जथाभाबी सडक विस्तारको परिणामः वर्षा लागेपछि पहिरोको त्राहिमाम्

सडक फराकिलो बनाउन जथाभाबी भित्तो खन्दा धेरै ठाउँमा पहिरोको जोखिम बढेको छ। कतै पर्याप्त भौगर्भिक अध्ययन नहुँदा र काटिएको भित्तोमा आधुनिक प्रविधि प्रयोग नहुँदा पनि पहिरो गइरहेको छ।

काठमाडौँ– रामप्रसाद लगेजुले काभ्रे र भक्तपुरको सीमामा पर्ने साँगामा २०७२ सालमा खोलेको दार्जेलिङ रिसोर्ट अहिले बन्द छ। काठमाडौँबाट पूर्व जाने यो सडक विस्तारका क्रममा पहिरो झरेर घर नै धराप हुँदा उनले रिसोर्ट बन्द गर्नुपरेको हो।

सडक विस्तार थाल्नुअघि उनको रिसोर्टको व्यापार राम्रो थियो। “विस्तारको काम शुरू भएपछि पहिला मूल सडकबाट होटलमा आउने बाटो बन्द भयो। त्यसपछि पहिरो झरेर बस्नै डर लाग्ने स्थिति बन्यो,” उनी भन्छन्।

वर्षामा अझै पहिरो झर्ने क्रम रोकिएको छैन। गत असोज १७ र १८ गतेको अविरल वर्षापछि यही ठाउँमा पहिरो जाँदा अरनिको राजमार्ग ठप्प भयो। असोज १९ गते वर्षा रोकिएपछि मात्रै पहिरो पन्छाइयो।

सडक विस्तारसँगै पहिरोको जोखिमका कारण यहाँका स्थानीय त्राहिमाम् छन्। कतिपयले व्यवसाय नै बन्द गर्नु परेको छ। यसरी नै बन्द गरिएको भञ्ज्याङ रिसोर्टका सञ्चालक विष्णुभक्त कवाङ सरकारले उचित क्षतिपूर्ति दिनुपर्ने बताउँछन्।

कवाङले रेस्टुरेन्ट र लजका लागि ठाउँ अभाव भएपछि अर्को भवन थप्दै थिए। तीन तले भवनको पिल्लर उठाएर ढलान पनि सकिएको थियो। तर सडक विस्तारका क्रममा पहिरोले पुरानो र नयाँ दुवै भवन धराप बने।

nullसडक विस्तारका क्रममा पहिरो जाने भएपछि त्यसलाई रोक्न सडक विभागले ढुंगाको पर्खाल लगाएको थियो। असोज १८ गते पहिरोले पर्खालै भत्कादिएपछि बस्ने अवस्था नभएको कवाङको भनाइ छ।

यही सडकअन्तर्गत भक्तपुरको सूर्यविनायक–९, पलासेकी राधा रानामगरलाई पानी पर्न थालेपछि घरमा बस्न डर लाग्छ। असोज १७ र १८ गतेको वर्षामा पहिरो जान थालेपछि उनलाई रातभर निद्रा परेन। सडक विस्तार गर्दा डोजरले भित्तो खनेका कारण माथिसम्मै पहिरो जाने डर बढेको उनको भनाइ छ।

पलासेमै घर भएकी प्रतीक्षा परियारलाई पहिला सडक विस्तार गर्दा अझै राम्रो हुन्छ भन्ने लाग्थ्यो। तर विकासले विपद्को डर ल्यायो। पहिरोको जोखिम हुने ठाउँमा अग्रिम सतर्कता नअपनाए धेरै क्षति हुने उनको अनुमान छ।

तलबाट खन्न थालेपछि आफूहरूको घर पनि जोखिममा परेको उनी बताउँछिन्। “अस्तिको झरीमा त वल्लो र पल्लो घर एकै ठाउँमा सँगै बस्यौँ। बाटो आउँदासँगै जोखिम पनि पो आयो,” उनले भनिन्।

nullअरनिको राजमार्गअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किमि खण्ड ६ लेनमा विस्तार भइरहेको छ। दुई खण्डमा विभाजन गरेर तीन वर्षभित्र काम सक्ने गरी २०७९ पुस २४ गते ठेक्का सम्झौता भएको थियो।

