चाडबाडको मुखमा हुनसक्ने खतरालाई ध्यानमा राख्दै असुरक्षा, कालो बजारी र महँगी नियन्त्रण गरियोस्। यातायातको व्यवस्थामा समुचित ध्यान दिइयोस्।
आन्दोलनका क्रममा जेनजी (युवा पुस्ता) ले देखाएको साहस र सरकार गठनका सन्दर्भमा देखाएको सुझबुझको जति प्रशंसा गरे पनि कम हुन्छ। प्रतिकूल परिस्थिति हुँदाहुँदै पनि भ्रष्टाचारबाट मुक्तिको अठोटसहित नेपाली युवाको सुनौलो सपना साकार पार्न अग्रसर जेनजी पुस्तामा यस शुभ घडीका लागि धेरै धन्यवाद। शहीदहरूप्रति सम्मान र श्रद्धाञ्जली एवं परिवारमा गहिरो समवेदना! घाइतेहरूमा शीघ्र स्वास्थ्य लाभको कामना। तपाईंहरूको बलिदान खेर जान नपाओस् भन्नेमा प्रत्येक नेपालीले ख्याल गर्नुपर्नेछ।
समुन्नत नेपालको सपना साकार पार्ने दिशामा अघि बढिरहेका हामी नेपाली इतिहासकै कठिन मोडमा छौँ। देश निर्माणका सन्दर्भमा यो घडी शुभ हो, तर यतिखेर हाम्रा राष्ट्रिय गौरवका प्रतीकहरू क्षतविक्षत छन्, दैनिक प्रशासन र व्यापारका मेरुदण्ड भाँचिएका छन्। हरेक सच्चा नेपालीको मनमा आक्रोशको आगोसँगै पश्चात्तापको भुंग्रो बलिरहेको छ।
हामी धुवाँमा रुमल्लिँदै हराएका छौँ, किनभने राजनीति र जनताको चाहनाबीच ठूलो खाडल छ। जनताले नागरिक दायित्व बुझेका छैनन् वा बिर्सिएका छन्। नेताहरू अझै पनि सच्चिने दिशातर्फ अग्रसर देखिएका छैनन्, बहस हुँदामात्र उनीहरू सच्चिने कुरा गर्छन्। देशभित्र ठूलो अराजकता र बाह्य हस्तक्षेपको खतरा मडारिइरहेकै छ।
यस्ता चुनौतीमाझ नवनिर्मित सरकारले सचेत भएर कदम चाल्नु जरुरी छ र हामी सबै नेपालीले आआफ्ना जिम्मेवारी बहन गर्दै अगाडि बढ्नुको विकल्प छैन। यस सन्दर्भमा मुख्य रूपमा चार सरोकारवालाहरूको ध्यान आकृष्ट गर्न चाहन्छु।
१. सरकार
प्रधानमन्त्री सुशीला कार्की र उहाँको टिमलाई सफलताको शुभकामना। उहाँले अपेक्षा गर्नुभएझैँ यो टिम सफल भएपछि सबैले एक स्वरले बधाई भन्ने नै छौँ। सरकारको मुख्य दायित्व नयाँ निर्वाचन, आन्दोलनका क्रममा भएका ज्यादती र आपराधिक क्रियाकलापको छानबिन र सजाय, आर्थिक भ्रष्टाचारको छानबिन र कानूनी उपचारसँगै अन्य विभिन्न कामहरूद्वारा जनताको मनोबल उकास्नु पर्नेछ। त्यसका लागि छिट्टै नै बहुपक्षीय बैठक आह्वान गर्नु आवश्यक छ। त्यसको लागि वातावरण सिर्जना गरियोस्।
जेनजी पुस्ताको सहभागितामा उनीहरूले नै बुझ्नेगरी उनकै भाषामा मिम, रिल र सर्टस् आदिद्वारा शान्तिसुरक्षा र नागरिक दायित्वबारे प्रचारप्रसार गरियोस्। जनताको मानसिक स्वास्थ्यप्रति विशेष संवेदनशीलता अपनाइयोस्। चाडबाडको मुखमा हुनसक्ने खतराहरूलाई ध्यानमा राख्दै असुरक्षा, कालो बजारी र महँगी नियन्त्रण गरियोस्। यातायातको व्यवस्थामा समुचित ध्यान दिइयोस्।
प्राकृतिक विपद् एवं महामारी नियन्त्रणबाट ध्यान नहटोस्। धेरैको रोजगारी गुमेको छ, सबै तहका सरकारको यसतर्फ उचित ध्यान पुगोस्, अति न्यून आय भएका परिवारका लागि अविलम्ब रोजगारी एवं राहत उपलब्ध गराउने कदम चालियोस्। देशको सीमित पुँजीलाई निर्माणाधीन आयोजनाहरू यथाशक्य छिटो निर्माण सक्ने गरी परिचालन गरियोस्। नष्ट भएका संरचना पुनर्निर्माणको लागत आंकलन र श्रोत व्यवस्थापनको योजना बनाइयोस्।
२. राजनीतिक दल
नेपालका प्रमुख राजनीतिक दल र केही अन्यले पनि प्रतिनिधिसभा विघटनको निर्णयलाई असंवैधानिक कदम भनेका छन्। यस कदमले लोकतान्त्रिक उपलब्धि धरापमा पारेको र सो जेनजी आन्दोलनको भावनाविपरित रहेको उनीहरूको टिप्पणी छ। (यद्यपि, कतिपय दलका नेताले नयाँ प्रधानमन्त्रीलाई बधाई दिई चुनावतर्फ दलहरू केन्द्रित हुनुपर्ने उल्लेख गरेका पनि छन्।)
