उपत्यका प्रहरी कार्यालय, उपत्यका ट्राफिक प्रहरी कार्यालय भवनलगायत आगजनीबाट ध्वस्त संरचना सफा गर्न थालिएको छ। प्रहरी प्रधान कार्यालयले सबै प्रहरी कर्मचारीलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिइसकेको छ।
काठमाडौँ–
नीलो बर्दीमा धुलो र आगो चिर्दै
थाकेका तन, भारी मन बोकेर हिँड्दै
देश रक्षाको वाचा गरेका वीर
तर प्रणालीले छोड्छन् अधुरो र अधीर।
बिहीबार बिहानै सामाजिक सञ्जालमा नेपाल प्रहरीका एक प्रहरी नायब उपरीक्षक (डीएसपी)ले ‘विपन्न सेवा’ शीर्षकमा लेखेको कविताको अंश हो यो। कवितामा प्रहरी सेवामा खटिँदा भोग्नुपरेका समस्याको चित्रण छ।
उनकै ब्याची अर्का डीएसपीले पनि सामाजिक सञ्जालमा ‘के प्रहरी सधैँ मारिनुपर्ने, मजाकको पात्रमात्र बन्नुपर्ने हो?’ भन्दै अब बलियो बनाउने बेला आएको उल्लेख गरेका छन्।
“प्रहरीलाई कुटीकुटी मार्ने, प्रहरीको पोसाकलाई मजाक बनाइ, मानमर्दन र केही समय हाँसो र उपहासको पात्र बनाउँदा, केही समय अपराधि बनाउँदा रमाइलो लाग्नेहरूलाई कथमकदाचित जेलबाट भागेर आएका अपराधिहरूले भोलि तपाईंको घर लुट्दा, दिदीबहिनीहरूमाथि दुर्व्यवहार गर्दा, बलात्कार गर्दा, हत्याहिंसा गर्दा समाज कस्तो होला एकचोटि परिकल्पना गर्नुहोस्,” उनले लेखेका छन्।
नेपाल प्रहरीका यी दुई डीएसपीले सामाजिक सञ्जालमा व्यक्त गरेको आक्रोश प्रतिनिधिमूलक बनेका छन्। यतिखेर देशभरका प्रहरीका अधिकृतदेखि तल्लो तहका कर्मचारीको मनोबल कमजोर भएको छ। तर उनीहरूले सेवाप्रति प्रतिबद्धता जनाइरहेका छन्।
जेनजी आन्दोलनका क्रममा मंगलबार तीनजना प्रहरीको ज्यान गएको छ। सयौँ घाइते छन्। प्रदर्शनकारीले देशका धेरै ठाउँका प्रहरी कार्यालयमा आगजनी र तोडफोड गरिदिएका छन्। काठमाडौँमा अधिकांश प्रहरी कार्यालय तोडफोड र आगजनी भएका छन्।
बिहीबार बिहान यातायात व्यवस्था विभागमा भेटिएका एक प्रहरी मंगलबार संसद् भवनबाहिर सुरक्षार्थ खटिएका थिए। उनले विभागमा मोटरसाइकल पार्किङ गरेका थिए। तर विभागमा गरिएको आगजनीका क्रममा उनको मोटरसाइकल पनि जल्यो। शरीरमा लगाएको पोसाक पनि प्रदर्शनकारीले थुतेर जलाइदिए।
“पोसाक त सिलाउनुपर्ला, ड्युटी गर्दा चाहिएला। तर कहाँ सिलाउने हो?” फोनमा उनी सहकर्मीसँग भन्दै थिए, “कार्यालय आउँदै छु। त्यहाँ मोटरसाइकल आगजनी भएको जाहेर गर्नुछ।”
दुई दिनको आन्दोलनमा प्रदर्शनकारीले सुरक्षामा खटिएका प्रहरीको हतियार र सञ्चार सेट खोसेका छन्। कतिपयले लगाएको पोसाक पनि लुटिएको छ। प्रदर्शनकारीले पोसाक र हतियार नियन्त्रणमा लिएका भिडियो र तस्वीर सार्वजनिक भएका छन्। प्रहरीले ती सामग्री दुरुपयोग नगर्न र फिर्ता बुझाउन भनेको छ।
बिहीबार मात्रै प्रहरी महानिरीक्षकको सचिवालयले विज्ञप्ति जारी गरेर ती सामग्री फिर्ता गर्न भनेको हो। कतिपय हतियार नेपाली सेनाले बरामद गरेर प्रहरीलाई फिर्ता गरेको छ।
