‘दशैँ हिन्दू वा वैदिक धर्मावलम्बीको मात्रै पर्व होइन’ (भिडियोसहित)

‘आ-आफ्नो परम्परा अनुसार राम्रो पक्षलाई समेट्दै जाने र खराब पक्षलाई छाड्दै संस्कारित रूपमा अनेकतामा एकता राखेर दशैँ पर्व मान्न सकिन्छ।’

नेपालको धर्म, संंस्कृति, इतिहास, गुठी परम्परामा विशिष्ट योगदान पुर्‍याएका संस्कृतिविद् डा. गोविन्द टण्डनले पुशपति क्षेत्रका बारेमा विद्यावारिधि गरेका छन्। टण्डनका ‘नेपालमा गुठी व्यवस्था’ ‘पुशपति क्षेत्रको सांस्कृतिक अध्ययन’, ‘गुठीः जग्गा कि पुरातत्त्व’लगायत दर्जनाैँ सांस्कृतिक तथा पुरातात्त्विक महत्त्वका पुस्तक प्रकाशित छन्। हिन्दू धर्मालम्बीको महान् चाड दशैँ, पछिल्लो समय यो चाड मनाउने तरिकामा आएको भिन्नता, पशुबलि विरोध र चर्चामा रहेको दशैँ बहिष्कार लगायतका विषयमा उकालोकर्मी प्रबिता श्रेष्ठले डा. टण्डनसँग गरेको कुराकानीः

विभिन्न जाति र वर्णको सामूहिक एकताको प्रतीक चाड दशैँको त्यो भाव अझै पनि यथावत् छ वा फेरियो होला?
संस्कृतमा ‘पर्व’को अर्थ जोड्नु हुन्छ। लाहुरमा बसेको मान्छे अथवा देशलाई छोडेर परदेशमा बसेकालाई दशैँमा घर जान्छु, परिवार–ठूलाबडाको हातबाट टीका, आशीर्वाद थाप्छु भन्ने हुन्छ। यसकारण आफन्तजनको सम्झनाको अवसर पनि हो दशैँ। अहिले त विश्वभर छरिएका नेपाली जो जहाँ छन् त्यहीँ पनि आफ्नो हिसाबले दशैँ मनाइरहेका छन्, यो एउटा सिकाइ पनि हो।

संस्कृति भनेको सधैँ संस्कारित हुँदै जान्छ। यो कुवाको पानी जस्तो एक ठाउँमा रहँदैन। जति बग्यो त्यति कञ्चन हुन सक्यो, जति सरसफाइ हुन सक्यो त्यति नयाँपन थपिदै जान्छ। यस हिसाबले एकता प्रतीकको रूपमा रहेको यो चाड अझ अर्थपूर्ण बनेको छ।

बीचमा जातीय, वर्गीय, क्षेत्रीय चेतना बढ्दै गयो। दशैँ नमान्ने अर्थमा वा सेतो टीका लगाउने अभ्यासमा दशैँलाई बहिष्कार गर्ने चलन पनि आयो। के दशैँ अझै पनि राष्ट्रिय एकताको संस्कृति वा चाडपर्वको रूपमा स्थापित भएकै छैन?
देशलाई जोड्न राष्ट्रिय प्रतीकका रूपमा रहेको डाँफे चरा भनेजस्तै दशैँ एउटा बहुआयामिक पर्व हो, जसले सबैलाई जोडेको छ। नातागोतासँग रिसराग भए पनि यो बेलामा क्षमा माग्ने, टीकाटालो गर्ने चलन छ। टेलिफोन गरेर वा बोलाएपछि मात्रै जानु पर्छ भन्ने चलन छैन। यसले सबैलाई एक गराउँछ नै।

विश्वभर छरिएका नेपाली फेसबुक लगायतका सामाजिक सञ्जालको माध्यमबाट भर्चुअल रूपमा टीका लगाउँछन्। यसरी हेर्दा यो पर्व कति लचिलो छ भन्ने देखिन्छ, चाडपर्व यतिको लचिलो हुनु ठूलो कुरा हो।

