नागरिक उन्मुक्ति र जनमत पार्टीबीच कार्यगत एकता, रेशमको रिहाइदेखि नागरिकता विधेयक साझा मुद्दा

रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी र सीके राउत नेतृत्वको जनमत पार्टीबीच विभिन्न १२ वटा बुँदामा सहकार्य गर्ने सहमतिसँगै कार्यगत एकता भएको छ।

काठमाडौँ- गत मंसिरमा सम्पन्न संघीय निर्वाचनबाट उदाएका तराई-मधेश केन्द्रित नागरिक उन्मुक्ति र जनमत पार्टीबीच कार्यगत एकता भएको छ। 

रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी र सीके राउत अध्यक्ष रहेको जनमत पार्टीबीच कार्यगत एकतासँगै विभिन्न १२ वटा मुद्दामा साझा धारणा बनाएर अघि बढ्ने सहमति भएको हो। 

दुई पार्टीबीच टीकापुर घटनामा दोषी ठहर भई सजाय भोगिरहेका रेशम चौधरी लगायतको रिहाइको पहल गर्ने तथा सरकारले ल्याएको मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधित) अध्यादेश २०७९ लाई संसदबाट पारित गराई प्रभावकारी कार्यान्वयन गराउन दबाब दिनेलगायतका सहमति भएको छ। 

त्यस्तै, नागरिकता विधेयक पारित गर्न दबाब दिने, आदिवासी, जनजाति, महिला, मधेशी, दलित, मुस्लिम, थारू तथा अन्य पछि परेका जातिको उत्थानका लागि पहल गर्न दुवै दल सहमत भएका छन्। 

सहमतिमा नागरिक उन्मुक्ति पार्टीका तर्फबाट अध्यक्ष श्रेष्ठ तथा जनमत पार्टीका तर्फबाट राउतले हस्ताक्षर गरेका हुन्।