सडक विस्तारका लागि ७.५ किमि लामो सूर्यविनायक–साँगा सडकखण्ड ३ अर्ब ८८ करोड ९३ लाखमा ठेक्का लागेको हो। यो खण्ड आशिषकुमार श्रेष्ठ बन्दन भगवती कम्पनीले ठेक्का लिएको हो। त्यस्तै, साँगा–धुलिखेल ८.४ किमि सडकखण्ड विस्तारका लागि ४ अर्ब ५ करोड ६४ लाखमा लामा कन्स्ट्रक्सन कम्पनीले ठेक्का लिएको हो।

सूर्यविनायक–धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजना कार्यालयका इन्जिनियर धनबहादुर बुढा यो सडकमा पहिले तय भएकै डिजाइनअनुसार पर्खाल लगाए पनि अहिले पहिरो झरिरहेको बताउँछन्। उनी भन्छन्, “अस्तिको पहिरोले लगाएको वाल पनि भत्कियो। त्यहाँ पानीको भल छिरेर समस्या आएको रहेछ। पहिले डिजाइन गर्ने विज्ञलाई देखाएर फेरि काम गर्छौं।”

सडक विस्तार गर्दा पहाड वा भित्ता काट्नुअघि पर्याप्त अध्ययन गर्नुपर्छ। त्यसका लागि धेरै लागत लाग्ने हुँदा बाहिरी अध्ययन मात्रै हुन्छ। जसकारण कतिपय ठाउँमा जोखिम हुने इन्जिनियर बुढा बताउँछन्।

प्रायःजसो आयोजनामा बजेट विनियोजन नहुँदा बाहिरबाट हेरेरै पर्खाल डिजाइन गरिने उनको भनाइ छ। अहिले जोखिममा परेका घरलाई के गर्ने भनेर छलफल भइरहेको उनले जानकारी दिए।

विस्तारले जोखिम, वर्षाले ‘ट्रिगर’
नागढुंगा—मुग्लिन र मुग्लिन—नारायणघाट सडकमा पनि पहिरोको जोखिम धेरै छ। गत असोज ४ गते मुग्लिन—नारायणघाट अन्तर्गत तुइन खोलामा खसेको पहिरोले १०० मिटर सडक ढाकेको थियो। पहिरो साँझ झरेकाले यात्रुहरू रातभर सडकमा बस्न बाध्य भएका थिए।

उक्त पहिरो पन्छाइसक्दा नसक्दै फेरि असोज ७ गते अझै ठूलो पहिरो खस्यो। त्यस बेला करिब १४ हजार घनमिटर माटो खसेको उक्त सडकका इन्जिनियर अर्जुन घिमिरे बताउँछन्। त्यहाँ अझै बेलाबेला ढुंगा खसिरहेको छ। “अहिलेलाई पहिरो स्टेबल देखिएको छ। तर पानी प¥यो वा हावा चल्यो भने स—साना ढुंगा झरिरहन्छन्,” उनी भन्छन्।

उक्त सडकमा अहिले पनि ‘जोखिमको क्षेत्र’ भनेर बोर्ड राखिएको छ। यात्रुहरूलाई रोकेर अवस्था हेरर हिँडन अनुरोध गरिएको छ। उक्त पहिरोको उचाइ धेरै भएकाले सानो ढुंगा खस्दा पनि ठूलो असर पर्ने हुन्छ।

यो सडकमा पहिरो अहिले मात्रै झरेको होइन। सडक विस्तार गरेर दुई लेनको बनाउँदादेखिको पहिरोको जोखिम अहिलेसम्म कायमै रहेको घिमिरे बताउँछन्। ३३ किमि लामो यो सडकखण्ड दुई लेनमा विस्तार गर्ने काम २०७५ सालमा सकिएको थियो। तर विस्तारका क्रममा पुल र पहिरोको जोखिम भएका ठाउँको काम पूर्णरूपमा सकिएन।

