँका पिरामिड सम्झन्छौँ। इजिप्टको पहिलो-राज्य (वर्ल्ड किङडम) को केही शताब्दीसम्म मात्रै फारोहरूलाई मृत्युपछि पिरामिडमा राख्ने गरिन्थ्यो। तर मध्य-राज्य (मिडल किङडम) को समयदेखि पिरामिडका लुटेराहरूले वाक्क बनाए। त्यो बेलाबाट नै पिरामिडहरू भएको स्थान (गिजा पठार) बाट निकै टाढा 'भ्याली अफ किङ्स' (राजाहरूको उपत्यका) मा मरेका राजाहरूलाई राख्ने चलन सुरु भइसकेको थियो। १८/१९ वर्षको उमेरमै बितेका टुटान प्राचीन इजिप्टको अन्तिम युग, नयाँ-राज्य (न्यु किङडम) युगका फारो हुन्।

एउटै परिवारमा बिहे गर्दा रोग सर्नसक्ने सम्भावना दर्शाउने रेखाचित्र।

अधिकांश फारोहरूको चिहान त्यसपछिका चिहान लुटेराहरूबाट बच्न सकेका थिएनन्। भुगर्वविदहरूले फारोहरूका चिहान भेटाएर खोतल्दा चिहानका ममी र चढाइएका अरू सबै सामान लुटेराहरूले पहिल्यै लगिसकेका हुन्थे। टुटानको शव पनि 'राजाहरूको उपत्यका'मा राखिएको थियो। टुटान बितेको केही वर्षपछि नाइलमा विशाल बाढी आयो, राजाहरूको उपत्यकालाई पहिलो पटक पानीले डुबायो। त्यही बाढीको कारण मात्रै चार हजार वर्ष बन्द टुटानको चिहान, बिसौँ शताब्दीको सुरुवातसम्म कसैले खोल्ने मौका पाएनन्। 

चिहानभित्र उनको ममिमात्रै थिएन, चढाइएका अरू धेरै सामग्री थिए, सबै राम्रोसँग संग्रहित। टुटानको शव र चिहानमा भेटिएका अरू सामाग्रीको अध्ययन गर्दा इजिप्टको नयाँ वंशको बेला राजपरिवारमा 'दैवी-वंश'को शुद्धता बचाइराख्न आफ्नै परिवारभित्र विवाह गर्ने चलन (इनब्रिडिङ) हुने गर्थ्यो भन्ने ठोस प्रमाण पाइएको पहिलो पटक थियो। टुटानको शवको परीक्षण गर्दा उनका बाबुआमा सहोदर दाजु बहिनी थिए भन्ने थाहा भयो। सानै उमेरमा बितेका टुटानको खुट्टा जन्मजात नै कमजोर थिए, उनको शरीरका हड्डीहरू असामान्य थिए र शरीरमा अरू कमजोरी पनि थिए।

इजिप्टको नयाँ समयका शासकहरूमा लामो समयसम्म आफ्नै परिवारभित्र बिहेबारी गर्ने चलन रहेछ भन्ने प्रमाण हुन् टुटान। राजवंशको ‘दैवी शुद्धता’ बचाइराख्न पुस्तैनी चलेको यो प्रथाले अरू फारोहरूका शरीरमा पनि अनेक शारीरिक विकार आएको भेटिन्छ। लामो समय चलेको इन्ब्रिडिङको परिणामस्वरूप आएका आनुवंशिक विकारहरूका कारण टुटान सानैमा बितेका रहेछन्। टुटानको चिहानमा उनकी बहिनी-श्रीमती र गर्भमै बितेका दुई छोरीहरूको ममी (शव) पनि भेटिएको थियो। ऊनीहरू तीनै जनामा टुटानमा झैँ र अरू धेरै जन्मजात विकारहरू थिए।

