जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले काठमाडौँका केही ठाउँमा पेट्रोल पम्पमै आगो लगाउन खोजे, कतै आगो लगाइएका ठाउँछेउमै पेट्रोल पम्प थिए। स्थानीयबासी अगाडि नसरेका भए ती पम्पसँगै शहर खरानी बन्न सक्थ्यो।
काठमाडौँ– भदौ २३ गते बिहान करिब ११ बजेसम्म बानेश्वरको सडक शान्त थियो। संघीय संसद् भवनको सामुन्नेमा रहेको ‘थ्री ब्रर्दर्स आयल स्टोर’का कर्मचारी आफ्नै काममा व्यस्त थिए। सवारीसाधन त्यहाँ लाइन लागेर पेट्रोल र डिजेल भर्दै थिए।
माइतीघरबाट जेनजी आन्दोलन शुरू भएको, प्रदर्शनकारीहरू बानेश्वरतर्फ आउँदै गरेको खबर पम्पका कर्मचारीले सुनेका थिए, तर त्यसलाई सामान्य रूपमै लिएका थिए। “युवाको प्रदर्शन भन्ने थाहा थियो, हामीले अरू दिनजस्तै काम शुरू गरेका थियौँ, आफ्नै लयमा काम गरिरहेका थियौँ,” पम्पका कर्मचारी सुदर्शन अधिकारीले भने।
तर परिस्थिति एकाएक फेरियो। माइतीघरबाट नारा मात्र लगाउँदै अगाडि बढेको जुलुस बिस्तारै आक्रोशित हुँदै बानेश्वरतर्फ बढ्न थाल्यो। अधिकारी र उनको टोलीले तत्काल पेट्रोल पम्प बन्द गरे। त्यहाँ लाइन लागेका सवारीसाधन तितरबितर भए।
केही बेरमै आक्रोशित युवाहरूको हुल पम्पमा पस्यो।
“मैले यो निजी सम्पत्ति हो, जथाभावी पेट्रोल दिन मिल्दैन भनेँ। उनीहरूले पेट्रोल नदिने भए पम्प नै जलाइदिने धम्की दिए,” अधिकारीले भने, “मेरो बाइक बाहिरै थियो, त्यसलाई जलाउन खोजे। मैले हारगुहार गरेर बाइक जोगाएँ।”
पेट्रोल पम्पको पछाडिपट्टि करिब १०० लिटर फोहोर पेट्रोल भएको ट्यांकी राखिएको थियो। अर्को एक हुल युवा पेट्रोल खोज्दै आए र त्यही ट्यांकी कब्जा गरे। उनीहरूले त्यो ट्यांकीको पेट्रोल लिएर के गरे भन्ने त खुलेन, तर पम्पमा आगो भने सल्किएन।
अधिकारी ज्यान जोगाउन करिब चार घण्टा पम्पको सटरभित्र लुकेका थिए। उनी बाहिर निस्कँदासम्म नयाँ बानेश्वर क्षेत्र युद्धमैदान झैँ बनेको थियो। टियरग्यासको धुवाँ, ईंट र ढुंगाको टुक्रा जताततै, त्यहीमाथि प्रहरीको गोलीबाट रगताम्य आन्दोलनकारी। संसद् भवन नजिकै पुगेका आन्दोलनकारीले तोडफोड गरिरहेका थिए।
यता सडकमा पेट्रोल पम्प जोगाउन स्थानीय महिला बबिता महर्जनको अगुवाइमा स्थानीयहरू अगाडि आएका थिए। “हामी पेट्रोल पम्पको अगाडि उभिएर आक्रोशित युवालाई शान्त तरिकाले सम्झाउथ्यौँ। पेट्रोल पम्पमा आगो लागेको भए बानेश्वर नै ध्वस्त हुने डर थियो, हामी त्यही नहोस् भनेर खटेका थियौँ,” उनले भनिन्।
महर्जनका अनुसार आक्रोशित युवाको समूहले उनलाई पनि चुप लाग्न धम्की दिएको थियो। उनले भनिन्, “हामी उनीहरूसँग झुकेर, हात जोडेर पेट्रोल पम्पमा केही नगर्न बिन्ती गरिरहेका थियौँ।” केहीबेरमै कर्फ्यु लाग्यो। त्यो दिन पम्प जोगियो।

