सन् ९० को दशकदेखि नेपालीले रेस्टुरेन्ट व्यवसाय थालेको फिनल्याण्ड अहिले रोजगारी र अध्ययनको आकर्षक गन्तव्य बनेको छ। तर, भाषाको ज्ञान र सीप नभइकनै ठूलो रकम खर्चेर जानेहरू भने शोषणमा परिरहेका छन्।
गुल्मीको चन्द्रकोट–८, मजुवामा करीब १०० घरधुरीको बजार छ। माझ बजारको तीनतले घर ५४ वर्षीया कुन्ती काउछाको हो। जेठो छोरा सन्जु फिनल्याण्ड गएर पैसा कमाउन थालेपछि बनाएको यो पक्की घरमा कुन्तीले होटल चलाएकी छन्।
तीन वर्षअघिसम्म कान्छा छोरा, बुहारी र नातिनातिनासँग ढुंगामाटोको घरमा बस्ने उनले त्यहाँ खाजाघर चलाएकी थिइन्।
“यो घर बनाउँदा १ करोड ३५ लाख लाग्यो” नयाँ घरको आँगनमा उभिएकी कुन्तीले भनिन्, “सबै पैसा जेठा छोराले पठाएको हो। यहाँको कमाइले त के गर्न सकिन्छ र !”
सन् २००८ मा विद्यार्थी भिसामा फिनल्याण्ड गएका सन्जु काउछा अहिले राजधानी हेल्सिन्कीमा छन्। उनी ‘फिनिस नेपाली समाज’का उपाध्यक्ष पनि हुन्।
वर्षको अधिकांश समय घाम देख्न नपाइने फिनल्याण्डमा नेपालभन्दा धेरै जाडो हुन्छ। तर, सामाजिक सुरक्षा व्यवस्था र कमाइ राम्रो भएकाले नेपालीका लागि फिनल्याण्ड वैदेशिक रोजगारको आकर्षक गन्तव्य बनेको सन्जु बताउँछन्।
“श्रीमती सुत्केरी हुँदा श्रीमान्ले पनि बिदा पाउने, निःशुल्क स्वास्थ्य उपचार र अन्य सुविधाका कारण फिनल्याण्डले म जस्ता धेरै नेपालीलाई तानेको छ” उनी भन्छन्, “आफू आइसकेपछि डिपेन्डेन्ट वा स्पोन्सरसिपमा परिवार ल्याउन पनि सहज छ।”
मजुवादेखि ५०० मिटर जति माथि चन्द्रकोट–८, तुराङमा पार्वती अर्याल श्रीमान्, छोरी, जेठी बुहारी र नातिनीसँग बस्छिन्। उनका तीन छोरामध्ये जेठा कतार, माइला फिनल्याण्ड र कान्छा परिवारसहित काठमाडौंमा छन्।
फिनल्याण्डबाट माहिला छोरा गोकर्णले रकम पठाउने भएपछि अर्याल दम्पती पनि पुरानो घर भत्काएर नयाँ बनाउने तयारीमा छन्। “गोकर्ण उता गएको ६ वर्ष भयो” पार्वती अर्याल भन्छिन्, “त्यसअघि भारत र दुबईमा पनि दुःख गर्यो।”
१० कक्षासम्म पढेका गोकर्ण रोजगारीका लागि शुरूमा भारत र त्यसपछि दुबई पुगेका थिए। फिनल्याण्डमा रहेका गाउँले मामाको सल्लाहमा उनले दुबईबाटै फिनल्याण्डका लागि भिसाको अनलाइन फाराम भरे।
आवेदन दिएको एक वर्षमा अन्तर्वार्ताका लागि काठमाडौंस्थित फिनिस दूतावासमा बोलाइयो। तेस्रो दिनमै भिसा आयो। त्यसपछि बाबुआमा भेट्न हतार–हतार तुराङ पुगेर आएका उनी काठमाडौंबाट फिनल्याण्ड उडे। काम गर्नका लागि ‘रेजिडेन्स परमिट भिसा’ मा फिनल्याण्ड पुगेका गोकर्ण अर्याल अहिले राजधानी हेल्सिन्कीमै स्वीडिस कम्पनी सिस्कन्सिपमा हाउस किपिङको काम गर्छन्।
“भारतमा कमाइ नै हुँदैनथ्यो, दुबईमा मासिक ५० हजार नेरु थियो”, घर विदामा आएका बेला गत २९ वैशाखमा तुराङमा भेटिएका अर्यालले भने, “अहिले महिनामा नेरु २ लाखजति कमाउँछु। मलाई फिनल्याण्डमा सबभन्दा राम्रो लाग्ने चाहिं गरीब वा विदेशी भनेर नहेप्ने बहुसांस्कृतिक वातावरण हो।”
