राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बमलाई आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका पुकार बमलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ।

तस्वीर : पुकार बमको फेसबुकबाट।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि काठमाडौँ- १ बाट उम्मेदवारी दिएका पुकार बमलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधिएको छ। नयाँबानेश्वर क्षेत्रमा चुनाव प्रचार-प्रसारका क्रममा आफू र आफ्नो साथमा रहेका व्यक्तिहरूले 'पुकार बम' नाम अंकित टि-शर्ट लगाएको उजुरीका आधारमा बमलाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।

आयोगले ‘तपाईंले निर्वाचन प्रचार-प्रसारको क्रममा आफ्नो नाम अंकित टि-शर्टको प्रयोग गर्दा/गराउँदा निर्वाचन आचारसंहिताको उल्लंघन हुँदैन भनी पुष्ट्याइँ गर्ने आधार कारण के छ? भनी स्पष्टीकरण सोधेको हो। आयोगले पत्रप्राप्त भएको २४ घण्टाभित्र स्वयं उपस्थित भई वा आफ्नो प्रतिनिधि उपस्थितमार्फत लिखित स्पष्टीकरण पेश गर्न भनेको छ।

पत्रमा भनिएको छ, "तपाईंबाट जानाजान रूपमा उक्त कार्य भएको भए तपाईंलाई निर्वाचन आचारसंहिताको उल्लंघनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम जरिबाना किन गर्नु नपर्ने हो? यो पत्र तपाईंलाई कुनै माध्यमबाट प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपालमा स्वयं उपस्थित भई वा आफ्नो प्रतिनिधि उपस्थित गराई लिखित स्पष्टीकरण पेश गर्नुहोला।" 

निर्वाचन आचारसंहितामा जुलुस वा आमसभामा भाग लिने वा प्रचार-प्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेस्ट, टि-शर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याज, मास्क वा लकेट लगाउन वा झोला बोक्न नुहुने उल्लेख छ।