झलनाथ खनालको औषधि खोज्दाखोज्दै आगोमा परेकी थिइन् रविलक्ष्मी

सेनाले झलनाथ खनाललाई तल झार्दैगर्दा घरमा आगो सल्किसकेको थियो, रविलक्ष्मी र छोरा भित्रै थिए। खनालले उनीहरूलाई पनि बोलाए, तर त्यति नै बेला अति असुरक्षित भएको भन्दै सेनाले गाडी हुइँक्याइहाल्यो।

काठमाडौँ– डल्लुको गल्ली, जहाँ साधारण जीवन चलिरहन्थ्यो। तर भदौ २४ गते, दिउँसो करिब १ बजे अकस्मात् तातो राप र धुवाँको अन्धकार ओर्लियो। त्यतिञ्जेल घरमा आगजनी भइसकेको थियो। त्यो घर पूर्वप्रधानमन्त्री झलनाथ खनालको थियो।

आगजनी हुनु केही बेरअघि खनाल अध्ययनकक्षमा किताबका पानामा डुबिरहेका थिए। उनलाई त्यो दिन पनि सामान्यजस्तै लागिरहेको थियो। तर अचानक एउटा सूचना आयो, “ठूलो जुलुस तपाईंको घर तोडफोड गर्न आउँदैछ।”

त्यस सूचनाले उनको मनमा सन्त्रास भरिदियो। कोठामा विश्राम गरिरहेका श्रीमती रविलक्ष्मी र छोरा पनि भयभित भए। खनालले परिवारलाई सम्झाउने प्रयास गरे, “हामीले कसैलाई केही गरेका छैनौँ, किन कोही हाम्रो घर तोडफोड गर्न आउँछन्?”

त्यही बेला छिमेकी महेशराज पन्तको घरमा ढुंगा वर्षिन थाल्यो। अब त्यो सूचना वास्तविकता बन्यो। त्यही समय खनाललाई नेपाली सेनाको फोन आयो, “तपाईं असुरक्षित हुनुभएको छ, हामी उद्धारका लागि आउँदैछौँ।”

केहीबेरमै सेनाको गाडी डल्लु पुगिसकेको थियो। खनालले तल झर्दाझर्दै परिवारलाई सम्झाए, “म गएँ, तिमीहरू सुरक्षित रहनू।”

तर छिमेकीको घरमा ढुंगा वर्षिरहेको देखेर उनी अल्मलिए। प्रदर्शनकारीले उनको घरतिर पनि ढुंगा हान्न थाले। सेना र सुरक्षाकर्मीले खनाललाई घेरा हालेर हतारहतार गाडीमा राख्न सफल भए।

यता, आक्रोशित समूहले घर सखाप पार्ने संकेत देखाइरहेका थिए। खनालले आत्तिदैँ चिच्याएर श्रीमतीलाई भने, “तिमीहरू पनि तल आइहाल, मसँगै जाऔँ।”

रविलक्ष्मीले घरभित्रैबाट जवाफ दिइन्, “म तपाईंका औषधि जम्मा गर्दैछु, पर्खनुहोस्।”

तर खनाललाई अति असुरक्षित भएको निष्कर्ष निकाल्दै सेनाले तत्कालै गाडी अघि बढायो र नजिकैको ब्यारेकमा पुर्‍यायो।

null

निडर छिमेकी
खनाल ब्यारेकमा पुगे पनि उनको मन घरमै अड्किएको थियो। आगोले खण्डहर बनेको घरमा बिहीबार सरसफाइ गरिरहेका सुरक्षाकर्मीहरू भन्छन्, “मेडमले सरका लागि औषधि मात्र लिन पाए हुन्थ्यो भनेर खोजिरहनुभएको थियो। छोरा पनि केही महत्त्वपूर्ण सामान बटुलिरहेका थिए। तर उता गाडीमा आगो लगाइयो। अनि उग्र समूह गेट तोडेर घरभित्र पसिहाल्यो।”

छतमा खनालका छोरा हात हल्लाउँदै ‘हामीलाई बचाइदिनुहोस्’ भनेर गुहार मागिरहेका थिए। तर श्रीमती रविलक्ष्मीको आवाज भने सुनिन छोडिसकेको थियो।

खनाल ब्यारेकभित्रै सेनासँग गुहार गरिरहेका थिए, “मेरो परिवारलाई उद्धार नगर्ने हो भने म पनि त्यहीँ जान्छु, सँगै जलेर मर्छु।”

