अस्थायी डाइभर्सनबाट कहिलेसम्म चल्ला बीपी राजमार्ग?

गत वर्षको बाढीले क्षतिग्रस्त बीपी राजमार्गको करिब ३० किमि खण्ड पटकपटक बग्दा अस्थायी डाइभर्सनमा मात्र करिब ६ करोड खर्च भइसकेको छ, तर ठेक्का लागेर पनि स्थायी संरचना बनाउन अझै शुरू भएको छैन।

काठमाडौँ– सिन्धुलीका राजेश बस्नेत यस वर्ष दशैँको टीका लगाएर काठमाडौँ फर्किने तयारीमा थिए। तर वर्षापछिको बाढीले बीपी राजमार्ग बगाउँदा समयमा फर्किन सकेनन्। उक्त सडकमा बनाइएको अस्थायी संरचना बाढीले बगाएको थियो। बीपी राजमार्ग पूर्णरूपमा बन्द भएपछि राजेश हेटौँडा हुँदै  दक्षिणकाली निस्किएर काठमाडौँ पुगे।

तिहार शुरू हुनै लाग्दा मनसुन सकिएको थियो। बीपी राजमार्ग फेरि डाइभर्सन बनाएर खुलाइसकिएको थियो। यस पटक समस्या नहोला भनेर राजेश तिहारमा पनि घर गए, तर ‘मोन्था’ चक्रवातका कारण देशैभर वर्षा भयो। पहिरो र लेदोका कारण बीपी राजमार्ग फेरि बन्द भयो। उनी गाउँमै रोकिए।

राजेश कात्तिक १५ गते बल्ल वैकल्पिक बाटो हुँदै काठमाडौँ आइपुगे। सडकको अवस्था देख्दा हिँडडुल गर्नै दिक्क लाग्न थालिसकेको उनी बताउँछन्। “सडकको हाल देख्दा घर जानै मन लाग्दैन, तर चाडपर्वमा घर नजान पनि मिलेन। जाउँ कहिले कहाँ अभर परिन्छ टुंगो भएन,” उनी भन्छन्।

सरकारले बीपी राजमार्गमा डाइभर्सनभन्दा पनि पक्की सडक नै बनाउन प्राथमिकता दिनुपर्ने उनको भनाइ छ। तर यो समस्या अर्को वर्ष पनि समाधान होला भन्नेमा उनी आशावादी छैनन्। “एक वर्ष बितिसक्यो, अझै सडकको स्थायी खालको काम थालिएको छैन। अब अर्को बर्खामा काम सकिएला भनेर कसरी आशा गर्ने? कति वर्ष यस्तै दुःख भोग्नुपर्ने हो,” उनी भन्छन्।

बीपी राजमार्गमा स्थायी संरचना निर्माणमा ढिलाइ हुँदा यही राजमार्ग हुँदै पूर्वका विभिन्न जिल्ला जाने धेरै यात्रुले सास्ती भोग्नुपरिरहेको छ। कहिले बाढीपहिरोको जोखिम छ, कहिले धुलोधुवाँको पिरलो।

२०८१ असोजमा आएको बाढीले बगाएको यो सडकखण्डमा अहिलेको बाढीले थप क्षति पुर्‍यायो। त्यस बेला करिब १२ किमि सडक बगाएको थियो र करिब ३० किमिमा क्षति भएको थियो। सडक बगाएको ठाउँमा डाइभर्सन बनाइएको छ।

सडक भत्किएको वर्षदिन पुग्दा पनि स्थायी संरचना निर्माण शुरू भएको छैन। सडक बनाउन स्रोत नजुट्दा ठेक्का प्रक्रिया अगाडि नबढेको सडक डिभिजन भक्तपुरले जनाएको छ। २०८२ असारमा केही खण्ड नेपाल सरकारकै स्रोतबाट खर्च हुनेगरी ठेक्का सम्झौता भए पनि काम भने शुरू भएको थिएन।

nullगत असोज १८ गतेदेखि आएको बाढीले फेरि चौकीडाँडा–नेपालथोकसम्मको करिब चार किमि सडकको अस्थायी डाइभर्सन बगायो। जसकारण उक्त राजमार्ग हुँदै आवतजावत ठप्प भयो।