भोलिपल्ट, भदौ २४ गते काठमाडौँमा जताततै विध्वंस मच्चिइसकेको थियो। संसद् भवनदेखि सिंहदरबारसम्म जलिरहेका थिए। आकाशमा जताततै कालो धुवाँको मुस्लो देखिन्थ्यो। पम्पका कर्मचारीहरू भने आफू र पम्प जोगाउन भित्रै बसिरहे।
बाहिर चाहिँ स्थानीयहरू जम्मा भएर आक्रोशित समूहलाई सम्झाइबुझाइ गरिरहेका थिए। पछि पम्पका कर्मचारीले पेट्रोल पम्प नजलाऊन् भनेर प्रदर्शनकारीलाई आफ्नो ट्यांकरको पानी नै दिए। बानेश्वर क्षेत्र टियरग्यासको धुवाँमा हराएको बेला थियो त्यो। अधिकारीले सम्झिए, “प्रहरीको अश्रुग्यासले उनीहरू चिच्याउँदै आए। पानी पाएपछि केही शान्त भए। त्यसपछि पेट्रोल पम्प जलाउने कुरा सुनिएन।”
एयरपोर्टछेउको पम्पः क्यामेरा फुटाइयो, आगोबाट जोगियो
तीनकुने, गैरीगाउँस्थित मुख्य सडक छेउमै छ भ्याली बाबा सप्लायर्स प्रालि। यो पेट्रोल पम्प यसअघिका आन्दोलन र प्रदर्शनहरूमा पनि पटक–पटक निसाना बनिसकेको थियो। त्यसैले यहाँका कर्मचारी कुनै आन्दोलन भयो कि त्रस्त बन्छन्।
भदौ २३ को जेनजी आन्दोलन बानेश्वरतर्फ मात्र सीमित हुँदा यो पम्पमाथि खतरा आइलागेको थिएन। भदौ २४ गते भने बिहान ११ बजेदेखि नै एउटा भीड पम्प अगाडि जम्मा भइसकेको थियो। गर्मी, धुलो खेपिरहेका पम्पका कर्मचारी उनीहरूको चर्को नाराले तनावमा परे।

यो पम्प नजिकै व्यवसायी रामेश्वर थापाको स्वामित्वमा रहेको अन्नपूर्ण पोष्ट दैनिकको कार्यालय छ। करिब २ बजेतिर एउटा आक्रोशित समूह पम्पतर्फ अगाडि बढ्यो। उनीहरूको पहिलो निशाना पम्पको सीसीटीभी क्यामेरा बन्यो। “पहिले क्यामेरा फुटाइयो, आफ्ना गतिविधि क्यामेरामा कैद नहोस् भनेर होला,” स्थानीय राजुकुमार श्रेष्ठले सम्झिए।
क्यामेरा फुटाउनासाथ त्यो समूह अन्नपूर्ण पोष्टको कार्यालयभित्र पस्यो। त्यहाँका कुर्सी, टेबल, सिसा सबै भाँचेर कार्यालयमा आगो लगाउन शुरू गरियो। त्यो आगोले अन्नपूर्णको कार्यालय मात्र ध्वस्त हुँदैनथ्यो, पेट्रोल पम्प र त्यस वरपरका घरहरू पनि खरानी बन्ने जोखिम निम्तिएको थियो। त्यो भन्दा अझ डरलाग्दो त त्यो आगो छेउमै रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र रहेको इन्धन डिपोसम्म पुग्न सक्थ्यो। त्यसबाट निम्तिन सक्ने क्षति अकल्पनीय हुने थियो।
यही खतरा बुझेर गैरीगाउँका करिब ५० जना स्थानीय बासिन्दा तत्कालै अगाडि आए। तिनैमध्येका श्रेष्ठ भन्छन्, “आक्रोशित युवाहरूलाई सम्झाउन र बुझाउन धेरै गाह्रो भयो। तर हामी उनीहरूभन्दा सानो भएर, हात जोडेर, बिन्ती गरिरहेका थियौँ। अन्नपूर्ण पोष्ट जल्दा पेट्रोल पम्प जल्छ। पेट्रोल पम्प जल्दा वरपरका सबै घर ध्वस्त हुन्छन् भन्दै सम्झायौँ।”
प्रदर्शनकारी कुरा सुन्ने मुडमा थिएनन्। तर स्थानीय बासिन्दा पनि हरेश खाने पक्षमा थिएनन्। “हामीलाई थाहा थियो, हाम्रो कुरा सुन्ने अवस्था छैन। त्यो क्षण ज्यानको जोखिम थियो, तर शहर बचाउनैपर्ने थियो,” श्रेष्ठ भन्छन्, “हामीले त्यही गरिरह्यौँ।”
