पाथीभरामा केबलकार बनाउने र बनाउन नहुने पक्षबीच सांस्कृतिक रूपमै विभाजन शुरू भएको छ। हरेक वर्ष लाखेनाचको दिन हुने धाननाच यो वर्ष अलगअलग ठाउँमा आयोजना गरिएको छ।
काठमाडौँ– ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा पहिलेजस्तो चहलपहल छैन। संघीयता आउनु अघिदेखि नै रौनक घट्दै गएको यो बजारलाई वर्षमा एकपटक गुलजार बनाउने काम लाखेजात्राले गर्दै आएको छ। यस अवसरमा ताप्लेजुङ गोल्डकप फुटबल, लिम्बू समुदायको धाननाचलगायत कार्यक्रम हुन्छन्।
यस वर्ष पनि यी कार्यक्रम भए। तर धाननाचले ताप्लेजुङका स्थानीयलाई जोडेन, बरु फुटायो। भदाै १ गते एकै दिन दुई स्थानमा धाननाच भए। किरात याक्थुङ चुम्लुङ (कियाचु)ले तोक्मेडाँडा र याक्थुङ चुम्लुङ (याचु)ले होटल जान्नु इनको प्रांगणमा धाननाच गरे।
कियाचु २०४६ सालमा स्थापित संस्था हो भने याचु तीन वर्षअघि स्थापना भएको हो। कियाचु पहिचान पक्षधरहरूद्वारा सञ्चालित छ र पाथीभरामा केबलकारको विरोधमा छ। याचुमा भने केबलकार पक्षधरको बाहुल्य छ।
पहिले लाखेजात्रामा धाननाच कार्यक्रम कियाचुले नै आयोजना गर्थ्यो। यसमा सबै जातिका मानिस सहभागी हुन्थे। यस वर्षदेखि याचुले छुट्टै कार्यक्रम गर्न थालेको हो।
याचुको धाननाच कार्यक्रममा अधिकांश पाथीभरा केबलकार पक्षधर सहभागी थिए। प्रतिनिधिसभा सदस्य योगेश भट्टराई, कोशी प्रदेशका पूर्वमन्त्री बलबहादुर साम्सोसाङ र निर्मला तावा, फुङलिङ नगरप्रमुख अमिर मादेनलगायत त्यहाँ पुगे।
कियाचुले गरेको धाननाचमा अधिकांश ‘नो केबलकार’ पक्षधर थिए। त्यहाँ कोशी प्रदेशका उद्योग कृषि तथा सहकारीमन्त्री खगेनसिं हांगाम पनि सहभागी भए।
लाखेजात्राका अवसरमा धान नाच्ने चलन पहिलेदेखि नै रहेकाले आफूहरूले त्यसलाई निरन्तरता दिएको कियाचु ताप्लेजुङका अध्यक्ष डम्बर पालुङ्वाले बताए। “ताप्लेजुङमा लाखेजात्राका क्रममा धान नाच्ने चलन बाबुबाजेको पालादेखि नै चलिआएको हो,” उनी भन्छन्, “पहिले अनौपचारिक रूपमा नाच्ने चलन थियो। किरात याक्थुङ चुम्लुङको अगुवाइमा २०७२ सालदेखि औपचारिक समारोह नै आयोजना गरेर संस्कृति बचाउने अभियान थालेका हौँ।”
कियाचु स्थापनाकालदेखि नै लिम्बूहरूको पहिचान र अस्तित्व बचाउनुपर्छ भनेर लडिरहेको र भविष्यमा पनि लडिरहने उनी बताउँछन्। सोही कारण आफूहरूले शुरूदेखि नै पाथीभरामा केबलकार निर्माणको विरोध गरेको उनको भनाइ छ। “स्वाभाविक रूपमा संस्था नै केबलकारको विपक्षमा भएकाले हामीले आयोजना गरेको धाननाचमा पनि पहिचान पक्षधरहरूकै बाहुल्य हुने भइहाल्यो नि,” उनी भन्छन्।
