'शीर्षस्थ नेताहरू' पुनः हाबी भए भने आगामी फागुन २१ गते हुने निर्वाचनमा यी आबद्ध दलले 'लज्जाजनक हार' व्यहोर्नु पर्नेछ। आउँदो चुनावमा अधिकांश प्रमुख दलका उम्मेदवारको जमानत जफत हुने प्रबल सम्भावना छ।
सर्पले निल्दै गरेको भ्यागुतोले समेत अगाडि परेका किरा फट्याङ्ग्रा खान खोज्छ। त्यही चरित्र प्रदर्शन गर्न अग्रसर हुँदैछन् जेनजी विद्रोहको हुरी बतासबाट जोगिएका/जोगाइएका 'प्रमुख' दल नेताहरू। उनीहरूमध्ये एक हुन्–खड्गप्रसाद ओली, जो भदौ २४ गते आफ्नो ज्यान जोगाउन सेनाको हेलिकोप्टर चढेर कुनै अज्ञात स्थल भागेका थिए। दुई हप्तासम्म उनी कहाँ र कुन अवस्थामा छन् भन्ने कुरो धेरैलाई थाहा थिएन।
उनी अहिले आएर वर्तमान सरकारको वैधानिकताबारे प्रश्न गर्दैछन्। उनी विघटित संसद्को पुनर्स्थापना मागिरहेका छन्। 'जोतिसे'को रूप धारण गर्दै तिनका केही समर्थक 'निर्वाचन हुन नसक्ने' प्रचारबाजीमा व्यस्त छन्। आफ्नै पूर्ववर्ती सहकर्मी र कार्यकर्ताहरूबाट एक्लँदै गरेका पुष्पकमल दाहाल भने 'कम्युनिस्ट परिचय' राख्ने यत्रतत्र छरिएका व्यक्ति तथा समूह बटुलेर कम्युनिस्ट दल निर्माण गर्न अग्रसर छन्। ठुलो कम्युनिस्ट दल गठन गरेर फेरि एक पटक प्रधानमन्त्री हुने सपना देख्दैछन्। आन्दोलनकारीको सांघातिक आक्रमण खेपेका काँग्रेस अध्यक्ष शेरबहादुर देउवाको स्थिति अझै अस्पष्ट एवं 'अनिर्णायक' छ।
सबैजसो स्थापित भनिने दलका अधिकांश नेता, कार्यकर्ता, समर्थक तथा शुभेच्छुक आदि सबैलाई राम्रैसँग थाहा छ–'शीर्षस्थ नेताहरू'को दिन सकिइसक्यो। यिनै पुनः हाबी भए भने आगामी फागुन २१ गते हुने निर्वाचनमा आफू आबद्ध दलले 'लज्जाजनक हार' बेहोर्नु पर्नेछ। आउँदो चुनावमा अधिकांश प्रमुख दलका उम्मेदवारको जमानत जफत हुने प्रबल सम्भावना छ। त्यस कारण दलभित्रका युवा नेताहरू जसरी भए पनि पाका पुस्तालाई 'ससम्मान' विश्राम गराउन लागिपरेका छन्। तर गाई गोरुको पिठ्युँमा 'खरीजुका' टाँसिएझैँ प्रमुख तीन दलका शीर्ष भनिने नेताहरू पुरानै हैसियत र हाइरार्कीमा कायम रहन खोज्दैछन्।
भाद्र २३ गते आइपुग्नुभन्दा धेरै पहिलेदेखि नै तीन दलका नेताहरूले जनविश्वास गुमाइसकेका थिए। तिनले युवा अवस्थामा आर्जेको लोकप्रियता गुमेको धेरै भइसकेको थियो। दलका नेताको लोकप्रियता मापन सम्बन्धमा भए गरिएका सर्वेक्षणहरूमा पटके प्रधानमन्त्री हुन सफल नेताहरू जनविश्वास आर्जन गर्न असफल थिए। देउवा, दाहाल र ओलीको लोकप्रियता ग्राफको पिँधमा पुगेको थियो। तिनलाई पत्याउने जमात शिला खोज्दासमेत भेटाउन कठिन थियो। भ्रष्टाचारमा चुर्लुम्म डुबेका नेताले भ्रष्टाचार विरोधी छवि निर्माण गर्न गरेको असफल प्रयास हँस्सी ठट्टाको विषय थियो। उनीहरूको व्यक्तित्व ह्यान्स क्रिस्चेन एन्डर्सनको प्रसिद्ध कथा 'वादशाहको नयाँ वस्त्र'को वस्त्रविहीन अवस्थामा शहर परिक्रममा निस्केको बादसाहकै जस्तो थियो।
