पुस्तकालयहरू खरानी भएको दिन

जेनजी आन्दोलनका क्रममा नेताका घर र पार्टी कार्यालय मात्रै जलाइएनन्, त्यहाँ रहेका पुस्तकालय पनि खरानी बनाइए। पार्टी कार्यालयका पुस्तकालय जल्दा ऐतिहासिक दस्ताबेजसमेत नष्ट भएका छन्।

काठमाडौँ– हिसिला यमी ‘हिसिला : फ्रम रिभोल्युसनरी टु फर्स्ट लेडी’ पुस्तकको दोस्रो संस्करणका लागि काम गर्दै थिइन्। उनी पुस्तक परिमार्जन गर्न र सन्दर्भहरू थप्न व्यस्त थिइन्। तर उनको काम पूरा हुनै पाएन।

जेन–जी आन्दोलनले विध्वंशको रूप लिँदा भदौ २४ गते उनको घरमा पनि आगजनी भयो। घरसँगै उनले गर्दै गरेको काम र सिंगै पुस्तकालय जल्यो। 

आगजनीबाट सबैभन्दा बढी आफ्नै कोठा जलेको हिसिला बताउँछिन्। उनी भन्छिन्, “केही पनि बाँकी रहेन। त्यहाँ मैले जनयुद्धभन्दा अगाडिका किताब पनि राखेको थिएँ। जनयुद्धपछिका पनि थुप्रो किताब थिए। ती सबै जलेर खरानी भए।”  

घरमा बाबुराम भट्टराई र हिसालाका छुट्टाछुट्टै ‘स्टडी रुम’ थिए। त्यहाँ करिब दुईहजार पुस्तक थिए। ती सबै जलेका छन्। “उहाँको (बाबुराम भट्टराईको) स्टडी रुममा राखिएका पुस्तक पनि केही नै रहेन, मेरो पनि केही बचेन। बाबुरामका १२ सय र मेरा ८०० किताब थिए। अन्डरग्राउन्डमा रहेका केही किताब भने बचे।” हिसिलाले भनिन्।

हिसिलाले सन् १९८२ देखि डायरी लेख्थिन्। त्यसमा वार्षिक रूपमा उनको विगतको समीक्षा, आगामी दिनको कार्ययोजना थिए। “त्यति मात्रै होइन, व्यक्तिगत डायरीमा मैले पढेका हरेक पुस्तकका समीक्षा लेख्थेँ। तिनै मेरा लागि आत्मपरीक्षण, अध्ययन र विचार आदानप्रदानको आधार बनेको थियो। तर ती अहिले छैनन्,” उनी भन्छिन्।

विद्यार्थी र साथीहरूले उपहार ल्याइदिएका पुस्तक पनि थिए। जीवा लामिछाने विद्यार्थी छँदा रसियाबाट ल्याइदिएको पुस्तक थियो। उनी आफैँले विभिन्न देश घुम्दा पनि पुस्तक ल्याएकी थिइन्। द एटोमिक ह्याबिट, स्टालिन्स डटर : द एक्स्ट्राअर्डिनरी एन्ड टुमल्चुअस लाइफ अफ स्वेतलाना अलिलुयेभा, प्याट्रियार्की एन्ड अक्कुमुलेसन अन अ वल्र्ड स्केलजस्ता किताब उनको पुस्तकालयमा थिए।

आफूहरूको घर मात्रै नभएर इतिहास र स्मृति पनि जलेको हिसिला बताउँछिन्। “जनयुद्धका विषयमा लेखेका महत्त्वपूर्ण संस्मरण थिए। आन्दोलन र जेलका कुरा थिए। हामीसँग भएका फोटोहरूको एल्बम थियो। सबै चिज गुमायौँ,” उनी भन्छिन्।

nullबाबुराम भट्टराईले पनि जीवनभर संकलन गरेका पुस्तक जेनजी आन्दोलनमामा गुमाए। उनी अहिले पनि जलेको घरमा पुस्तकका केही सद्दे पाना भेटिएला कि भनेर खोजिरहेका हुन्छन्। कतिपय काम लाग्ने आधा जलेका पुस्तक, लेखरचना खरानी टक्टक्याएर लिएर फर्किन्छन्। “बाबुरामले पनि किताब लेखिरहेका थिए। उनका कति क्लासिक बुक थिए, जुन पाउन मुस्किल थिए। ती कुनै रहेनन्,” हिसिला भन्छिन्।