अर्को संस्थाले पनि सोही समयमा धाननाच गरेको र त्यहाँ केबलकार पक्षधरहरू सहभागी भएको आफूले सुनेको, तर स्पष्ट थाहा नभएको अध्यक्ष पालुङवाको भनाइ छ। उनी भन्छन्, “अहिले हाम्रो पहिचान संकटमा परेको अवस्था छ। हामी पहिचान बचाउने लडाइँमा छौँ। यस्तो बेलामा सबै एक हुनुपर्ने हो, तर उहाँहरू केबलकार बन्नुपर्छ भनेर लाग्नुभएको छ। के गर्नु र आफू–आफूमै मिल्न सकिएन।”
कियाचुकी तत्कालीन अध्यक्ष इन्दिरा मेन्याङ्बोले पदबाट राजीनामा दिएपछि संस्था नै छाडेकी थिइन्। त्यसपछि पालुङ्वा अध्यक्ष बनेका हुन्। मेन्याङ्बो अहिले याचुको केन्द्रीय महासचिव छिन्, ताप्लेजुङ जिल्ला अध्यक्षमा हाङमाया लेछर्बो छिन्। याचुले आफ्नो नाममा जग्गा खरिद गरिसकेको छ।
संस्था नै फरक भएपछि छुट्टाछुट्टै कार्यक्रम हुनु स्वाभाविक भएको याचुकी महासचिव मेन्याङबो बताउँछिन्। याक्थुङ लिम्बूहरूको मौलिक धाननाचलाई केबलकारसँग जोडेर जबरजस्ती विवाद निम्त्याउन खोजिएको उनको भनाइ छ।

धाननाच जहाँ जसले पनि नाच्न पाउने र केबलकार बनाउने पक्ष पनि धाननाचमा सहभागी हुनसक्ने मेन्याङ्बो बताउँछिन्। “हामीले कार्यक्रममा आउनेलाई तपाईं पक्ष कि विपक्ष भनेर सोध्ने कुरा भएन,” उनी भन्छिन्, “माननीय योगेश भट्टराई पनि हुनुहुन्थ्यो। लिम्बू मात्रै होइन, अरू समुदायबाट पनि सहभागी हुनुभयो।”
लिम्बूको मौलिक नाच भए पनि सबै समुदायको अपनत्व हुनुपर्छ भनेर देखाउन खोजेको उनको भनाइ छ। कार्यक्रममा केबलकार बनाउनुपर्छ भन्नेहरूको बाहुल्यता भने रहेको उनले स्विकारिन्।
कियाचुले याक्थुङ लिम्बूहरूको मौलिकता नष्ट पार्ने खालका गतिविधि गर्न थालेपछि आफूहरूले नयाँ संस्था स्थापना गरेको मेन्याङ्बोले दाबी गरिन्। कियाचुले अरूको अजेन्डा बोकेर हिँडेको उनको आरोप छ।
“उहाँहरू याक्थुङ लिम्बूहरूको संस्कार र संस्कृति जोगाउनेभन्दा पनि मास्नतर्फ लाग्नुभएको छ। सिरिजंघा लिपि मास्न लाग्नुभएको छ। किरात लिपि भन्दै हिँड्नुभएको छ,” उनले भनिन्, “सिरिसंघा सिं थेवेले बलिदान दिएर बनाएको सिरिजंघा लिपि नै हाम्रो मौलिक हो। याक्थुङ चुम्लुङ यसमा अडिग छ।”
विवादमा मलजल थप्ने केबलकार
फुङलिङ नगरपालिका–११ को काफ्लेपाटीबाट पाथीभरा मन्दिरसम्म केबलकार निर्माण गर्ने योजना पछिल्लो समय ताप्लेजुङमा विवादको प्रमुख विषय बनेको छ। केबलकार निर्माण शुरू भएसँगै समर्थन र विरोधमा आन्दोलन भएका छन्। देश विदेशबाट पहिचान पक्षधरहरू फुङलिङमा केन्द्रित भए। केही समय अघिसम्म पाथीभरा क्षेत्रमा दिनहुँजसो आन्दोलन र झडप हुन्थे। अहिले भने मत्थर बनेको छ।
यो विवादले लिम्बू समुदाय मात्र होइन, सिंगो जिल्लामा नै पक्ष–विपक्षमा मत बाँडिएको छ। कोही यसलाई धार्मिक पर्यटन प्रबर्द्धन र आर्थिक विकासका लागि लाभदायी मान्छन्, कोही लिम्बूहरूको धार्मिक परम्परा र स्थानीय पहिचानमा धक्का पुर्याउने आयोजना भनेर विरोधमा छन्। केबलकार बनाएर मुन्धुम संस्कृतिमाथि अतिक्रमण गर्न खोजिएको र स्थानीय प्राकृतिक स्रोतसाधनलाई व्यापारिक स्वार्थपूर्तिका लागि दोहन गर्न खोजिएको उनीहरूको भनाइ छ।
