मिथिलाञ्चलको नवरात्रा: नारी सम्मानको सांस्कृतिक अनुष्ठान

मिथिलावासी वैदिकपर्वमा लोक आस्था र लोकपर्वमा वैदिक छनक दिन खप्पिस हुन्छन्। यही कारण नवरात्राजस्तो शास्त्रीय पर्व पनि मिथिलाञ्चलमा लोकगीतको निरझरनीबीच मनाइन्छ।

चैत्र, आषाढ, आश्विन र मार्गशीर्ष महिनाको शुक्ल प्रतिपदादेखि नवमी तिथिसम्म देवी दुर्गाकी विभिन्न ९ स्वरूपको अनुष्ठान गरिन्छ, जसलाई नवरात्रा भनिएको छ। दुर्गासप्तसतीमा वर्णन भए अनुसार नवरात्रामा क्रमशः शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनीति कालरात्रि, महागौरी, महाकाली र महासरस्वतीको विधिविधानपूर्वक पूजा–पाठ गरिन्छ। भगवतीका यी ९ स्वरूपलाई नवदुर्गा पनि भनिन्छ। नवरात्रासँग सम्बन्धित मुख्यतः दुई कथा प्रचलनमा छन्।

पहिलो दुर्गा–महिषासूर संग्राम। जसमा दुर्गा र महिषासूरबीच ९ दिन युद्ध भएको थियो। दसौँ दिन महिषासुरमाथि विजय प्राप्त भएपछि, असत्यमाथि सत्यको विजय भएको खुसीयालीमा विजय उत्सव मनाइएको थियो। दोस्रो, राम–रावण युद्ध। रावण सँगको युद्धमा विजय प्राप्त होस् भन्ने मनोकामनाका साथ रामले नवरात्रा व्रत राखेका थिए। रावणमाथि विजय प्राप्त गरेपछि विजय उत्सव मनाइएको थियो। दशमीसँग सम्बन्धित यी कथा मातृ शक्तिको सम्मान तथा असत्यमाथि सत्यको विजयको रूपमा आज पनि हिन्दू समाजमा विद्यमान छ। जसलाई भूगोल अनुसार नवरात्रा, दशैँ, बडादशैँ र दशमी आदि नाम दिइएको छ। 

नवरात्रा हिन्दूबहुल लगभग सबै भूगोलमा मनाइन्छ। देवी दुर्गाको पूजा शास्त्रीय अनुष्ठान भएकोले शास्त्रीय विधिअनुसार दुर्गासप्तसति पाठ, नवदुर्गाको पूजा, वलि (पशुपंक्षी वा फलफूल/तरकारी/फर्सी/कुभिन्डो आदि) सबै भूगोलमा लगभग एकजस्तै हुन्छ, तर नवरात्राको पूजा र अनुष्ठानमा भूगोल विशेषको रहनसहन, खानपिन, कलासंस्कृति तथा लोक मान्यताको प्रभाव पनि उतिकै हुन्छ। आजको युगमा सांस्कृतिक अन्तर्घुलन स्वाभाविक हो। यस अर्थमा भूगोल अनुसार नवरात्राको स्वरूप थोर–बहुत भिन्न हुन्छ। 

मिथिला सभ्यता ऐतिहासिक र सांस्कृतिक रूपमा अत्यन्त पुरानो छ र यसको आरम्भ कम्तीमा करिब २७००-३००० वर्ष पहिलेदेखि पुष्टि भएको छ। ऋग्वेद र अन्य वैदिक ग्रन्थहरूमा विदेह र मिथिलाको उल्लेख पाइन्छ, जसले यसको प्राचीनतालाई संकेत गर्छ। यहाँ योग र भोगका समन्वयकर्ता सीरध्वज जनकजस्ता राजा र आदर्श नारी सीता प्रकट भएको ठानिइन्छ। मिथिला सभ्यता र संस्कृति नेपालको मात्र नभई, दुनियाँकै अनमोल सम्पदा हो। मिथिला माहात्म्य मिथिलाको सीमाबारे उल्लेख छ–