पछिका राजदरबारहरूमा पनि प्राचीन इजिप्टको ‘देवी वंश’ जोगाउने परम्परा पुगेको थियो। आजभन्दा झन्डै चार हजार वर्षअघि इजिप्टका फारोलाई जेनेटिक्सको ज्ञान थिएन। टुटानझैँ, इजिप्टको नयाँ राज्यका अरू धेरै फारो पनि जेनेटिक रोगहरूका कारण सानै उमेरमा बितेका थिए। प्राचीन इजिप्टको पतन हुनुमा जेनेटिक रोगहरूले पनि महत्त्वपूर्ण भूमिका खेलेको थियो। अलेक्जेन्डरले इजिप्ट जितेपछि शासन गर्न आएका ग्रिक (टोलेमी) शासकहरूले पनि फारोहरूको यो परम्परा जारी राखेको भेटिन्छ। टोलेमी वंशकी प्रख्यात रानी हुन् क्लियोपाट्रा। रोमका सम्राट जुलिएस सिजरले इजिप्ट र क्लियोपाट्रा दुबैलाई आफ्नो बनाएका थिए। क्लियोपाट्रालाई विवाह गर्नु अगाडी सिजरले क्लियोपाट्राको आफ्नै दाइ-श्रीमानलाई युद्धमा हराएका थिए।

कतिपय राजपरिवारको लागि बाँकी सबैभन्दा बढी महत्त्वपूर्ण वंशको शुद्धता हुन्थ्यो र यो अभ्यास/विश्वास धेरै पछिसम्मै थियो। इजिप्टको राजघरानाको त्यो चलन ग्रिक र रोमन सभ्यतामा पनि चलेको थियो। धेरैपछि युरोपमा आएका राजपरिवारमा पनि यस्तो चलन धेरै देखिन्छ।

एक समय स्पेनमा शासन गर्ने ह्याब्सबर्ग परिवार थिए, जसले राजपरिवारको 'दैवी शुद्धता' जोगाई राख्न आफ्नै परिवारभित्र बिहे गर्ने अभ्यास लामो समय कायम राखे। यिनीहरू बीचको अन्तर-प्रजननको असर सबै सन्ततिमा देखियो–बिग्रिएको चिउँडो, त्यसलाई 'ह्याब्सबर्ग ज' पनि भनिन्छ। इन्ब्रिडिङको कारण देखा पर्ने जेनेटिक रोगले बितेका चार्ल्स-तेस्रोसँगै यिनको राजकाज पनि नासिएर गयो।

युरोपमा मात्रै होइन, जापानका राजपरिवारमा पनि कुनै समय राजधानीका निश्चित चार-परिवार भित्र मात्रै बिहेबारी गर्ने चलन थियो। झन्डै आठ सय वर्षसम्म चलेको यो प्रयोगले राजपरिवारका सदस्यको सरदर उचाइ अरू जापानीको भन्दा कम भएको महसुस उनीहरूले दोस्रो विश्वयुद्ध पछि मात्रै महसुस गरेका थिए। त्यसपछि मात्रै राजपरिवारका सदस्यहरूलाई सकेसम्म ती परिवारभन्दा बाहिर बिहे गर्न प्रोत्साहन गर्न थालियो।

एउटै परिवारमा बिहे गर्ने प्रचलनका कारण बिग्रेको चिउँडोसाथ जन्मेका स्पेनका राजा चार्ल्स दोस्रो।

राजकीय वंशको 'शुद्धता' बचाउन थालिएको प्रचलन राजदरबारमा मात्रै सीमित थिएन। हामीले देखिरहेको एउटै धर्म, जात वा समुदाय वा गोत्र-वर्ण-नक्षत्रहरूको समीकरण मिले मात्रै विवाह गर्न हुनेलगायत सामुदायिक मान्यता यसैका अवशेष हुन्। इन्डोग्यामी अथवा एउटै जात, धर्म वा समुदायमा मात्रै विवाह गर्ने चलन/सभ्यता क्रमशः समाजमा गहिरिँदै गयो। सामाजिक पहिचान र परिवारको शुद्धता जोगाउन सुरु भएको यस्तो अवैज्ञानिक परम्पराले मान्छेमा रोगहरूसँग लड्ने क्षमतामा ह्रास ल्याउन सबैभन्दा महत्त्वपूर्ण भूमिका खेल्यो।

