आयातित बाह्य वनस्पतिमार्फत रोगसमेत भित्रिन सक्ने सम्भावना रहने भएकाले आफ्नै देशमा पाइने बोटबिरुवाको प्रयोग गर्नु अझ राम्रो विकल्प हुन्छ।
विशेषतः शहरी क्षेत्रमा बस्ने मान्छेहरूबीच फूल फुल्ने याम आएपछि आफूले आँगन, करेसा, बगैँचा या छत र बाल्कोनीमा फुलाएको फूलको तस्वीर सामाजिक सञ्जालमा राख्न एक किसिमको होडबाजी नै चल्ने गरेको देखिन्छ। यसरी फूलको तस्बिर पोस्ट गर्ने मात्र होइन, केही वर्षयता राती फुल्ने सेता रङका फूलका तस्बिर पोस्ट गर्दै ‘रातको ठिक १२ बजे फुल्ने फूल हो’ भन्ने दाबी गर्नेदेखि ‘आफ्नो शुभ समयको सुरुवात भएको र निकट भविष्यमा फल प्राप्त हुने’ दाबीसमेत गरेको देख्न पाइन्छ। विभिन्न प्रकारका सेता फूललाई ‘ब्रह्मकमल फूल यही हो’ भन्ने किटानी धेरैले गरेको समेत पाइन्छ।
ब्रह्मकमलको महत्त्व
हिन्दू धर्ममा ब्रह्मकमल नामको फूललाई ब्रह्माण्डको प्रतीक मानिन्छ। भगवत गीताका अनुसार यस फूलले परमात्माको प्रतिनिधित्व गर्छ र यो आध्यात्मिक ऊर्जाको केन्द्र हो। त्यसैले यसलाई पूजा स्थलमा राखेर ध्यान गर्ने वा यसको निकट बस्ने व्यक्तिलाई सौभाग्य र समृद्धि आशीर्वाद प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ।
हिन्दू धर्मशास्त्रअनुसार ब्रह्मकमल भगवान् विष्णुको पूजामा प्रयोग हुने ‘पञ्चकमल’ (पाँच पवित्र कमलहरू) मध्ये एक हो। यो फूल सुन्दरमात्र नभई यसमा अतुलनीय औषधीय गुण भएको हुनाले कुष्ठरोग, क्षयरोग, दम र श्वासप्रश्वास जस्ता धेरै रोग निको पार्न सक्छ भनेर यसलाई आयुर्वेदिक चिकित्साको दृष्टिले अमूल्य मानिन्छ।
सम्भवतः यस्तै चर्चा सुनेका मान्छेले सामाजिक सञ्जालमा ब्रह्मकमलको तस्वीर पोस्ट गर्दै शुभ संकेतको रूपमा लिन थालेका छन्। त्यसो हुँदा केवल फेसन र अन्धविश्वासमात्र नभई ब्रम्हकमल धार्मिक, आध्यात्मिक संकेत पनि बन्दै गएको देखिन्छ।
सकारात्मक ऊर्जाको प्रवाह बढाउने र नकारात्मक शक्तिहरूबाट सुरक्षा प्रदान गर्ने, घरको वातावरणलाई पवित्र र सन्तुलित बनाउने एक पवित्र वनस्पति भन्दै ब्रह्मकमललाई वास्तुशास्त्र केही पुस्तकमा उल्लेख गरेको पाइन्छ। यसलाई घरको ब्रह्मस्थान (मध्य भाग) वा ईशान कोण (उत्तरपूर्वी कुना) मा रोप्नु शुभ हुने वास्तुशास्त्रीहरू ठान्छन्। उनीहरूका अनुसार उल्लेखित स्थान ईश्वरीय ऊर्जा, शान्ति र समृद्धिका लागि प्राथमिक हुन्।
हिन्दू धर्ममा मात्र नभई ब्रह्मकमललाई बौद्ध धर्ममा पनि अत्यन्त पवित्र र महत्त्वपूर्ण मानिन्छ। यसलाई ‘सर्वफूलको फूल’ वा ‘दशावतार फूल’ भनेर गौतम बुद्धको ज्ञान, करुणा र निर्वाणको प्रतीकका रूपमा लिने गरिन्छ। बौद्ध परम्परामा यो फूल शुद्धता, दिव्यज्ञान र आत्मिक उन्नतिको प्रतीकसँग जोडेर हेर्ने गरिन्छ। त्यसैले ब्रह्मकमललाई ध्यान, पूजा र मन्त्रसाधनाका लागि को उपयोग गरिन्छ। यसरी, ब्रह्मकमल केवल एउटा फूलमात्र नभई धर्म, विज्ञान, वास्तु र आध्यात्मिकतासँग सम्बन्धित विषय हो।
