सोमबारदेखि एनपीएलको दोस्रो सिजन शुरू हुँदैगर्दा पहिलो सिजनकै हिसाबकिताब क्यानले सार्वजनिक गरेको छैन। सचिव पारस खड्काको विधिभन्दा बाहिर रहने रुचिले यो अवस्था आएको क्यानकै पदाधिकारी बताउँछन्।
काठमाडौँ– आउँदो सोमबारदेखि नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्ने नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो सिजन शुरू हुँदै छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हुने एनपीएलको दोस्रो सिजन पहिलो सिजन भन्दा धेरै हिसाबले फरक हुँदै पनि छ।
पहिलो, स्टेडियममा राति पनि खेल्न मिल्नेगरी चहकिला फ्लडलाइट जडान गरिएको छ। दोस्रो, करिब १३ हजार दर्शक अट्ने सुरक्षा–सुविधासहितका पारापेट निर्माण गरिएको छ। यसपालि प्रतियोगिताका धेरैजसो खेल ‘डे–नाइट’ मै सञ्चालन गर्नेगरी खेल तालिका बनाइएको छ।
पहिलो भन्दा परिस्कृत यस्तो तयारीकै कारण हुनसक्छ, क्यान कार्यसमिति सदस्य दुर्गाराज पाठक दोस्रो सिजन शुरू नहुँदै पहिलो सिजनको आर्थिक हिसाबकिताब सार्वजनिक हुनेमा ढुक्क झैँ थिए। यसले प्रतियोगिताको वजन अझ बढाउने उनको विश्वास थियो। गत साउन १५ गते बसेको क्यान कार्यसमिति बैठकमा सचिव एवं एनपीएल परिचालन परिषद् संयोजक पारस खड्काले विस्तृत हिसाबकिताब नदिई शीर्षकअनुसार खर्च र आम्दानी मात्र देखाएपछि पाठकले विस्तृत विवरण माग गरेका थिए।
एनपीएलको दोस्रो सिजन संघारमै आइपुगेको छ। सोमबारदेखि शुरू हुने दोस्रो सिजन आउन अब पाँच दिन मात्र बाँकी छ। तर अहिलेसम्म पहिलो सिजनकै हिसाब नपाएका पाठक दोस्रो सिजनको हिसाबमा झन् गोलमाल हुने आशंकामा छन्।
“हामीले त्यतिबेलै विस्तृत हिसाबकिताब मागेका हौँ, तर औपचारिकता पूरा गर्न मात्र केही बुँदा देखाइएपछि त्यहीबेलै गोलमाल देखिएको थियो,” पाठक भन्छन्, “त्यसबेला बोर्ड बैठक पनि माग गर्यौँ। न बोर्ड बैठक भयो, न मागिएको हिसाब दिइयो। हामीलाई एनपीएल विरोधी जस्तो प्रचार गरिएको छ। हामी एनपीएल विरोधी होइनौँ, बरु क्यान जस्तो जिम्मेवार निकाय अपारदर्शी हुनुहुन्न भनेर जवाफदेहिता खोजेका मात्र हौँ।”
पारसले त्यसबेला सार्वजनिक गरेको संक्षिप्त हिसाबमा एनपीएलको पहिलो सिजनमा जम्मा २७ करोड ६९ लाख ६४ हजार ८१८ रुपैयाँ आम्दानी भएको र २० करोड १५ लाख ७३ हजार ५५९ रुपैयाँ खर्च भएको उल्लेख छ। प्रतियोगिताबाट क्यानलाई कुल आम्दानी सात करोड ५३ लाख ९१ हजार २५९ रुपैयाँ भएकोमा त्यसको ५० प्रतिशत (चार करोड ३७ लाख ४० हजार ४७० रुपैयाँ) आठ फ्रेन्चाइजी टोलीलाई वितरण गरिएको पारसले विज्ञप्तिमार्फत् सार्वजनिक गरेका थिए। त्यसपछि बचेको तीन करोड १६ लाख ५० हजार ७८९ रुपैयाँबाट ७० लाख प्रदेश क्रिकेट संघहरूलाई उपलब्ध गराइएको, बाँकी दुई करोड ४६ लाख ५० हजार ७८९ रुपैयाँ क्यानलाई बचत भएको पारसको दाबी थियो।