अब श्रीमती र छोरीलाई पनि डिपेन्डेन्ट भिसामा फिनल्याण्ड लैजाने प्रक्रिया थालेको उनले बताए। उनका अनुसार, श्रीमती फिनल्याण्ड पुगेर सबभन्दा पहिला भाषा कक्षामा भर्ना हुनेछिन्। “भाषा जानेपछि सीप र रुचिअनुसार काम पाउन गाह्रो छैन”, अर्यालले भने।
श्रम स्वीकृति विनै फिनल्याण्ड
नेपाल र फिनल्याण्डबीच सन् १९७४ मा दौत्य सम्बन्ध स्थापना भएको हो। १९८३ बाट नेपालमा खानेपानी र शिक्षाको क्षेत्रमा फिनिस सहयोग शुरू भयो। कूटनीतिक सम्बन्ध स्थापना भएको १८ वर्षपछि १९९२ मा काठमाडौंमा फिनल्याण्डको राजदूतावास खुल्यो। त्यसको एक वर्षपछि १९९३ मा गुल्मीका देवीदत्त शर्माले हेल्सिन्कीमा ‘हिमालय’ नाम राखेर पहिलो नेपाली रेस्टुरेन्ट खोले।
सन् १९९० को दशकबाट नेपाली रोजगारीका लागि फिनल्याण्ड जाने क्रम पनि बढ्यो। फिनिस इमिग्रेसन सर्भिसका अनुसार गएको जून महिनासम्म फिनल्याण्डको नागरिकता प्राप्त गर्ने नेपालीको संख्या १२ हजार ४२७ पुगेको छ। जसमध्ये विद्यार्थी भिसामा गएर कामदार बनेकाको संख्या उल्लेख्य छ।

नेपाल र फिनल्याण्डबीच श्रम सम्झौता भने भएको छैन। वैदेशिक रोजगार विभागको उद्धार तथा राहत समन्वय शाखाका निर्देशक डम्बरबहादुर सुनुवार श्रम सम्झौता भएका र नभएका समेत देशमा काम गर्न जान श्रम स्वीकृति अनिवार्य हुने बताउँछन्। फिनल्याण्ड गएका नेपालीले भने त्यस्तो स्वीकृति पनि लिएका छैनन्।
नेपालीहरू रेजिडेन्स परमिटमा फिनल्याण्ड आइरहेकाले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिनु नपरेको फिनिस नेपाली समाजका उपाध्यक्ष सन्जु काउछा बताउँछन्। उनका अनुसार काम वा अध्ययन गर्न ९० दिनभन्दा बढी फिनल्याण्ड बस्न परे रेजिडेन्ट परमिट अन्तर्गत भिसाका लागि आवेदन दिनुपर्छ।
नातागोता र छिमेकीको नेटवर्क
काउछाका अनुसार, काम गर्न भारत गएका नेपालीले शुरूमा राम्रो रोजगार गन्तव्यको रूपमा युरोपको फिनल्याण्डबारे थाहा पाएका थिए। त्यसपछि उनीहरूले परिवार, नातेदार, छरछिमेकी र साथीभाइलाई धमाधम फिनल्याण्ड जाने चाँजोपाँजो मिलाए।
आफूले पढेको मजुवाको पोलारिस इङ्गलिस स्कूलकै मात्र करीब १५० जना जति अहिले हेल्सिन्कीलगायत अन्य शहरमा काम वा अध्ययन गरिरहेको सन्जु बताउँछन्। “फिनल्याण्डमा सबभन्दा धेरै गुल्मेली छन्”, उनी भन्छन्।

काउछाको सहयोगले १० वर्षअघि फिनल्याण्ड पुगेका मजुवाको छिमेकी टोल तुराङका सागर अर्यालले पनि आफ्ना बाआमालाई स्थायी बसोबास र ठूलो बुवाका छोरा गोकर्ण अर्याललाई कामका लागि फिनल्याण्ड लगिसके। उनकै सहयोगमा तुराङका दुईजना विद्यार्थी भिसामा फिनल्याण्ड जाने तयारीमा छन्।
सन् १९८० देखि २००० को अवधिमा गएका पहिलो पुस्ताका आप्रवासी नेपाली अहिले फिनल्याण्डमा जमेका छन्। त्यस अवधिमा फिनल्याण्ड पुगेका १०० हाराहारी नेपालीमध्ये केहीले रेस्टुरेन्ट व्यवसायमा ठूलो प्रगति गरे। उनीहरूका नातिनातिना पुस्तासम्म अहिले फिनल्याण्डमा छन्।