ब्रह्मकमलको परिचय
ब्रह्मकमलको वैज्ञानिक नाम ‘ससुरिया ओभालाटा’ हो। यो दुर्लभ फूल समुद्र सतहबाट ३,२०० देखि ५,२०० मिटरको उचाइमा पाइन्छ। यसको प्राकृतिक वासस्थान हिमालय पर्वत शृंखलाको काश्मीरदेखि चीनको सिचुआन, युनान, भुटान र उत्तरी म्यानमारसम्म फैलिएको छ। यसको फूलका पत्रहरू डुंगाको आकारमा घुमेर सेतो र पहेँलो मिश्रित रंगको हुन्छन् भने ती पत्रका किनाराहरू बैजनी रङका हुन्छन्।
हिन्दू धर्ममा पञ्च-कमल (पाँच पवित्र फूलहरू) मध्ये सबैभन्दा महत्त्वपूर्ण (१) ब्रह्मकमल हुनुका साथै अन्य चार फूलहरू (२) भुईं कमल (नेलुम्बो न्युसिफेरा), (३) चमारा, चोया, गलैँची, वा चुवा फूल (प्लुमेरिया रुब्रा), (४) कुम्कुम वा केसर (क्रोकस स्याटिभस) र (५) नागकेसर वा रुख केसर (मेसुवा फेरिया) हुन्। यद्यपि कतैकतै रुख कमल (म्याग्नोलिया ग्रान्डिफ्लोरा) लाई पनि यस समूहमा समावेश गरिएको पाइन्छ। केसर र नागकेसरजस्ता केही फूलहरू नेपाल वा भारतीय उपमहाद्वीपमा नपाइने आयातित प्रजातिका हुन्।
सामाजिक सञ्जालमा ‘ब्रह्मकमल’ भन्दै पोस्ट गरिएका अधिकांश फूल वास्तविक ब्रह्मकमल (सस्सुरिया ओबवलाटा) होइनन्। बरु, ड्रागन फ्रुटको क्याक्टेसी (सिउडी) परिवारमा पर्ने ‘एपिफाइलम अक्जिपिटालम’ नामको फूल हो। यसको मूल वासस्थानमध्ये अमेरिकास्थित मेक्सिकोदेखि निकारागुआसम्म हो र यो एक उष्णकटिबन्धीय क्याक्टस हो, जसको राति मात्र सेतो फूल फुल्छ। त्यसो हुँदा यसलाई ‘रातको रानी’ वा ‘निशाकालीन फूल’ पनि भनिन्छ। तर नेपालमा यसलाई गलत रूपमा ‘वास्तविक ब्रह्मकमल’ भनेर चिन्ने र चिनाउने चलन बढ्दै गएको छ। सिउडी परिवारका अन्य सेता फूललाई पनि ब्रह्मकमल भन्दै भ्रम फैलाएको पाइन्छ।
एपिफाइलम अक्जिपिटालमले मात्र होइन, सिउडी परिवारमा पर्ने अन्य वनस्पतिका सेता फूललाई ब्रह्मकमल नै हो भनेर मान्छेहरूले किटानसमेत गरेको पाइन्छ। सिउडी परिवारका वनस्पति मुख्यतः सुक्खा भूभाग र मरुभूमिमा ज्यादा पाइन्छन्। यसरी अन्य देशबाट आयातित वनस्पतिले हाम्रो घरआँगनलाई राम्रो देखाउन त काम लाग्छन् तर यदि तिनीहरू घर वा बगैँचाबाट सरेर प्राकृतिक रूपमा अन्य ठाउँमा उम्रन थाले भने आक्रामक रूपमा फैलन गई मिचाहा वनस्पतिका रूपमा विकसित पनि हुन सक्छन्। त्यसपछि ती स्वयं समस्याग्रस्त वनस्पति बन्न सक्छन्।
यसले स्थानीय जैविक विविधतालाई खतरा हुन सक्छ र स्थानीय र रैथाने वनस्पतिको लागि प्रतिस्पर्धा बढाएर पारिस्थितिक असन्तुलन निम्त्याउन सक्छ। त्यसैले आयातित वनस्पति रोप्दा सतर्कता अपनाउनु जरुरी छ।
बाह्य र बाह्य मिचाहा वनस्पति के हुन् र कसरी फैलन्छन्?
