कुमारीघरबाट चोरी भएको तोरण २६ वर्षपछि यथास्थानमा पुनर्स्थापित

कुमारी छेँ (घर)बाट चोरी भएको तोरणलाई पुनर्स्थापना गरिएसँगै अबका दिनमा समुदाय र स्थानीय निकायको समन्वयमा सम्पदाको संरक्षण हुने प्रतिबद्धता जनप्रतिनिधि तथा सम्पदा अभियन्ताले व्यक्त गरेका छन्।

काठमाडौँ– करिब २६ वर्षअघि कुमारी कुमारी छेँ (घर)बाट चोरी भएको तोरणलाई राष्ट्रिय संग्रहालयबाट ल्याएर पुनर्स्थापना गरिएको छ। बेलायतको बाराकाट ग्यालरीमा फेला पारी नेपाल फिर्ता ल्याइएको उक्त तोरणलाई शुक्रबार काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समिति संयोजक आशामान संगत र कामपा २३ वडाअध्यक्ष मचाराजा महर्जनलगायतको उपस्थितिमा कुमारीघरमा पुनर्स्थापित गरिएको हो।

२०५६ सालमा बसन्तपुरस्थित कुमारी छेँको एउटा तोरण चोरी भएको थियो। साँझको समयमा ट्याक्सीमा आएका ३/४ जना मानिसले एकाएक तोरण उठाएर लगेका थिए, तर स्थानीयले त्यसको भेउ पाएनन्। कुमारीघरका संरक्षकसमेत रहेका स्थानीय गौतमरत्न शाक्य भन्छन्, “स्थानीयले सोधपुछ गर्दा तोरणको मर्मत गर्न लैजान लागेको भनी झुक्काइएको रहेछ।”

१७औँ/१८औँ शताब्दीको उक्त तोरण शुक्रबार औपचारिक कार्यक्रम गरी सोही स्थानमा पुनर्स्थापना गरिएको हो। यथास्थानमा पुनर्स्थापना हुँदा शाक्यसहितका स्थानीय पुलकित छन्। कुमारी घरबाट चोरी भएका अन्य सम्पदाहरू पनि यसरी नै उत्पतिस्थलमा फर्कनेमा उनीहरू आशावादी छन्।

नेपाल हेरिटेज रिकभरी क्याम्पेन (एनएचआरसी)की निर्देशक अलिसा सिजापतिका अनुसार, कुमारी घरकै मुख्य ढोकामाथिको तोरण हाल फ्रान्सको एक निजी सङ्कलकसँग रहेको पहिचान गरिएको छ। पुनर्स्थापना भएको तोरण भने ढोकाबाट देब्रेतर्फ रहेको झ्यालमाथिको तोरण हो। तोरण हराएको तीन वर्षपछि प्रतिकृति राखिएको थियो, जुन कुमारी घरकै संरक्षणमा रहने बताइएको छ।

पुनर्स्थापना गरिएको तोरण बेलायतस्थित राजदूतावासमार्फत २०७८ सालमा नेपालमा फिर्ता भएको थियो। त्यसपश्चात् तोरण राष्ट्रिय संग्रहालय, छाउनीमा राखिएको थियो।

वडा–२३ का अध्यक्ष मचाराजा महर्जनले यो सम्पदाको पुनर्स्थापना बाँकी सम्पदाहरूको पुनर्स्थापनाका लागि उदाहरण बनेको बताए। “तुलनात्मक रूपमा हेर्दा पहिलेजस्तो सजिलै चोरी हुनसक्ने वातावरण छैन। अब त समुदाय नै यसको संरक्षणमा अग्रसर छन्,” अध्यक्ष महर्जन भन्छन्, “वडाले आफ्नो स्तरबाट पनि आवश्यक सुरक्षाको व्यवस्था गरेको छ। यद्यपि, हाम्रो भरोसा समुदायमै छ।”

एक महिनाको निरन्तर छलफल र विधिगत प्रक्रियापश्चात् तोरण स्थापना गर्न सफल भएको सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ बताउँछन्।

सम्पदा अभियन्तासमेत रहेका अधिवक्ता सञ्जय अधिकारीले पनि यस्ता सम्पदा संग्रहालयमा निर्जीव रूपमा राखिनुभन्दा पनि समुदायमा फर्कँदा कलावस्तुले जीवन्तता पाउने बताए।