दमकल बोलाउन फोन बजिरहे, काठमाडौँ जलिरह्यो

भदौ २३ गते एम्बुलेन्समा भएको आगजनी नियन्त्रणमा लिन गएको दमकल तोडफोड भयो, २४ गते त आगै लगाइयो। ठाउँठाउँमा बाटो छेकियो। अनि, काठमाडौँ जलिरहँदा पनि दमकलको साइरन कतै सुनिएन।

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले भदौ २४ गते फेसबुकमा एउटा सूचना राखेको थियो, जसमा सम्भावित आगलागीमा दमकल आवश्यक परे सम्पर्क गर्न पनि भनिएको थियो। महानगरले ‘परिस्थिति मध्यनजर गर्दै महानगर प्रहरी र नेपाली सेनाको संयुक्त अपरेसन केन्द्रमार्फत सेवा उपलब्ध हुने’ जनाएको थियो।

महानगरको अनुमानजस्तै त्यो दिनभरि नै काठमाडौँलाई धुवाँले लपेट्यो। आन्दोलनकारीले राष्ट्रपति निवास, प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटारसहित विभिन्न संरचनामा आगो लगाए। हिल्टन होटल, भाटभटेनी सुपरमार्केट, नेताका निवासहरूमा पनि आजगनी भयो।

ड्रोनबाट लिएका भिडियोहरू हेर्दा त्यो रात पनि काठमाडौँ जलिरहयो। राति १० बजेबाट सुरक्षाको जिम्मा लिएको नेपाली सेनाले पनि तत्कालै आगलागी नियन्त्रणमा लिन सकेन।

आगलागी नियन्त्रणका लागि प्रयोग गरिने साधन दमकल हो। उक्त दिन सिंहदरबार, संसद् भवन, प्रधानमन्त्री निवास बालुवाटारलगायत मुख्य ठाउँमा आगो नियन्त्रण गर्न काठमाडौँ महानगरपालिका, भक्तपुरको जुद्धवारुण यन्त्र कार्यालय, ललितपुर महानगरपालिका र नेपाली सेनाको दमकल प्रयोग गर्न सकिन्थ्यो।

तर सुरक्षा जोखिमकै कारण आगो नियन्त्रण गर्न दमकल पठाउन नसकिएको काठमाडौँ महानगरको जुद्ध वारुणयन्त्र कार्यालयका प्रमुख ध्रुवकुमार भुजेल बताउँछन्। भुजेलका अनुसार, महानगरले आन्दोलनको पहिलो दिन भदौ २३ गते बानेश्वरमा एम्बुलेन्समा लागेको र सुन्धारामा बाइकमा लागेको आगो नियन्त्रण गर्न दमकल पठाएको थियो। आन्दोलनकारीले दमकल नै तोडफोड गरिदिए।

भोलिपल्ट भदौ २४ गते आगो निभाउन महानगरमा धेरैपटक फोन बजिरह्यो। “त्यो दिन शुरूमा निस्किन सक्ने अवस्था नै भएन। दिउँसो त प्रहरीले पनि सुरक्षा दिन नसक्ने भयो,” भुजेल भन्छन्, “हामीलाई पनि के गर्ने—गर्ने भयो, कता जाने भन्ने अन्योल भयो। दमकललाई समेत फर्काइएको थियो। ढुंगा हानिएको थियो।”

nullत्यो दिनभर नै आगो नियन्त्रण बाहिर गयो। सेनाले १० बजेपछि मात्रै सुरक्षाको जिम्मा आफूले लिएको जानकारी दियो। त्यसपछि बल्ल दमकलहरू परिचालन हुन थाले। तर आगो लगाइएका धेरै संरचना जलिसकेका थिए। 

साँझ एकैपटक धेरै ठाउँमा जानुपर्ने भएपछि जनशक्ति पनि नपुगेको काठमाडौँ महानगरको जुद्ध वारुणयन्त्र कार्यालय प्रमुख भुजेल बताउँछन्। सडकसमेत अवरुद्ध थियो।