नेपालमा स्वाभाविक रूपमा नउम्रेर अन्य क्षेत्र वा देशबाट ल्याइएका वनस्पति हुन् बाह्य वा गैर स्थानीय वनस्पति। यीमध्ये केही प्रजाति मात्र प्राकृतिक रूपमा उम्रन्छन् र प्राय: मानिसको सहयोगबिना टिक्दैनन्। बाह्य मिचाहा वनस्पति भनेका गैरस्थानीय वनस्पति हुन्। यस्ता खाले वनस्पति तीव्र रूपमा फैलिएर स्थानीय र रैथाने प्रजातिका वनस्पतिलाई विस्थापित गर्छन्, जैविक विविधता नष्ट गर्छन्, पारिस्थितिक सन्तुलनमा गम्भीर असर पार्छन्, आर्थिक हानि पुर्याउँछन् र मानव/जनावर स्वास्थ्यमा समस्या उत्पन्न गर्न सक्छन्। यस्ता वनस्पति नेपालमा जानाजान वा अनजानमा भित्रिने गरेका छन्।
जानाजान ल्याइएका वनस्पति प्रायः बागवानी, कृषि वा भूदृश्य सजावटका लागि प्रयोग गरिन्छन्। अनजानमा भित्रिने वनस्पति जहाज, सवारीसाधनका पार्टपुर्जा वा ढुवानी गरिने सामानसँग मिसिएर आउँछन्। सबै बाह्य वनस्पति हानिकारक हुँदैनन्। वास्तवमा हाम्रो दैनिक जीवनमा प्रयोग हुने खेतीका धेरैजसो बाली र घरबगैंचाका सजावटी बोटबिरुवा बाह्य नै हुन्। तर जब ती आक्रामक भएर फैलिन्छन्, तब ती मिचाहा वनस्पति बन्छन्। बाह्य वनस्पतिको स्थानान्तरण मानव इतिहासमा अनादि कालदेखि हुँदै आएको भए तापनि संसारमा यातायात र व्यापारमा आएको तीव्र विकाससँगै विभिन्न खाले वनस्पतिको फैलावट दर उल्लेखनीय रूपमा वृद्धि भएको हो। नेपालमा सबैभन्दा पहिले भित्रिएका बाह्य बालीहरूमा फापर, धान, र उखु हुन्। यिनको आगमन इसा पूर्व पहिलो सहस्राब्दीदेखि सन् ३०० सम्म भएको मानिन्छ।
नेपालमा बाह्य वा गैरस्थानीय वनस्पति भित्रिने इतिहास धेरै पुरानो भए पनि यसको स्वरूप र गति समयअनुसार परिवर्तन भएको पाइन्छ। प्रारम्भिक चरणमा लिच्छवि, मल्ल र कोलीय शासकहरूले सीमित मात्रामा विभिन्न प्रकारका बाली जानाजानी भित्र्याएका थिए। भारतीय उपमहाद्वीपमा विदेशी वनस्पतिको योजनाबद्ध परिचय भने औपनिवेशिक युगमा ९१८ औं र १९ औं शताब्दीमा शुरु भएको हो। नेपालमा यसको प्रभाव ब्रिटिस इन्डिया र नेपालबीचको युद्ध (विसं १८१४–१८१६) पछि देखा पर्यो। सुगौली सन्धि (१८१६) पछि बेलायती पक्षले काठमाडौँमा रेसिडेन्सी स्थापना गरेसँगै त्यहाँ बस्ने बेलायती अधिकारीहरूले विभिन्न प्रकारका सजावटी वनस्पति जानाजानी भित्र्याए, जसले बगैँचाको स्वरूपलाई परिवर्तन गर्यो।