युनिभर्सिटी अफ हेल्सिन्कीको अध्ययन प्रतिवेदन (२०१८) मा पारिवारिक पुनर्मिलन गर्न र काममा लगाउन पनि पाइने कानूनी प्रावधानको फाइदा उठाउँदै नेपालीले आफ्नो परिवार र समुदायका मानिसलाई फिनल्याण्ड बोलाउने गरेको उल्लेख छ।
सन् २००० देखि २००७ सम्म ३ हजार ४८५ नेपाली कामदार भिसामा फिनल्याण्ड पुगे।
युरोपेली मुलुकमा दक्षिण एशियाली आप्रवासीबारे २०२० अक्टोबरमा प्रकाशित अध्ययन प्रतिवेदन अनुसार, २००७/०८ पछि विद्यार्थीको रूपमा फिनल्याण्ड जाने नेपालीको संख्या बढ्न थाल्यो। त्यसअघि कामदारको रूपमा जाने नेपाली धेरै थिए।
गुल्मीका धेरै
गुल्मीबाट पहिलो पटक फिनल्याण्ड पुग्ने मुसिकोट–५, आँपचौरका देवीदत्त शर्मा र हेमराज शर्मा हुन्। सन् १९८२ मा फिनल्याण्ड पुगेका देवीदत्त शर्मा फिनल्याण्ड पुग्ने पहिलो पुस्ताका नेपाली हुन्। ३५ वर्षअघि फिनल्याण्ड पुगेका हेमराजले पाँच वर्षपछि आफ्नो परिवार र त्यसपछि आफन्तहरू डिल्लीराज र रामप्रसाद अर्याल दाजुभाइलाई त्यहाँ लगे।
आँपचौरका खगेश्वर खरालका अनुसार, भारतमा कुकको काम सिकिरहेका हेमराजलाई भारतीय होटल मालिकले फिनल्याण्ड लगेका थिए। तिनै भारतीयको होटलमा केही वर्ष अनुभव लिएपछि उनले आफ्नै व्यवसाय थाले। खराल भन्छन्, “रेस्टुरेन्टमा चाहिने कामदार यतैबाटै लगें।”
देवीदत्त शर्माले त्यहाँ तीन वटा रेस्टुरेन्ट सञ्चालन गरेकोमा अहिले सबै बिक्री गरिसकेको बताए। त्यस्तै, डिल्लीराज र रामप्रसाद अर्याल दाजुभाइका होटल छन्। आँपचौरमा पैतृक सम्पत्ति र काठमाडौंमा घर भएका उनीहरूले नेपालमा जलविद्युत् आयोजना, रिसोर्ट र रियल स्टेट क्षेत्रमा लगानी गरेका छन्। उनीहरूको सहयोगमा आँपचौरमा विद्यालय र अस्पताल भवन बनेका छन्।
गुल्मी, आँपचौरका हरेक घरका सरदर एक जना फिनल्याण्डमा छन्। आँपचौरपछि मजुवा र सोताका धेरै छन्। तीमध्ये अधिकांश रेस्टुरेन्टमा सेफ छन्।
आँपचौरका मोतीलाल अर्याल सपरिवार फिनल्याण्ड बसेको १० वर्ष भयो। बाबु शंकर अर्यालका अनुसार, जेठा छोरा मोतीलाल पछि उनका बहिनी र ज्वाईं फिनल्याण्ड गए। “मेरा छोराछोरी मात्र होइन, तीन परिवार आफन्त पनि फिनल्याण्डमै छन्” शंकर अर्याल भन्छन्, “छरछिमेकका पनि १५ जना उतै छन्।”
युनिभर्सिटी अफ हेल्सिन्कीको अध्ययन प्रतिवेदन (२०१८)मा हेल्सिन्कीका धेरैजसो रेस्टुरेन्ट सञ्चालक नेपालको गुल्मी जिल्लाका भएको उल्लेख छ। त्यहाँ नेपालीले खोलेका करीब १०० रेस्टुरेन्टमध्ये ५०–६० वटा गुल्मेलीका छन्।
‘सन् ९० को दशकको उत्तराद्र्धमा नेपालका खस जातिहरू फिनिस रेस्टुरेन्टमा काम गर्थे र उनीहरूमध्ये अधिकांश गुल्मी जिल्लाका थिए’ अध्ययन प्रतिवेदनमा भनिएको छ— ‘कामको राम्रो अनुभव नभए पनि फिनिस भाषा बुझ्न सक्ने भएपछि उनीहरूले रेस्टुरेन्ट व्यवसाय शुरू गरे।’
उनीहरूले रेस्टुरेन्टमा काम गर्न आफ्नै परिवार र छिमेकबाट कामदार ल्याउने र नयाँ सर्कल बनाउने गरेको प्रतिवेदनमा उल्लेख छ।