“बेलुका शुरूमा एउटा दमकल विशालबजारको जनसेवा चौकीमा पठायौँ। त्यस बेला पनि सिंहदरबारतिर जान सक्ने अवस्था थिएन,” उनी भन्छन्, “जब सेनाले १० बजेपछि सुरक्षाको जिम्मा लियो, अनि मात्रै हामी सबैतिर खटियौँ। सिंहदरबारभित्र गयौँ। हामीले रातभरि नै काम गर्‍यौँ।”

सामान्यतः दमकललाई आगलागीको खबर फोनबाट आउँछ। नेपाल प्रहरीले पनि खबर गर्छ। तर त्यस दिन प्रहरीले खबर गर्न सक्ने अवस्थै थिएन। प्रदर्शनकारीले सबै चौकीमा आगो लगाइदिएका थिए।

nullसर्वसाधारणले आगो निभाउन तारन्तार फोन गरिरहेका थिए। नेताका घर जलाइँदा छिमेकीहरूले पनि फोन गरिरहेका थिए। “कतिपय मान्छेलाई पनि रेस्क्यु गर्नुपर्ने थियो। त्यसैले कता—कता जाने भयो? सेनाले प्राथमिकताका आधारमा जता पठाउँछ, उतै गयौँ,” भुजेल भन्छन्।

राति १० बजेपछि नेपाली सेना, काठमाडौँ र ललितपुर महानगरका दमकल आगो निभाउन सिंहदरबार पुगे। तर थोरै पानीले एकैपटक आगो निभ्ने अवस्था थिएन। शुरू अवस्थामै महानगरका दमकलाई सुरक्षा दिइएको भए सिंहदरबार र संसद् भवनमा धेरै क्षति नहुँदै निभाउन सक्ने भुजेलको दाबी छ।

काठमाडौँ महानगरसँग जम्मा पाँच वटा दमकल छन्। त्यस बेला जनशक्ति र पानीको अभाव एकैपटक भयो। हुन त, पानीका लागि महानगरकै भूमिगत ट्यांकी छ। त्यो दिन विभिन्न निजी ट्याङ्करहरूसँग पनि महानगरले समन्वय गरिरहेको थियो।

महानगरकै ट्यांकीले त्यहाँका दमकलमा एकदुई पटक पानी भर्न पुग्ने भुजेल बताउँछन्। “यति ठूलो आगो त हामीले देखेकै थिएनौँ। आगो लाग्दा पनि एक ठाउँ पो लाग्छ, यहाँ त कता हेर्ने? सडक विभाग हेर्ने कि चौकी हेर्ने! सिंहदरबार हेर्ने कि हिल्टन हेर्ने!” उनी भन्छन्।

nullमहानगरले आफ्ना पाँच वटा दमकललाई तीन ठाउँ बालाजु, रामहिटी र वसन्तपुरमा राखेको छ। भदौ २४ गते रातिबाट खटिएका दमकल नक्साल भाटभटेनी, हिल्टन, बालुवाटार, कोटेश्वर र चुच्चेपाटीको भाटभटेनी, संसद् भवन, सिंहदरबार तथा सडक विभागको आगो निभाउन पुगेका थिए। त्यस्तै, ट्राफिक प्रहरी कार्यालय, महानगरीय प्रहरी कार्यलाय, रानीपोखरी, लोत्से महल, एनसेल टावर, काठमाडौँ जिल्ला अदालत, सर्वोच्च अदालतमा पनि पुगेका थिए। 

त्योबेला ठूला भवनमा भित्रसम्म गएर निभाउन सकिने अवस्था नभएको भुजेल बताउँछन्। भित्रभित्र रहेका आगोका भिल्काहरू अझै पनि निभाउनु परिरहेको उनको भनाइ छ।

