गृहमन्त्रीको खोइरो खन्नु र भदौ २४ को विध्वंसबाट बौरिन नसकेको नेपाल प्रहरीका सिपाहीहरूले आश्रय लिइरहेको थापाथलीस्थित भवन भत्काउन हतारिएर डोजर लिएर जानु संयोग मात्रै पक्कै होइन।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह अक्सर मध्यरातमा आक्रामक फेसबुक स्ट्याटस लेख्छन्। त्यसबाट उत्पन्न हुने क्रिया प्रतिक्रियाको उत्तर दिन सेनामेना खटाउँछन्। वा, देश विदेशमा रहेका साइबर सेनाले त्यो जिम्मेवारी स्वतःस्फूर्त बफादारीपूर्वक निभाउँछन्। स्ट्याटसमार्फत झुल्कने उनी फेरि कैयौँ दिन गायब हुन्छन्। सोही क्रममा हालै उनले फेसबुकमार्फत नेपालका लगभग सबै प्रमुख दल र मित्र राष्ट्रहरूको नामै लिएर छाडा गाली गरे। सदाझैँ उनको स्ट्याटस सोसल मिडियामा चर्चाको विषय त भयो। तर, यसअघि झैँ उनीप्रति भक्तिभावमात्रै देखिएन, आलोचना पनि देखिए।
तानासाही शासक बन्ने उनको आकाङ्क्षा सम्भवतः अब कसैबाट लुकेको छैन। उनलाई जेनजी आन्दोलनले जोखिम मोलेर नेतृत्व गर्ने अभूतपूर्व मौका पनि दिएको थियो। उनी देशमा रहेर सडकमै उत्रेर आन्दोलन गर्ने र विदेशबाट सोसल मिडियामार्फत आन्दोलन गरिरहेका जेनजी र तिनका दाजुभाइ दिदीबहिनीका समेत पहिलो रोजाइ थिए। यद्यपि, परिस्थितिलाई सामना गर्ने र ऐन मौकामा जोखिम मोल्ने आँट उनले गर्न सकेनन्।
सम्भवतः यही कारणले उनलाई निद्रा नलागेको हो कि? यसो मनन गरेर ल्याउँदा व्यक्तिगत असफलता भन्दा पनि पश्चात्तापको कारणले उनलाई निद्रा नलागेको हुनुपर्छ भन्नेमा म विश्वस्त छु। कलिला जेनजीको काँधमा राखेर उनले चलाएको बन्दुकले मुलुकलाई जुन क्षति गर्यो, शायद त्यसप्रतिको गहिरो पश्चात्तापले शायद उनी सुत्न सक्दैनन् होला। अनि मध्यरातमा उग्र पोस्ट गर्छन्।
नेपाल राष्ट्रको शरीरमा प्रहार
एक छिन चर्चा गरौँ–जेनजीको काँधमा राखेर उनले चलाएको बन्दुकले नेपाल राष्ट्रलाई के क्षति गर्यो। उनको उक्साहट वा मौन समर्थनमा भदौ २४ गते जुन तहको विप्लव यो मुलुकमा भयो, त्यसले नेपाल राज्यको शरीर मानिने संरचनाहरू छियाछिया पारियो। माओवादी युद्धले समेत गर्न नसकेको ध्वंस यसले गर्यो। नागरिक सर्वोच्चता, जनताको प्रतिनिधित्व र कानूनी शासनका सम्पूर्ण अवयवहरूमाथि आक्रमण गरिए। संघीय तहमा कार्यपालिका भवन सिंहदरबार, न्यायपालिका भवन सर्वोच्च अदालत र व्यवस्थापिका भवन मात्र जलेनन्। नेपाल प्रहरीका तमाम कार्यालयहरू, महान्यायाधिवक्तादेखि सरकारी वकिलसम्मका कार्यालयहरू र न्यायपालिकाअन्तर्गतका अदालतहरू सबै तमाम गरिए। तत्तत् संस्थाहरूमा नेतृत्व गर्ने व्यक्तिका निवासहरू समेतमा आगजनी, तोडफोड र लुटपाट गरियो। यो विध्वंसक महामारी क्षणभरमा देशभर फैलियो। प्रदेशका समेत प्रदेश सभा भवनहरू र मुख्यमन्त्री कार्यालय तथा मन्त्रालयहरूमा समेत आगजनी गरियो।