पेट्रोल पम्पका कर्मचारी झन् तनावमा थिए। “शुरूमा असाध्यै डर लागेको थियो। किनभने सिंहदरबार, संसद् भवन सबै जलाइसके भन्ने खबर आइरहेको थियो,” पम्पका कर्मचारी दिपेन्द्र कार्कीले भने, “अब हामी पनि नरहने भयौँ भन्ने लागेको थियो। तर स्थानीयबासी आएर पहरेदारी गरिदिएपछि हामी सबै जोगियौँ।”
तीनकुने, गैरीगाउँ क्षेत्रमा त्यो दिन देखापरेको भय पम्पका कर्मचारीहरूको मनबाट अझै हटेको छैन। कार्कीले भने, “अहिले पनि डर लागिरहेको छ। आन्दोलन फेरि हुन्छ भन्ने कुरा पनि सुनिन्छ। फेरि त्यो आक्रोश पेट्रोल पम्पमा पोखिन्छ कि भन्ने डर मनभरि छ।”
स्थानीयले जोगाए शान्तिनगरको पेट्रोल पम्प
जेनजी आन्दोलनका क्रममा एउटा समूह भदौ २४ गते काठमाडौँको शान्तिनगर गेटमा पुग्यो। त्यो समूहमा रहेका हातमा पेट्रोल बोकेकाहरूले आगजनी गर्न केही बेरमै गेटलाई निशाना बनाए।
शान्तिनगर गेटछेउमै छ ‘श्री हरिसिद्धी आयल स्टोर प्रालि’। ती युवाको समूह गेटमा आगजनी गर्न कस्सिएपछि स्थानीय बासिन्दाको मनमा ढ्यांग्रो ठोक्यो– त्यहाँबाट पेट्रोल पम्पमा आगो सल्कियो भने के होला? उनीहरूले सोचे, यहाँको टोल नै खरानी हुन्छ।

यो डर यति भयानक थियो कि उनीहरू अरु केही नसोची तत्कालै ती युवाको अगाडि गएर उभिए। अनि हात जोडेर अनुरोध गरे, “कृपया, यहाँ आगो नलगाउनुहोस्। पेट्रोल पम्पमा आगो लाग्यो भने हाम्रो बस्ती नै सखाप हुन्छ।”
स्थानीय रूपा न्यौपाने सम्झन्छिन्, “समूह आगो लगाउन तयार भइसेको थियो। तर हामीले पेट्रोल पम्प देखाएर सम्झायौँ। उनीहरूले पनि पम्प देखेर होला, त्यसपछि आगो लगाउनबाट पछि हटे।”
पम्पभित्रको स्थिति झन् तनावपूर्ण थियो। सञ्चालक र कर्मचारीहरू भयभीत थिए। उनीहरूले तुरुन्तै ढोका बन्द गरेर ताल्चा लगाए। अनि अझै सुरक्षित रहन त्रिपाल ओढाएर पेट्रोल पम्प लुकाए।
पम्पका कर्मचारी ध्रुव सापकोटा भन्छन्, “पम्प बन्द गर्यौँ। गेटमा ताल्चा लगायौँ। त्यसले मात्र पुग्दैन भनेर त्रिपाल हाल्यौँ।” यही प्रयासले पम्प जोगियो, शान्तिनगरको शान्ति खोसिन पाएन।
टुकुचाको पानीले होटलको आगो निभाइएपछि जोगिएको पम्प
भदौ २४ गते दिउँसो संसद् भवन, सर्वोच्च अदालत, सिंहदरबार, प्रधानमन्त्री निवास, राष्ट्रपति निवासदेखि ठूला व्यवसायीका होटल, सुपरमार्केट र कार्यालयहरू पनि आगोमा जलिरहेका थिए। साँझपख विशालनगरको डिपार्टमेन्ट अफ रेलवेज र नक्सालको भाटभटेनीमा पनि आगोको ज्वाला दन्कियो। त्यो दृश्य कैद गर्दै साँझ करिब ६ बजेतिर गैरीधारा पुग्दा अस्तव्यस्त दृश्यसँग साक्षात्कार हुनपुग्यो।