‘गंगा हिमवर्तो मध्ये नदी पञ्च देशान्तरे।
तैरभूक्तिरिति ख्यातो देशः परम पावनः।।
कौशिकीन्तु समारभ्य गण्डकीमधिगम्यबै।
योजगनामि चतुर्विशत् ब्यायामः परिकीर्तितः।।’

अर्थात् गंगा र हिमालयको मध्यमा १५ वटा नदीको क्रीडा स्थल परमपावन तिरहुत (मिथिला) देश प्रख्यात छ। यहाँ कौशिकी, गंगा, कमला, विल्वमती, जमुनी, भूयसी र गेरुका, जलाधिका (जलाध), दूधमती, व्याघ्रवती, वीरजा, माण्डवी, इच्छावती, लक्ष्मणा, बागमती तथा गण्डकीजस्ता नदीहरू प्रवाहमान छन्। पूर्वमा कौशिकी (हालको कोसी, जो पहिले झापा जिल्लाबाट प्रवाहमान थिए) देखि पश्चिममा गण्डकी    (गण्डक) नदीसम्म २४ योजन (१९२ मिल) तथा दक्षिणमा गंगा नदीदेखि हिमालय (चुरे) को फेदसम्म १६ योजन (१२८ मिल) मा फैलिएको जनपद मिथिला हो। 

यस प्रकार, पूर्व झापादेखि पश्चिम वीरगन्जसम्म तथा दक्षिणमा गंगा नदीको किनारसम्म फैलिएको भूगोल मिथिला हो। जो, अचेल नेपाल र भारतमा विभाजित छ। दक्षिणी मिथिलामा बंगला संस्कृतिको तथा उत्तरी मिथिलामा नेपाली संस्कृतिको प्रभाव देख्न सकिन्छ। पश्चिमको बारा र पर्सामा भोजपुरी संस्कृतिको प्रभाव छ भने मूल मिथिला भनिने जनकपुर, राजविराज, महोत्तरी तथा बिहारको मधुवनी, दरभंगा, सीतामढी, सहरसा आदि जिल्लामा मौलिक मिथिला संस्कृतिको प्रभाव छ। प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा मनाइने नवरात्रामा भने बंगाल, नेपाल र मिथिलाको मौलिक संस्कृतिको प्रभाव छ। यस अर्थमा जनकपुरमा मनाइने नवरात्रालाई संस्कृतिको त्रिवेणी हो भन्दा अत्युक्ति न होला। 

नेपाल र भारतको सीमामा अवस्थित जनकपुरधाम नेपाल स्वशासित भूभाग भएकोले यहाँको नवरात्रामा नेपाली संस्कृतिको प्रभाव स्वाभाविक हो। दशैँ नेपालको राष्ट्रिय पर्व पनि हो। राष्ट्रसेवकलाई दशैँ खर्च र लामो बिदा दिने चलन छ। जसको उपभोग सम्पूर्ण नेपाली गर्छन्। नवरात्राको क्रममा गुरु पुरोहित तथा जेष्ठजनबाट टिका–जमरा थाप्नु, कोत पूजा आदि नेपाली संस्कृतिको प्रभाव हो। शारदीय नवरात्रामा यहाँका शक्तिपीठहरूलाई बंगालजस्तै भव्य पण्डाल, तोडणद्वार तथा झिलिमिली बिजुली बत्तीले शृङ्गार पटार गरिन्छ। देवी दुर्गा, महिषासूर, गणेश, सरस्वतीलगायत देवीदेवताको ठुलाठुला आकर्षक प्रतिमा निर्माण गरिन्छ। नाच र तमासा लगाएर मनोरञ्जन गरिन्छ। यो बंगला संस्कृतिको प्रभाव हो। 