सबैभन्दा दुःखद कुरा, जनतालाई सबैभन्दा नजिकबाट सेवा दिने स्थानीय तहका कार्यालय मात्रै होइन, वडा कार्यालयहरू पनि यो महामारीमा लपेटिए। राज्य सञ्चालनका लागि आर्थिक आड भरोसा दिने निजी क्षेत्र आक्रमणको तारोमा पर्यो। नागरिक सत्ताका सर्वोच्च प्रतिनिधि राष्ट्रपतिको कार्यालय र निवासमा समेत आक्रमण गरियो।
यसरी नेपाल राज्यले आफ्नो उपस्थिति देखाउन र जनतालाई सेवा दिन खडा गरेका सबै संरचनाहरू क्षणभरमै खरानी र भग्नावशेषमा परिणत भए। अर्थात्, नेपाल राज्यको शरीर यसरी खण्डित भयो।
नेपाल राष्ट्रको आत्मामा प्रहार
कुरा त्यतिमा मात्र टुंगिएन। देश डढिरहेकै बेला उनीभित्रको तानासाही रुझान फ्याट्ट बाहिर निस्केर फर्मान जारी गर्यो: जेनजीले सेनासित कुरा गर्नू। प्रतिनिधिमूलक नागरिक शासन नेपाल मात्र होइन, कुनै पनि आधुनिक राष्ट्र-राज्यको प्राण हो, आत्मा हो। तत्कालीन शासकको हठ वा असफलतावश एउटा सरकारविरुद्ध विद्रोह भए पनि यो व्यवस्था नै मास्ने माग जेनजी आन्दोलनको प्रारम्भमा पनि थिएन। त्यसपछि पनि छैन। अहिले पनि छैन। प्रत्यक्ष निर्वाचित कार्यकारी भनेर गाइँगुइँ सुनिए पनि समग्र जेनजी आन्दोलनको साझा माग त्यो होइन भन्ने प्रस्ट छ। जसले माग गरेका छन्, तिनले पनि अहिलेको संविधानलाई च्यातच्युत पारेर होइन कि संविधान संशोधन गरी वैध विधिबाट नै त्यहाँ पुग्ने लक्ष्य राखेका छन्।
भदौ २४ पछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएपछि पनि नागरिक सत्ताका सर्वोच्च प्रतिनिधि राष्ट्रपति कायमै थिए। त्यस्तो अवस्थामा राष्ट्रपतिलाई छोडेर सेनासित वार्ता गर्न जाऊ भन्ने फर्मानले नागरिक सर्वोच्चताप्रतिको उनको अरुचि प्रस्ट गर्छ। अझ, पर्दा पछाडिबाट छद्म भेषमा आन्दोलन हाँकेर उनले नेपाल राज्य र यसका जनताले आफ्नो भविष्यबारे आफैँ निर्णय गर्न सक्छन् भन्ने विश्वाससमेत खण्डित गरिदिए। नागरिक नियन्त्रणको अन्तिम आधार र नेपालीहरूको सामूहिक आत्मविश्वासमा समेत प्रहार गरेर उनले नेपाल राज्यको प्राणलाई खण्डित गरिदिए।
भविष्यप्रतिको अनिश्चितता
बालेनको छद्म खेल अझै टुंगिएको छैन। संविधान र नागरिक सर्वोच्चतालाई उपेक्षा गर्दा आउन सक्ने जोखिम बुझेर नै बरु जेनजी प्रतिनिधिहरूले राष्ट्रपतिको सोधखोज गरे। अन्ततः उहाँकै संरक्षकत्वमा सङ्क्रमणलाई पार लगाउन अन्तरिम सरकार गठनका लागि पहल गरे। र, यो संक्रमण टुङ्ग्याउन फागुन २१ मा चुनाव गर्न उनीहरू प्रतिबद्ध देखिएका छन्।