त्यहाँ वस्ने नेपालीकाे संख्या ५ हजार १२ छ । फिनल्याण्डमा रहेका गुल्मेलीको संख्या यकिन नभए पनि फिनिस नेपाली समाजका अध्यक्ष नवीन भट्टराई त्यसमध्ये आधा जति गुल्मेली रहेको बताउँछन्। उनीहरूमध्ये धेरैजसो विद्यार्थी भिसामा गएका हुन्। २०२२ जनवरीदेखि जुलाईसम्ममा गुल्मीको रूपाकोटका मात्र ३६ जना अध्ययन तथा काम गर्ने सिलसिलामा फिनल्याण्ड पुगे।
रेस्टुरेन्ट व्यवसायमा सफल गुल्मेलीहरूले फिनल्याण्डमा प्रतिष्ठा पनि कमाएका छन्। गैर–आवासीय नेपाली संघ र फिनिस नेपाली समाज स्थापना गर्नमा आँपचौरका हेमराज शर्मा, देवीदत्त शर्मा, रामप्रसाद अर्यालहरूको प्रमुख भूमिका छ। २००५ मा स्थापित फिनिस नेपाली समाजले विदेशमा दुःख पाएका नेपालीदेखि गुल्मीका अस्पताल र स्कूलसम्मलाई सहयोग गर्दै आएको छ।
विद्यार्थी भिसामा जान सहज
तथ्यांकअनुसार २०१० यता हरेक वर्ष ३०० हाराहारी नेपाली विद्यार्थी कक्षा १० देखिमाथिल्लाे तहकाे अध्ययनका लागि भर्ना भइरहेका छन् । २०१० देखि २०२० सम्म चार हजार पाँच जना नेपाली विद्यार्थी फिनल्याण्डका विश्वविध्यालयमा भर्ना भएकाे तथ्यांक छ। २०१२ मा ४२९ र २०१७ मा ४०२ जना नेपाली अध्ययनका लागि भन्दै फिनल्याण्डका विश्वविध्यालयमा भर्ना भएकाे तथ्यांकमा उल्लेख छ।
पछिल्लो १० वर्षमा एशियाबाट विद्यार्थी भिसामा फिनल्याण्ड जानेमा चीन, रूस र भियतनामपछि नेपालीको संख्या धेरै छ। २०१० मा मात्र १५६ जना नेपाली फिनल्याण्डका शैक्षिक संस्थाहरूमा भर्ना भएकोमा २०१६ मा यो संख्या बढेर ३०९ र २०२० मा ३९६ पुगेको छ।
फिनल्याण्डको न्यासनल एजेन्सी फर एजुकेसनको प्रतिवेदन (२०१८) अनुसार २०१७ मा त्यहाँका विश्वविद्यालय र कलेजमा वाणिज्यशास्त्र, प्रशासन, कानून, इन्जिनियरिङ र सूचनाप्रविधि विषयको स्नातक र स्नातकोत्तर तहमा १ हजार ११० जना नेपाली विद्यार्थी भर्ना थिए। नेपालीको यो संख्या रूसी, भियतनामी र चिनियाँपछि चौथो धेरै हो।
फिनल्याण्डका विश्वविद्यालयमा अप्लाइड साइन्स अध्ययनका लागि आवेदन दिने नेपालीको संख्या बङ्गलादेशी, नाइजेरियाली, रूसी र भियतनामी विद्यार्थीको तुलनामा धेरै छ। फिनिस सरकारको तथ्यांकअनुसार २०१८ मा अप्लाइड साइन्समा आवेदन दिएका १ हजार ३१ नेपालीमध्ये २६ प्रतिशतले भर्ना पाएका थिए।
विद्यार्थी आकर्षित गर्न नीति परिमार्जन
फिनल्याण्डको एस्पूस्थित आल्टो युनिभर्सिटीको ‘क्यापासिटी बिल्डिङ इन इन्टरनेशनल हाइयर एजुकेसन कोल्याबोरेशन प्रोजेक्ट’का विज्ञ अविनाश धितालका अनुसार, फिनिस सरकारले पहिले विदेशी विद्यार्थीलक्षित ‘बी’ ग्रेडको भिसा दिने गरेकोमा अहिले कामदारलाई मात्र दिइँदै आएको ‘ए’ ग्रेडको भिसा पनि दिन थालेको छ।
त्यस्तै, विद्यार्थीले पढेको वर्ष बराबर थप काम गर्न दिने नियम बनाइएको छ। पार्ट टाइम कामको समय पनि हप्तामा २५ घण्टाबाट बढाएर ३० घण्टा पुर्याइएको छ। ‘ए’ भिसामा त्यहाँ पुगेका विद्यार्थीले चार वर्षपछि स्थायी बसोबासको र पाँच वर्ष पुगेपछि नागरिकताको लागि आवेदन दिन सक्छन्।