भक्तिका चार भाव वा रस हुन्छन् भन्ने मानिन्छ। दास्य वा सेवक भाव, साख्य वा मित्र भाव, श्रृंगार भाव तथा वात्सल्य भाव। मिथिलाञ्चलमा भक्तिका चारमध्ये वात्सल्य भावको प्रधानता छ। जनकपुरमा देवी सीताको जन्म भएको पौराणिक प्रसंग यसमा जोडिन आउँछ। सीतालाई छोरी र रामलाई ज्वाइँजस्तै अनुराग गर्छन् जानकी मन्दिरका महन्त। नवरात्रामा सीताजस्तै दुर्गालाई पनि छोरीझैँ निम्तो दिएर बोलाइन्छ। शृंगार पटार  गरिन्छ। भेटी (खोंइछ भरब) दिएर बिदा गरिन्छ। दुर्गा आगमनको वेला सोहर गाएर हर्षबढाइँ गरिन्छ अनि बिदाइ गर्ने बेला चेलीबेटीलाई ससुरा बिदा गर्ने बेलाको करुण रसका समदाओन गीत गाएर दुःख मनाउ गरिन्छ। यस प्रकार धार्मिक ग्रन्थहरूमा ब्रह्म भनिएका राम मिथिलामा ज्वाइँ र शक्ति भनिएकी सीता चेलीबेटी हुन्। भगवतीकी अर्की स्वरूप दुर्गालाई पनि मिथिलाञ्चलमा सीताजस्तै स्नेह गरिन्छ। मिथिलाञ्चलको नवरात्रामा देखिने यो दुर्गाप्रेम मिथिला संस्कृतिको प्रभाव हो। 

मिथिलाञ्चलमा दुई थरिका पर्व-त्यौहारको आयोजन हुन्छ। शास्त्रीय पर्व र लोक पर्व। शास्त्रीय विधिअनुसार पण्डित–पुरोहितको सहयोगमा मन्त्र उच्चारण गरेर आयोजन गरिने पर्व वैदिक हो भने लोकमान्यता र लोक परम्परा अनुसार लोकगीतको आवरणमा आयोजित हुने पर्व–त्यौहार लौकिक पर्व हुन्। मिथिलावासी वैदिक पर्वमा लोक आस्था र लोकपर्वमा वैदिक छनक दिन खप्पिस हुन्छन्। यही कारण नवरात्राजस्तो शास्त्रीय पर्व पनि मिथिलाञ्चलमा लोकगीतको निरझरनीबीच मनाइन्छ।

मिथिलाञ्चलमा बसोबास गर्ने प्रायः सम्पूर्ण हिन्दू मतालम्वीको घरमा देवी देवताका लागि स्थान सुरक्षित हुन्छ। जसलाई गोसाञी घर भनिन्छ। जहाँ कुल देवी–देवतासँगै भगवतीको पिडी (माटोको ढिस्कोजस्तो भगवतीको प्रतीक) पनि हुन्छ। नवरात्रामा सबैको घरमा जमरा राखिन्छ। हुने खानेहरू घरमै पण्डित पुरोहित बोलाएर दुर्गासप्तसती पाठ गराउँछन्। पूर्वजको परम्पराअनुसार, केही परिवारमा पशुपक्षीको वलि दिइन्छ। कतिपय परिवारमा कूष्माण्डा, मिष्टान्न र खीर प्रसाद अर्पण गरेर वैष्णवी पूजा गरिन्छ। शास्त्र भन्छ– ‘ब्राम्हणो पायस: वलि’ अर्थात् ब्राह्मणहरू खीर भोग लगाएर पनि दुर्गा पूजा गर्छन्। महाअष्टमीको राति जनकपुरको राजदेवी मन्दिरमा सामूहिक बोकाको वलि गरिन्छ।

