हुम्लामा बिहीबारदेखि हवाई सेवा अवरुद्ध

हुम्लामा बिहीबारदेखि हवाई सेवा सञ्चालन हुन सकेको छैन। उडान ठप्प हुँदा आवतजावतदेखि खाद्यान्न र कार्गोका सामान ढुवानी सेवा प्रभावित भएका छन्।

फाइल तस्वीर

सिमकाेट– हिमाली जिल्ला हुम्लामा हावाहुरीका कारण हवाई सेवा अवरुद्ध भएको छ। बिहीबारदेखि चलेको हावाहुरीले हवाई सेवा अवरुद्ध भएको सिमकोट विमानस्थलले जनाएको छ। 

नेपालगन्ज र सुर्खेतबाट नियमित उडान भर्ने निजी जहाजले मौसममा आएको खराबीका कारण सेवा दिन नसकेको जनाएका छन्। जिल्लाको एकमात्र अन्तर जिल्ला जोड्ने यातायात हवाई सेवा हाे। 

दुई दिनदेखि जिल्ला बाहिर जानका लागि उडान हुन नसक्दा टिकट लिएका यात्रु सिमकोटमै रोकिएका छन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनीको ढुवानी अनुदानको खाद्यान्न, दैनिक उपभोग्य सामान, तरकारी र कार्गोका सामान पनि ढुवानी हुन सकेको छैन। 

अरू बेला पनि बिहान ९ बजेपछि मात्र उडान हुने गरेको तियो। नेपालगन्जबाट हुम्लाका लागि तारा, समिट एयरका जहाजले उडान भर्दै आएका छन्। नेपालगन्जबाट हुम्ला पुग्न जहाजलाई ४५ मिनेट लाग्छ। 

हवाई उडान नहुँदा दैनिक उपभोग्य सामग्री ढुवानी रोकिएको छ। नेपालगन्जमा हुस्सु लागेका कारणसमेत हुम्लामा उडान हुन नसकेको विमानस्थलको भनाइ छ।