कसैले रातो, सेतो वा कालो टीका लगाएकोमा टिप्पणी गर्नुको अर्थ रहन्न। कसैले कानमा जमरा राख्दा, कसैले टाउकोमा राख्दैमा खासै फरक अर्थ छैन। सबैले आ-आफ्नो ढंगले वैदिक वा गैर–वैदिक धर्मअनुसार मान्ने/नमान्ने व्यक्तिगत स्वतन्त्रता र अधिकार हो। आ-आफ्नो परम्परा अनुसार राम्रो पक्षलाई समेट्दै जाने र खराब पक्षलाई छाड्दै संस्कारित रूपमा अनेकतामा एकता राखेर दशैँ पर्व मान्न सकिएला।

null

असत्यमाथि सत्यको विजयको रूपमा दशैँलाई मान्ने गरिन्छ। यसबाहेक नसुनिएको केही लौकिक वा अलौकिक कथा किंवदन्ती वा चलन छन्?
दुर्गा महिषासुरको कथाबाहेक दशैँसँग जोडिने प्रसंग भनेको एउटा राम–रावण युद्धको पनि हो। रावणसँगको युद्धको लागि विजया दशमी साइत पारेर रामले युद्ध गरेको हुनाले विजय प्राप्त गरेको प्रसंग पुराणहरूमा पाउँछौँ।

राम भनेको सत्यको प्रतीक भए भने रावण असत्यको। फेरि राम र रावण भनेको त्यही त्रेता युगलाई मात्रै सम्झनु हुँदैन। राम र रावण हामीभित्रको असल पक्ष र खराब पक्ष हुन्। नकारात्मक प्रवृत्तिलाई छाडेर सकारात्मक हुनुपर्ने यो चाडको सन्देश हो। हाम्रै तराई र भारतका केही स्थानमा यसदिन रावण दहन पनि गरिन्छ।

यस्तै, नेपाल ‘शक्ति’को मुलुक भएको हुनाले यहाँ पहिलेदेखि नै हामीकहाँ देवी र महिषासुर मर्दिनीसँग सम्बन्धित कथाहरू र त्यसपछि देवी शक्तिपीठहरूमा पूजाआजा गर्ने चलन व्यापक रूपमा छ। अर्घाखाँची, गुल्मीजस्तो पश्चिमी भेगमा सरिया नाचको चलन पनि छ।

दशैँका मुख्य चिनारी रहेको टीका, जमराको सांकेतिक अर्थ के होला?
नवरात्रभर नवदुर्गाको साधनापछि टीका ग्रहण गरिन्छ। टीकालाई शक्ति प्रतीकको रूपमा साइत पारेर लगाइन्छ। अहिले अबिरको सिन्दूरले टीका बनाइन्छ। पहिले वनस्पतिबाटै यस्ता रंग बनाइन्थ्यो। टीकामा मिसिने अक्षता अर्थात् क्षत् नभएको (नटुक्रेको चामल) मिसाइएको हुन्छ। किनभने हाम्रो शास्त्रले ‘अन्नम ब्रह्म’ अर्थात् अन्न भनेको ब्रह्म हुन्, ब्रह्म भनेको इश्वर हुन् भन्दै ब्रह्म तत्त्वको रूपमा अक्षता टीका ग्रहण गरिन्छ।

जमरा भन्नासाथ ‘जौ’को स्थापना गर्ने चलन छ। ‘जौ’ भनेको प्राचीन अन्नमध्ये एउटा ब्रह्म अन्न हो। भगवान् कृष्णले ‘श्रीमद् भागवत गीता’मा अन्नमध्ये आफूलाई ‘जौ’ भनेका छन्। ‘जौ’को आयुर्वेदिक महत्त्व पनि त्यतिकै छ। घटस्थापना प्रतिपदाको दिन विशेष पूजा अर्चना गरी जौलाई साधना गरेर शक्ति स्थापना गरिन्छ। त्यही शक्ति अग्रजबाट आशीर्वादको रूपमा थाप्ने चलन चल्दै आएको हो। यो एउटा ‘साइकोलोजिकल हिलिङ सिस्टम’ पनि हो नै।

दशैँको कुनै यस्तो चालचलन वा रीतिरिवाज छन्, जुन हराए वा लोप भए?
दशैँमा मित लगाउने चलन थियो। कान्तिपुरका राजा नृर्पेन्द्र मल्ल र गोर्खाका राजा पृथ्वीपति शाह (पृथ्वीनारायण शाहका बडा हजुरबा)ले यही दशैँमा मित लगाएका थिए। मठमन्दिर बनाउने, हस्तलिखित ग्रन्थहरू सार्ने अब यो एउटा उपयुक्त समय दशैँलाई मानिन्थ्यो।

दशैँ आउनुअघि नै चंगा उडाउने चलन असाध्यै थियो। हाम्रो पालामा नेपाली कागजको चंगा पाइन्थ्यो। पछि लखनउको चंगा आयो। लखनउको त्यो सिलसिले कागजवाला चंगामा ‘सर्रसर्र’ हावामा उड्थ्यो। केलीकासा भन्ने अर्को खेल विशेषतः केटीहरूले खेल्थे। योबेला ओखरको नौ वटा दानालाई राखेर सकिनसकी एउटा प्वालमा छिराएर ह्वाक्राङ भनेर खेल्ने चलन पनि थियो। यी चलन हराएर गए अब।