यसै अवधिमा बेलायती वनस्पति अन्वेषक जोन डाल्टन हुकरले पूर्वी नेपालमा आलु भित्र्याएका थिए। त्यसपछि सन् १८५०–५१ मा जंगबहादुर राणाले फ्रान्स हुँदै बेलायतको राजकीय भ्रमण गरेपछि नेपालमा केही नयाँ बाह्य वनस्पति प्रजातिहरू ल्याए। साथै बनारस तीर्थयात्राका क्रममा राणा परिवारका विभिन्न सदस्यहरूले आफ्ना निजी बगैँचाका लागि आकर्षक सजावटी बाह्य वनस्पति निरन्तर रूपमा नेपाल भित्र्याइरहे।
सन् १९५१ मा राणा शासनको पतनसँगै नेपालले विदेशीहरूलाई प्रतिबन्ध लगाउने आफ्नो पृथकतावादी नीति अन्त्य गर्यो। त्यसपछि सन् १९५५ मा नेपाल संयुक्त राष्ट्र संघमा सदस्यता पाएपछि देशमा विदेशी आगन्तुकको संख्या बढ्यो। यससँगै विभिन्न राष्ट्रिय कार्यक्रमहरू अघि बढाइए र तिनका लागि आवश्यक विज्ञ र सामग्रीसँगै धेरै बाह्य वनस्पतिका प्रजातिले पनि नेपाल प्रवेश पाए। व्यावसायिक उद्देश्यका लागि बाह्य वनस्पति भित्र्याउन पुष्प खेतीमा संलग्न निजी नर्सरीहरूले महत्त्वपूर्ण भूमिका खेलेका छन्।
व्यावसायिक रूपमा बाह्य वनस्पति भित्र्याउन निजी नर्सरीहरूले महत्त्वपूर्ण योगदान गरे। पहिलो नर्सरी ‘नेपाल प्राइभेट नर्सरी’ सन् १९५५ मा स्थापना भए पनि नर्सरी उद्योगले सन् १९८३ पछि मात्र उल्लेखनीय गति पायो। आज नेपालभर ७५१ भन्दा बढी दर्ता भएका नर्सरी र फार्म छन्, जसले सयौँ प्रजातिका बाह्य वनस्पति निरन्तर रूपमा भित्र्याइरहेका छन्।
नेपालमा आजसम्म सूचीकरण गरिएका करिब ६,२०० प्रजातिका सपुष्पक वनस्पतिमध्ये १,७०० भन्दा बढी प्रजाति बाह्य वा गैरस्थानीय प्रकारका छन्। यद्यपि, आजसम्म सरकारी स्तरबाट यिनको वैधानिक सूची प्रकाशन गरिएको छैन भने ‘प्लान्ट्स अफ नेपाल’ किताबमा ५५९ प्रजातिका भएको उल्लेख छ। बाह्य मिचाहा प्रजाति व्यवस्थापन राष्ट्रिय रणनीति तथा कार्यान्वयन योजना, २०८१ अनुसार नेपालमा कूल २९ प्रजातिका वनस्पति बाह्य मिचाहाका रूपमा सूचीकृत छन्। तिनमा लान्टेना क्यामरा, माइकेनिया माइकारान्था, क्रोमोलिना ओडोराटा, पोन्टेडेरिया क्रासिपेस र पार्थेनियम हिस्टेरोफोरसजस्ता केही वनस्पतिलाई अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघले अति हानिकारक शीर्ष १०० प्रजातिमा समावेश गरेको छ।