आफन्तबीच बिहेबारी हुँदा वंशाणुगत रोगको खतरा
हाम्रो शरीरमा पुस्तैनी आउने जेनेटिक रोगहरूको रहस्य हाम्रो डीएनएमा लुकेको हुन्छ। हामी सबैमा लगभग उस्तै, तेइस जोडा क्रोमोजोम हुन्छन्। झन्डै साढे तीन करोड न्युक्लियोटाइड भएको डीएनएले बनेको क्रोमोजोमभित्र प्रोटिन बनाउने झन्डै तीस हजार जिनहरू हुन्छन्। कुन जिनले कहिले काम गर्छ, त्यसपछि बनाएका प्रोटिनहरूले नै शरीरका सबै खाले सेल, अङ्गहरूको प्रकार र शरीरका अनेक प्रक्रिया निर्धारण गरेको हुन्छ। सबै जिनले सधैँ काम गरिरहने भने होइन, शरीरका कुनै पनि कोषमा एकै पटकमा सरदर दश हजार जिनले मात्रै काम गर्छन्। 

जिनभित्र एलीहरूको दुई वटा प्रतिलिपि हुन्छन्, एक कपी आमाबाट आएको हुन्छ भने अर्कोचाहिँ बाबुबाट। जिनभित्रका यी एलीहरूमध्ये कसले, कहिले काम गर्ने पाउने, त्यसले जिनको काममा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। दुवै एलीहरूले एकै पटक काम विरलै गर्छन्, दुवै एलीहरूले उत्तिकै क्षमतामा काम गर्न पनि सक्दैनन्। एलीहरूको यो गुणलाई नै एलीहरूको दुई प्रकार–प्रभावकारी (डोमिनेन्ट) र अप्रभावकारी (रिसेसिभ) एली भनिन्छ। डोमिनेन्ट एलीले शरीरलाई हानी गर्न सक्ने जिनका रिसेसिभ एलीलाई अधिकांश समय दबाएर राखेका हुन्छन्।

टुटानको बिग्रेको शरीर र युरोपको ह्याब्सबर्गजस्तै शरीरमा देखिने अधिकांश आनुवंशिक रोग यिनै रिसेसिभ एलीहरू सक्रिय भएर देखा परेका हुन्। शरीरका लागि हानिकारक यी रिसेसीभ एलीले कहिले काम गर्ने भन्ने निर्धारण एलीहरूको वंशाणुगत प्रचारले नै गरेको हो। 

दुई असम्बन्धित परिवारहरूको विवाहबाट जन्मने सन्तानमा यस्तो रिसेसिभ रोग लाग्ने सम्भावना कम हुन्छ। आफ्ना काका-मामाका सन्तान (कन्स्याङ्ग्विन) बीच विवाह गर्ने चलन, मुस्लिम बाहुल्यता भएका कतिपय देश र हाम्रै कतिपय समुदायमा अहिले पनि छन्। नजिकका नातेदारबीच हुने विवाह वा निश्चित समुदाय भित्रमात्रै निरन्तर चलेको बिहेबारीका प्रचलनले गर्दा रिसेसीप एलीहरू देखा पर्छ र अरू रोगको सम्भावना बढ्छ। मामा, फुपू, काका, सानिमाका छोराछोरीमा विवाह भए तिनबाट जन्मने सन्तानमा रिसेसिभ जिनहरू देखा पर्ने सम्भावना करिब बिस प्रतिसतले बढ्छ।

युरोपका राजदरबारमा देखिएको हेमोफिलिया 
नजिकका नातेदारबीच हुने बिहेबारीका कारण देखा पर्ने रोगको एउटा उदाहरण 'शाही रोग' या 'हेमोफिलिया'लाई लिँदा हुन्छ। बेलायतकी रानी भिक्टोरियामा पहिलो पटक देखा परेको यो रोग, ऊनीपछि युरोपका सबै राजपरिवार पुगेको थियो। एक्स क्रोमोजोममा भएको रगत जमाउन चाहिने प्रोटिन बनाउने जिनहरूमा हुने गल्ती र म्युटेसनका कारण हुन्छ हेमोफिलिया। एक्स क्रोमोजोमको एउटा एलीमा मात्रै देखिने यो अप्रभावकारी उत्परिवर्तन (रिसेसिभ म्युटेसन) को असर दुई वटा एक्स क्रोमोजम भएका महिलामा देखिँदैन। रानी भिक्टोरियाले यो एली बोकेकी थिइन्, तर त्यसको असर ऊनमा देखिएको थिएन।