“फुलटाइम काम गर्ने भिसा पाएका कामदारले हप्तामा साढे ३७ घण्टा काम गर्न पाउँछन्”, १२ वर्षयता फिनल्याण्डमा अध्ययन तथा अनुसन्धानको काम गरिरहेका धिताल भन्छन्।

फिनल्याण्डमा काम गर्ने उमेर समूहको जनसंख्या घट्दो छ। त्यसैले, सरकारले आप्रवासी कामदारलाई स्थायी बसोबासको अनुमति लिन सहज बनाएको धिताल बताउँछन्। (हे.इन्फो)
सरकारले श्रमिक अभाव भएका क्षेत्रमा विदेशी विद्यार्थी र अनुसन्धानकर्तालाई आकर्षित गर्न २०१७ मा ‘ट्यालेन्ट बुस्ट प्रोग्राम’ ल्याएको छ। फिनल्याण्डमा विशेष सीपवाला कामदारको अभाव पूर्ति गर्नु ‘ट्यालेन्ट बुस्ट प्रोग्राम’को उद्देश्य हो। यसका लागि सरकारले शिक्षा र श्रम क्षेत्रमा विदेशीलाई सहज बनाउन विविध उपाय अपनाएको छ।
आर्थिक मामिला तथा रोजगार मन्त्रालयको गत ६ जनवरीको प्रेस विज्ञप्तिमा ‘फिनल्याण्डमा श्रमिक अभावले विभिन्न क्षेत्रको विकासलाई सुस्त पारेकाले काममा आधारित आप्रवासन सहज बनाउनु परेको’ उल्लेख छ। त्यसको ६ महीनापछि गत १ जूनबाट लागू भएको यो व्यवस्थामा विषयविज्ञ र उद्यमी आप्रवासीका सपरिवारलाई फास्ट ट्रयाकबाट स्थायी बसोबासको अनुमति दिने व्यवस्था मिलाइएको छ।
“विद्यार्थीबाट कामदार भिसामा परिवर्तन हुने वित्तिकै फिनिस नागरिकले पाउने स्वास्थ्य र शिक्षादेखि बेरोजगार भत्तासम्मका सबै सुविधा सरकारले दिन्छ”, धिताल भन्छन्।
निःशुल्क भोकेशनल कोर्स
फिनल्याण्डमा सन् २०१७ सम्म विदेशी विद्यार्थीलाई अप्लाइड साइन्समा उच्च शिक्षा पूर्ण निःशुल्क थियो। २००८ सम्ममा त आईएलटीएस वा टोफल दिएर मात्र पनि फिनल्याण्डमा विद्यार्थी भिसा पाइन्थ्यो, त्यो पनि विना बैंक ग्यारेन्टी। त्यो अवधिमा थुप्रै नेपाली विद्यार्थी अप्लाइड साइन्स पढ्न फिनल्याण्ड गए।
२०१७ मा अप्लाइड साइन्स अध्ययनमा शुल्क लाग्ने व्यवस्था भएपछि नेपाली विद्यार्थी साढे दुई वर्षदेखि तीन वर्षसम्मको भोकेशनल ट्रेनिङ कोर्सका लागि फिनल्याण्ड जान थाले। त्यहाँ कुक र वेटरदेखि मेकानिकल इन्जिनियरिङसम्मको भोकेशनल कोर्स निःशुल्क छ।
नेपालमा १२ कक्षा पूरा गरेकाहरू त्यहाँ भोकेशनल कोर्सका लागि योग्य मानिन्छन्। कुनै पनि विषयको भोकेशनल कोर्समा डिप्लोमा पूरा गरेपछि सहजै काम पाउँछन्। तर, नेपाल सरकारले भोकेशनल कोर्सका लागि ‘नो अब्जेक्सन लेटर’ दिंदैन। र पनि, विद्यार्थी विभिन्न ‘भनसुन र लगानी’ बाट त्यस्तो पत्र हात पारेर फिनल्याण्ड पुग्ने गरेका छन्।
विद्यार्थी भिसामा गए पनि प्रायः सबैको उद्देश्य फिनल्याण्डमा लामो समय बस्ने र पैसा कमाउने नै हुन्छ। श्रमिक अधिकारको क्षेत्रमा क्रियाशील बेलायती गैसस इक्विडमका नेपालस्थित दक्षिण एशिया निर्देशक रामेश्वर नेपाल परिवारको आर्थिक सुरक्षाको लागि सबैमा त्यस्तो चाहना हुने बताउँछन्।
श्रमशोषण र मानव तस्करी पनि !