नेपालमा हालै प्रकाशित ‘बाह्य मिचाहा प्रजाति व्यवस्थापन राष्ट्रिय रणनीति तथा कार्यान्वयन योजना, २०८१’ ले सन् २०३० सम्म सम्पूर्ण बाह्य वा गैरस्थानीय वनस्पतिको सूचीकरण गर्ने र मिचाहा प्रजातिको रोकथाम तथा नियन्त्रणका स्पष्ट उपाय कार्यान्वयन गर्ने उद्देश्य तय गरेको छ। तर नेपालमा आधारभूत तथ्यांकको अभाव रहेको हुँदा योजनामा उल्लेखित मुख्य उद्देश्य—बाह्य मिचाहा प्रजाति प्रवेश र विस्तार हुने दरलाई सन् २०३० सम्म कम्तीमा ५० प्रतिशतले घटाउने—अत्यन्त महत्वाकांक्षी देखिन्छ। आकर्षक रणनीति र कार्ययोजना बनाउन माहिर नेपालीले यस्ता उद्देश्यलाई व्यवहारमा परिणत गर्न साँच्चिकै आवश्यक दण्ड–सजायको व्यवस्था र प्रगति मूल्यांकनको संस्कार विकास गर्नुपर्छ, नत्र यो पनि अरूजस्तै केवल कागजी योजनामात्र बन्ने सम्भावना रहन्छ।
यदि हामीले घर र बगैँचामा सजावटको रूपमा प्रयोग गरिएका गैरस्थानीय वनस्पति पहिचान नगरी केवल सुनेको र देखिएको भरमा प्रयोग गर्यौँ भने ती घर र बगैँचाबाट उम्केर ती पाखा र वनंजंगलमा पुग्न सक्छन्। प्राकृतिक रूपमा फैलन सक्छन् र ठूलो समस्या पैदा गर्न सक्छन्। उदाहरणका लागि नेपालमा ब्रह्मकमल भनेर व्यापक रूपमा प्रयोग गरिने फूल वास्तवमा ओभालाटा नभएर एपिफाइलम अक्जिपिटालम भन्ने फूल हो। यदि यो बनमाराजस्तै फैलन सफल भयो भने यसले धेरै समस्या निम्त्याउन सक्छ।
एपिफाइलम अक्जिपिटालम न्यानो, उज्यालो, अप्रत्यक्ष प्रकाश पर्ने ठाउँ र राम्रो पानी निकास भएको माटोमा ज्यादा फस्टाउँछ। यसले १० देखि २७ डिग्री बीचको तापक्रम मन पराउँछ र यसलाई तुसारोबाट बचाउन आवश्यक हुन्छ। वसन्त र गर्मी याममा निरन्तर पानी दिनु उपयुक्त हुन्छ भने जाडोमा पानीको मात्रा घटाउनुपर्छ। यो नक्कली ब्रह्मकमल मात्र होइन, सजावटको नाममा नेपालमा भित्रिने अन्य धेरै वनस्पतिका प्रजाति बर्सेनि आयात हुने गरेका छन्।
यी आयातित बाह्य वनस्पतिमार्फत रोगसमेत भित्रिन सक्ने सम्भावना उच्च रहन्छ। त्यसैले कुन वनस्पति, कहाँबाट र कहिले आयात गरियो भन्ने तथ्यांकको अभिलेख राक्न जरुरी हुन्छ र यसमा राज्यले अग्रसरता देखाउनुपर्छ। साथै प्रत्येक ५ देखि १० वर्षका लागि सरकारी स्तरबाट तयार गरिने ‘राष्ट्रिय रणनीति तथा कार्यान्वयन योजना’को चुस्त रूपमा कार्यान्वयन गर्न अत्यन्त आवश्यक छ। आकर्षक देखिने योजनाका नाममा विदेशी निकायबाट रकम ल्याएर ‘फासफुस र रंगीन रिपोर्ट’ मात्र तयार गरी भत्ताको नाममा रकम दुरुपयोग गर्ने प्रवृत्ति सरकारी कर्मचारीदेखि नेपालमा क्रियाशील गैरसरकारी संस्थाका कर्मचारीले पनि त्याग्न जरुरी छ।
किन फुल्छन् रातमा फूल?