बालेनले संकटको बेला जोखिम लिएर समग्र जेनजी आन्दोलनको नेता बन्ने अभूतपूर्व अवसर गुमाए। त्यति मात्र होइन, कलेजको राजनीतिसमेत बिस्तारै सिक्दै गरेका कलिला युवायुवतीहरूलाई सेनासित वार्ता गर्न पठाए। त्यसपछि बनेको सरकारको समेत अपनत्व लिनबाट उनी पछि हटे। यसबाट प्रस्ट हुन्छ, उनको लक्ष्य माछा परे दुलाभित्र हात, सर्प परे दुलाबाहिर हात। र, यी कुरा बिस्तारै प्रस्ट हुँदै गइरहेका छन्। समग्र जेनजी आन्दोलन नै बालेनबाट टाढिएर लोकतान्त्रिक मूल्यमान्यता र सामूहिक नेतृत्वको झन्डामुनि सम्हालिने प्रयास गर्दै छ। पुराना दलहरू पनि धुलो टकटकाएर उठ्ने, जेनजी आन्दोलनका मागलाई कसैगरी सम्बोधन गर्ने प्रयास गर्दै छन्।
यस्तोमा उनी चक्रवर्ती नेताको रूपमा उदाएर कार्यकारी प्रधानमन्त्री बन्ने बाटो कसरी खुल्ला र? उनलाई कार्यकारी प्रधानमन्त्री बनाइदिन अर्कोले अजेन्डा लिएर किन जाला? त्यसैले विगतप्रतिको पश्चात्ताप र भविष्यप्रतिको भयानक अनिश्चितताले शायद बालेनलाई निद्रा लाग्दैन। र, अहिले उनी खाली बरबराइरहे जस्तो मात्र सुनिन्छन्।
अन्तिम अभिलाषा
इतिहासको संगिन सङ्क्रमणबाट गुज्रिरहेको मुलुकलाई सम्हाल्न जेनजी पुस्तासमेत सुविचारित ढंगले अगाडि बढिरहेको छ। यो संविधानलाई च्यातच्युत पार्दा आउन सक्ने भयानक अनिश्चितता, विभिन्न समूहहरूबीच उत्पन्न हुनसक्ने अन्त्यहीन द्वन्द्व श्रृंखला, र प्रतिगमनको जोखिम बुझेर उनीहरू पनि यही संविधानअन्तर्गत र यही संविधानको परिधिभित्रबाट परिवर्तन खोज्नेतर्फ लक्षित भएको देखिन्छ। र, जेनजी आन्दोलनको बलमा बनेको वर्तमान सरकारप्रति उनीहरूले अपनत्व महसुस गरेको देखिन्छ। तर, बालेन भने फरक छन्। शायद आफू चमत्कारिक रूपमा शक्तिमा उदाउने सम्भावना अस्त हुँदै गएको ठानेर होला, उनी अझ एक पटक अनिश्चितता सिर्जना गरेर शक्तिमा फर्कने प्रयासमा छन्।
त्यसका लागि उनले सर्वप्रथम यो सरकारका गृहमन्त्रीमाथि निशाना लगाएका छन्। नेपाल प्रहरी नागरिक नियन्त्रणमा रहेको मुलुकमा कानूनी शासनको प्रचलन गराउने प्रमुख अंग हो। उनले गृहमन्त्री र नेपाल प्रहरी दुवैमाथि एकै पटक निशाना साँधेका छन्। उनका समर्थक र सचिवालयसमेत लागेर गृहमन्त्रीको खोइरो खन्नु र भदौ २४ को विध्वंस र आक्रमणबाट बौरिन समेत नसकेको नेपाल प्रहरीका सिपाहीहरूले आश्रय लिइरहेको थापाथलीस्थित भवन भत्काउन हतारिएर डोजर लिएर जानु संयोग मात्रै पक्कै होइन। किनकि उनलाई थाहा छ, नेपाल प्रहरीको आत्मविश्वास पुनर्स्थापित नगर्ने हो भने फागुन २१ को चुनाव सम्भव छैन।
उनी कम बोल्छन्। तर उनका क्रियाकलापबाट नागरिक नियन्त्रणमा रहेको नेपाल प्रहरीलाई फेरि एक पटक असफल बनाउन सके नागरिक नियन्त्रणमा आउन आनाकानी गरिरहेको सेनाबाट आफ्नो अभिलाषा पूरा गराउने दाउमा उनी रहेको बुझ्न सकिन्छ।
(उकालोको विचार खण्डमा छापिएका सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