जलेका कार्यालयमा फर्किंदै प्रहरी
अहिले नेपाल प्रहरी मनोबल उच्च बनाउँदै काममा फर्किएको छ। बिहीबार सुन्धारासहित काठमाडौँका कतिपय ठाउँमा सेनासँगै प्रहरीले पनि सुरक्षा दिइरहेको देखिन्थ्यो।
आगजनीबाट ध्वस्त उपत्यका ट्राफिक प्रहरी कार्यालय (बग्गीखाना)को बिहीबार सरसफाइ थालिएको छ। सिंहदरबारको दक्षिण गेटमा आगजनी गरेको समूहले उक्त कार्यालय पुगेर आगजनी गरेको थियो।
पहिले नै जीर्ण रहेको भवन आगजनीले क्षतिग्रस्त बनेपछि त्यहीँबाट कसरी काम गर्न सकिन्छ भनेर छलफल चलिरहेको थियो। बिहीबार कोही सरसफाइमा व्यस्त थिए, कोही जलेका सवारी साधनलाई व्यवस्थित गर्दै थिए।
“सबै कागजातदेखि अन्य उपकरणलगायत जलेर नष्ट भएको छ। यहाँ बस्न सक्ने स्थिति नै छैन। तैपनि सरसफाइ गरेर टेन्ट राखेर भए पनि सेवा दिन सकिन्छ की,” एक अधिकृतले भने, “यहाँ कार्यरत हामी सबै कर्मचारी नियमित कार्यालयमा आइसकेका छौँ।”
रानीपोखरीस्थित उपत्यका प्रहरी कार्यालयमा पनि बिहीबार प्रहरी कर्मचारी जलेर नष्ट भएका सामग्री सरसफाइ गर्दै थिए। त्यहाँबाट काम नियमित गर्न प्रयास भइरहेको सफाइ गरिरहेका एक प्रहरीले बताए।
उपत्यका प्रहरी कार्यालयले बिहीबार मातहतका सबै युनिटलाई नियमित काममा फर्किन निर्देशन पनि दिएको छ। उपत्यका प्रहरी प्रमुख एआईजी दानबहादुर कार्कीले उपत्यकाभरका विभिन्न युनिटमा कार्यरत सिनियर अधिकृतलाई निर्देशन दिएर सबैजसो कार्यालयका भौतिक संरचना ध्वस्त भएका कारण आएका मुद्दा सम्बन्धित जिल्ला प्रहरी परिसरबाट चलाउन भनेका छन्।
कार्कीले कार्यालय सरसफाइ गरी प्रशासन, मेस र ब्यारेकलाई छिट्टै सञ्चालनमा ल्याउन भनेका छन्। कार्यालय सरसफाइमा स्रोतसाधन अभाव भए नागरिक र स्थानीय संघसंस्थासँग समन्वय गर्न उनले भनेका छन्।
आगजनीबाट जलेको नयाँ बानेश्वरस्थित प्रहरी वृत्त पुग्दा त्यहाँ पनि सरसफाइ भइरहेको थियो। त्यहाँका भौतिक संरचना र कागजात जलेका छन्। “के–कति सामान क्षति भयो हेर्ने काम हुँदैछ। सबै विवरण पनि संकलन गर्नुप¥यो। केही दिन त प्रहरीले आफ्नै कार्यालयमा भएको क्षतिको विवरण नै संकलन गर्नेमा समय लगाउनुपर्ने अवस्था छ,” त्यहाँका एक जुनियर अधिकृतले भने।
ती प्रहरी अधिकृतले आफूहरू शान्तिसुरक्षा दिने र अपराध नियन्त्रण गर्ने जिम्मेवारी बोकेका सेवक भएको हुँदा कर्तव्य नबिर्सिने बताइरहेका थिए। “हामी त कोही व्यक्तिका प्रहरी होइनौँ, यो राज्यका सुरक्षाकर्मी हौँ। शान्तिसुरक्षा कायम गर्न र कुनै क्षति हुन नदिन खटिएका हौँ,” उनले भने, “तर प्रदर्शनकारीले हामीलाई नै निशाना बनाए। हाम्रा कार्यालयमा आगजनी गरे। सवारी साधन जलाए। नियन्त्रणमा लिएर कुटपिट गर्ने काम भयो।”