जावलाखेलमा जल्यो एउटा दमकल 
ललितपुर महानगरपालिकासँग तीन वटा दमकल थिए। भदौ २४ गते बिहानैदेखि आगो नियन्त्रणमा लिन भन्दै महानगरमा खबर आइरहेको थियो। दमकल पनि परिचालन भइरहेका थिए।

यसैबीच, बिहान नै जावलाखेलमा एउटा गाडी जलाइएको सूचना आयो। तुरुन्तै दमकल पठाइयो। तर जाँदाजाँदै आन्दोलनकारीले दमकलमै आगो लगाइदिएपछि दिनभर बाहिर निस्किन नसकेको ललितपुर महानगर प्रहरी प्रमुख सीताराम हाछेथु बताउँछन्।

आन्दोलनले सबै सडकमा अवरोध भएको र दमकलमै आक्रमण भएको हुँदा निस्किन नसकेको उनको भनाइ छ। “त्यसअघि (दमकल जलाउनुअघि) एकदुई ठाउँमा गइयो। त्यहाँ केही भएन। तर पछि आगो लगाइदिए। अनि कतै जाने अवस्था रहेन,” उनले भने।

nullत्यो दिन काठमाडौँबाट पनि आगो निभाउन ललितपुर महानगरमा धेरैपटक फोन गएको थियो। दिउसो प्रहरी नै पछि हटेको अवस्थामा दमकल पठाउन ठूलो सुरक्षा चुनौती भएको हाछेथु बताउँछन्।

सेनाले सुरक्षा नियन्त्रणमा लिन थालेपछि भने रातभर आगो निभाउने प्रयत्न गरेको उनले जानकारी दिए। “दिउसो मन्त्री क्वार्टरमा जान सकिएन। बेलुका सेनाले सुरक्षा दिएपछि एमाले पार्टी कार्यालयलगायतका भवनमा आगो निभाउन गयौँ। काठमाडौँतिर पनि गयौँ,” उनले भने।

भक्तपुरका दमकल बाटोबाटै फर्काइए
भक्तपुरको जुद्ध वारुणयन्त्र कार्यालयसँग चार वटा दमकल र एउटा फायर बाइक गरी ५ वटा आगो नियन्त्रणका साधन छन्। तर त्यहाँ भएका साधनले २४ गते भएको आगजनी नियन्त्रण गर्न सकेनन्।

भक्तपुरमा मुख्यगरी दुई पालिका सूर्यविनायक र मध्यपुरमा प्रदर्शनकारीले धेरै ठाउँमा आगजनी गरे। मध्यपुर नगरपालिकाको मुख्य भवनमा आगजनी भएको थियो। भक्तपुरका प्रहरी चौकीहरूमा पनि आगजनी भए। भक्तपुरको जिल्ला प्रशासन कार्यालय, राधेराधेको यातायात व्यवस्था कार्यालयमा आगजनी भए।

सूर्यविनायकमै पर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस नेता मोहन बस्नेत, एमाले नेता महेश बस्नेत, बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाका घरमा आगजनी गरिए। लोकन्थलीमा एमाले नेता गोकुल बास्कोटाको घरमा पनि आगजनी भयो। तर यी कुनै पनि स्थानमा दमकल पुगेन।

जुद्ध वारुणयन्त्र कार्यालय भक्तपुरका प्रवक्ता हिमाल घर्ती मगरका अनुसार त्यस दिन धेरै ठाउँबाट आगलागी नियन्त्रणका लागि फोन आएको थियो। कार्यालयबाट दमकल पनि निस्किएका हुन्। तर आन्दोलनकारीले आगो लागेका ठाउँसम्म पुग्नै दिएनन्। उनले भने, “त्यो दिन दिउसो हिँडेका थियौँ, तर हामीलाई फर्काइयो। दिउँसो काठमाडौँबाट पनि फोन आए, जान सकेनौँ।”

