साप्ताहिक ब्रिफिङः जेनजी आन्दोलनले उथलपुथल, पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउन सबै सहमत

यो साता उकालोमा जसले जोगाए राष्ट्रिय अभिलेखालय, मनोबल उच्च बनाएर ‘ड्युटी’मा फर्किंदै प्रहरी, पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउन सबै सहमत लगायतका समाचार चर्चामा रहे।

भदौ २३ गतेदेखि तनावपूर्ण अवस्थामा रहेको देश राजनीतिक निकास पाउने दिशामा उन्मुख भएको छ। भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको सरकारी प्रतिबन्ध हटाउनलगायतका माग राखेर ‘जेनजी’ समूहले गत सोमबारदेखि आन्दोलन गरेका थिए। सोमबार पहिलो दिन माइतीघर मण्डलाबाट बानेश्वरतर्फ गएका प्रदर्शनकारीले संसद् भवन प्रवेश गर्न खोजेपछि प्रहरीसँगको झडपका क्रममा गोली लागेर १९ जनाको ज्यान गयो भने करिब तीन सयभन्दा बढी घाइते भए।

'जेनजी' आन्दोलनका क्रममा सरकारले प्रदर्शन रोक्न कुनै पहल गरेन, न त प्रदर्शनकारीका मागलाई सम्बोधन नै गर्‍यो। उल्टै, सरकारले आन्दोलन दबाउन गोली चलाउन आदेश दियो।

यसबेला, सरकारलाई समर्थन गरिरहेको नेपाली कांग्रेसले समर्थन फिर्ता लिएको थिएन, र रमेश लेखक गृहमन्त्री थिए। आन्दोलनमा धेरै युवाले ज्यान गुमाएपछि मात्रै लेखकले नैतिकताको आधारमा गृहमन्त्री पदबाट राजीनामा दिए।

यसपछि पनि सरकारले आन्दोलनकारीका मागलाई बेवास्ता गरिरह्यो। सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध नहट्ने मन्त्रिपरिषद्को निर्णय सुनाए। साथै, उनले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिने अडानमा रहेको बताए। आन्दोलन चर्किने देखेपछि पनि एमालेले आफ्ना मन्त्रीहरूलाई राजीनामा नदिन निर्देशन दिएको थियो।

यस कारण जेनजी आन्दोलन मंगलबार बिहानैदेखि काठमाडौँका विभिन्न स्थानमा थप चर्कियो।

उपत्यकाको नयाँ बानेश्वर, माइतीघर मण्डल, जोरपाटी, सिनामंगल, कलंकीलगायतका स्थानमा मात्रै नभएर देशैभर मानिस सडकमा उत्रिए। आन्दोलनका क्रममा काठमाडौँमा राष्ट्रपतिनिवास, प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटारसहित विभिन्न संरचनामा आगजनी भयो। देशभरका सरकारी कार्यालय र नेताका विभिन्न निवासमा आगजनी भए।

भदौ २४ गते दिउँसो करिब २ बजेतिर बल्ल प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए। तर आन्दोलन त्यसबेलासम्म उत्कर्षमा पुगिसकेको थियो, भने धेरै संरचना ध्वस्त बनाइसकेको थियो। प्रधानमन्त्रीसहित राष्ट्रपति, मन्त्रीहरू र दलका शीर्ष नेताको ज्यान जोखिममा परेपछि नेपाली सेनाले उनीहरूलाई सुरक्षित स्थानमा लैजानुपरेको थियो।

यता, कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्रीसमेत रहेकी उनकी पत्नी आरजु राणा देउवा निवासमै प्रदर्शनकारीको आक्रमणमा परे। उनीहरूको उपचार भइरहेको छ। अहिलेसम्म आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ५१ जना पुगिसकेको छ। घाइतेहरूको उपचार भइरहेको छ। यता दुई दिनसम्म अन्योलमा रहेको देशको राजनीति पनि अलि प्रस्ट हुँदै गएको छ।