साहित्यकार मनीष हेल्लोकका अनुसार लिम्बू समुदायभित्र पहिचान, धर्म, संस्कार र संस्कृति मान्ने र मनाउने विषयलाई लिएर विभाजन देखिन थालेको छ। यो विभाजनलाई पाथीभरा केबलकार विवादले झन् चर्काएको छ।
“पहिले किरात याक्थुङ चुम्लुङ नै सम्पूर्ण लिम्बूहरूको छाता संस्था थियो। तर यस संस्थाले समुदायको सम्पूर्ण मौलिकता समेट्न नसकेको भन्दै याक्थुङ चुम्लुङ भन्ने अर्को संस्था जन्मियो,” उनी भन्छन्, “दुवै संस्थाले छुट्टाछुट्टै गतिविधि गर्न थालेपछि एकता कमजोर हुँदै गयो। अझ केबलकारको विषयमा त लिम्बूहरू नै पक्ष–विपक्षमा विभाजित भएर आपसमा झगडा गर्न थाले।”
यस्तो अवस्थाले नयाँ पुस्तालाई झन् अल्मल्याउने हेल्लोक बताउँछन्। “लिम्बू संस्कार र संस्कृतिबारे अध्ययन गर्न चाहने, बुझ्न खोज्ने वा मौलिकता खोज्ने युवापुस्तालाई स्पष्ट बाटो देखाउनुपर्नेमा यसले अलमलमा पारेको छ,” उनी भन्छन्, “यसरी त हाम्रो मौलिक संस्कार ओझेलमा पर्छ। अरूले खेल्ने मौका पाउँछन्।”

धाननाच र लाखेजात्रा
‘ताप्लेजुङ’ पुस्तकका सम्पादक तथा अध्येता टंक श्रेष्ठका अनुसार ताप्लेजुङमा लाखेनाचको परम्परा करिब १९६५ सालतिर शुरू भएको मानिन्छ। पहिलो पटक फुङलिङ बजार नजिकैको तोक्मेडाँडामा औँसी र पूर्णिमामा लाग्ने हाटको अवसरमा लाखे नाच प्रस्तुत गर्न थालिएको थियो। हाटमा सामान किनबेच गर्न गाउँ–गाउँबाट मानिसहरू आउने र त्यहीँ लाखेनाच प्रदर्शन हुने परम्परा बस्दै गयो।
श्रेष्ठका भनाइमा, यही अवसरसँगै धाननाच पनि शुरू भएको हो। गाउँगाउँबाट लाखे हेर्न आएका मानिसहरू नाच–गानमा सहभागी हुन थाले र लिम्बू समुदायमा प्रचलित धाननाच पनि प्रदर्शन हुन थाल्यो। यसरी धाननाच र लाखेजात्रा परम्परागत रूपमा जोडिएर १०० वर्षअघि नै अभिन्न सांस्कृतिक अङ्ग बनिसकेको श्रेष्ठ बताउँछन्।
पहिलेका दिनमा लाखे पूर्णिमादेखि लगातार तीन दिनसम्म धाननाच हुन्थ्यो। जात्रामा सहभागी हुनेहरू रातभर नाचगान गरेर रमाइलो मनाउने चलन थियो। कतिपय मानिस त ६ महिना अघिदेखि नै धाननाचमा सहभागी हुने योजना बनाउन थाल्थे। यसले त्यो समयको उत्साह, सामूहिकता र सांस्कृतिक प्रतिबद्धता प्रष्ट देखाएको उनको भनाइ छ।
“त्यो बेला मानिसहरू स्वःस्फूर्त रूपमा जात्रामा आउने र धान नाचेर रमाइलो गर्ने गर्थे। लाखेजात्रा त्यति बेला ठूलो सांस्कृतिक उत्सव सरह हुन्थ्यो,” श्रेष्ठ भन्छन्, “यसरी हेर्दा लाखेजात्रा र धाननाच ताप्लेजुङको सांस्कृतिक पहिचान मात्र नभई स्थानीय सामाजिक जीवनलाई एकताबद्ध गर्ने माध्यम पनि बनेको देखिन्छ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