रातिबाट भने भक्तपुर र काठमाडौँका विभिन्न ठाउँमा गएर आगो नियन्त्रणमा निरन्तर खटिएको प्रवक्ता मगरले जानकारी दिए। “२४ गते रातिबाट २७ गतेसम्म निरन्तर काम गर्‍यौँ। कोटेश्वर र हिल्टन होटेलतिर पनि पुग्यौँ,” उनले भने।

भक्तपुरका दमकलले त्यहाँको जिल्ला प्रशासन कार्यालय, प्रहरी चौकीहरू, काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा लागेको आगो नियन्त्रणमा लिएको थियो। प्रवक्ता मगरका अनुसार हिल्टन होटेलमा भने दमकलको सामर्थ्य पुगेन। “हिल्टनमा हाम्रो सामर्थ्यले नभ्याएपछि त्यहाँबाट बालुवाटार र बौद्धको भाटभटेनी गयौँ,” उनले भने।

के गर्दै थियो विपद् प्राधिकरण?
आन्दोलनकारीले सिंहदरबारमै आगो लगाइदिएपछि त्यहीँभित्र रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पनि आगलागी नियन्त्रणमा काम गर्न सकेन। प्राधिकरणकी उपसचिव तथा प्रवक्ता शान्ति महतका अनुसार त्यस दिन कर्मचारीले काम गर्न सक्ने अवस्थै थिएन। उनी भन्छिन्, “हामीले अपेक्षा गरेको भन्दा एकदमै फरक अवस्था रह्यो। हाम्रो नियन्त्रणबाहिर थियो। काम गर्ने अवस्था रहेन।”

महतका अनुसार प्राधिकरणले आगलागीमा सिधै दमकल परिचालन गर्दैन। जुनजुन निकायसँग दमकल छ, उनीहरूसँग समन्वय गर्छ। त्यस दिन मानवीय सुरक्षा हेरेर नै दमकल परिचालन हुन नसकेको उनी बताउँछिन्।

nullप्राधिकरणका कर्मचारी निस्किन नसकेकाले अनलाइन प्लाटफर्ममार्फत समन्वय गरेको महतको भनाइ छ। “पहिलो त मानवीय सुरक्षा नै प्राथमिकतामा राखिन्छ। आन्दोलन पनि अनपेक्षित बढ्दै गएको थियो। दमकललाई क्षति हुने थियो। अपरेटरहरूको पनि सुरक्षा थ्रेट हुने भएकाले तुरुन्तै जान सकिएन,” उनले भनिन्।

अवस्था सामान्य हुन थालेपछि भएका दमकललाई प्रयोग गर्न प्राधिकरणले पनि सूचना सम्प्रेषण र समन्वय गरेको प्रवक्ता महतले बताइन्। “२५ गतेसम्ममा प्रायः सबै ठाउँमा आगो नियन्त्रणमा आएको थियो। तर ठूला भवनमा भित्रभित्र आगोका ठिस्काहरू रहिरहेको हुँदा फेरि सल्किएको अवस्था थियो। ती ठाउँमा आर्मीलाई खबर गरेर अझै निभाउने काम भइरहेको छ,” उनले भनिन्।

सामान्य अवस्थामा चलाइराखेका दमकललाई एकैपटक धैरै ठाउँमा आगजनी नियन्त्रण गर्दा कतिपयले काम नगर्ने, पानी नपुग्ने जस्ता समस्या आएको प्राधिकरणकी प्रवक्ता महतले बताइन्। प्राधिकरणका अनुसार, देशभर करिब २११ वटा दमकल छन्।

काठमाडौँ उपत्यकामा काठमाडौँ महानगरसँग पाँच, ललितपुर महानगरसँग तीन र भक्तपुरको जुद्ध वारुणयन्त्र कार्यालयसँग चार वटा दमकल छन्। यस्तै, नेपाली सेनासँग १० वटा दमकल भए पनि चार वटा मात्रै काम गर्नसक्ने अवस्थामा छन्। उपत्यकाका धेरै पालिकासँग आफ्नै दमकल छैन।