राजनीतिमा लागेर सार्वजनिक तथा पार्टीको पदमा बसेका बाबुआमाको राजीनामा माग्दै छोराछोरीले नै सामाजिक सञ्जालमा पोस्ट गर्न थालेका छन्। एमाले र कांग्रेसबाट राजीनामा घोषणा गर्ने पनि उल्लेख्य छन्।
काठमाडौँ– दुबही नगरपालिकाकी उपप्रमुख हुन् मेनुका पोख्रेल खतिवडा। उनी नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार भएर विजयी भएकी थिइन्। उनी कांग्रेस दुहबी नगर समितिको उपसभापति पनि हुन्। तर उनकै छोरीले आमालाई सम्बोधन गर्दै कांग्रेसको विरोध गरेर सामाजिक सञ्जालमा पोष्ट गरेकी छन्।
उनकी छोरी मधुमेनु खतिवडा आफै पनि जेनजी आन्दोलनमा सहभागी भएकी छन्। उनले आन्दोलनको दमनको विरोधमा पोस्ट पनि गरेकी छन्। आमालाई सम्बोधन गरेर उनले ‘मलाई गोली लागेको भए के गर्नुहुन्थ्यो’ भन्दै प्रश्न गरेकी छन्।
मधुमेनुले जेनजी आन्दोलनको प्लाकार्ड बोकेको फोटो फेसबुकमा राखेर आमालाई प्रश्न गरेकी हुन्। उनले लेखेकी छन्, “आजको आन्दोलनमा गृहमन्त्री (रमेश लेखक, नेपाली कांग्रेस)को आदेश बमोजिम चलेको गोलीले मलाई लागेको भए, सरकारको विरोध गर्नुहुने थियो की मौन बस्नुहुने थियो?”
उनीजस्तै धेरै जेनजीले सत्ताधारी दलमा रहेका आमाबाबुलाई प्रश्न गर्न थालेका छन्। अर्का एक युवाले आफ्ना बुबालाई सम्बोधन गर्दै अबदेखि कांग्रेसको कार्यकर्ता भएर हिँडेमा सम्बन्ध तोड्ने भन्दै पोस्ट गरेका छन्।
विजयजंग केसीले फेसबुकमा लेखेका छन्, “मेरो आदरणीय बुबा, भन्छन्—कहिलेकाहीँ बुबा गलत ठाउँमा उभिनुभएको भए भन्न सक्ने आँट छोरामै हुनुपर्छ। आज म त्यही हिम्मत गर्दैछु। यदि आजदेखि तपाईं नेपाली कांग्रेसको कार्यकर्ता भएर निरन्तर रहनुभयो भने, म हाम्रो सबै सम्बन्ध तोड्नेछु।”
नेपाली कांग्रेसले आदर्श मानेको बीपी र गणेशमान अब त्यहाँ नभएको उनले उल्लेख गरेका छन्। यो दल भ्रष्टहरूले कब्जा गरेको आरोप पनि उनले लगाएका छन्।
उनले तत्कालै कांग्रेसको सदस्यता त्याग्न बुवालाई आग्रह गरेका छन्। “आजै कांग्रेसको सदस्यता जलाइदिनुस्, त्यो गर्दा देखाइदिनुस्, ठूलो स्वरमा भन्नुस्। मैले तपाईंलाई पछ्याउने धेरै मानिस देखेको छु। तपाईंले थोरैलाई भए पनि प्रेरणा दिनुहुनेछ। त्यही पर्याप्त हुनेछ,” उनले लेखेका छन्।
सोमबार जेन–जीले भ्रष्टाचारविरुद्ध गरेको प्रदर्शनमा प्रहरी दमनबाट १९ जनाको ज्यान गएपछि एमालेमा त राजीनामा दिनेको लहरै छ। अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाले मंगलबार फेबुकमा पोस्ट गर्दै पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। उनले अब आफू स्वतन्त्र भएको र तत्काल घाइतेको उपचारमा खटिने घोषणा पनि गरेका छन्।