सडक डिभिजन भक्तपुरका अनुसार, त्यस बेला करिब १७ ठाउँमा साना—ठूला डाइभर्सन बगाएको थियो। आवतजावत खुलाउन सडक विभागलाई करिब हप्तादिन लाग्यो। तत्कालका लागि खोलाको छेउबाटै अस्थायी डाइभर्सन बनाइयो।

फेरि कात्तिक १३ गतेदेखि पानी पर्दा सवारी आवतजावतमा रोक लगाइएको थियो। डाइभर्सन नबगाए पनि पहिरो र लेदोका कारण विभिन्न ठाउँमा अवरोध थियो। बीपी राजमार्ग हुँदै जाने हजारौँ यात्रुले वैकल्पिक मार्ग प्रयोग गर्नुपर्‍यो।

nullरामेछाप जाने सवारीसाधनले चरिकोट हुँदै जानुपर्ने अवस्था बन्यो। सिन्धुली हुँदै पूर्वजाने सवारीसाधन काठमाडौँबाट हेटौँडा हुँदै गए। लामो समयसम्म सडक नबन्दा सवारीचालकलाई सामान्य वर्षामा पनि हैरानी हुने गरेको काठमाडौँ—मन्थलीका बस चालक डम्बर खड्का बताउँछन्।

उनी भन्छन्, “पानी पर्‍यो कि हामीलाई अब कसरी हिँड्ने होला भन्ने त्रास हुन्छ। दुईपटक त मन्थली पुग्न चरिकोट भएर गएको छु। तर लामो बाटो भएका कारण तेल धेरै जान्छ, खर्चै बच्दैन।”

सडकको अवस्था राम्रो नहुँदा सवारीसाधन बिग्रिने र दुर्घटनाको जोखिम हुने खड्का बताउँछन्। सरकारले बीपी राजमार्गलाई पहिलो प्राथमिकतामा राखेर सडकलाई पुरानै अवस्थामा फर्काउनुपर्ने उनको माग छ।

अस्थायी डाइभर्सनमै ६ करोड खर्च
बीपी राजमार्गको करिब १२ किमि पूरै बगाएको र अन्यसमेत गरी ३० किमि खण्ड बनाउनुपर्ने विभागले जनाएको छ। गत असोजयता सरकारले स्थायी संरचनाभन्दा पनि मर्मतमै समय खर्चिएको छ।

एक वर्षको अवधिमा अस्थायी डाइभर्सन बनाउनै भक्तपुर भिडिजनले करिब ५ करोड रुपैयाँ खर्च गरिसकेको डिभिजन प्रमुख सुमन योगेशले बताए। “गत वर्षको असोजमा आएको बाढीले बगाएको ठाउँमा करिब ४ करोड लागेको थियो। यस वर्षको क्षतिबाट फेरि डाइभर्सन बनाउन १ करोड जति खर्च भएको छ,” उनले भने।

nullयो सडकको पूर्वीखण्ड सडक डिभिजन सिन्धुलीले हेर्छ। उक्त खण्डको नेपालथोकमा बाढी र पहिरोले २०८१ सालमा ०.६५० किमि सडकमा क्षति भएको थियो। उक्त खण्डमा अस्थायी संरचना निर्माणका लागि ७१ लाख ६९ हजार लागेको सडक विभागले जनाएको छ।

यस वर्ष पनि नेपालथोक—बालुवामा करिब पाँच किलोमिटर सडकमा क्षति भएको थियो। जसमध्ये करिब १७० मिटरमा अस्थायी संरचना बनाइएको थियो। त्यसका लागि करिब १८ लाख ५० हजार रुपैयाँ लागेको विभागका सूचना अधिकारी शुभारञ्जन दाहालले बताए। यो सबै गरी अस्थायी डाइभर्सनमा मात्र करिब ५ करोड ९० लाख रुपैयाँ खर्च भएको छ।

कहिले शुरू होला स्थायी संरचना निर्माण?
भक्तपुर डिभिजन प्रमुख सुमन योगेशका अनुसार बीपी राजमार्गको स्थायी संरचनाको निर्माण केही दिनबाटै शुरू हुँदैछ। केही खण्डको ठेक्का सम्झौता भइसके पनि चाडपर्वका कारण ढिलाइ भएको छ।