जेनजी प्रदर्शनकारीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्नुपर्ने प्रस्ताव राखेका छन्। उनीहरूको पहिलो प्रस्ताव बालेन शाहलाई भए पनि उनले नमानेपछि उनले पनि कार्कीकै नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने प्रस्तावलाई समर्थन गरेका थिए। शीतलनिवासमा बिहीबार रातिसम्म राष्ट्रपति रामचन्द्र पौडेलले गरेको कानूनी तथा राजनीतिक परामर्शपछि पूर्वप्रधानन्यायाधीश कार्कीलाई सरकार प्रमुख नियुक्त गर्ने सहमति जुटेको छ।

संसद् विघटनबारे भने टुंगो लागेको छैन, तर हालसम्म कार्की प्रधानमन्त्री भने नियुक्त भएकी छैनन्। यसबारे थप बुझ्न उकालोका सम्पादक रामेश्वर बोहराको यो रिपोर्ट पढ्नुहोस्: पूर्वप्रधानन्यायाधीश कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउन सबै सहमत, संसद्‌बारे पुनः छलफल

जलेका कार्यालयमा फर्किंदै प्रहरी
अहिले नेपाल प्रहरी मनोबल उच्च बनाउँदै काममा फर्किएको छ। बिहीबार सुन्धारासहित काठमाडौँका कतिपय ठाउँमा सेनासँगै प्रहरीले पनि सुरक्षा दिइरहेको देखिन्थ्यो।

आगजनीबाट ध्वस्त उपत्यका ट्राफिक प्रहरी कार्यालय (बग्गीखाना)को बिहीबार सरसफाइ थालिएको छ। सिंहदरबारको दक्षिण गेटमा आगजनी गरेको समूहले उक्त कार्यालय पुगेर आगजनी गरेको थियो।

पहिले नै जीर्ण रहेको भवन आगजनीले क्षतिग्रस्त बनेपछि त्यहीँबाट कसरी काम गर्न सकिन्छ भनेर छलफल चलिरहेको थियो। बिहीबार कोही सरसफाइमा व्यस्त थिए, कोही जलेका सवारी साधनलाई व्यवस्थित गर्दै थिए।

रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयमा पनि बिहीबार प्रहरी कर्मचारी जलेर नष्ट भएका सामग्री सरसफाइ गर्दै थिए। त्यहाँबाट काम नियमित गर्न प्रयास भइरहेको सफाइ गरिरहेका एक प्रहरीले बताए।

उपत्यका प्रहरी कार्यालयले बिहीबार मातहतका सबै युनिटलाई नियमित काममा फर्किन निर्देशन पनि दिएको छ। उपत्यका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्कीले उपत्यकाभरका विभिन्न युनिटमा कार्यरत सिनियर अधिकृतलाई निर्देशन दिएर सबैजसो कार्यालयका भौतिक संरचना ध्वस्त भएका कारण आएका मुद्दा सम्बन्धित जिल्ला प्रहरी परिसरबाट चलाउन भनेका छन्।

यसबारे थप बुझ्न पढ्नुहोस् बीपी अनमोलको रिपोर्ट : मनोबल उच्च बनाएर ‘ड्युटी’मा फर्किंदै प्रहरी 

यो साताका प्रमुख हेडलाइनहरू हेर्नुहोस्

देश-समाज

जसले जोगाए राष्ट्रिय अभिलेखालय
रामशाहपथमा रहेका सिंहदरबार, सर्वोच्च अदालत, बार एसोसिएसन र स्वास्थ्य मन्त्रालयको भवन आन्दोलनकारीले जलाउँदा राष्ट्रिय अभिलेखालय जोगियो। अभिलेखालय जोगाउने अभियानको नेतृत्वकर्ता थिए जुपिटर प्रधान।