केही ठाउँका पहिरोलाई सडक विभागले रोकथाम गरेको थियो। “जुनसुकै रोडमा खन्ने वा पहाड काट्ने भएपछि त्यो ठाउँ विस्तारै अनस्टेबल हुन्छ। त्यसलाई स्टेबल बनाउनुपर्छ। तुइनखोलामा पहिला ठूलो ढुंगा थियो, त्यहाँ स्टेबलाइजेसनको आवश्यकता थिएन। बजेट पनि कम थियो। त्यही भएर प्राथमिकताका आधारमा अन्त काम गर्यौं,” उनले भने।

null पहिरोलाई यसपटकको वर्षाले ट्रिगर गरेको उनको बुझाइ छ। “यो ठाउँ स्टेबल नै थियो। अहिले ढुंगा नै फुटेर तल झरेको पनि होइन। तलपट्टि ५० मिटर ढुंगा छ। माथिबाट अलिअलि माटो तल झरेपछि जम्मा भएर त्यसले तल सोर्दै बाटोमा पुग्दा जम्मा भएको हो,” उनले भने।

विभागका जियो टेक्निकल इन्जिनियर मधुसूदन आचार्य भौगर्भिक अध्ययन गरेर सडक विस्तार गरिने हुँदा विस्तारकै कारण जोखिम भयो भन्न नमिल्ने बताउँछन्। तुइन खोलालगायत ठाउँको पहिरो कमजोर भूबनावटका कारण आएको उनको भनाइ छ।

“हामीले जोखिम भनेर छुट्याएका कतिपय ठाउँमा बजेट नपुगेर छाडेका हुन्छौँ। त्यहाँ नियमित मर्मत गर्नुपर्ने हुन्छ,” उनले भने, “तर बजेट पुग्दैन। सडकको धेरै बजेट पिचमै खर्च हुन्छ। समयमै पहिरोमा काम गर्न सक्दैनौँ। तर हामीलाई जोखिम थाहा नभएर होइन, सबै ठाउँमा एकैपटक काम गर्न नसक्दा पहिरो जाने हो।”

बग्रेल्ती शाखा सडकले थप जोखिम 
नागढुंगा—मुग्लिन सडक पनि दुई खण्डमा बाँडेर विस्तार भइरहेको छ। यो सडकको पूर्वीखण्ड अन्तर्गत झ्याप्ले खोलामा २०८१ असोजमा आएको पहिरोले तीन वटा गाडी पुरिँदा ३५ जनाको मृत्यु भएको थियो। यसबाहेक महेश खोला, कमेरे भीर, चिरौँदी पुल, परेवा भीरलगायतका ठाउँमा पहिरोको जोखिम उच्च छ।

यो खण्डमा सडक विस्तारका कारणले मात्र पहिरो नगएको पूर्वीखण्डका आयोजना प्रमुख केशव ओझाको तर्क छ। “केही हदसम्म सडक विस्तारले ट्रिगर गरेको होला, तर त्यसबाहेकका ठाउँमा पनि माथिबाट पहिरो जाने गरेको छ। यसलाई जलवायु परिवर्तनका प्रभावसँग पनि जोडेर हेर्नुपर्ने हुनसक्छ,” उनले भने।

राजमार्गको तल र माथि जथाभावी शाखा सडक खोलिँदा पनि राजमार्ग कमजोर भएको उनको बुझाइ छ। शाखा सडकको पानीको व्यवस्थापन राम्रोसँग भएको हुँदैन, त्यसले लेदोसहितको पानी खोल्साबाट नबगी सडकबाटै बग्छ। मूल सडकका नाली पनि थुनिदिँदा पहिरोको जोखिम बढ्ने ओझा बताउँछन्।

यस सडकखण्डमा पहिरोको जोखिम भएका ठाउँ छनोट गरेर काम भइरहेको उनले जानकारी दिए। “झ्याप्ले खोलामा पहिरोलाई ८० प्रतिशत स्टेबलाइजेसन गरिसकेका छौँ। परेवा भीरमा जोखिम नहुने गरी मेनेज गरेका छौँ। महेश खोलामा कटान नहुने गरी काम गरेका छौँ। कमेरे भीरको अध्ययन सकेका छैनौँ। चराँैदीमा पनि आफैँ स्टेबल भएको छ,” उनले भने।

