प्रधानमन्त्रीले मागे माधव नेपालसँग विश्वासको मत

सरकारलाई विश्वासको मत दिन प्रधानमन्त्री दाहालले आग्रह गरेको अध्यक्ष नेपालले जानकारी दिए।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ।

बुधबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री दाहालसँग पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले भेट गरेका हुन्। त्यस अवसरमा प्रधानमन्त्री दाहालले सरकारलाई विश्वासको मत दिन आग्रह गरेका थिए।

यता, अध्यक्ष नेपालले भने पार्टीभित्र छलफल गरेर मात्रै टुंगोमा पुग्न सकिने जवाफ दिए। सरकारलाई विश्वासको मत दिन प्रधानमन्त्री दाहालले आग्रह गरेको अध्यक्ष नेपालले जानकारी दिए। उनले प्रधानमन्त्री दाहालसँग वामपन्थी पार्टीबीचको एकताबारे भने छलफल नभएको प्रतिक्रियासमेत सञ्चारकर्मीलाई दिए।

"उहाँले विश्वासको मत दिनुपर्‍यो भनेर माग गर्नु भएको छ। हामी यसबारे पार्टीमा छलफल गर्छौं। र, टुंगो लगाउँछौँ। सरकारमा जाने बारेमा केही पनि कुरा भएको छैन। खाली विश्वासको मतको बारेमा कुरा भएको छ" अध्यक्ष नेपालले भने, "बाम पार्टीहरूको एकताको विषयमा विषय प्रवेश नै गरिएन।"

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले सरकारमा जाने बेलामा आफूसँग छलफलसमेत नगरेको भन्दै नेपालले गुनासो गर्दै आएका छन्।

प्रधानमन्त्री दाहालले पुस २६ गते विश्वासको मत लिने तयारी गरेका छन्। संघीय संसद् अधिवेशन पुस २५ गतेबाट शुरू हुँदैछ।