यातायातको सेवामा बेथिति : स्वास्थ्य रिपोर्ट नै नक्कली बनाउँछन् बिचौलिया

काठमाडौँ उपत्यकाका विभिन्न यातायात कार्यालयबाट प्रहरीले मंगलबार सात जना बिचौलियालाई पक्राउ गरेको छ।

तस्वीर : एकान्तकुना यातायात कार्यालयको फेसबुक

काठमाडौँ– यातायात कार्यालयको सेवा प्रवाहमा बिचौलियाको असर नराम्ररी बढिरहेको पाइएको छ।

प्रहरीले विभिन्न समयमा बिचौलियालाई समातेर कारबाही चलाए पनि प्रभाव रोकिन सकेको छैन। काठमाडौँ उपत्यकाका यातायात कार्यालयहरूमा अनुसन्धानका क्रममा अनुचित र नक्कली कार्यमा बिचौलिया सक्रिय रहेको खुलेको हो।

सेवाग्राहीलाई अनुचित प्रभावमा पार्ने पाँच र फर्जी स्वास्थ्य परीक्षण रिपोर्ट बनाउने दुई गरी सात जनालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं एसपी सीताराम रिजालका अनुसार ललितपुरको एकान्तकुना, काठमाडौँको ठूलोभर्‍याङ र चाबहिलस्थित यातायात कार्यालयबाट उनीहरू पक्राउ गरेका हुन्।

उनीहरूले विभिन्न यातायात कार्यालयमा सेवाग्राहीलाई सहजीकरण गरिदिन्छौँ, छिटोछरितो रूपमा काम गरिदिन्छौँ, नपुगेका कागजात पुर्‍याइदिन्छौँ भन्दै प्रलोभनमा पारेर हैरानी दिने गरेको पाइएको रिजालले बताए।

कुनै पनि सरकारी कार्यालयमा नियमसंगत हुने काममा सेवाग्राहीलाई अनावश्यक हैरानी दिने समूहउपर निगरानी तथा कारबाही बढाएको उनले बताए।