ब्राजिलको संसद्‌मा ‘क्यापिटल हिल’ सम्झाउने घटना, चार सय जना पक्राउ

पूर्व राष्ट्रपति बोल्सोनारोका समर्थकहरू नयाँ राष्ट्रपति लुइज इनासियो लूला डा सिल्वाविरुद्ध विरोध प्रदर्शन गर्दै संसद् तथा सर्वोच्च छिरेका हुन्।

ब्राजिलका पूर्व राष्ट्रपति जायर बोल्सोनारोका हजारौँ समर्थकले त्यहाँको संसद्‌ तथा सर्वोच्च अदालतमा प्रवेश गरी हिंस्रक गतिविधि गरेका छन्। 

आइतबार बोल्सोनारोका समर्थकहरू नयाँ राष्ट्रपति लुइज इनासियो लूला डा सिल्वाविरुद्ध विरोध प्रदर्शन गर्दै संसद् तथा सर्वोच्च छिरेका हुन्। 

उनीहरूले संसद्‌को छतमा चढ्ने तथा झ्यालढोका तोडफोड गर्ने गरेका थिए। प्रहरीसँग भीषण झडपपछि आइतबार साँझसम्म स्थिति नियन्त्रणमा लिइएको बीबीसीले जनाएको छ। 

घटनापछि प्रहरीले अनधिकृत रूपमा सरकारी कार्यालयहरूमा पसेका चार सय जनाभन्दा बढीलाई पक्राउ गरेको छ। 

ब्राजिलमा गत अक्टोबरमा निर्वाचन भएको थियो। जसमा दक्षिणपन्थी बालसोनारोको पार्टी पराजित भएको थियो भने वामपन्थी लुइज इनासियो लूला डा सिल्वाको पार्टीले जितेको थियो। योसँगै बालसोनारोका समर्थकहरूले निर्वाचन परिणाम नस्विकार्ने भन्दै प्रदर्शन थालेका थिए। 

ब्राजिलमा आइतबार भएको हिंसालाई २०२१ मा अमेरिकी संसद्‌मा भएको हिंसासँग तुलना गरिएको छ। अमेरिकी संसद् रहेको क्यापिटल भवनमा जनवरी ६ मा डोनाल्ड ट्रम्पका समर्थकहरूले पनि हिंस्रक गतिविधि गरेका थिए। 

एजेन्सीको सहयोगमा