त्यो हिसाबमाथि कार्यसमिति (बोर्ड) सदस्यहरूले उठाएका प्रश्न अहिलेसम्म अनुत्तरित छन्। जस्तो, क्यानले त्यसबेला कमर्सियल राइट्स पाँच करोड ९२ लाखमा बिक्री भएको बताए पनि सम्झौतामा पाँच करोड १५ लाख ५५ हजार ५५५ रुपैयाँ पाउने उल्लेख थियो। हिसाबमा भने कमर्सियल राइट्स बिक्रीबापत क्यानले ६ करोड ६ लाख ५३ हजार ५९४ रुपैयाँ प्राप्त गरेको उल्लेख छ। सम्झौताभन्दा धेरै रकम कसरी प्राप्त भयो भन्ने उत्तर कार्यसमिति सदस्यहरूले नै पाएका छैनन्।
‘एनपीएल सोसल मिडिया एक्टिभेसन’ शीर्षकमा ५६ लाख ५८ हजार ९८७ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ भने उस्तै प्रकृतिको शीर्षक ‘डिजिटल एन्ड क्रिएटिभ्स’, ‘ईभेन्ट एक्टिभेसन कस्ट’ र ‘अफिसियल एन्थम विथ मार्की प्लेयर भिडियो एक्सपेन्सेस’ शीर्षकमा क्रमशः ४९ लाख २३ हजार ७४९, १३ लाख ५४ हजार ८८७ र १८ लाख ४८ हजार ६६५ रुपैयाँ खर्च भएको देखाइएको छ।
अझ ‘स्लट कस्ट’ र ‘प्रडक्सन कस्ट’ जस्ता अस्पष्ट शीर्षकमा क्रमशः दुई करोड ९३ लाख र एक करोड ३४ लाख रुपैयाँ खर्च देखाइएको छ। अस्पष्ट शीर्षकमा यति धेरै रकम कसरी खर्च भयो भन्ने विस्तृत विवरण खुलाइएको छैन। यी विषयमा आम्दानी र खर्च कसरी र कुन माध्यमबाट भयो भनेर कार्यसमितिमै प्रश्न उठेपछि पारसले अर्को बैठकमा विस्तृत विवरण दिने बाचा गरेसँगै बैठक टुंगिएको थियो।
तर त्यसयता क्यानको बोर्ड बैठक बसेको छैन। क्यान उपाध्यक्ष रोशन सिंह कम्तीमा एनपीएलको दोस्रो सिजन शुरू हुनुअघि बोर्ड बैठक बोलाएर सबै कुरा स्पष्ट गर्नुपर्ने बताउँछन्। बोर्ड बैठकबाट हरहिसाब पारदर्शी बनाएको भए दोस्रो संस्करण अझै प्रभावकारी बनाउन सकिने उनको विश्वास छ।
“सचिवज्यूले किन त्यसो गर्न चाहनु भएन, बुझ्न सकेका छैनौँ,” उनले भने, “तर पनि दोस्रो संस्करण भव्य रहोस्, हाम्रो शुभकामना छ।”
बोर्डलाई ‘बाइपास’, निरन्तर मनपरी
क्यान कार्यसमितिबाट एनपीएल पहिलो सिजनको हिसाब अनुमोदन भएको थिएन। अनुमोदनको के कुरा, बोर्ड सदस्यहरूले विस्तृत हिसाब नै पाएका थिएनन्। त्यहीबीच दोस्रो सिजनको मिति घोषणा गर्न लागेको सूचना पारसले बोर्ड पदाधिकारी र सदस्यहरूको ह्वाट्सएप ग्रुपमा शेयर गरे।
यो सूचनाले बोर्ड सदस्यहरूलाई झस्कायो। उनीहरूले त्यहीँ लेखे, “पहिला एनपीएलको पहिलो सिजनको हिसाब अनुमोदन गरौँ। यसमा धेरै गडबड भएको सूचनाहरू आएका छन्। त्यसपछि दोस्रो सिजनको मिति तोकौँला।”
तर उनीहरूको यो आवाजको केही परवाह गरिएन। पारसले गत भदौ ५ गते एनपीएलको फेसबुक पेजबाट दोस्रो संस्करणको मिति (२०८२ मंसिर १ गतेदेखि शुरू हुनेगरी) सार्वजनिक गरिदिए। मिति सार्वजनिक भएसँगै खेलाडीहरूको अक्सनको काम अघि बढ्यो। यतिञ्जेलसम्म दोस्रो सिजनको तयारी के कसरी हुँदैछ भन्ने जानकारी बोर्ड सदस्यहरूलाई नै थिएन।
