जापान जाने तयारीमा थिए, एउटै खुट्टामा लाग्यो ६ गोली

विजय अधिकारी सामाजिक सञ्जालमा बालेन शाहलाई पछ्याउँथे। बालेनकै पोस्ट देखेर आन्दोलनमा गएका उनी घाइते भएर ट्रमा सेन्टरमा उपचाररत छन्। उनी भन्छन्– नेपालमा रोजगारी पाइँदैन, जाने त जापान नै हो।

आन्दोलनमा (बायाँ) र ट्रम सेन्टरमा उपचारका क्रममा विजय। तस्वीर: दिपा/उकालो

काठमाडौँ– आँखा रसाइरहेका थिए। अनुहार सुन्निएको थियो। तर सबैभन्दा ठूलो पीडा उनको शरीरमा थियो— बायाँ खुट्टाको घुँडामाथि दुई र तल चार गरी ६ गोली।

केही घण्टाअघि मात्र चिकित्सकहरूले ती गोली निकालेका थिए। तर शरीरमा भएको भन्दा ठूलो घाउ उनको मनमा थियो— भविष्यतर्फ फर्कन नसक्ने डर।

रुकुमपश्चिम बाफिकोटका विजय अधिकारी (२२) आफ्नो खुट्टातिर हेर्न सक्दैनन्। आँसु थामिएको छैन। “खुट्टातिर ध्यान दिँदा म बाँचेजस्तो लाग्दैन। त्यसैले हेर्न छोडिदिएको छु,” उनले भने।

nullमंगलबार सबेरैदेखि राष्ट्रिय ट्रमा सेन्टर कडा सुरक्षा घेरामा छ। त्यहाँको गेटमै आन्दोलनमा घाइते भएर ल्याइएका, तर उपचारकै क्रममा मृत्यु भएका आठ जनाको नाम र ठेगाना टाँसिएको छ। त्यसको छेउमै टाँसिएको छ अझै जीवनसँग लडिरहेका ६६ जनाको सूची।

nullगेटबाहिर आफन्तहरूको चित्कार, रुवाबासी र भीड छ। भित्र भने घाइतेहरूको चिच्याहट, रगताम्मे शरीर र चिकित्सकहरूको हतारो। अस्पतालभित्रको भिडमै उपचारका क्रममा छन् विजय।

गाउँको गरिबी, शहरको सपना
विकट गाउँमा जन्मिएका विजय गरिबीका कारण पढाइमा धेरै टाढा पुग्न सकेनन्। कक्षा १२ सकेपछि जीवन बदल्ने सपना बोकेर रोजगारी खोज्दै काठमाडौँ आएका थिए। उनी रोजगारीका लागि जापान जाने तयारीमा थिए।

उनी जापानी भाषा सिकिरहेका थिए। अन्तिम परीक्षा नजिकै थियो। आफ्नै भविष्यलाई नयाँ दिशामा मोड्ने आशा थियो।

तर त्यही बेला देशभर सामाजिक सञ्जाल बन्द गर्ने चर्चा चल्यो। विजय काठमाडौँ महानगर प्रमुख बालेन शाहका पोस्ट पछ्याउँथे। शाहका हरेक आह्वान ध्यानपूर्वक पढ्थे। “नेपालमा रोजगारी छैन भनेर विदेश जाने तयारीमा थिएँ। तर बालेनले आन्दोलनमा जान आह्वान गरेपछि म र साथीहरू सडकमा उत्रियौँ,” उनी भन्छन्।

आन्दोलनमा कर्णालीका २१ युवाहरूको समूहमा थिए उनी। उनीहरूमध्ये अधिकांश विदेश नै जाने तयारीमै थिए।

सोमबार बिहान ८ः४५ बजेतिर उनी माइतिघर पुगे। त्यतिञ्जेल कलेज ड्रेसमै आएका किशोरसमेत भीडमा देख्दा उनको मन चिस्सियो। “सबैले शान्तिपूर्ण आन्दोलन गर्ने भनेर एकआपसमा समझदारी गरेका थियौँ। मैले साथीहरूलाई तोडफोड नगर्न, प्रहरीसँग नभिड्न भनेको थिएँ,” उनी भन्छन्।