गुल्मीबाट शुरूमा फिनल्याण्ड जानेहरूले रेस्टुरेन्ट खोल्न थालेपछि काम गर्न आफन्त र छिमेकीलाई धमाधम लगे।
त्यसरी श्रमिक आपूर्ति भएपछि ढिलोचाँडो श्रमशोषणको आरोप पनि लाग्यो नै। हेमराज शर्मा र देवीदत्त शर्माका रेस्टुरेन्टमा नेपालीको श्रमशोषण भएको आरोप फिनल्याण्डमा सरकारी मुद्दा नै बन्यो।
उचित तलब नदिई २४ घण्टासम्म घर र रेस्टुरेन्टको काममा लगाइएको, यौन दुव्र्यवहार पनि भएको उजुरी कामदारका रूपमा लगिएकी एक नेपाली युवतीले फिनिस प्रहरीमा गरेको समाचार अंग्रेजी साप्ताहिक नेपाली टाइम्स (२० जनवरी २०१९) मा प्रकाशित भएको थियो।
व्यक्तिगत सम्बन्धका आधारमा फिनल्याण्डका रेस्टुरेन्टमा काम गर्न जाने नेपालीहरू फिनिस कानूनभन्दा रेस्टुरेन्ट सञ्चालकको मर्र्जीमा चल्नुपर्ने अवस्था रहँदा समस्या भएको समाचारमा उल्लेख थियो।
रेस्टुरेन्ट सञ्चालकहरूले नेपालबाट बोलाएका कामदारका नाममा दुई फरक ब्यांकमा खाता खोल्ने, नियमअनुसार तलब पठाएको सरकारी निकायलाई देखाउने खाताको एटिएम कार्ड नियन्त्रणमा लिएर रकम आफैं निकाल्ने र कामदारले पाउने गरी दोस्रो खातामा कम रकम जम्मा गरिदिने गरेको समाचारमा जनाइएको थियो।
नेपाली कामदारमाथि शोषण गरेको आरोप लागेका रेस्टुरेन्ट सञ्चालकहरूमाथि २०१९ मा फिनिस प्रहरीले अदालतमा मुद्दा दर्ता गरेको थियो।
रेस्टुरेन्ट संचालक देवीदत्त र श्रीमती मन्जु शर्मामाथि मानव तस्करीको आरोप समेत लागेको थियो। उनीहरूले मानव तस्करी गरेको वा नगरेको विषयमा फिनिस प्रहरीले अनुसन्धान गरिरहेको समाचार फिनल्याण्डको अनलाइन पत्रिका हेल्सिङ्जीन सानुमाट ले २०१९ मार्चमा प्रकाशित गरेको थियो। शर्मा दम्पतीले आफूहरूमाथि अनुसन्धान भइरहेको पुष्टि गर्दै आरोप भने निराधार भएको सानुमाट लाई बताएका थिए।
हेल्सिङ्जीन सानुमाट का अनुसार, देवीदत्त शर्मा, हेमराज शर्मा र रामप्रसाद अर्यालद्वारा सञ्चालित वा उनीहरूको सेयर रहेका रेस्टुरेन्टहरूमा नेपाली कामदारको श्रमशोषण भएको प्रहरीले पाएको थियो। उनीहरूले नेपालबाट कामदार बोलाएर फिनिस कानूनले तोकेभन्दा बढी समय एकभन्दा बढी रेस्टुरेन्टको काममा लगाएको समाचारमा उल्लेख छ।
फिनल्याण्डको रेस्टुरेन्टहरूमा काम गर्न आउने नेपालीबाट रु.६ लाखसम्म असुलिएकोे, उनीहरूको पासपोर्ट खोसेर राखिएको, बिरामी पर्दा पनि विदा नदिएको र ६ जनासम्मलाई दुईवटा कोठामा कोचेर राखेको, मासिक नेरु १ लाख ३० हजार ज्यालाका लागि दैनिक १३ घण्टाभन्दा बढी खटाएको पाइएको हेल्सिङ्जीन सानुमाट ले लेखेको थियो।
खोज पत्रकारिता केन्द्र (खोपके) ले फोन सम्पर्क गर्दा हेल्सिन्कीमा रहेका हेमराज शर्माले आफू यसबारे बोल्न इच्छुक नभएको बताए। यस्तै, नेपाल आएका बेला खोपकेसँग कुरा गर्दै देवीदत्त शर्माले आफुमाथि लागेका सबै आरोप निराधार र झुठा भएको दाबी गरे। “घरमा काम गर्दा फिनल्याण्डको कानुन अनुसार जे उसले पाउनुपर्ने थियो त्यो सबै सुविधा नियमित कामदारको बैंक खातामा जम्मा गर्ने गरिएको थियो,” शर्माले भने, “मासिक तलव जम्मा गरेको बैंक स्टेटमेण्ट पनि जुनसुकै बेला हेर्न सकिन्छ।” उनले त्यहाँको प्रहरीले आफुमाथि लगाइएका आरोपका बारेमा दुई पटकसम्म बोलाएर छलफल गरेको स्वीकारे। अनुसन्धान कहिले सकिन्छ भन्ने बारेमा प्रहरीले खुलाउन नचाहेको उनले बताए।
फिनिस प्रहरीले खोपकेलाई इमेलमार्फत जानकारी दिए अनुसार त्यहाँ सन् २०१९ देखि मानव बेचबिखन र श्रमशोषणका २० वटा घटनामाथि अनुसन्धान भइरहेको छ, जसमा पीडित नेपालीहरू छन्। “यीमध्ये आधा घटनाको अनुसन्धान पूरा भएर अभियोजनकर्तासम्म पुगेका छन्” ती फिनिस प्रहरी अधिकारीले भने, “यस वर्ष हामीले चार वटा नयाँ घटनामाथि छानबिन शुरू गरेका छौं।”
देवीदत्त शर्मामाथिको छानबीनबारे भने प्रहरीले ‘व्यक्तिकाबारे अहिले नै टिप्पणी नगर्ने’ जवाफ दिएको छ।
उसो भए, अहिले नेपाली कामदारमाथि श्रमशोषण रोकिएको छ त ?
