पोखरालाई हराउँदै जनकपुर क्वालिफायरमा

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १२ ओभरमा सबै विकेट गुमाएर ६८ रन बनाएको थियो।

काठमाडौँ– जारी नेपाल टी२० लिगमा जनकपुर क्वालिफायरमा पुगेकाे छ। बिहीबार पाेखरालाई ६ विकेटले हराउँदै जनकपुरले क्वालिफायरमा स्थान बनाएको हो।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १२ ओभरमा सबै विकेट गुमाएर ६८ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको जनकपुरले ९ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो।

पोखराका सिद्धान्त लोहनीले १७ तथा आसिफ शेख र कुशल मल्लले १६–१६ रन जोडेका थिए। जनकपुरका सोमपाल कामीले तीन तथा असरफ र ललित राजवंशीले दुई–दुई विकेट लिए।

जनकपुरका लागि शारफुद्दिन असरफले २७ बलमा ३७ रनको इनिङ खेले। त्यसअघि कप्तान ट्रेभोन ग्रिफिथ १७ रन जोडेर पेभेलियन फर्किएका थिए। पोखरका कुशल मल्ले तीन तथा अतिशा फर्नान्डोले एक विकेट लिए। जनकपुरका साेमपाल कामी ‘प्लेयर अफ द म्याच’ घाेषित भए।

जितसँगै नौ खेलबाट १२ अंक जाेडेकाे जनकपुर एक खेल अगावै क्वालिफायरमा पुगेकाे हो।पोखराले समान खेलबाट छ अंक मात्रै बनाएको छ।