मिथिलाञ्चलको नवरात्राको रोचक पक्ष लोकगीत र झिझिया नृत्य हो। पूजा अवधिभरि महिलाहरू बिहान बेलुका शक्ति पीठ तथा दुर्गा प्रतिमा स्थलहरूमा आरती गर्छन्। गोसाञुनिक गीत गाएर भगवतीलाई प्रश्न गर्छन्। जन्मको बेला सोहर गाएर हर्ष बधाई गर्छन् अनि प्रतिमा सेलाउने बेला छोरी बिदा गर्ने वेलाको समदाउन गाएर बिदा गर्छन्।

झिझिया नृत्य वैश्विक रूपमा चर्चित मिथिलाञ्चलको मौलिक लोक नृत्य हो। जसको आयोजन नवरात्राको ९ दिन हुन्छ। ग्रामीण महिलाहरूले मनाउने यो परम्परागत स्तुति नृत्य स्वयंमा रोमाञ्चकारी र आकर्षक हुन्छ। झिझिया मिथिलाका अधिकांश क्षेत्रमा उल्लासका साथ कलश स्थापना गरेदेखि दशमी तिथिसम्म मनाइन्छ। यसमा ५ देखि १५–२० जना केटीहरूको एउटा टोली हुन्छ, जसमध्ये दुई वा तीन जनालाई विशेष मानेर उनीहरूको टाउकोमा कलश राखिएको हुन्छ। जसमा असंख्य प्वालहरू बनाइएका हुन्छन्। मान्यता के छ भने बोक्साबोक्सीले कलशमा बनाइएका प्वाल गन्न भ्यायो भने टाउकोमा कलश बोकेकी महिलाको तत्कालै मृत्यु हुन्छ। (हामीले के भुल्नुहुन्न भने अब बोक्सा र बोक्सीको मान्यता केबल अन्धविश्वास हो। बोक्सा र बोक्सी प्राचीन भ्रमपूर्ण मान्यता हुन्।) यस कारण कलश बोक्ने महिला आफ्नो टाउको हल्लाई रहन्छिन्। टाउकोमा राखिएको घटमा आगो राखी त्यसमा समय–समयमा मट्टितेल थप्ने गरिन्छ। त्यसो गर्दा आगोको ज्वाला दन्किएको हुन्छ। 

झिझियाको आरम्भ नगर डिहवारको प्राङ्गणबाट हुन्छ। पूजा पाठ तथा झिझियालाई मन्त्रबाट सुरक्षित गरी झिझिया नृत्य विधिवत सुरु हुन्छ। दश दिने यस अनुष्ठानको क्रममा प्रदर्शनकारी महिलाहरू नगरका सम्पूर्ण देवीदेवता तथा सर्वसाधारणको घरदैलोसम्म पुग्छन्। झिझिया नृत्य आयोजनको मुख्य उद्देश्य गाउँलेहरूलाई बोक्साबोक्सीको प्रकोपबाट जोगाउनु भन्ने गरिन्छ (बोक्साबोक्सीको अस्तित्व नै नभएपछि त्यसको प्रकोप पनि हुने भएन!)। गीत, नृत्यसँगै तान्त्रिक प्रभाव भएको झिझिया नृत्य अचेल ग्रामीण क्षेत्रबाट विस्थापित हुन थालेको छ। सहर बजारमा प्रदर्शन हुने झिझिया नृत्य अनुष्ठानभन्दा पनि व्यावसायिक प्रयोजनको लागि गरिन्छ। 

गीत, संगीत, नृत्य तथा तान्त्रिक मान्यता बोकेको झिझिया नृत्यको मौलिकता कायम राख्दै यससँग जोडिएको अन्धविश्वासयुक्त मनोविज्ञान हटाउन आवश्यक छ। पहिलेभन्दा समाज धेरै हदसम्म त्यसतर्फ अघि पनि बढिसकेको छ। नवरात्रको शुभकामना।