बंगलादेश र श्रीलंकामा स्पट फिक्सिङ गर्न पुग्ने समूह नै नेपाल टी२० लिगमा पनि सक्रिय रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ।
काठमाडौँ- करिब दुई दशकअघि नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय मञ्च प्रवेश गर्दैगर्दा म्याच फिक्सिङको घटना बाहिर आयो। काठमाडौँको फाइभ स्टार होटल एभरेष्टमा बसेर नेपालले खेलिरहेका विभिन्न अन्तर्राष्ट्रिय खेलमा फिक्सिङ गराएको आरोपमा प्रहरीले भारतीय नागरिक धानुकलाई पक्राउ गर्यो।
उनलाई प्रहरीले सामान्य सोधपुछ गर्यो र केही दिनपछि भारत फर्काइदियो। उनै धनुकले नेपालमा रोपेको म्याच र स्पट फिक्सिङको बीउ दुई दशकपछि बिस्तारै हुर्किँदै गरेको आशंका गरिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले गरेको प्रारम्भिक अनुसन्धानमा नेपाल टी२० लिगमा स्पट फिक्सिङ भएको हुनसक्ने देखिएको छ।
सीआईबीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) उत्तमराज सुवेदीका अनुसार नेपाल टी-२० लिगमा स्पट फिक्सिङ गराउन पनि भारतीय गिरोह सक्रिय रहेको पुष्टि भएको छ। “प्रारम्भिक अनुसन्धानमा नेपालमा अहिले स्पट फिक्सिङ गराउन सक्रिय रहेको समूह भारतीय रहेको खुलेको छ। त्यही समूह नेपाल मात्रै नभइ बंगलादेश र श्रीलंकासमेत पुग्ने गरेको देखिएको छ,” उनले उकालोसँग भने।
गत मंसिरमा युएईसँग भएको तीन एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) श्रृंखलामा पनि सादा पोशाकमा खटिएको सीआईबीको टोलीले स्पट फिक्सिङ गराएको आरोपमा करिब ४२ भारतीय नागरिकलाई पक्राउ गरेको थियो। अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ परेकामध्ये ३१ भारतीय नागरिक विभिन्न एपको प्रयोग गरेर सट्टेबाजीमा संलग्न रहेको जनाएको थियो। उनीहरूविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १२५ अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा सजाय माग दाबी गर्दै मुद्दा चलाउन जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइएको थियो।
काठमाडौँ जिल्ला अदालतले उनीहरुमध्ये अधिकांशलाई धरौटीमा छाड्न आदेश दियो। “टीयूमा भएको युएई र नेपालबीचको खेलमा पक्राउ परेकाहरूमाथि छानबिन गर्न प्रहरी परिसरलाई जिम्मा दियौँ। उतैबाट उनीहरूमाथि छानबिन भयो। हामीले उक्त केसमा कुनै छानबिन नै गरेनौँ”, एआईजी सुवेदी भन्छन्।
यसअघि मुलुकी ऐनमा म्याच फिक्सिङ सम्बन्धि कुनै कानून नै थिएन। कानून नहुँदा नेपाली राष्ट्रिय फुटबल टोलीका तत्कालीन कप्तान सागर थापासहित खेलाडीहरू सन्दीप राई र रितेश थापा तथा पूर्वखेलाडीहरू विकाससिंह क्षेत्री र अन्जन केसीले सर्वोच्च अदालतबाट सफाइ पाए।
शुरूमा विशेष अदालतमा परेको मुद्दामा म्याच फिक्सिङसम्बन्धी छुट्टै कानून नभएको तथा उनीहरूलाई लगाइएको राष्ट्र विप्लवको अभियोग पुष्टि नहुने भनी सफाइ दिइएको थियो। तर, २०७७ भदौ २२ गते सर्वोच्च अदालतले विदेशी एजेन्टसँग मिलेमतो गरी उनीहरूले म्याच फिक्सिङ गरेको भए पनि त्यसमा राष्ट्र विप्लवको कानून लगाएर सजाय गर्न नमिल्ने भन्दै सफाइ दियो।
उक्त घटनापछि बढ्दो सट्टेबाजी र म्याच फिक्सिङलाई ध्यान दिएर मुलुकी अपराध संहितामा यसबारे पनि उल्लेख गर्दै सजायको व्यवस्था गरिएको एआईजी सुवेदी बताउँछन्। उनका अनुसार मुलुकी अपराध संहिता २०७४ अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ।
त्यति मात्रै होइन कानूनमा तीन वर्षभन्दा बढी कैद हुने कसुरमा मात्र गाम्भीर्य हेरेर पुर्पक्षका लागि थुनामा पठाउने व्यवस्था पनि उल्लेख छ।
स्पट फिक्सिङलाई मुख्य आधार बनाएर छानबिन गर्दै सीआईबी
विश्व खेलकुदमा मुख्यतया: दुई फिक्सिङ देखिने गरेको छ, म्याच र स्पट। एआईजी सुवेदीका अनुसार म्याच फिक्सिङमा पूरै टोली नै समावेश हुनसक्छ। क्रिकेटमा कति रनले खेल हार्ने? पहिलो इनिङ्समा कति स्कोर बनाउने? सबै बाहिरी निर्देशन अनुसार नै उनीहरूले मैदानमा आफ्नो गतिविधि गर्छन्।