क्यान कार्यसमिति (बोर्ड) सदस्य प्रदीप मजगैयाँ एनपीएल परिचालन परिषद्ले के–के गरिरहेको छ भन्नेबारे आफूसँग कुनै जानकारी नभएको बताउँछन्। उनका अनुसार एनपीएल आयोजनामा को–को कसरी सहभागी हुँदैछन्, त्यसक्रममा कानूनी प्रक्रिया पूरा भइरहेको छ या छैन र व्यावसायिक पाटोमा परिषद् कति संवेदनशील भइरहेको छ भन्नेबारे कार्यसमितिमा कसैलाई केही जानकारी छैन।
“खैर, अहिले परिषद्लाई स्वतन्त्र नै छाडिदिउँ। तर पहिलो सिजनमा पनि हामीले यसरी नै पूर्ण अधिकार दिएर छाड्दा कति धेरै अनियमितता, अपारदर्शी काम र भ्रष्टाचारको कुरा बाहिरियो,” मजगैयाँ भन्छन्, “हामी त एनपीएललाई अझै राम्रो बनाउनुपर्छ भनिरहेका छौँ। तर परिषद्लाई छुट दिँदा बोर्डलाई निरन्तर बाइपास गरिराखियो।”
अर्का बोर्ड सदस्य माधव कर्माचार्यले पनि एनपीएल परिचालन परिषद्ले बोर्डलाई बाइपास गरेको बताए। साउन १५ गतेको बोर्ड बैठकमा परिचालन परिषद्लाई तीन सदस्यीय नभइ पाँच सदस्यीय बनाउने सहमति भएको, त्यसअनुसार बोर्ड सदस्यद्वय प्रदीप मजगैयाँ र विरेन्द्र चन्दलाई परिषद्मा लैजाने तय भएको उनले बताए।
“तर त्यो बैठकपछि पारसले यो विषयमा कहिल्यै कुनै चासो नै दिएनन्,” कर्माचार्य भन्छन्, “यसलाई कसरी स्वाभाविक मान्ने? त्यत्रो विवाद आएरै परिषद् पाँच सदस्यीय बनाउने सहमति भएको हो, त्यसलाई पनि ठाडै बाइपास गरिदिने?”
एनपीएलको दोस्रो सिजन शुरू हुन पाँच दिन बाँकी रहँदा क्यानले प्रड्क्सन राइट्स, ब्रोड्कास्टिङ राइट्स र टिकेटिङ राइट्स कसलाई कसरी दिइयो भन्नेसमेत खुलाएको छैन। क्यानका एक पदाधिकारी पारस एक्लैले सबै कुरा आफैले गरिरहेको हुँदा एनपीएल नै विवादको भुमरीमा परेको बताउँछन्। विज्ञापन एजेन्सीले गर्नुपर्ने काम पनि पारस आफैले गरिरहेको, व्यक्तिगत रुपमै व्यवसायीहरूसँग सम्झौता गरिरहेको उनले बताए।
“एनपीएल परिचालन परिषद् विधिअनुसार चलिरहेको छैन, यो भनेको क्यान नै विधिअनुसार नचल्नु हो नि। क्यानमा सबै कुरा बर्बाद भयो भनेर सचिव बनेको व्यक्तिले नै विधिको धज्जी उडाउने काम भएको छ,” ती पदाधिकारी भन्छन्, “हिजो खेलाडी हुँदाको क्रेजले गर्दा बाहिर समर्थक धेरै भएकाले कैयौँ कुरा ढाकछोप भइरहेका छन्। जुन दिन छानबिन हुन्छ, त्यो दिन सत्य बाहिर आउनेछ।”
क्यान अध्यक्ष चतुरबहादुर चन्द भने पहिलो सिजन भन्दा दोस्रो सिजन पारदर्शी रहेको दाबी गर्छन्। क्यान सचिव एवं एनपीएल परिचालन परिषद् संयोजक पारसले काम गर्ने भएकाले मनपरी गरेको भए पनि त्यसलाई मनपरी भन्नु ठिक नहुने उनको तर्क छ।
दोस्रो सिजन शुरू हुने बेलासम्म पहिलो सिजनको हिसाब बोर्डबाट अनुमोदन चाहिँ किन भएन त? चन्द भन्छन्, “अहिलेसम्म अडिट पनि भएको छैन। तर त्यसो हुँदैमा एनपीएल रोक्ने कुरा पनि भएन। उसै घाटामा गइराख्दा रोक्नु उचित हुँदैन। हिसाब पनि दिनुहोला नि।”
यसबारे कुरा गर्न हामीले एनपीएल परिचालन परिषद् संयोजक पारसलाई पटक–पटक सम्पर्क गर्ने प्रयास गर्यौं। तर उनी सम्पर्कमै आउन चाहेनन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