बाबुरामका पुस्तकालयमा नेपालको इतिहाससम्बन्धी पुस्तक धेरै थिए। उनले संकलन गरेका नेक्सस : ए ब्रिफ हिस्ट्री अफ इन्फर्मेसन नेटवर्क्स फ्रम द स्टोन एज टु एआई, गन्स, जर्म्स एन्ड स्टिल : ए सर्ट हिस्ट्री अफ एभ्रिबडी फर द लास्ट १३,००० इयर्स, द एज अफ सर्बेइलान्स क्यापिटलिज्म, टेक्नो–फ्युडलिज्म : वाट किल्ड क्यापिटलिज्म लगायत पुस्तक थिए। गान्धी, आइन्स्टाइन, ली क्वान यु, बाराक ओबामालगायतको आत्मकथा र जीवनीहरू पनि थिए।

बाबुराम र हिसिलाको मात्र होइन, घर जलाइएका कतिपय नेताहरूको पुस्तकालय पनि जलेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली, नेता रघुजी पन्त, कांग्रेस महामन्त्री गगन थापा, एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, नेता झलनाथ खनाललगायतका घरसँगै पुस्तकालय पनि जले।

nullएमाले अध्यक्ष ओली पत्नी राधिका शाक्यले इतिहास जलेर सबै खरानी भएको बताएकी छन्। आफ्नो घर संग्रहालय बनाउने योजना रहेको, तर अहिले सबै खरानी भएको उनको भनाइ छ। “एउटा राम्रो पुस्तकालय छाडेर जाने रहर थियो, तर यस्तो छाडेर जानुपर्ने भयो। यहाँ इतिहासका थुप्रै कुराहरू थिए,” उनले भनिन्।

यस्तै, गभर्नर विश्व पौडेलको पनि घरसँगै महत्त्वपूर्ण पुस्तक पनि खरानी भए। उनले फेसबुकमा जल्दै गरेको आफ्नो घरको भिडियो शेयर गर्दै लेखेका छन्, “घरको माथिल्लो तलामा किताबैकिताब थिए। मैले इबे आदिमा किनेका पुराना ऐतिहासिक सामग्री, विभिन्न देशमा जाँदा किनेर ल्याएका कलाकृति थिए।” 

उनको घरको उक्त कोठामा देवीदेवताका मूर्ति, भियतनामी सिल्क पेन्टिङदेखि माओत्सेतुङसम्मका मूर्ति थिए। ५०० प्रति छापिएको जंगबहादुरकी गर्लफ्रेन्ड लौरा बेलको जीवनी पनि त्यही कोठामा थियो। त्यो पनि जलेर खरानी भएको छ।

उनले लेखेका छन्, “त्यो दिन हामी सबै शरणार्थी भयौँ। किताब र कपडाहरू धेरै भएकाले ढिलोसम्म नै घर जलिरह्यो।”

पार्टी कार्यालयका पुस्तकालय पनि खरानी
कांग्रेस केन्द्रीय कार्यालयको पुस्तकालयको उद्घाटन २०८१ साउन ६ गते भएको थियो। त्यहाँ किताब मात्रै थिएनन्, राजनीति, साहित्य, आर्थिकलगायत विषयमा छलफल गर्ने संरचना पनि थियो। कांग्रेसको इतिहास, महत्त्वपूर्ण दस्ताबेजहरू पनि संकलन गरेर राखिएको थियो। भदौ २४ गतेको आगजनीमा पार्टी कार्यालयको त्यो पुस्तकालय पनि जलेको छ।