“छैन। यहाँका रेस्टुरेन्टमा काम थालेको पहिलो वर्ष नेपालीहरू बढी शोषणमा पर्छन्” आप्रवासन सम्बन्धी अध्ययन गरिरहेका हेल्सिन्कीस्थित एक अनुसन्धानकर्ताले खोपकेसँग भने, “के भइरहेको छ भन्ने सबैलाई थाहा छ, तर कोही बोल्न चाहँदैनन्।”
पछिल्लो समय फिनल्याण्डका रेस्टुरेन्टमा काम पाउन नेपालीले रेस्टुरेन्ट सञ्चालक वा उनका एजेन्टलाई नेरु १० लाखसम्म बुझाउन थालेको नाम उल्लेख गर्न नचाहने ती अनुसन्धाता बताउँछन्।
फिनल्याण्डको श्रम ऐनअनुसार कामदार भिसामा पहिलो पटक एक वर्ष र त्यसपछि चार वर्षसम्मको सम्झौता हुन्छ। एक वर्ष पूरा गरेपछि रोजगारदाताले चाहेमा कामदारसँग चार वर्षको लागि अर्को सम्झौता गर्न सक्छन्।
यो प्रावधानबाट गलत फाइदा उठाउने नेपाली रेस्टुरेन्ट सञ्चालकले सीप नसिकेका र आफ्नो अधिकारबारे अनभिज्ञ कामदारलाई एक वर्ष शोषण गरेर नयाँ कामदार ल्याउने गरेको ती अनुसन्धाता बताउँछन्।
युनिभर्सिटी अफ हेल्सिन्कीको एक अध्ययनले फिनल्याण्डका नेपाली रेस्टुरेन्टहरुमा अनौपचारिक अर्थतन्त्रका अनधिकृत गतिविधि पनि हुने गरेको औंल्याएको छ। आप्रवासी उद्यमीहरूले आम्दानी कम देखाउने, कामदारलाई कम ज्याला दिने र कर छल्न वास्तविक कारोबार लुकाउने गरेको प्रतिवेदनमा उल्लेख छ।
‘उनीहरूले मौखिक प्रतिबद्धताको आधारमा कामदार नियुक्त गरेर श्रम र ज्यालामा शोषण गरेको देखिन्छ’ २०१८ को उक्त प्रतिवेदन भन्छ— ‘अनौपचारिक आर्थिक गतिविधि लुकाउन एकले अर्कालाई सहयोग गर्न रेस्टुरेन्ट सञ्चालकहरूले एकै समुदाय र जातका कामदार राख्ने गरेका छन्।’
प्रतिवेदनमा भनिएको छ– फिनल्याण्डको कानून अनुसार तलब दिइँदैन। बिदाको दिन आइतबार पनि विना अतिरिक्त ज्याला काममा लगाइन्छ। यस्तो हुँदा पनि उनीहरू त्यही रेस्टुरेन्टमा काम गर्न बाध्य छन्।
फिनिस नेपाली समाजका अध्यक्ष नवीन भट्टराई भने सेवा–सुविधाको कुरा रेस्टुरेन्ट सञ्चालक र कामदारबीचको सम्झौताले निर्धारण गर्ने बताउँछन्। “यो ठूलो विषय हो जस्तो लाग्दैन”, उनी भन्छन्।
कन्सल्टेन्सीको धन्दा
अध्ययनका लागि फिनल्याण्ड जान चाहनेले सबभन्दा पहिले फिनिस न्याशनल एजेन्सी फर एजुकेसनको वेबसाइटमा अकाउन्ट खोल्नुपर्छ। त्यसपछि त्यहाँको विश्वविद्यालयले लिखित परीक्षा लिन्छ। त्यसपछि समूहमा छलफल र दुई प्रक्रियाबाट जाँच लिन्छ। दुवै प्रक्रियामा उत्तीर्ण भए विश्वविद्यालयबाट अनलाइन अफर लेटर आउँछ, जसलाई काठमाडौंस्थित फिनिस दूतावासमा इमेल गरेर पठाउनुपर्छ।