गैरीधारा–बालुवाटार मुख्य सडकको सेतकाली मन्दिरदेखि टुकुचा खोलासम्म आवतजावत रोकिएको थियो। त्यसरी रोक्ने प्रहरी थिएनन्। स्थानीय बासिन्दा थिए। उनीहरू सडकमा उभिएर मुख्य सडकमै रहेको ‘श्री जय गोमा गणेश आयल स्टोर’ बचाउन संघर्षरत थिए। यो पेट्रोल पम्पको सामुन्नेमा छ वर्णवास होटल जसमा आन्दोलनकारीले आगो लगाएका थिए।

२५ वर्ष पुरानो यो पम्पका सञ्चालक उपेन्द्र भट्टराई सम्झन्छन्, “दिउँसो करिब २ बजेतिर एउटा समूह होटलमा तोडफोड र आगजनी गर्न आइपुग्यो। हामीले हात जोडेर भन्यौँ— यो होटलमा आगो लगाइयो भने पम्पमा पनि आगो लाग्छ, वरपरका घर पनि जल्छन्, बस्ती सखाप हुन्छ।”
त्यसपछि त्यो समूह त पछि हट्यो। तर लगत्तै अर्को समूह आइपुग्यो। पछि आइपुग्ने समूह हिल्टन होटलमा आगो लगाएर आएको रहेछ। त्यो निकै आक्रोशित थियो। नाराबाजी गर्दै वर्णवास होटलअगाडि आइपुगेको त्यो समूह आगो लगाऊ भन्न थाल्यो। “आक्रोशित समूहले गुगलमा केही हेरेपछि यसलाई पनि छोड्नु हुँदैन, आगो लगाऊ भन्दै कराउन थाल्यो,” भट्टराई भन्छन्, “पम्प त बिहानैदेखि बन्द थियो। छेउकै होटलमा आगो लागेपछि डर झन् बढ्यो।”
त्यो आगो ननिभाएको भए सामुन्नेमा रहेको पम्पमा आइपुग्ने निश्चित थियो। पम्प पनि आगोमा जलेर विष्फोट भएको भए वरपरको बस्ती नै सखाप हुन सक्थ्यो।
त्यही भएर होटलमा लगाइएको आगो निभाउन पम्पका सञ्चालक र स्थानीय बासिन्दा तत्कालै जुटे। त्यसको अगुवाई स्थानीय प्रविण श्रेष्ठले गरे। स्थानीयले ज्यान धरापमा पारेर आगो निभाउन थाले।
त्यहीबेला अर्को अनौठो परिस्थिति आइलाग्यो। होटलमा तल आगो दन्किसकेको थियो। माथि रमाइलो गरिरहेका युवामध्ये पाँच जना भित्रै फसे। उनीहरू चिच्याउँदै भनिरहेका थिए, “हामीलाई बचाउनुहोस्, जल्न लाग्यौँ।”
श्रेष्ठ सम्झन्छन्, “हामीले नबचाएको भए उनीहरू नै आगोमा जलेर मर्ने थिए। पहिले उनीहरूको उद्धार गर्यौँ। पछाडिको भर्याङबाट उनीहरूलाई निकालेर मात्र हामीले आगो निभाउन थालेका हौँ।”
आगो निभाउन पम्पकै ५० र २५ केजीका फायर फाइटर र १० केजीका तीन वटा साना फायर फाइटर प्रयोग भए। त्यतिले नपुगेपछि टुकुचा खोलाको पानी तानियो। अझै नपुगेपछि स्थानीय बासिन्दाले बालुवा पनि ल्याएर छरे। अन्त्यमा होटलकै स्विमिङ पुलको पानी पनि प्रयोग गरियो।
करिब ८ घण्टाको प्रयासपछि आगो निभाउन सकियो। “महिला दिदीबहिनीदेखि युवा सबै जुटे। हामी एक भएर काम गर्दा सफल भयौँ,” श्रेष्ठले खुसीको आँसु झारे। उनका अनुसार स्थानीयको एकतालाई देखेर आन्दोलनकारी पनि पछि हटेका थिए।
तर राति अबेरसम्म पनि केही युवा पम्प जलाउने भन्दै नजिक आइरहेका थिए। स्थानीय बासिन्दाको सजगता, अग्रसरता र एकतासामु उनीहरूको केही लागेन। मध्यरात १२ बजेपछि बल्ल श्रेष्ठ आफ्नो घरभित्र छिरे।
भिडियो:
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