यस्तो छ नेपालबारे विदेशी मिडियाको ‘कभरेज’
विदेशी सञ्चारमाध्यमहरूले भदौ २३ गतेदेखि नै नेपाललाई प्राथमिकतामा राखेर समाचार प्रकाशन गरिरहेका छन्। भारतदेखि युरोप र अमेरिकाका सञ्चारमाध्यममा लगातार नेपालसम्बन्धी समाचार प्रकाशित भइरहेका छन्।


जेनजी आन्दोलन: निसानामा नेता र व्यापारीका घर, अझै भयभीत छिमेकी
जेनजी आन्दोलनका क्रममा देशका प्रशासकीय र प्रहरी कार्यालय, नेताका घर तथा व्यापारिक भवनसहितका संरचनामा आगजनी गर्दा सिर्जना भएको आतंकले छिमेकमा बस्ने सर्वसाधारण अझै त्रसित छन्।

खरानी र खण्डहरमा पनि आशा देखिरहेकाहरू
आगजनीबाट खण्डहर बनेका सर्वोच्च अदालत, सिंहदरबार, स्वास्थ्य मन्त्रालयलगायतमा बुधबार बिहान पुग्दा कर्मचारीहरू आशा जीवितै राखेर जलेका कागजात बटुल्दै थिए। प्रहरी त खण्डहरभित्रै बास बनाउन जुटिसकेका थिए।

कारागारबाट भागे १३ हजार ५७२ कैदीबन्दी, समाज अशान्तिको भयमा
रवि लामिछानेलाई नक्खु कारागारबाट घर पठाइएपछि त्यसबाटै सिकेर बबण्डर मच्चाउँदै देशभरका कारागारबाट १३ हजार ५७२ कैदीबन्दी भागेका छन्। गम्भीर अपराधका अभियुक्तहरू नै समाजमा पुग्दा अपराधको जोखिम बढेको छ।

सोच्दै नसोचेको विध्वंस देखेर दु:खी बनेका जेनजी
आन्दोलनमा सहभागी भएका केही जेनजीले स्वार्थ समूह हावी हुँदा प्रदर्शनले हिंसात्मक मोड लिएको आरोप लगाएका छन्।

गम्भीर सुरक्षा कमजोरीले निम्तिएको हिंसा, सुरक्षा रणनीति नै ‘फेलियर’
‘सम्भावित परिस्थिति मूल्यांकन गर्ने, घुसपैठ भएर आन्दोलन अराजक हुनसक्छ भन्नेसम्म आकलन गरेर सुरक्षा रणनीति बनाउनुपर्नेमा त्यो गरेकै देखिएन। यसलाई हल्का रूपमै लिएको देखियो।’

‘फ्री ह्यान्ड’झैँ थियो प्रहरीः रणभूमि बनेको बानेश्वरमा जे देखियो
जेनजी आन्दोलनका क्रममा १९ जनाको मृत्यु र अरू धेरै जना घाइते हुने गरी प्रहरीले गोली चलाएको बानेश्वर क्षेत्रमा दिनभर बस्दा देखियो– प्रहरीको भूमिका अस्वाभाविक थियो।

विचार-टिप्पणी

राजनीति सङ्लो बनाउने एउटा मौका
प्रणालीलाई दोष मात्र दिएर त्यसले समाधान कसरी दिन्छ? विवेकले काम गरे सुखद परिणाम खोज्न सकिने सम्भावना रहन्छ। तर दम्भ र अहंकार बोकेर हिँडे, फेरि पनि आउने दुष्परिणाम नै हो।

अर्थ बजार

कस्तो छ अत्यावश्यकीय वस्तुको आपूर्ति अवस्था?
‘जेनजी’ आन्दोलनका कारण आपूर्ति प्रणालीमा केही समस्या देखिए पनि व्यवसायी र सरकारी निकायले खाद्य सामग्रीको पर्याप्त मौज्दात रहेको बताएका छन्।