सक्कली ब्रह्मकमल (ससुरिया ओभालाटा) रातको समयमा नभई दिनमा नै फुल्छ तर नक्कली ब्रह्मकमल (एपिफाइलम अक्जिपिटालम) भने रातमा फुल्ने वनस्पतिको प्रजाति हो। यस्तै प्रकृतिमा धेरै वनस्पति प्रजातिहरू दिनमा मात्र नभई रातमा पनि फुल्ने गर्छन्। तर रातमा फुल्ने कुनै फूल ‘रातको ठ्याक्कै १२ बजे’ मात्र फुल्छ भन्ने कुराचाहिँ पूर्णतः गलत हो।
दिउँसो फुल्ने फूलका मुख्य परागकण वाहक मौरी, पुतली, किरा र विभिन्न चरा हुन् भने रातमा फुल्ने फूलको परागकण प्रायः रातमा सक्रिय हुने पुतली (मोथ), चमेरो, र केही निशाचर किरा हुन्। रातमा परागकण वाहकलाई आकर्षित गर्न यस्ता फूलले प्रायः तीव्र सुगन्ध फैलाउँछन्। दिनको फूलझैँ चम्किलो रङ प्रयोग गर्नु नपर्ने भएकाले निशाचर फूल प्रायः सेतो, फिक्का पहेँलो वा हल्का गुलाबी रङमा पाइन्छन्। यस्ता हल्का रङले चन्द्रमाको प्रकाश प्रतिबिम्बित गर्छन् र निशाचर परागकणलाई सहजै आकर्षित गर्छन्।
राति फुल्ने फूल फक्रनका लागि दिनको लम्बाइ वा बिरुवाले प्राप्त गर्ने प्रकाशको अवधि महत्त्वपूर्ण हुन्छ। अधिकांश वनस्पति दिन ११ घण्टा वा कम अवधि हुँदा मात्र फुल्छन् र यिनलाई छोटो दिनका बिरुवा भनिन्छ। केही वनस्पति दिन ११ घण्टा भन्दा लामो अवधि हुँदा मात्र फुल्छन् र यिनलाई लामो दिनका बिरुवा भनिन्छ। यस्तै केही वनस्पति दिनको लम्बाइप्रति संवेदनशील हुँदैनन् र तिनलाई दिन-तटस्थ बिरुवाहरू भनिन्छ।
यसरी रातमा फुल्ने फूल कुनै दैवी शक्ति वा रहस्यमय कारणले फुलेका होइनन् र यिनलाई देखेर हाम्रो समृद्धि हुने वा फूलको अनुकम्पाले दिन शुभ हुने भन्ने विश्वास वैज्ञानिक आधारविहीन हो। आफ्नो जीवन चक्रलाई निरन्तरता दिन र प्रजनन सुनिश्चित गर्न दिन वा रातको समयमा यी फुल्ने गर्छन्। रातमा फुलोस् या दिनमा, फूलहरू सुन्दर र सुगन्धितमात्र होइन कहिलेकाहीँ विषालु पनि हुन सक्छन्। त्यसैले तिनको सौन्दर्यसँगै सावधानी अपनाउनु पनि आवश्यक छ।
के कारणले वनस्पति विषालु हुन्छन्?
घर वा बगैँचामा सजावटीका रूपमा प्रयोग हुने धेरै वनस्पति विषालु हुने तथ्य हामीले सुनेका छौँ। तर कुन प्रजाति के कारणले विषालु हुन्छन् भन्ने जानकारी भने विरलै पाइन्छ। जनावर, किरा–फट्यांग्रा वा अन्य प्राकृतिक खतराबाट जोगाउन विशेष प्रकारका रासायनिक तत्त्व उत्पादन गर्छन्। उक्त रासायनिक तत्त्व प्रायः विषाक्त हुन्छन् र धेरैजसो पातमा पाइन्छन्। तर डाँठ र काण्डमा पनि हुन्छन्। ती विषाक्त रासायनिक तत्त्व क्याल्सियम अक्सालेट, सोलानिन, लाइकोरिन र ग्लाइकोसाइड हुन्। यस्ता रासायनिक तत्त्व सेवन भएमा वा छालामा सम्पर्कमा आएमा हुनुका साथै जीउ सुनिने, स्वर नै भासिने, पेट दुख्ने, बान्ता हुने र पखाला लाग्ने गर्छ। कहिले कहीँ एलर्जी भई ज्वरो आउन पनि सक्छ। विषाक्त पदार्थको मात्रा धेरै भएमा यसको प्रभाव घातक पनि हुन सक्छ।
