प्रतिगमनको खतरा रहेसम्म गठबन्धनको औचित्य कायमै : गठबन्धन दल

सत्ता गठबन्धनमा आवद्ध तीन दलले संविधानमाथिको प्रतिगमनको खतरा रहेसम्म गठबन्धन कायम रहने बताएका छन्।

संयोजन गरिएको तस्वीर।

काठमाडौँ- सत्ता गठबन्धनका प्रमुख तीन साझेदार दलहरूले संविधानमाथिको प्रतिगमनको खतरा रहेसम्म गठबन्धनको औचित्य कायमै रहने बताएका छन्। प्रमुख तीन पार्टीले मंगलबार संयुक्त अपिल जारी गर्दै संविधानको रक्षा, स्थिरता र समृद्धिका लागि गठबन्धन दलहरूको पक्षमा मतदान गर्न अपिल गरेका हुन्।

"पाँच दलीय गठबन्धनको उद्देश्य मुलुकको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको भावना र मर्मविपरीत दुई/दुई पटक गरिएको प्रतिनिधिसभाको असंवैधानिक विघटनलगायत तात्कालीन सरकार प्रमुखको अनेकौ स्वेच्छाचारी कदमहरूलाई परास्त गर्नु र संविधानको रक्षा गर्नु रहेको कुरा जगजाहेर छ," अपिलमा भनिएको छ, "पाँच दलीय गठबन्धन सरकार बनेपछि संविधानको मूल मर्म र भावनाअनुरूप काम गर्दै आएको छ।"

अपिलमा गठबन्धन सरकार गठन भएलगत्तै महामारीको रूपमा रहेको कोभिडको संक्रमण नियन्त्रण भएको उल्लेख छ। गठबन्धन सरकारले विदेश नीतिमा सन्तुलन कायम गरेको पनि दाबी गरिएको छ। जनताको संघर्ष र बलिदानको परिणामस्वरूप स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मूल दस्तावेजमाथि अधिनायकवादी आक्रमणको खतरा जीवितै रहेको उनीहरूको निष्कर्ष छ।

"देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन भ्रष्टाचारमा शून्य सहनशीलतासहितको सशासन र जनताको घरदैलोमै प्रभावकारी सेवाको सुनिश्चितता गर्दै उत्पादन वृद्धि र मनकभित्रै रोजगारीका पर्याप्त अवसरहरूको सिर्जना गरी आत्मनिर्भर अर्थतन्त्र निर्माणको राष्ट्रिय कार्यभारलाई गठबन्धन दलले उच्च प्राथमिकता दिनेछ," प्रमुख तीन दलका नेताहरूले जारी गरेको अपिलमा भनिएको छ।

जनताको समृद्धिको आकांक्षालाई आगामी निर्वाचनपछि बन्ने सरकारले बिना आलटाल र ढिलासुस्ती सम्बोधन गर्नु आवश्यक रहेको भन्दै त्यसका लागि गठबन्धन दलहरूका प्राथमिकताहरू प्रष्ट रहेको बताइएको छ।

पर्याप्त निजी, सहकारी एवं सार्वजनिक लगानी वृद्धि गर्दै देशको हितमा विदेशी लगानी आकर्षण गर्ने नीति गठबन्धन सरकारले लिने भन्दै सत्ता गठबन्धनमा रहेका तीन दलले लगानीका लागि आवश्यक वातावरण, राजनीतिक स्थिरता, नीतिहरूको सुनिश्चितताप्रति गठबन्धन सचेत रहेको बताएका छन्।

द्विपक्षीय र बहुपक्षीय सन्धि सम्झौतालाई नेपालको राष्ट्रिय स्वार्थअनुरूप गर्न गठबन्धन सरकार प्रयत्नशील रहने भन्दै साझा प्रतिबद्धता, नीति र योजनाहरूको विस्तारित रूप पार्टीगत घोषणापत्रहरूले गर्ने उल्लेख गरिएको छ।

राष्ट्रिय यथार्थको प्रकाशमा लोकतन्त्र, संविधान र विधिको शासनमार्फत् सुशासन र समृद्धिको राष्ट्रिय अभिलाषा परिपूर्ति गर्नका लागि गठबन्धनको आवश्यकतालाई मनन् गर्न र आगामी निर्वाचनमा गठबन्धनलाई अत्यधिक बहुमतका साथ विजयी गराउन कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अपिल गरेका हुन्।