गोली लाग्दाको त्यो क्षण
बिहान ११ बजेतिर माइतघरबाट जुलुस बानेश्वरतर्फ बढ्यो। विजय पनि त्यही जुलसमा नारा लगाइरहेका थिए। बानेश्वर नजिक पुग्दा प्रहरीले हस्तक्षेप गरेर लाठी र पानीको फोहोरा हानेको उनी बताउँछन्। केही बेरपछि अश्रुग्यास पनि भयो।

nullमध्याह्न साढे १२ बजेतिर उनी संसद् भवनअगाडि पुगिसकेका थिए। अचानक भिडमाथि प्रहरीको गोली बर्सियो। उनकै अगाडि एक जना छातीमा गोली लागेर ढले। 

त्यही बेला उनलाई पनि गोली लाग्यो। “मेरो छउेमा गाली लागेको साथीको रगत सडकमै छ्यालब्याल देखेँ,” उनी भन्छन्, “म पनि बायाँ खुट्टा समाउँदै दौडिरहेको थिएँ। खुट्टा रगताम्मे भइसकेको थियो।”

आफूले लगाएको कपडा पनि गोलीले छियाछिया भएको उनी बताउँछन्। उनलाई आन्दोलनका सहभागीले नै अस्पताल पुर्‍याएका थिए। 

अस्पतालभित्रको संघर्ष
विजयलाई ट्रमा सन्टेर पुर्‍याउँदा त्यहाँ घाइते खचाखच भइसकेका थिए। उनको खुट्टामा लागेका गोली चिकित्सकले मंगलबार बिहान ३ बजे मात्रै शल्यक्रिया गरेर निकाल्न सफल भए। “कतिबेला अप्रेसन होला भनेर कुरिरहेँ, अरू घाइतेलाई हेरेर पीडा सहिरहेँ,” उनले भने। 

nullविजयका अनुसार चिकित्सकले खुट्टाबाट ६ गोली निकालेका छन्। तर ती गोली वास्तविक थिए वा रबर उनले थाहा पाएका छैनन्। स्वास्थ्यकर्मीले गोलीको फोटो खिचेर राखे पनि उनलाई देखाएका छैनन्।

उनको उपचारमा संलग्न एक चिकित्सक भन्छन्, “उहाँको खुट्टामा गोली लागेकै हो, तर कति गोली लाग्यो म भन्न सक्दिनँ। उहाँको अपरेसन अर्को टोलीले गरेको हो। अहिले पनि अन्य घाइतेहरूको सर्जरीमा व्यस्त छौँ।”

अपूर्ण सपना, अपूर्ण यात्रा
विजयको परिवार गाउँमै छन्। गाउँमा आमा, बुवा, हजुरआमा र दुई दाइ बस्छन्। उनकी आमाले मंगलबार बिहान मात्रै कसैले टिकटकमा राखेको भिडियोमार्फत छोरालाई गोली लागेको थाहा पाइन्।

“शल्यक्रियाअघि म कसैसँग कुरा गर्न सक्ने अवस्थामा थिइनँ। आज बिहान आमाले थाहा पाएर फोन गर्नुभयो। उहाँ असाध्यै चिन्तित हुनुहुन्छ। मैले सामान्य हो भनेर झूटो बोलेको छु,” विजयले भने।

जापान जाने र जीवनलाई नयाँ बाटोमा लैजाने सपना बोकेर काठमाडौँ आएका विजय अहिले ट्रमा सेन्टरको शय्यामा छन्। उनको खुट्टा गोलीले छेडेको छ। उनी उपचारको चिन्तामा छन्, तर सपना अझै बाँकी छ।

“म बाँच्न पाएँ भने फेरि उठ्छु, फेरि अगाडि बढ्छु,” उनले अस्पष्ट स्वरमा भने, “नेपालमा रोजगारी पाइँदैन, जाने त जापान नै हो।”