बाढीपहिरोले सबैभन्दा धेरै क्षति इलाममा, अवरुद्ध सडक कहिलेसम्म खुल्लान्?

वर्षापछि बाढीपहिरोले मात्र नभई चट्याङ र सवारी दुर्घटनाबाट पनि धनजनको क्षति भएको छ। पहिरोले अवरुद्ध अधिकांश सडक सोमबारसम्म खुल्ने सम्भावना भए पनि बीपी राजमार्ग तत्कालै खुल्ने सम्भावना छैन।

काठमाडौँ– अविरल वर्षापछिको बाढीपहिरोमा परी आइतबार दिउसोसम्म मृत्यु हुनेको संख्या ४९ पुगेको छ। तीमध्ये वर्षाका कारण भएको सवारी दुर्घटना र चट्याङबाट ९ जनाको मृत्यु भएको छ।

इलाममा मात्रै पहिरोमा पुरिएर ३७ जनाको ज्यान गएको छ। इलामकी सीडीओ सुनिता नेपालका अनुसार पहिरो गएको ठाउँमा स्थानीय जनप्रतिनिधि नै पुग्न नसक्दा कति घरमा क्षति पुग्यो भन्ने विवरण आउन सकेको छैन।

पाँचथरमा शनिबार सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। रौतहटमा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ। खोलाले बगाएर उदयपुरमा दुई र  खोटाङमा एक जनाको मृत्यु भएको सशस्त्र प्रहरी बलले जनाएको छ।

विभिन्न जिल्लामा सात जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा रसुवामा चार, इलाम, बारा र काठमाडौँमा एक–एक जना छन्। बेपत्ताको खोजी र उद्धारकार्य जारी रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले जानकारी दिइन्।

nullबाढीपहिरोका कारण काठमाडौँ उपत्यका जोड्ने सबैजसो राजमार्ग अवरुद्ध छन्। बीपी राजमार्गमा बनाएको डाइभर्सन बाढीले बगाएको छ। विभिन्न ठाउँमा गएको पहिरोले पृथ्वी राजमार्ग पनि अवरुद्ध छ। कोशी प्रदेशका मेची र कोशी राजमार्ग अवरुद्ध छन्।

मौसम विभागले असोज १५ गते नै विज्ञप्ति जारी गरेर असोज १७ बाट २० गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षा हुने जनाएको थियो। विभागले बागमती प्रदेशमा काठमाडौँ उपत्यकालगायत काभ्रे, सिन्धुपाल्चोक, रसुवा, मकवानपुर, चितवनमा बाढीपहिरोको जोखिम रहेको जनाएको थियो।

nullत्यस्तै, कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, इलाम, झापा, मोरङ तथा मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट र आसपासका जिल्लामा विशेष सतर्कता अपनाउन अनुरोध गरेको थियो। सरकारले सम्भावित विपद् जोखिम न्यूनीकरण गर्न देशभरका लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने/बाहिरिने सवारी साधन असोज १८, १९ र २० गतेका लागि बन्द गरेको छ।

अत्यावश्यक बाहेकका लामो दूरीका र काठमाडौँ उपत्यका भित्रिने तथा बाहिरिने सवारी साधन अहिले पनि रोकिएको चितवनका ट्राफिक प्रहरी निरीक्षक गायत्रीराज शर्माले जानकारी दिए। उनले भने, “हामीले बीचमा रोकिएका र अत्यावश्यक सवारीलाई मात्रै पठाइरहेका छौँ। नियमित सवारी चलेका छैनन्। जोखिमलाई हेरेर निर्णय भएपछि चल्छन्।”

कस्तो छ सडकको अवस्था ?
आइतबार बिहान ११ बजेसम्म नागढुंगा—मुग्लिन सडकमा कुनै समस्या नभएको सडक विभागका सूचना अधिकारी शुभारञ्जन दाहालले जानकारी दिए। मुग्लिन–नारायणघाट खण्डको तुइन खोलामा शनिबार पहिरो झरेको थियो। त्यहाँ पहिरो पन्छाएर अवरोध हटाइसकेको उनले बताए। 

दाहालले भने, “नाम्ची खोलामा अलिअलि ढुंगा झरिरहेको छ। त्यहाँ पुरानो पुल पनि भएकाले त्यो सडक खुला नै छ। नयाँ पुलमा पनि अवरोध हटाउने काम भइरहेको छ। नारायणघाट—बुटवल सडकमा अहिलेसम्म कुनै समस्या छैन।”

सडकमा समस्या नभएको हुँदा जोखिम कम भएपछि आवतजावत खुलाउन सकिने उनले जानकारी दिए। तर बीपी राजमार्गको भने करिब साढे तीन किमि सडक बाढीले बगाएको छ।

nullगत वर्षको असोजमा आएको बाढीले बगाएको सडकखण्डमै यसपालि पनि क्षति पुगेको सूचना अधिकारी दाहालले बताए। उनले भने, “बीपी राजमार्ग केही समयका लागि ठप्पै हुने देखिएको छ। गत वर्षजस्तै डाइभर्सन नबनाएसम्म सुचारु हुने देखिँदैन। वर्षा रोकिएपछि मात्र डाइभर्सन बनाउन सकिन्छ।”