नेपालमा सजिलै बजारमा पाइने केही सामान्य तर विषालु वनस्पतिमा डाइफेनबाचिया, फ्लेमिङ्गो फूल (एन्थुरियम), स्विस चीज (मोन्स्टेरा), पीस लिली (स्पाथिफिलम), जेडजेड (जामियोकुलकास), फिलोडेन्ड्रन र पोथोस (एपिप्रेमनम), स्नेक प्लान्ट (सान्सेभिएरिया), बर्ड अफ प्याराडाइस (स्ट्रेलिट्जिया), छाते बोट (शेफ्लेरा) र सिउँडीका विभिन्न प्रजाति पर्छन्।
कुनै पनि बिरुवा किन्नुअघि केवल देखेका वा सुनेका आधारमा निर्णय गर्नु हुँदैन। सर्वप्रथम, विक्रेताबाट विस्तृत जानकारी लिनुपर्छ र आवश्यक परे जानकार व्यक्तिसँग परामर्श गर्नुपर्छ। यदि यस्तो अवसर उपलब्ध भएन भने इन्टरनेटमा उक्त बिरुवाको फोटो राखेर यसको पहिचान र विशेषतासम्बन्धी जानकारी लिन पनि सकिन्छ। आर्थिक रूपमा सहज अवस्थामा पुगेका व्यक्तिले देखासिकी वा कुलीनता प्रदर्शन गर्ने नाममा, राम्रो देखिन्छ भनेर मात्र घर वा बगैँचामा ‘इन्डोर’ वा ‘आउटडोर’ प्लान्ट विना जानकारी त्यसै रोप्नु उपयुक्त हुँदैन। बरु विदेशी प्रजातिको सट्टा आफ्नै देशमा पाइने विविध बोटबिरुवाको प्रयोग गर्नु अझ राम्रो विकल्प हुन्छ।
यसका लागि उपभोक्ता र विक्रेता दुवै वर्ग सचेत हुनु अनिवार्य छ। सरकारले त यस विषयमा संवेदनशील हुनै पर्छ, नागरिकले पनि जिम्मेवारीपूर्वक कदम चाल्नुपर्छ। सरकारले स्पष्ट नीति–नियम तर्जुमा गर्नु आवश्यक छ भने सम्बन्धित निकाय र सर्वसाधारण दुवैले त्यसको प्रभावकारी कार्यान्वयनका लागि बराबरको प्रतिबद्धता र सहयोग पुर्याउनुपर्छ।
मलाई थाहा छैन, कति फूल फुलिदिएर कस्ता र कति मानिसको लागि शुभ क्षण ल्याई तिनको भाग्य चम्काई दिए। तर के पक्का हो भने जेजस्तो फूल भए पनि त्यसले घर र बगैँचालाई सुन्दर बनाउँछ। कोमल, आकर्षक र सुगन्धित फूललाई हामीले फुल्न दिनुपर्छ। दैनिक अनुष्ठानदेखि धार्मिक विश्वाससम्म विभिन्न उद्देश्यका साथ त्यसको प्रयोग गर्नुपर्छ। जसरी प्रकृतिले तिनीहरूलाई फूल्ने अनुमति दिएको छ, हामीले पनि जस्ताको तस्तै फुल्न दिनुपर्छ अनि तिनको हेरचाह गर्नुपर्छ।
तर धर्म, संस्कृति र विश्वासको नाममा फूलहरूबारे भ्रम फैलाउनु र अतिरञ्जान गरिनुले उल्टै प्रकृतिको क्षयीकरणमा योगदान पुगिरहेको हुन सक्छ। फूलको प्रयोगसँगै हामीले बाह्य प्रजातिका फूल लापरबाहीपूर्वक फैलन नदिन व्यवस्थापन पनि गर्नुपर्छ। कुनै फूलको व्यापक प्रयोग भइरहेको छ भने त्यसको संरक्षणबारे पनि सोच्नु आवश्यक छ। नेपाली भाषाका महाकवि लक्ष्मीप्रसाद देवकोटाको ‘पाप लाग्छ’ कवितामा फूल केवल सजावटी वस्तु नभई प्रकृतिको सौन्दर्य र करुणाको प्रतीकका रूपमा हेरिनुपर्छ भन्ने सन्देश छ:
नटिप्नु हेर कोपिला
नचुँड्नु पाप लाग्दछ
नच्यात्नु फूल नानी हो,
दया र धर्म भाग्दछ।
…
बनेर फूलझैँ सधैँ
हँसाउनू सुवास दी
सधैँ रमाउनु जगत्
रमेर नित्य आश दी।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||

Thank you very much for this knowledgable atticle for readers like us who just follow market trend rather than in depth knowledge about plants and .
Raaz
3 weeks, 1 day ago