हरेकजसो आन्दोलनमा प्रहरीलाई निशाना बनाउने काम हुँदा त्यसले कर्मचारीको मनोबल कमजोर बन्ने उनको भनाइ थियो। तर आफूहरू सेवामा प्रतिबद्ध रहेको उनले बताए।
यता, प्रहरी प्रधान कार्यालयले प्रहरी कर्मचारी सबैलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिइसकेको छ। क्षतिग्रस्त कार्यालयमै भए पनि प्रहरी कर्मचारी डियुटीमा खटिन थालेका छन्। प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरे प्रहरीले क्षतिग्रस्त संरचनाबाट नै काम शुरू गरिसकेको बताउँछन्।
यसैबीच, प्रहरीले कारागार तथा हिरासतबाट भागेका कैदीबन्दी र थुनुवाहरूलाई सम्पर्कमा आउन अनुरोध गरेको छ। प्रहरी महानिरीक्षकको सचिवालयले बिहीबार विज्ञप्ति जारी गरी उनीहरूलाई जिल्ला प्रहरी कार्यालय, स्थानीय प्रहरी इकाईहरू वा अन्य सुरक्षा निकायको स्थानीय कार्यालयहरूमा सम्पर्क हुन जान भनेको छ।
‘प्रहरीलाई दुश्मन सोच्नु हुँदैन’
अवकाशप्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकप्रसाद राई अहिलेको विषम परिस्थितिमा शान्ति सुरक्षा कायम राख्न प्रहरी नै चाहिने बताउँछन्। “जसरी प्रहरीमाथि आक्रमण भयो, यसले उनीहरूको मनोबल निकै कमजोर बनाएको छ। यसलाई चिर्नेतर्फ ध्यान दिनुपर्छ,” उनले भने, “प्रहरीलाई दुश्मन सोच्ने हैन। शान्ति सुरक्षा र अपराध नियन्त्रण गर्ने भनेकै प्रहरीले हो।”
उनले परिवर्तनका नाममा होस् वा अन्य नाममा भएका आन्दोलनमा विगतदेखि नै प्रहरी निशानामा पर्दै आएको उनी बताउँछन्। अब बन्ने सरकारले प्रहरीको मनोबल उकास्नेतिर ध्यान दिनुपर्ने उनको भनाइ छ। “जेलबाट कैदीबन्दी भागेका छन्। उनीहरू समाजमा पुगेर अशान्ति मच्चाउन सक्छन्। त्यसबेला आवश्यक पर्ने प्रहरी नै हो,” उनले भने।
विगतमा भएका परिवर्तनमा पनि प्रहरी नै निशानामा परेको र कुटपिट तथा हत्यासमेत भएको थियो। प्रहरी कार्यालयमा आगजनी पनि भए। तर प्रहरीले शान्तिसुरक्षा कायम राख्ने जिम्मेवारी कहिल्यै नछाडेको पूर्वप्रहरी नायब महानिरीक्षक (डीआईजी) हेमन्त मल्ल बताउँछन्।
अहिले सरकार विहीनताको अवस्थामा प्रहरी नेतृत्वले नै मनोबल कमजोर हुन नदिन रणनीति बनाउनुपर्ने मल्ल बताउँछन्। हरेक युनिटको कमान्ड गर्ने अधिकृतले पनि जुनियर तहका कर्मचारीको मनोबल घट्न नदिन आफू अग्रसर हुनुपर्ने उनको भनाइ छ।
“कमी कमजोरी होलान्। तीनको छानबिन गर्ने ठाउँ बाँकी छ,” मल्ल भन्छन्, “अहिलेको अवस्थामा शान्ति सुरक्षा खल्बलिन नदिन र अपराध हुनबाट जोगाउन त फेरि प्रहरी नै चाहिने हो।”
सोमबार जेनजी आन्दोलनका क्रममा सुरक्षाकर्मीले चलाएको गोली लागेर २० जनाको ज्यान गएको थियो। सयौँ घाइते भएका थिए। मंगलबार प्रदर्शनकारीले प्रहरीमाथि पनि ठाउँठाउँमा आक्रमण गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