तर, स्पट फिक्सिङमा भने एक खेलाडी पनि समावेश हुन् सक्छन्। ती एक खेलाडीको प्रदर्शनले ती खेलाडीले मैदान बाहिर रहेको समूहको निर्देशनमा नो बल, वाइड बल फ्याँक्ने, ढिला खेल्ने या आउट हुने गर्छन्।
मंगलबार नेपाल टी-२० लिगका कमेन्टेटर सचिन तिमिल्सिनाले एक भिडियोमा फिक्सिङ गराउने क्रियाकलाप देखेको दाबी गरेका थिए। उनले अहिले म्याच फिक्सिङभन्दा स्पट फिक्सिङ हुने गरेको दाबी गरेका थिए। “आजकाल म्याच फिक्सिङ हुँदैन, स्पट फिक्सिङ हुन्छ। जारी लिगमा फिक्सिङ गराउने क्रियाकलाप मैले देखेँ। स्पट फिक्सिङले नतिजामा असर गर्दैन, तर भएको छ”, उनले भनेका थिए। आफूले देखेको फिक्सिङका विषयमा सम्बन्धित निकायलाई जानकारी गराए पनि सुनुवाइ नभएको उनको दाबी छ।
मंगलबार विराटनगर सुपरकिङ्सविरुद्धको खेलपछि पत्रकारहरूसँग कुरा गर्दै काठमाडौँ नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले आफ्नो टोलीका एक खेलाडीलाई फिक्सिङ गर्न अफर आएको बताएका थिए। “अन्य टोलीको त थाहा भएन। तर, हाम्रो टोलीका एक साथीलाई पनि एप्रोच गरिएको थियो। उसले तत्काल हामीलाई जानकारी गरायो र हामीले एन्टी करप्सन युनिटलाई खबर गर्यौँ”, उनले भने।
तर, एआईजी सुवेदी मिडियाबाजी गर्नुभन्दा अगाडि प्रहरीलाई जानकारी नदिएको कारण घटनाले अर्को मोड लिएको दाबी गर्छन्। “जो जसले आरोप लगाउनुभएको छ, उहाँहरूले मिडियाबाजी गर्नुभन्दा अगाडि हामीलाई जानकारी दिएको भए भित्रभित्रै छानबिन गरेर दोषी पत्ता लगाउन सक्थ्यो। उहाँहरूले जानकारी दिनमा भन्दा बढी चर्चा कमाउन मिडियाको साहरा लिनुभयो”, उनी भन्छन्।
उनका अनुसार सीआईबीले अहिले म्याच फिक्सिङलाई भन्दा पनि स्पट फिक्सिङलाई मुख्य आधार बनाएर अनुसन्धान गरिरहेको छ। उनले खेलमा राष्ट्रिय टोलीबाट खेलिसकेका खेलाडीले धेरै 'नो बल' फ्याँकेको र 'पावर प्ले'मा ढिला खेल्दै २९ रन बनाएको भनेर उजुरी आएको कारण त्यसमा पनि 'बल बाई बल' हेरेर अनुसन्धान गरिने बताए।
क्यान म्यानेजर र अध्यक्षको आ-आफ्नै दाबी
क्यानका म्यानेजर तथा नेपाल टी-२० लिग संयोजक वृतान्त खनालले खेलाडीलाई फिक्सिङका लागि अफर गरेको भन्दै एन्टी करप्सन युनिटका प्रमुख वीर सिंहलाई उजुरबुजुर गरेको आधारमा प्रशिक्षक, टिम म्यानेजर र केही खेलाडीसमेतलाई हटाएर कारबाही गरिएको दाबी गरे।
“कप्तान मल्ललाई प्रशिक्षकले हामीलाई प्रेसर दिइरहेको छ भनेर उजुरी गरेपछि चेतनानन्दजीलाई हटायौँ। उहाँ हिजो भारत फर्किनुभयो। उहाँलाई क्यानले पनि बर्खास्तगीको सिफारिस गरेको छ”, उनले भने।
यस्तै म्यानेजर निकास भन्ने एक जनालाई पनि खेलाडीले रिपोर्ट गरेकै आधारमा टोलीबाट हटाएको खनालको दाबी छ। “उनले खेलाडीलाई अप्रोच गरेको उजुरीको आधारमा हटाएका हौँ। त्यसबाहेक विराटनगरका रोहित पौडेलले रिपोर्ट गरेको आधारमा नै कप्तान आन्द्रे म्याकार्थीलाई कारबाही गरेका छौँ”, उनले भने। कप्तान म्याकार्थी दुई खेलमा बेन्चमा बसेका थिए।
तर, बुधबार क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भने कुनै प्रशिक्षक, म्यानेजर या खेलाडीलाई कारबाही नगरिएको बताए। “हामीलाई यसबारे कुनै जानकारी नै थिएन। उहाँले मिडियामा के भन्नुभयो थाहा भएन, तर खेलाडीले गरेको उजुरीको आधारमा हामीले कारबाही गरेका छैनौँ”, उनले भने।
नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान एलबी क्षेत्रीले नेपालमा कानून भए पनि कार्यान्वयनमा फितलो भएको कारण फिक्सिङ गर्ने समूह सक्रिय हुने गरेको बताउँछन्। कानूनलाई कडाइका साथ पालना गर्नुपर्ने उनको तर्क छ। “नेपालमा कानूनले नै फिक्सिङ अवैध हो भनेर भनेको छ। यसको मतलब नेपालमा कानून कमजोर छ भन्ने होइन। तर कानुन कार्यान्वयनमा अनुहार हेर्ने गरिन्छ। यसले फिक्सर जन्माउँदै गएको छ”, उनी भन्छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