अहिले विदेशमा रहेका नेपालीमाझ पनि दशैँको रौनक बेग्लै छ, यसलाई कसरी हेरिरहनुभएको छ?
संस्कृति भनेको हिजो जस्तो थियो त्यस्तै रहँदैन, फेरिँदै जान्छ। किनभने हिजोको जस्तो समय, मान्छे, वातावरण वा हिजोको जस्तो सबै कुरा रहँदैन। धेरै सुधारिँदै जान्छ। संस्कृति भनेको सुधारिँदै पनि जानुपर्छ। जब संस्कृति सुधारिँदै जान्छ अनि त्यो संस्कारित हुन्छ। संस्कारित संस्कृति संस्कार बन्छ। हिजोको जस्तो थियो त्यस्तै रहोस् भनेर खोजेर हुँदैन। बरु त्यसमा मिसिने तत्त्व चाहिँ राम्रा र सकारात्मक तत्त्व हुनुपर्यो। यस सन्दर्भमा विदेशमा रहेका नेपालीमाझ दशैँको रौनक हुनु आफैंमा सुखद अनि सकारात्मक विषय हो।

null

नेवाः समुदायले मनाउने मोहनी नखः र दशैँका बारेमा प्राज्ञिक पाटोबाट पनि धेरै चर्चा हुन्छ, यी दुईबीच भिन्नता के छ?
मोहनी नखः र दशैँमा ‘आगम’ र ‘निगम’को भिन्नता छ। हामी कुरा गरिरहेको दशैँ ‘निगम’मा पर्छ। जहाँ आफ्नै घरको पूजा जोसुकैले गर्न सक्छ। मोहनीमा भने दीक्षा लिएको व्यक्तिले मात्रै ‘आगम मन्दिर अथवा आगमको पूजा कोठा’मा जाने चलन छ। आगममा नौ दिनसम्मको पूजाआजा गर्दा कालो टीका लगाइन्छ, त्यसलाई ‘मोहनी सिन्हं’ भनिन्छ। बुझ्नु पर्ने यति नै हो, पूजाआजा साधनाको कुरा आ–आफ्नो ढंगबाट भइरहन्छ। यसमा आगमवाला र निगमवालाले आ–आफ्नै ढंगले पूजापाठ गरिरहेका हुन्छन्।

दशैँकै समानान्तरमा खोकनामा हुने सिकाली जात्रा, दशमीको अर्को दिन हुने सानागाउँको जात्रा अनि पचली भैरवको जात्रा यावत् छन्, यस्ता चाडपर्व कसरी मिसिएर आएका हुन्? 
इतिहास हेर्दा दशैँ अवधिमा उपत्यकाकै पनि विभिन्न विशेषतः नेवार समुदायमा यस्ता जात्रा हुने गर्छन्। पचली भैरवको खड्ग जात्रामा पहिले राजाले पचली भैरवसँग खड्ग साट्थे। खड्ग भनेको शक्तिको प्रतीक हो। खड्ग साट्ने भन्ने चलन अझैसम्म पनि छँदैछ। अहिले राष्ट्रप्रमुखले साट्छन्।

भैरव पुरुषपात्र भए पनि नवदुर्गासँग सम्बन्धित हुनुभयो।  यही बेला भक्तपुरमा नवदुर्गाको पूजा हुन्छ। त्यसैले यिनीहरू अलगै भन्नु भन्दा पनि त्यही भित्रको अभिन्न अंगको विशेष रूपबाट पचली,नवदुर्गा लगायतका जात्रा महत्त्वपूर्ण छन्।

बलि प्रथाको विरोध दशैँको समयमा केन्द्रमा देखिन्छ, यसलाई कसरी बुझ्नुपर्ला? 
हरेक पर्व वा कर्ममा पनि सात्विक, राजसी र तामसी प्रकारहरू हुन्छन् नै। कुनै जमानामा पशुबलिलाई प्रधान्यता दिइयो। पशुबलि गर्नैपर्छ भन्ने भाव थियो। समय फेरिएसँगै पशु बलिको सट्टा नैवेद्य, कुभिन्डो वध गर्ने चलन पनि फैलिएको छ।

पशु बलिको विषयमा मैले लामो समयदेखि अभियानकै रूपमा काम गरेँ। धर्मको नाममा पशुबलि भइरहेको हुन्छ। पशुमा पनि प्राण छ। प्राणीलाई किन वध गर्ने भन्ने तर्क एकथरी समाजमा छ। यसमा व्यक्ति आफै समझदार हुनुपर्छ।

भिडियो