डा. कडरियाले सोमबारको दिनलाई ‘विद्यार्थी राजनीतिको शिर ढलेको दिन’ भन्दै विद्यार्थी संगठनहरूले स्कुले पोसाकमा रहेका विद्यार्थीको प्राण रक्षासमेत गर्न नसकेको जनाएका छन्। उनले लेखेका छन्, “यति बेला सरकारले जनताको भावनाविपरीत आन्दोलनलाई दबाउन खोजिरहेको प्रत्याभूति भएको छ। यसको नतिजा भयाभह हुनेछ।”
यसअघि, अनेरास्ववियुका उपाध्यक्ष विकास श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका थिए। जेन–जीको प्रदर्शनमा प्रहरीले दमन गरेर १९ जनाभन्दा बढीको हत्या गरेपछि नैतिक जिम्मेवारी लिँदै प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने उनको माग थियो। प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो राजीनामा दिइसकेका छन्।
उता, पुल्चोक इन्जिनियरिङ क्याम्पसका अनेरास्ववियु अध्यक्ष सुबोध गैह्रेले पुल्चोक कमिटीले विघटन गरेका छन्। सरकारले अमानवीय दमन गरेको गरेको भन्दै उनले कमिटी विघटनको घोषणा गरेका हुन्।
सरकारको गैरजिम्मेवार व्यवहार र दमनकारी प्रवृत्तिको विरोध र भ्रष्टाचारमुक्त भविष्यको माग गर्ने नेपाली युवाहरूको संघर्षमा ऐक्यबद्धता जनाउँदै कमिटी विघटन गरिएको जनाइएको छ।
“म सुबोध गैह्रे, अनेरास्ववियु पुल्चोकका अध्यक्षको हैसियतले अनेरास्ववियु पुल्चोक क्याम्पस कमिटी पूर्ण रूपमा विघटन गर्दछु। हिजो नेपाल सरकारले जनविरोधको जवाफमा गरेको अमानवीय दमनमार्फत आफ्नो असंवेदनशीलता देखाएको छ,” उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
उता नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनका उपाध्यक्ष नकुल अर्यालले पनि पदबाट राजीनामा दिएको जनाएका छन्। उनले अहिले भइरहेको परिवर्तनमा आफ्नो समर्थन रहेको जनाएका छन्।
अर्यालले विज्ञप्ति प्रकाशित गर्दै भनेका छन्, “पदबाट आजैका मितिदेखि लागू हुनेगरी राजीनामा दिएको छु। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको लडाइँमा सदैव सहकार्य हुने नै छ। परिवर्तनका लागि मुलकुमा भइरहेको प्रयत्नप्रति मेरो ऐक्यबद्धता छ।”
यसअघि, एमालेकी केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले सोमबार साँझ नै फेसबुक पोस्ट गर्दै प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएकी थिइन्। सोमबार भएको घटनाको सम्पूर्ण जिम्मेवारी ओलीले नै लिनुपर्ने उनको भनाइ थियो। उकालोसँगको कुराकानीमा उनले अब ओलीले एमाले अध्यक्ष भइरहेन वैधता पनि गुमाएको बताइन्।
जेनजीहरू भष्टाचारको विषय लिएर आन्दोलनमा आउनु राम्रो भए पनि सरकारले त्यसलाई नजरअन्दाज गर्नु गलत भएको उनको भनाइ छ। “उहाँहरू अझै पनि घूसपैठ भयो भन्दै कुरालाई मोड्न खोज्दैहुनुहुन्छ। मुख्यतः राजनीतिक हिसाबले र नैतिक हिसाबले सत्ता चलाउने एमालेको अध्यक्ष पदमा बस्ने वैधता (ओलीले) सबै हिसाबले गुमाउनुभएको छ,” उनले भनिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