त्यसपछिको प्रक्रियाबारे दूतावासले इमेलबाटै जानकारी दिन्छ। त्यसको आधारमा विद्यार्थीले कागजात फिनिस सरकारको वेबसाइटमा अपलोड गर्न सक्छन्। कागजात ठिकठाक भएपछि दूतावासले अन्तर्वार्ताका साथै बायोमेट्रिक विवरण लिन्छ। सबै प्रक्रिया पूरा गरेपछि भिसा पाएको वा नपाएको जानकारी इमेलबाट आउँछ। पाउनेले रेजिडेन्ट परमिट पाउँछन्।
यसरी आफैंले अनलाइनबाट प्रक्रिया पूरा गरेर फिनल्याण्ड जान सकिने भए पनि कन्सल्टेन्सीको भर पर्नेले चर्को शुल्क तिर्नु परिरहेको छ। जबकि, फिनिस सरकारको अध्यागमन विभागले पैसा असुलेर गरिने कन्सल्टेन्सी सेवा वर्जित गरेको छ।
विद्यार्थी भिसाको सबै प्रक्रिया आफैं पूरा गरेर फिनल्याण्ड पुगेका विराटनगरका ऋषभ आचार्य यो काममा काठमाडौंका कन्सल्टेन्सीहरूले १ लाख रुपैयाँसम्म असुलिरहेको बताउँछन्। उनका अनुसार, वेबसाइटमा खाता खोल्न चाहिने इमेल एड्रेस बनाउनै रु.१० हजारसम्म असुल्ने गरिएको छ।
“त्यसक्रममा उनीहरूले विद्यार्थीका पासपोर्टलगायत व्यक्तिगत कागजात लिएर राख्छन्” अहिले फिनल्याण्ड पुगिसकेका आचार्य भन्छन्, “विश्वविद्यालयबाट अफर लेटर आएपछि विद्यार्थीले वेबसाइटमा विवरण बुझाउने काम पनि कन्सल्टेन्सीले नै गरेर अपारदर्शी ढंगले १ लाखसम्म असुल्छन्।”
उनका अनुसार, बानेश्वरको राइज एजुकेसन फाउन्डेसन, इपिसेन्टर एजुकेसन कन्सल्टेन्सी, डीप ब्लू एजुकेसन नेटवर्क बुटवल लगायतका कन्सल्टेन्सी फिनल्याण्डमा नेपाली विद्यार्थी पठाउन सक्रिय छन्। फिनल्याण्डमा भोकेशनल कोर्स निःशुल्क छ, तर कन्सल्टेन्सीहरूले उक्त कोर्स गर्ने अवसर दिलाउने भन्दै विराटनगरका एक विद्यार्थीबाट ३ लाख असुलेको उनले बताए।
आचार्यका अनुसार, फिनल्याण्ड जान लाग्ने स्वास्थ्य बीमा खर्च ३० हजारदेखि ३२ हजार रुपैयाँ हो। दूतावासमा ५० हजार १०० रुपैयाँ भिसा शुल्क बुझाउनुपर्छ, जुन फिर्ता नहुने रकम हो। बीमा बापतको रकम भने भिसा नआए फिर्ता हुन्छ।
“कन्सल्टेन्सीबाट आवेदन दिनेले थप १ लाख बुझाउनुपर्छ” आचार्य भन्छन्, “भिसा नआए कन्सल्टेन्सीले त्यो रकम पनि फिर्ता गर्दैनन्।”
अहिले फिनल्याण्ड जान कामदारभन्दा विद्यार्थी भिसामा सहज हुने सन्जु काउछा बताउँछन्। फिनल्याण्डमा अध्ययनका लागि एक शैक्षिक सत्रमा औसत २ हजारदेखि ३ हजार युरोसम्म तिर्नुपर्छ। राजधानी हेल्सिन्कीकै कलेजमा पढ्न चाहनेले योभन्दा बढी तिर्नुपर्छ।
विद्यार्थी भिसाका लागि आवेदन दिंदा ७ हजार युरो बराबरको रकम ब्यांक ग्यारेन्टीका रूपमा देखाउनुपर्छ। “पहिले ब्यांक ग्यारेन्टीमा आफ्नै घरजग्गा वा सम्पत्ति देखाउनुपथ्र्यो” काउछा भन्छन्, “अहिले रगतको नाता नभएका साथीभाइ वा आफन्तको सम्पत्ति पनि देखाउन सकिन्छ।” -खाेज पत्रकारिता केन्द्र
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