हेमोफिलिया गराउने म्युटेसन बोकेको रिसेसीभ एलीलाई भिक्टोरियामा भएका ती जिनको म्युटेसन नभएको डोमिनेन्ट एलीले दबाएर राखेको थियो। भिक्टोरियाले बोकेको यो रिसेसिभ म्युटेसन ऊनीपछिका सन्तानहरूमा सर्दै गयो। उनका छोराहरूमा हेमोफिलीया हुने सम्भावना ५० प्रतिशत, अनि छोरीहरूमा भिक्टोरियाजस्तै रोग बोक्ने सम्भावना ५० प्रतिशत थियो। हेमोफिलियाले गर्दा भिक्टोरियाको छोरा लियोपोल्ड सानैमा बिते। उनका छोरीहरूले युरोपका राजकुमारहरूसँग विवाह गरेका थिए, जसले गर्दा युरोपका धेरै राजदरबारमा यो शाही रोग पुग्यो। हेमोफिलियाजस्तै अरू धेरै जेनेटिक रोगहरू; सिस्टीक फाइब्रोसीस, थलासेमिया आदी पनि त्यसै गरी पुस्तान्तरण हुने गर्छन्। 

कन्स्याङ्ग्विन-विवाह प्रचलन भएको समुदायमा देखिने रोगको उच्चदर
मामा-फुपू, काका-सानीमाका छोराछोरी बीचको विवाहबाट जन्मने सन्तानमा यसरी नै अप्रभावकारी रिसेसिभ एली र तिनले बोकेका हानिकारक म्युटेसन देखा पर्छन्, जसको प्रभावले नै अधिकांश वंशाणुगत र जेनेटिक रोगहरू हुने गर्छ। एक्स-वाइ क्रोमोजोमको पुस्तान्तरण अरूको भन्दा अलिकति फरक हुन्छ, तर छोट्याएर बुझ्दा रिसेसिभ एलीको कारण हुने यी रोगहरू देखिन बाबुआमा दुबैमा ती रोगजन्य एलीहरू हुन पर्छ। नजिकका नातेदारसँग विवाह गर्‍यो भने दुवैले ती एली बोक्ने सम्भावना अझै बढेर जान्छ। कन्स्याङ्ग्विन बीचको विवाहवारिमा जेनेटिक रोगको सम्भावना १.७ देखि २.८ गुणासम्म बढेर जान्छ। 

इस्लाम धर्म मान्ने कतिपय देशमा यस्तो प्रचलन अझै छ र यस्ता धेरै देशमा डायबिटिजको दर उच्च देखिन्छ। डायबिटिज दुई प्रकारका हुन्छन् र दुवैका कारण फरक हुन्छन्। एक खाले, टाइप-टु डायबिटिज इन्सुलिन बनाउने जिनहरूको खराबीले हुन्छ। परम्परागत तवरमै चलेको यो कन्स्याङ्ग्विन विवाहको प्रचलनले, इन्सुलिन बनाउन चाहिने जिनहरूमा रहेको खराबी दुवै एलीमा दोहोरिने सम्भावना बढेर जान्छ।  कन्स्याङ्ग्विन विवाह गर्ने समुदायमा म्युटेसन बोकेका यी धेरै वटा रिसेसिभ एलीहरू दोहोरिएर देखिन्छन् र देखा पर्ने खराबीले इन्सुलिनको प्रतिरोध र ग्लुकोज मेटाबोलिजमको सन्तुलन बिगारेर टाइप-टु डायबिटिज हुने सम्भावना हुन्छ।

इतिहासको पाठ
विभिन्न समुदायको वा वंशको शुद्धता बचाउन विभिन्न आवरणमा चलेका यस्ता प्रथाले धेरै रोगसँग लड्ने मानव प्रजातिको क्षमता विकास क्रमशः हराउँदै गयो। अझै पनि निरन्तर चलिरहने इन्डोग्यामीको यो प्रचलनले समुदायको प्रभावकारी जनसङ्ख्या घटायो, हाम्रो जिन पुल साँघुरियो र पुस्तैनी हानिकारक म्युटेसनहरू सँगालिएर आए/आएका छन्।