झ्याप्ले खोलामा भने ‘माइक्रो पाइलिङ’लगायत विधिबाट पहिरो रोकथाम गरिरहेको उनले बताए। यो सडकखण्ड विस्तारको काम करिब ५२ प्रतिशत सकिएको छ। नागढुंगादेखि नौबिसेसम्म ८० र त्यहाँदेखि मलेखुसम्म ४२ प्रतिशत काम भएको आयोजना प्रमुख ओझाले बताए।

सार्वजनिक सडक ऐन २०३१ मा विभागको स्विकृति लिएर मात्रै शाखा सडक खोल्नुपर्ने व्यवस्था छ। तर पालिकाहरूले यसलाई बेवास्ता गरेको उनको आरोप छ।

पश्चिम खण्डमा भने मलेखुदेखि मुग्लिनसम्मको ३८.८६ किमिलाई राखिएको छ। यो खण्डमा पनि करिब १२ ठाउँमा पहिरोको जोखिम छ। रातमाटे, शितलबजार, बढारे भीर, विशालटार, कृष्णभीर, खतेउडी, लालटिन बजार,  जवाङ खोला, मोवा खोला, मनकामना छेउ, गोप्टे भीर पहिरोको जोखिम भएका मुख्य ठाउँ हुन्।

पहिरोको बढी जोखिम भएको ठाउँमा रोकथामका लागि काम भइरहेको आयोजना प्रमुख सजना अधिकारीले बताइन्। उनले भनिन्, “पहिरो त यो बाटोमा जुनसुकै ठाउँमा जानसक्छ। तर धेरै जोखिम भनेको जवाङ खोला हो, त्यहाँ पहिरो रोक्ने काम भइरहेको छ।”

यो खण्डमा अहिलेसम्म ३५ प्रतिशत काम सम्पन्न भएको उनले जानकारी दिइन्।  

कसरी रोक्ने पहिरोको जोखिम?
सडक विभागकाका पूर्वमहानिर्देशक अर्जुन थापा सडक विस्तार गर्दा पहिरोको जोखिम बढ्ने र त्यसलाई रोकथाम गरिनुपर्ने बताउँछन्। “सडक चौडा गर्ने बित्तिकै जोखिम त बढ्छ, किनकि त्यहाँ कट हाइट बढ्छ। तर त्यसलाई ट्रिटमेन्ट गर्नुपर्छ,” उनी भन्छन्।

थापाका अनुसार, यी राजमार्ग र पुलहरूमा दुईवटा गाडी गुड्न नै समस्या भएका कारण भौगर्भिक अध्ययन गरेरै विस्तार गरिएको थियो। “पृथ्वी राजमार्गमा पनि जहाँजहाँ सम्भव भएसम्म चार लेन गरेको छ। जहाँ सम्भव छैन, त्यहाँ साढे सात मिटर अर्थात् एकदेखि डेढ मिटर मात्रै बढाइएको छ। मुग्लिन–नारायणघाट पूर्णरूपमा विस्तार गरिएको हो,” उनले भने।

मुग्लिन नारायणघाट खण्डमा विस्तार गर्दा ४५ ठाउँ पहिरो जाने जोखिम भएको पहिचान गरिएको थियो। त्यस बेला सबै सेटल भएर चार ठाउँमा मात्रै जोेखिम बाँकी थियो। “तुइनखोलाको पहिरो सेटल भइसकेको थियो। त्यहाँ पुलका लागि भित्ता काटिएका कारणले जोखिम निम्तियो,” उनले भने।

यस्तो किसिमको जोखिम भएको ठाउँमा पहिरो रोकथाम गर्न ‘रकसेट’ बनाउनु पर्ने थापाको सुझाव छ। रकसेट भनेको ढलान (आरसीसी) छानोजस्तो हुने र पहिरो आयो भने माथिबाटै गुल्टिएर जाने उनी बताउँछन्।

उनका अनुसार, यस्तो संरचना टनेलभन्दा सस्तो पनि हुन्छ। मुख्यगरी, सरकारले राजमार्ग मर्मतमा पैसा नछुट्याउँदा समस्या हुने गरेको उनको अनुभव छ।