उनका ती शब्दहरूले सेनालाई निडर कदम चाल्न बाध्य बनायो। त्यसपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारका लागि खनालको घर फर्कियो।

सुरक्षाकर्मी पुग्दा घर आगोको लप्कामा परिसकेको थियो। छिमेकीहरू आफ्नो घरको छत र झ्यालबाट त्यो दृश्य हेरिरहेका थिए। तर छिमेकी राजु तामाङले असाधारण साहस देखाए।

उनले अन्य केही छिमेकीको सहयोगमा आफ्नो पाँचतले घर र खनालको घर जोड्न फलामको भर्‍याङ हालिदिए। त्यही भर्‍याङमार्फत खनालका छोराको उद्धार भयो।

रविलक्ष्मी अझै कतै देखिएकी थिइनन्। सुरक्षाकर्मी र छिमेकीले कोठा–कोठा चहार्दा अन्ततः भान्छाको अँध्यारो कुनामा निस्सासिएर बेहोस अवस्थामा भेटिइन्। उनको शरीरमा आगोले छोइसकेको थियो।

उद्धारकर्ताले हातखुट्टा समाएर तन्नामा राखे र भर्‍याङ हुँदै तामाङको घर पुर्‍याए। उद्धारमा सहभागी एक छिमेकीले भने, “त्यो दृश्य केवल उद्धार मात्र थिएन, साहस र मानवीय करुणाको प्रत्यक्ष प्रमाण थियो।”

उद्धारपछि उनलाई सेनाको गाडीमा राखेर छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताल पुर्‍याइयो। तर उपचार सम्भव नभएपछि कीर्तिपुरस्थित बर्न अस्पताल लगियो।

null

मृत्युको अफवाह
खनालले अहिलेसम्म श्रीमतीलाई भेट्न पाएका छैनन्। “उनी आईसीयूमा छिन्, भेन्टिलेटरमा छिन्। मेरो शरीर ब्यारेकमा छ, तर मन अस्पतालमा छ।”

आफ्नी श्रीमती र छोरा राजनीतिबाट नितान्त टाढा रहेको खनाल बताउँछन्। अर्का एक छिमेकीका अनुसार रविलक्ष्मी साधारण जीवन बिताउने महिला थिइन्। अमृत साइन्स क्याम्पसमा लामो समय अध्यापन गरेकी उनी पछिल्लो समय श्रीमानको स्वास्थ्यको ख्यालमा जुटेकी थिइन्।

ती छिमेकीले भने, “उहाँ राम्रो प्राध्यापक हो। सधैँ साधारण पोसाकमा देखिनुहुन्थ्यो। श्रीमानको स्वास्थ्यको ख्याल राख्नुहुन्थ्यो, पाहुनालाई चिया बनाएर दिनुहुन्थ्यो। तर राजनीतिमा कुनै चासो दिनुहुन्नथ्यो।”

आगो लगाइएपछि केही मिडियाले रविलक्ष्मीको मृत्यु भएको भन्दै अफवाह फैलाए। सामाजिक सञ्जालमा त ‘फेक’ फोटो र भिडियो नै पोस्ट गरिए। समाचार छाप्ने मिडियाले माफी त मागे, तर अहिले पनि सामाजिक सञ्जालमा फोटो र भिडियो रिपोस्ट भइरहेका छन्।

आफ्नी श्रीमतीको मृत्यु भएको अफवाह फैलाउने सञ्चारमाध्यमसँग खनालको चित्त दुखाइ छ। “मेरो भ्रष्टाचार छ कि छैन छानबिन गर्न सकिन्छ। ममाथि छानबिन होस् भन्ने चाहना मेरो पनि छ। तर मेरी श्रीमतीलाई मरेको भनेर रमाएको देखियो। उनी मरेको खबर छाप्ने कस्ता मिडिया? कस्ता पत्रकार?” उनी भन्छन्।

रविलक्ष्मीको उपचारमा संलग्न एक चिकित्सक भन्छन्, “जिउँदो मानिसलाई मरेको भनेर अफवाह फैलाइयो। त्यसबारे समाचारसमेत बनाइयो। यसले हामी कस्तो समाजमा बाँचिरहेका छौँ भन्ने देखाउँछ।”