कांग्रेस पुस्तकालय।पुस्तकालय बनाउन महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पहल गरेका थिए। महामन्त्री थापाले भने, “पुस्तकालय बनाउन एकदम धेरै मेहनेत गरेको थिएँ। सबैको सहभागिता हुनुपर्छ भनेर साथीहरूसँग अलिअलि पैसा मागेर बनाइएको थियो। तीसौँ हजार पुस्तक जम्मा भएका थिए।” 

पुस्तकालय विभाग हेर्ने केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीका अनुसार, कार्यालयमा दर्ता गरेर राखेका १५ हजार पुस्तक थिए। दर्ता नभएका पुस्तक पनि थिए।

nullपुस्तकालयमा बीपी कोइरालाका हस्तलिखित पाण्डुलिपिहरू पनि भएको शिवाकोटी बताउँछन्। नेहरू लाइब्रेरीबाट ल्याएका पुस्तक थिए। अडियोहरू पनि थिए। उक्त पुस्तकालयका लागि करिब २ करोड खर्च भएको थियो। तर फेरि पुस्तकालय बनाउने उनी बताउँछन्।

पढ्ने र छलफल गर्ने संस्कृतिको विकास गर्न पुस्तकालय बनाइएको थियो। “पुस्तकालयको कक्षमा पूर्वाधारका विषयमा ६ वटा छलफल भएका थिए। स्वास्थ्य क्षेत्रका विषयमा तीन वटा नीतिगत छलफल गरेका थियौँ। लेखक संघसँग मिलेर दुई वटा छलफल चलाएका थियौँ,” उनी भन्छन्, “लेखकहरूलाई बोलाएर नयाँ पुस्तकमाथि चर्चा गर्ने अभ्यास पनि शुरू गरेका थियौँ। तर अब सबै सकियो।”

nullउता, एमाले पार्टी कार्यालयमा भएका पुस्तक पनि सबै जलेका छन्। कार्यालयमा भएका पार्टीका दस्तावेज, मदन भण्डारीलगायत नेताले बोलेका भाषणको टेप, अन्य साहित्यसँग जोडिएका पुस्तक पनि जलेका छन्। एमालेले पुस्तकालयमा भएका पुस्तकहरूलाई डिजिटलाइजेसन गर्दै थियो। तर पार्टी कार्यालय जल्दा ती सामग्री पनि खरानी भएको एक नेताले बताए।

लुटियो माओवादीको पुस्तकालय
कोटेश्वरको पेरिसडाँडास्थित माओवादीको पार्टी कार्यालयमा पनि आगजनी भएको थियो। तर त्यहाँ रहेको पुस्तकालय जोगिएको पुस्तकालयकी कर्मचारी सावित्री शर्माले बताइन्।

nullआगजनी नभए पनि पुस्तकालयमा भएका महत्त्वपूर्ण पुस्तक र सामानहरू हराएको उनले जानकारी दिइन्। “पुस्तकालयमा भने आगो लाग्न पाएन। सिसाहरू फुटेको छ। ढोका फुटाइएको छ। भित्रका कम्युटर, प्रिन्टर, कुर्सीहरू लिएर गएका छन्। लाइब्रेरीको पुस्तक जलेनन्, अहिले मेन्टेनेन्स गरिरहेका छौँ,” उनले भनिन्।

उक्त पुस्तकालयमा १५ हजारभन्दा बढी पुस्तक थिए। त्यसमध्ये ४० प्रतिशत किताब चोरी भएको शर्माको भनाइ छ। “तस्वीरमा जनयुद्ध भन्ने फोटो पुस्तक जम्मा चार प्रति मात्रै थियो। सबै चोरी भएको छ। पार्टीको ऐतिहासिक दस्ताबेज, पार्टी गठनदेखि २०६९ सम्मका डकुमेन्ट भएका किताब पनि चोरी भए,” उनले भनिन्।