जति पटक संसद्मा विश्वासको मत प्राप्त गरेर आलोपालो प्रधानमन्त्री नियुक्त हुन तिनले पाएता पनि तिनको शाशनशैलीमा सुधार कहिल्यै आउन सकेन। तिनीहरू 'सुध्रेलान्' अथवा 'सच्चिन्छन्' भन्ने सर्वसाधाणले मात्र होइन, तिनकै समर्थकले समेत विश्वास गर्न छाडिसकेका थिए। यिनै कारणले गर्दा हुन सक्छ, भाद्र २४ का दिन भएको ध्वंसात्मक गतिविधि र तोडफोडको सर्वत्र भर्त्सना भयो, तर नेताको आवासमा भएको आगजनीप्रति खेद प्रकट गर्न अथवा नेताहरूप्रति सहानुभूति प्रदर्शन गर्न भने सर्वसाधारणले कन्जुस्याइँ गर्दैछन्।
हेक्का होस्, भाद्र २४ को अत्यासलाग्दो विध्वंसको भोलिपल्टै स्वतःस्फूर्त टोलटोलमा अघिल्लो दिन आगजनी भएका प्रहरी बिटहरूको सरसफाइ तथा मर्मतका निमित्त सर्वसाधारणहरू अग्रसर रहे। यति खेरसम्म देशका धेरै स्थानमा नष्ट भएका प्रहरी कार्यालय पुनर्निर्माण भइसकेका छन्। स्थानीय नागरिकले चन्दा संकलन गरेरै कतिपय ठाउँमा मर्मत र पुनर्निर्माण गरेका छन्।
नेताहरू जीवनको उत्तरार्धमा पुग्दा तिनको आलिसान महलहरू जले। पुनः अब उनीहरू युवा कालको डेराको बासिन्दामा परिणत भएका छन्। आगजनीमा परेका तिनका आवास जले-भत्केकै अवस्थामा छन्। यस्तो अवस्थामा समेत, जनसाधारण त परै जाओस्, तिनकै दलका कार्यकर्ताहरूसमेत जलेको घरको सरसफाइमा लागि परेको देखिँदैनन्। पुनर्निर्माण परकै विषय भयो।
विश्राम लिन किन तयार छैनन् उनीहरू?
जेनजी आन्दोलनले कतिपय विषय छरपस्ट बनाइदिएको छ। विगतमा तिनकै अग्रसरता अथवा संलग्नतामा भएका घोटाला तथा भ्रष्टाचार काण्डहरूबाट उन्मुक्ति पाउन तिनलाई अब झनै कठिन पर्नेछ। पानीमै डुब्नै र लुक्न खोजे पनि आन्दोलनकारीले तिनलाई छोड्ने छैनन्। तिनले कानुनको कठघरामा खडा हुनबाट छुटकारा पाइने सम्भावना धरातलमा देखा पर्दैन। त्यस्तो अवस्थाबाट जोगिन पुरानै हैसियत (दलको अध्यक्ष/सभापति) ढाल हुनसक्छ भन्ने तिनको ठहर हो। तर २ महिनाअघिकै मात्र कुरो सम्झने हो र आन्दोलनकारीले लखेटेको अवस्था स्मरण गर्ने हो भने त्यो कुर्सी तिनको सुरक्षा कवच बन्न सम्भव छैन। जनता रिसाएपछि बार र बन्दुकहरू सबै बेकामे हुन्छन् भन्ने त हामीले देखिहाल्यौँ।
तर पार्टीभित्र स्वार्थ समूह/बिचौलिया हुने गर्छ। मूख्यगरी, तीन शीर्ष नेतालाई लाभ दिने हेतुले बिचौलियाहरूले थरीथरीका 'सेटिङ' निर्माण गर्ने गरेका थिए। त्यस्ता सेटिङबाट नेतासँगै बिचौलियाले राष्ट्र दोहन गरेर निहित स्वार्थपूर्ति गर्दै आएका थिए। दलका नेताको भान्छा कोठादेखि 'खोपी'सम्म बिना अवरोध बिचौलियाको पहुँच थियो/छ। नेताको बहिर्गमनसँगै बिचौलियाहरूको बिचल्ली हुने निश्चित छ। खाइपाइ आएको शुखसुबिधा गुम्ने/कम हुने निश्चित छ। त्योभन्दा पनि ठुलो जोखिम नेताहरूसँगै 'काठघर'को बास हुने प्रबल सम्भावना छ। यिनै कारणले गर्दा यो समूह पनि दबाब दिँदै छ–शीर्षस्थ भनिने नेतालाई पदमा टाँसिरहन। असफल ठहरिएका नेताको संरक्षण र स्थापनाका लागि त्यो बिचौलिया समूह कस्सिएर लागेको छ।