यस विषयमा हामीले के ख्याल गर्नुपर्छ भने जेनजी आन्दोलनका मुख्य माग ३ वटा मात्रै थिए १. भ्रष्टाचार नियन्त्रण, २. सुशासन र, ३. बन्द भएका सामाजिक सञ्जाल खुला गर्ने विषय। सरकार परिवर्तन उनीहरूको माग थिएन। तर २३ गते सरकारले गरेको निर्मम दमन र कलिला युवाको हत्या अनि २४ गतेको अवाञ्छित क्रियाकलापपश्चात् विकसित जटिल परिस्थितिले नयाँ सरकार बनाउनुपर्ने अवस्था सिर्जना भएको हामी कसैले बिर्सनु हुँदैन।
तर, हाम्रो दुर्भाग्य! राजनीतिक दलहरूप्रति आन्दोलनकारी शक्तिको रत्तिभर पनि विश्वास नरहेको देखियो। यस अवस्थामा जनताको तागतको मागअनुरूप प्रतिनिधिसभा विघटन भएको हो। राजनीतिक दलहरूले सुध्रिने प्रणसहित जनतासँग माफी माग्दै नयाँ सरकारलाई पूर्ण समर्थन गरी यथाशक्य छिटो देशको परिस्थिति सामान्यीकरण गर्नेतर्फ लाग्नुको विकल्प छैन।
आन्दोलनको 'स्पिरिट'लाई पुनः मनन गर्दै नयाँ सरकार र प्रतिनिधिसभा विघटनको निर्णयप्रति विमति नराखी कुनै पनि कानूनी कारबाही र झमेलामा नउल्झिनु नै स्वतः यसको वैधानिकता पुष्टि गर्ने आधार हुने छ। र, यसले जनतालाई दलहरू जनताको भावनाप्रति संवेदनशील र उत्तरदायी भएको आभास दिलाउने छ। यस्तो सकारात्मक कदमले नै देशको अन्योलपूर्ण परिस्थितिको सही मूल्यांकन र जनभावनाको कदर गरेको ठहरिने छ। नत्र भने दल र जनताबीच रहेको खाडल झनै गहिरिएर जानेछ र यसले कसैको भलो गर्ने छैन।
३. प्रशासन संयन्त्र
विगतमा देशको प्रशासनमा चरम राजनीतिकरण गरिएको कुरा कसैबाट लुकेको छैन। प्रशासनमा रहनु भएका सम्पूर्ण मित्रहरूलाई पनि अनुरोध छ–आआफ्नो जिम्मेवारीलाई जबाफदेहीपूर्ण तरिकाले वहन गरौँ। सरकारलाई सहयोग गरौँ, युवाहरूको सपनालाई तुहिन नदिऊँ। जनताको आक्रोश र वितृष्णाको परिणति हामीले देखिसकेका छौँ। नेपालको कर्मचारीतन्त्र दलीय प्रभावबाट मुक्त रही देश विकासको सच्चा सिपाहीका रूपमा अगाडि बढ्न सक्षम छ भन्ने प्रमाणित गरौँ। धेरैको जीवनमा बिरलै आउने यस्तो सुवर्ण मौकाको सही सदुपयोग गर्दै कर्तव्य परायणताको उदाहरण प्रस्तुत गरेर आफ्ना सन्तानको भविष्य सुनिश्चित गरौँ।
४. हामी नागरिक
हामीले अधिकारका कुरा धेरै गर्यौँ, अब कर्तव्यको कुरा गरौँ। हाम्रा बालबालिकालाई के सिकाउने र कसरी हुर्काउनेबारे घरघरमा छलफल हुनु जरुरी छ। अन्यायको, भ्रष्टाचारको कानूनी उपचार हुनुपर्छ, तर हाम्रा न्याय दिने निकायहरू पनि पूर्वाग्रहरहित र निष्पक्ष हुनुको विकल्प छैन। अहिले सो कुरा एक किसिमले प्रमाणित भइसकेको छ।
हाम्रो नेपाली चरित्र के हो? अमूल्य निधिहरू नष्ट गर्ने, हिंसा अँगाल्ने र प्रतिशोध साँध्ने कस्तो स्वभाव हो? के सभ्य समाज यस्तो हुन्छ? हामी कहाँ र किन चुकेका छौँ र यसलाई कसरी सपार्ने भन्नेबारे हाम्रा शिक्षण संस्थाहरूले मनन गर्दै मानव गरिमा र सभ्यताका शिक्षा विद्यार्थीलाई दिउन्।
भाइरल हुने लोभमा सामाजिक सञ्जालमा उग्र, व्यक्ति र समुदाय भड्काउने मिथ्या सामग्रीको साटो नागरिक दायित्व बुझाउने, नेपाल आमाको चोटमा मलहम लगाउने किसिमका सामग्री सम्प्रेषण गरौँ। चाडबाड आउँदै छ, फिटिक्कै तडकभडक नगरौँ। आज हरेक क्षेत्रमा काम गर्ने, देशभित्र या बाहिर रहेका सबै नेपालीले नेपालको भौतिक पुनर्निर्माण र सामाजिक सांस्कृतिक संवर्द्धन कसरी गर्ने भन्ने सोचौँ, यस क्षेत्रमा योगदान गरौँ।
–शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वसचिव हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