कतिपय समुदायमा भने नजिकका नातेदारबीच हुने बिहेबारीलाई निरुत्साहित गर्न विभिन्न सामाजिक नियम बनाइएका हुन्छन्। नेपालका हिन्दू-सनातनीहरूले यौटै गोत्रमा विवाह गर्नु हुँदैन भन्नु यसैको नमुना हो। (यद्यपि, थर/गोत्रबाट अलग पारेर सही काम गरे पनि एउटै जात/समुदायभित्र बिहे गर्ने कुरा फेरि पनि 'रक्त शुद्धता'सँगै जोडिएको छ) गोत्र एउटै भन्नुको अर्थ पहिले पुर्खा भएका तर विभिन्न थरमा छुट्टिएको भन्ने हो। अधिकांश उत्तर भारतीय, ब्राह्मण, कायस्थ, बनिया, वैश्य, राजपूत इत्यादि समुदायमा पनि उही गोत्रमा विवाह 'निषेध' छ, यद्यपि दक्षिणतिर भने कहीँकहीँ एउटै गोत्रमा पनि विवाह चल्छ। तर हामीले के पनि बुझ्नपर्छ भने पण्डितलाई मन्त्र पढ्न लगाएर भगवानलाई झुक्क्याउन त सकिएला, तर डीएनएले भने ती मन्त्रहरूलाई चिन्दैन।

पाकिस्तानमा देखिने टाइप टु डायबिटिजको दर उच्च हुनु पनि कन्स्याङ्ग्विन विवाहकै कारण हो। हाम्रै देशमा पनि मामा, फुपू वा काका, सानीमाको छोराछोरीबीच विवाह गर्ने चलन केही समुदायमा भेटिन्छ। ती समुदायमा पाकिस्तानमा देखिएको डायबिटिजको उच्च दरजस्तै अरू जेनेटिक रोग पनि देखिएका छन्। कतिपय मुस्लिम देशमा त्यस्तो चलन अझै छ। जेनेटिक्सबारे जानकारी बढ्दै जाँदा यो प्रचलन घट्दै गएको पाइन्छ। शिक्षा र चेतनाकै कारण, कन्स्याङ्ग्विन विवाह गर्नै पर्दा समेत रिसेसिभ एलीहरूको एक्स्प्रेसनबाट हुन सक्ने जेनेटिक रोगहरूबाट बच्न विवाह पहिले नै डीएनएको जाँच गर्ने चलन समेत बढेको छ।

डोमिनेन्ट-रिसेसिभ जिनहरूको तालमेलमा हुने बेमेल नातेदारमा मात्रै हुँदैन, रिसेसिभ एलीहरूमा मेल भएर त्यस्ता जेनेटिक रोग देखिने खतरा अरूमा पनि हुन्छ। बच्चा जन्माउन चाहने र प्रयास गर्ने सबैले जन्मने बच्चामा जेनेटिक रोगहरू हुन सक्छन् कि सक्दैनन् भनेर जाँच गर्ने सुविधा आइसकेको छ। अझै अहिले त भविष्यमा दिनमा जन्मने सन्तानमा यस्ता जेनेटिक रोगहरू हुने सम्भावना देखिएको अवस्थामा, त्यसबाट बचाउन क्रिस्परलगायत नयाँ उपाय पनि आइसकेका छन्, जसले एलीका ती म्युटेसन हटाउन सक्छन्।

परम्पराको नाममा- चाहे त्यो राजगद्दी, जात वा कुलको लागि होस्- हामीले गुमाएको जेनेटिक विविधता नै हाम्रो अस्तित्वको मुख्य आधार हो। आज, हामी यस्तो दोबाटोमा उभिएका छौँ जहाँ प्राचीन परम्परा र आधुनिक विज्ञानको भेट भएको छ। चाहे हाम्रो संकुचित समुदायभन्दा बाहिरकालाई अपनाएर सामाजिक घेरा फराकिलो बनाएर होस्, वा आधुनिक जेनेटिक स्क्रिनिङको (डिएनए जाँचको) मद्दतले होस्, हामीसँग यी आफैले बनाएका सिमानाहरू भत्काउने शक्ति छ। अब, हामीले फारोहरू वा ह्याब्सबर्गहरूका गल्तीहरू आँखा चिम्लेर दोहोर्‍याउने होइन, यो जेनेटिक कारागारका पर्खालहरू भत्काइनुपर्छ।

(खतिवडा, कोलम्बिया युनिभर्सिटीमा पोस्टडक्टरल इम्युनोलोजीमा रिसर्च गर्दैछन्। उकालोको विचार खण्डमा छापिने सामग्री लेखकका निजी हुन्।)