उनी भन्छन्, “आजभोलिबाटै काम शुरू हुन्छ। चारवटा प्याकेजमा काम हुन्छ, दुई प्याकेजमा ठेकेदार कम्पनीसँग सम्झौता भएको छ। एउटाको प्रक्रिया अन्तिम चरणमा छ। चौथो प्याकेज जाइकाले गर्ने हो। त्यसको सम्झौता भइसकेको छैन।”

डिभिजन प्रमुख सुमनका अनुसार, भकुण्डेबेसीदेखि नेपालथोकसम्म करिब ३० किमि क्षेत्रका लागि ठेक्का सम्झौता भइरहेको हो। डालाबेसीदेखि चारसयबेसीसम्म नौ किमि सडकको ठेक्का खानी–एवान–कमलजित जेभीले पाएको छ। कम्पनीले भ्याटबाहेक १ अर्ब २२ करोड रुपैयाँमा दुई वर्षभित्र सक्नेगरी ठेक्का पाएको हो। ठेक्का सम्झौता असारमै भए पनि काम अझै शुरू भएको छैन।

nullयस्तै, चारसयबेसीदेखि भकुन्डेबेसीसम्म ११ किमि खण्डको निर्माणका लागि लामा–नवकान्तिपुर जेभीले ठेक्का पाएको छ। उक्त खण्डमा भ्याटबाहेक १ अर्ब १४ करोड रुपैयाँमा दुई वर्षभित्र सक्नेगरी सम्झौता भएको हो।

यही सडकखण्डको ३.२ किमिमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोगले निर्माण गरिदिने भएको छ। डिजाइनलगायत काम सकिए पनि ठेक्का सम्झौता भइनसकेको सुमनले जानकारी दिए।

जापान सरकारको करिब २ अर्ब ६० करोड रुपैयाँ बराबरको अनुदानमा यो खण्ड निर्माण हुने भएको हो। यसका लागि अनुदान सम्झौतामा कात्तिक १३ गते जापान सरकार र नेपालसरकारबीच हस्ताक्षरसमेत भइसकेको छ।

बाँकी रहेको २.३ किमि खण्डको ठेक्का प्रक्रियामा गइसकेको छ। उनले भने, “पिप्लेदेखि डालाबेसीखण्डको ठेक्काका लागि गएको छ। केही दिनभित्रै सबै सकिएर ठेकेदार फाइनल हुनेछ।”

nullयस्तै, सडक डिभिजन सिन्धुलीअन्तर्गत पर्ने बर्खेखोला सडकको ४.९ किमि खण्डको पनि ठेक्का लागिसकेको छ। सडक विभागका अनुसार, उक्त सडक निर्माणका लागि खरीढुंगा–घिसिङ–क्षितिज जेभीसँग ६१ करोड १४ लाखमा सम्झौता भएको हो। सम्झौताअनुसार निर्माणको काम २०८४ असारमा सक्नुपर्ने छ। उक्त खण्डमा पनि काम भने शुरू भएको छैन।

अब बन्ने सडकहरू दुईलेनमा निर्माण हुने डिभिजन प्रमुख सुमनले बताए। “सडक उही ठाउँमा हुन्छ। धेरै ठाउँ सार्न हामीले माथि भित्तो काटनुपर्ने हुन्छ। कतिपय ठाउँमा बस्ती बसेको छ, बजारहरू व्यवस्थित भइसकेका छन्। बस्ती उठाउनुपर्ने हुन्छ। त्यसैले जे पहिले थियो उही संरचनामा निर्माण गर्न लागेका हौँ,” उनले भने।

पहिलेको तुलानामा अब निर्माण हुने सडक बाढीले बगाउन नसक्नेगरी बलियो बनाइने उनले दाबी गरे। “धेरैलाई लाग्नसक्छ पहिलेकै ठाउँमा बनाएपछि फेरि बगाउला। तर अब त्यस्तो हुँदैन। जाइकाले पहिले बनाउँदा सामान्य ठाउँमा जस्तो स्ट्रक्चर बनाएकाले त्यो भत्कियो,” उनले भने।

अब बन्ने सडकमा खोलाको सतहभन्दा तलबाट जग उठाएर माथिसम्म ल्याएर बनाइने छ। यसरी बनाएको सडक बाढीले सहजै बगाउन नसक्ने उनको दाबी छ।