भक्तपुर अपडेटः सदरमुकाममा संघीय कार्यालय ‘टार्गेटमा’, अन्य दुई पालिकाका कार्यालयमा क्षति

भक्तपुर र चाँगुनारायण नगरपालिका र वडाका कार्यालयहरूमा आन्दोलनकारीले क्षति नपुर्‍याए पनि सूर्यविनायक र मध्यपुर थिमीमा पालिकासहित नेताहरूको घरमा पनि आगजनी भएको छ।

भक्तपुर– जेनजी आन्दोलनका क्रममा काठमाडौँमा राष्ट्रपति निवास, प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटारसहित विभिन्न संरचनामा आगो लगाए। काठमाडौँकै छिमेकी जिल्ला भक्तपुरका चार पालिकामध्ये सूर्यविनायकमा धेरै क्षति भएको छ। त्यहाँ नगरपालिका कार्यालय तोडफोड गरिएको छ भने, वडा कार्यालयहरू जलाइएको छ। उता भक्तपुर नगरपालिकामा केही संघीय कार्यालयमा क्षति पुर्‍याइएको छ।

भक्तपुर नगरपालिकाका सबै वडा कार्यालय सुरक्षित रहेको नगर प्रमुख सुनील प्रजापतिले जानकारी दिए। उनका अनुसार, जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयहरूमा भने मंगलबार प्रदर्शनकारीले आगजनी गरे। प्रजापतिले भने, “हाम्रो वडा कार्यालयमा कहीँ क्षति भएको छैन। यहाँ भएका जिल्ला प्रशासन कार्यालय र अन्य केही भवन जलेका छन्।”

कहाँ धेरै क्षति भएको भन्नेबारे अनुगमन गर्न बाँकी रहेको उनले जानकारी दिए। प्रदर्शनकारीले प्रशासन कार्यालयलाई बढी लक्षित गरेको देखिएको पनि उनले बताए। “सार्वजनिक सम्पत्तिमा आगजनी नहोस् भन्ने चाहन हो हाम्रो। कतिपय प्रदर्शनकारी यता पनि आएका थिए। हामी टोलका युवा सबै मिलेर आगजनी गर्नबाट रोक्यौँ। जलाउनुहुँदैन भन्ने सबैलाई हाम्रो अनुरोध थियो,” उनी भन्छन्।

चाँगुनारायण नगरपालिकामा पनि आगजनी र क्षतिबाट ठूलो क्षति भएको छैन। त्यहाँका कुनै पनि वडामा आगजनी नभएको नगर प्रमुख जीवन खत्रीले बताए। उनले भने, “यहाँ पनि सडकमा प्रदर्शनकारीले टायर बाले, तीन वटा प्रहरी चौकी आगजनी भए। तर नगरपालिका कार्यालयसहित वडा कार्यालय सबै सुरक्षित छन्।”

nullभक्तपरका अन्य दुई पालिका सूर्यविनायक र मध्यपुरमा भने प्रदर्शनकारीले आगजनी गरेका छन्। मध्यपुर नगरपालिकाका वडा नंं. १ का वडाध्यक्ष बाबुकाजी डंगोलका अनुसार नगरपालिकाको मुख्य भवनमा आगजनी भएको छ। वडा नं. ८ को कार्यालयमा पनि ढुंगामुढा र तोडफोड भएको छ। 
डंगोलले भने, “नगरपलिका भित्रका प्रहरी चौकीहरू जलाए, हाम्रो मुख्य कार्यालय पनि जल्यो। त्यसबाहेक धेरै अहिले जानकारी भएको छैन। हामी पनि बाहिर निस्कन सक्ने अवस्था रहेन।”

यस नगरपालिकामा पर्ने राधेराधेको भाटभटेनीमा आगजनी भएको छ।

सूर्यविनायकमा व्यापक आगजनी
भक्तपुरका अन्य नगरपालिकाभन्दा सूर्यविनायकमा बढी क्षति भएको जनप्रतिनिधिहरूले बताएका छन्। नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाका अनुसार सूर्यविनायक, जगाती र गुण्डुका प्रहरी चौकीमा आगजनी भएको छ। नगरपालिकाको मुख्य कार्यालयमा पनि ढुंगामुढा भएको छ।

राजीनामा दिइसकेका प्रधानमन्त्री केपी शर्मा ओलीको घर पनि सूर्यविनायककै वडा नं. २ मा पर्छ। उनको घर जलाएर ध्वस्त बनाइएको छ। यही वडामा रहेको कांग्रेस नेता मोहन बस्नेतको घर पनि जलाइएको छ।

nullगुण्डुस्थित वडा नं. ७ को कार्यालय जलेको छ। कार्यालयमा भएका दुई गाडी पनि जलेका छन्। यही वडामा रहेको एमाले नेता महेश बस्नेत र वडा नं. ७ का अध्यक्ष सापकोटाको घरमा आगजनी भएको छ। 

यस्तै, नगरप्रमुख वासुदेव थापाको घरमा पनि आगजनी भएको छ। वडा नं. ८ मा भएको बागमती प्रदेशकाका स्वास्थ्यमन्त्री किरण थापाको घरमा पनि आगजनी भएको छ। 

वडा नं. ४ को कार्यालयका सबै सामाग्री बाहिर निकालेर गाम्चा चोकमा आगजनी भएको छ। वडा कार्यालय भवन तोडफोड भए पनि आगजनी भएको छैन।

मध्यपुर थिमी नगरपालिकाको लोकन्थलीमा पर्ने एमाले नेता गोकुल बास्कोटाको घरमा पनि आगजनी भएको छ।