बाढीले डाइभर्सन बगाएपछि काठमाडौँबाट गएका सवारीलाई भकुण्डेबेसीँबाटै फर्काइएको थियो। पूर्वबाट आएका सवारीलाई पनि सिन्धुलीमा रोकिएको थियो। मदन भण्डारी राजमार्ग र मध्यपहाडी लोकमार्ग पनि पहिरोले ठाउँठाउँमा अवरुद्ध छ।

यस्तै, काठमाडौँ–हेटौँडा जोड्ने अधिकांश सडक अवरुद्ध छन्। कान्ति लोकपथमा पहिरो झरेको छ। पहिरो सफा गर्ने काम भइरहेको हुँदा यो सडक आइतबार नै सुचारु हुने सम्भावना रहेको दाहालले बताए। 

काठमाडौँ—सिस्नेरी—कुलेखानी सडकको टेकारमा खोलाले सडक बगाएको छ। “हेटौँडा जानलाई काठमाडौँ—थाखेल—कुलेखानीमा खासै समस्या छैन। तर धेरै पानी परेर जोखिम भएकाले गाडी चलाउन बन्द गरिएको छ,” दाहालले भने। 

सागा र खावामा पहिरोले अरनिको राजमार्ग अवरुद्ध गरेको थियो। त्यहाँ पहिरो पन्छाइए पनि हिलोका कारण सवारी आवतजावतमा समस्या छ।

बाढी पहिरोका कारण पूर्वपश्चिम राजमार्गको विभिन्न ठाउँमा पनि क्षति पुगेको छ। पूर्वपश्चिम राजमार्गमा अहिले सडक विस्तार भइरहेको थियो। त्यसका लागि ठाउँठाउँमा डाइभर्सन बनाइएको थियो। कतिपय डाइभर्सन शनिबारको बाढीले बगाइदिएको छ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत झापाको भालुखोला पुलमा बनाइएको डाइभर्सन बगाएको छ। मेचीनगर नगरपालिकास्थित काली खोलाको डाइभर्सन पनि बगाएको छ। यी ठाउँमा अहिले सवारी आवागमन ठप्प छ। हुलाकी राजमार्गका विभिन्न ठाउँमा पनि क्षति पुगेको छ।

nullयस्तै, झापा, इलाम, पाँचथर र ताप्लेजुङ जोड्ने मेची राजमार्गमा पर्ने तीन वटा पुल बाढीले बगाएको छ। माइखोला, पुवाखोला र जोगमाईमा भएका बेलीब्रिज बगाएको विभागले जनाएको छ। मेची राजमार्गका ठाउँठाउँमा सडक भासिएर सवारी आवतजावत ठप्प छ। इलामकी सीडीओ सुनिता नेपालले मेची राजमार्ग सोमबारसम्ममा खुलाउने प्रयास भइरहेको बताइन्।

कोशी राजमार्गको धरान—धनकुटा सडक अवरुद्ध छ। हिले—पाख्रिबास—लेगुवा खण्ड पनि अवरुद्ध छ। यी सडकमा झरेको पहिरो पन्छाइरहेको सडक विभागका सूचना अधिकारी दाहालले बताए।

पहिरोले मात्रै अवरुद्ध भएका सडक खुलाउने प्रयत्न भइरहेको छ। धेरैजसो सडक आइतबार नै खुल्ने सम्भावना छ। तर पुल र सडक नै बगेका ठाउँमा समय लाग्ने दाहाल बताउँछन्।

“पुल नै भत्किएका सडक खुलाउन भने अलि समय लाग्ला। कहिलेसम्म बनाउन सकिन्छ भन्ने अन्योल छ,” उनी भन्छन्, “हामी आज (आइतबार) छलफल गरेर कति समयमा कसरी निर्माण गर्न सकिन्छ भन्नेमा लागिपरेका छौँ।” 

अझै जोखिमको सम्भावना
आइतबार वर्षा गराउने न्यून चापीय प्रणाली नेपालबाट बाहिरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। तर मनसुन नसकिएको हुँदा सतर्कता अपनाउनुपर्ने विभागको भनाइ छ।

nullमौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरका अनुसार, नेपालबाट मनसुन बाहिरिने औषत दिन अक्टोबर २ हो। तर यो वर्ष कहिले बाहिरिन्छ भन्ने टुंगो नभइसकेको मानन्धर बताउँछिन्। “पश्चिमबाट मनसुन बाहिरिन थालेजस्तो देखिन्छ। केही दिनपछि नै बाहिरिइसक्ने सम्भावना छ,” उनले भनिन्।

महाशाखाका अनुसार, आइतबार कोशी र मधेश प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कोशी र मधेश प्रदेशका एकदुई स्थानमा अझै भारी वर्षाको सम्भावना छ।

सोमबार पनि कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।