निश्चय पनि नेताले आफू आश्रित थुप्रै कार्यकर्ता तथा समर्थकहरूलाई राज्य कोषको दुरुपयोग गर्दै पालेका थिए। त्यही कारण पनि नेताहरूलाई अवकाश लिने विकल्पलाई नकार्न दबाब दिँदै छन् ती परजीवी झुन्ड। आगजनीले खाक तुल्याएको नेपाली काँग्रेसको केन्द्रीय कार्यालयमा जारी 'म्याराथुन केन्द्रीय समिति बैठक' त्यसैको ज्वलन्त उदाहरण हो। उक्त बैठकले 'महाधिवेशन गरेर फाल्गुण १९ को संघीय निर्वाचनमा होमिने' अथवा 'निर्वाचन सामना गरेर मात्र महाअधिवेशन गर्ने' भन्नेमध्ये एउटा निर्णय गर्नु थियो।
तर निर्वाचनपूर्व नेतृत्व परिवर्तन हुन नदिने मनसाय यथास्थिति पक्षधरको देखा पर्यो। त्यस अवस्थामा 'विशेष महाधिवेशन' गरेर भए पनि नेतृत्व परिवर्तन गर्न अग्रसर रहे यस दलमा रहेका परिवर्तनकारीहरू। तर नियमित महाधिवेशन अथवा विशेष महाधिवेशनमा अवरोध गर्दैछन् काँग्रेसभित्रका परजीवीहरू। 'दल भाँडमे जाए', नेतृत्व परिवर्तन नहोस् भन्ने तिनको मनसाय छ। जुनसुकै 'अधिवेशन' भए पनि यस पटक काँग्रेसमा नेतृत्व परिवर्तन भइहाल्छ र उक्त परिवर्तनले अहिलेको परजीवी झुन्डलाई स्वतः विस्थापित गर्छ। यथास्थिति कायम गर्न सक्दा केही दिनकै लागि मात्र भए पनि किन सुरक्षित नहुने? लुटको स्वर्ग कायम नराख्ने!
प्रचण्डले छाती फुलाएर घोषणा गरेको 'म्याजिक नम्बर' भोलिका दिन शेरबहादुरको ढोक्सामा पर्न पनि सक्छ। त्यसो भएको खण्डमा दिन फर्कने सम्भावना छ।
निरंकुस शासकको गुण हो—जति नै ठुलो गल्ती गरे पनि स्वीकार गर्दै नगर्ने। अपजसको भारी अर्काको पिठ्युँमा बिसाएर साखुल्ले पल्टने। पानीभित्रको ओभानो ढुंगो बन्दै कृत्रिम शास्त्रतर्फ औला तेर्साएर उम्कने! शासकहरूले यस्ता दाउ र प्रपञ्च सदियौँयता चाल्दै आएका छन्। लेनिन, स्टालिन, माओ तथा पोलपोट आदिदेखि आजका दिनमा हाबी कम्युनिस्ट नेताहरूले आफ्ना विरोधीलाई सखाप तुल्याउने अर्थात् 'पर्ज' गर्ने अस्त्र 'देशी विदेशीको चलखेलमा सामेल भएको' आरोप लगाउनु हो। षड्यन्त्रको चस्मा पहिरेर वास्तविकता बङ्ग्याउन उनीहरू माहिर हुन्छन्।
जीवन रक्षाका निम्ति झन्डै एक महिना गुप्तवास बसेर बाहिर निस्केका नेताको दृष्टिमा जेनजी आन्दोलन 'देशी विदेशी शक्तिद्वारा परिचालित' थियो। यस पटक उनीहरूले एनजिओ तथा आई एनजिओलाई पनि यही षड्यन्त्रकारी समूहमा सामेल गरिदिए। जबकि, नेपाली एनजिओमा कम्युनिस्ट नेताका परिवार सदस्यहरूको छ। लुकाउँदालुकाउँदै नलुक्ने भ्वाङ हो यो। स्मरणीय छ, कानुनी प्रावधानका कारण, नेपालमा स्थानीय एनजिओको 'पार्टनरसिप'बिना आइएनजिओहरू प्रवेश गर्न नै पाउँदैन।
जुनसुकै निर्णयलाई विदेशी षड्यन्त्रको चस्मा पहिरिएर 'गहिरो विश्लेषण' गर्ने पात्रहरूको उपस्थिति सबै दलमा छ। स्वघोषित 'राष्ट्रवादी' नेताहरूको अग्रपंक्तिमा पर्छन् राजावादी तथा पूर्वपञ्चहरू। तिनको नजरमा विगत सात दशकमा नेपालमा भएका सबै क्रान्तिहरू विदेशी हस्तक्षेपको उपज थिए।
तिनको कु/तर्क सुन्दा लाग्छ–नेपाली नागरिक अत्यन्त निरीह प्राणी हुन् र जस्तोसुकै अन्याय अत्याचार पनि सहेर बस्न सक्छन् नेपाली। नेपाली जातिमा अन्याय र अत्याचारको विरोध गर्न क्षमता छँदै छैन। जेनजी विद्रोहबारे पनि तिनले कम्युनिस्ट नेताहरूसँग स्वर मिलाउँदै पश्चिमा शक्ति राष्ट्रद्वारा परिचालित उक्साहट ठहर गरिसकेका छन्।
यतिखेर वर्तमान सरकारको अस्तित्वउपर प्रमुख दलका नेताहरू भ्रम फैलाउन व्यस्त छन्। मण्डलेहरूकै लाइनमा मिसिएर उनीहरू 'एनजिओको सरकार' तथा 'भारतीय तथा अमेरिकी प्रायोजित षड्यन्त्र'ले निर्माण गरेको सरकारजस्ता कपोकल्पित भ्रम छर्न अग्रसर हुँदैछन्।
कुन अवस्थामा पूर्वप्रधानन्याधिसले अत्यन्त चुनौतीपूर्ण जिम्मेवारी बहन गर्न तयार भएकी हुन् भन्ने यथार्थ मनन गर्न सकिरहेका छैनन् ती। एक योग्य नागरिकको रूपमा कर्तव्य पालनामा जुटेकी न्यायमूर्तिको चरित्र हत्या गर्नसमेत तिनले धक मानिरहेका छैनन्। आखिर उनीहरूको कुकर्मकै कारण सुशीला कार्कीले कठिन संवैधानिक प्रश्नसमेत झेल्दै प्रधानमन्त्री पदको जिम्मेवारी बहन गर्नुपर्ने बाध्यता आइपरेको कुरा कहिले तिनले स्विकार्ने?
शीर्षस्थ भनिने नेताहरूमा राष्ट्रप्रति कुनै सद्भाव छ भने यो अन्तिम अवसर हो–गुन लगाउने। तत्काल आफ्नो अवकाश घोषणा गर्दै, डीरेल भएको राष्ट्रलाई पुनः लिकतर्फ लैजाने प्रयासमा हुन थालेको होस्टेमा हैँसे गर्ने। यो विकल्प रोज्दा तिनको स्वार्थ रक्षा पनि हुनसक्छ। वर्तमान अवस्थामा अवकाश लिँदा उनीहरूप्रति सद्भाव राख्ने तिनकै दल हाबी हुनसक्छ र केही हदसम्म स्थायित्व कायम पनि हुनसक्छ।
त्यस अवस्थामा यिनले आम माफी पाउन पनि सक्छन्। तर सर्पको मुखको भ्यागुतो प्रवृत्तिलाई नै निरन्तरता दिनतर्फ लाग्ने हो भने त्यसको परिणाम अत्यन्त घातक हुने सम्भावना छ। निर्वाचनमा स्थापित भनिएका दल बढारिने छन्। च्याउझैँ उम्रेका असंगठित दलका नेताले स्थापित दलका उम्मेदवारलाई पराजित गर्नेछन्। संघीय संसद् विभिन्न दल सदस्यहरूको जमघट थलोमा परिणत भएर फेरि 'हङ पार्लियामेन्ट' हुनेछ। गन्तव्यविहीन अवस्थाले राष्ट्रलाई फेरि अर्को अस्थिरताको भुमरीमा फस्ने छ।
(उकालोका विचार खण्डमा छापिने सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
