सीडीओलाई आयोगको निर्देशन- आचारसंहिता उल्लंघन गर्नेलाई कारबाही गर्न हात नकमाउनूस्

आयुक्त भण्डारीले घरदैलो कार्यक्रममा दलहरूले आचारसंहिता उल्लंघन गरेको उजुरी आएकोतर्फ ध्यानाकर्षण गराउँदै त्यसलाई तत्काल नियन्त्रण गर्न निर्देशन दिए।

काठमाडौँ- निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई तत्काल कारबाही गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ। सोमबार गृह मन्त्रालयमा देशभरका प्रमुख जिल्ला अधिकारीसँगको भर्चुअल बैठकमा निर्वाचन आयोगका आयुक्त रामप्रसाद भण्डारीले आचारसंहिता उल्लंघन गरेको पाइए तत्काल कारबाही गर्न निर्देशन दिएका हुन्।

केन्द्रीय निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त भण्डारीले आचारसंहिता उल्लंघनको प्रमाण भेटिएमा तत्काल नियन्त्रणमा लिन कञ्जुस्याइँ नगर्न पनि आग्रह गरे। उनले मुख्य निर्वाचन अधिकृत व्यस्त भएको अवस्थामा उनको क्षेत्राधिकार प्रमुख जिल्ला अधिकारीले प्रयोग गर्नसक्ने पनि स्पष्ट पारे। उनले आचारसंहिता तर्जुमा गर्दा प्रमुख जिल्ला अधिकारीको भूमिकालाई स्पष्ट रूपमा उल्लेख गरिएको बताए।

आयुक्त भण्डारीले घरदैलो कार्यक्रममा दलहरूले आचारसंहिता उल्लंघन गरेको उजुरी आएकोतर्फ ध्यानाकर्षण गराउँदै त्यसलाई तत्काल नियन्त्रण गर्न पनि निर्देशन दिए। आचारसंहिता पालना नभएको पाइएमा कठोरतापूर्वक कारबाही गर्नुपर्ने उनको भनाइ थियो।

उनले भने, "मैले यसमा यो हदभन्दा बढी जानु हुँदैन कि भनेर हात कमाएर नबस्नुस्। आचारसंहिता उल्लंघन भएको छ भने कठोरतापूर्वक, निर्मम भएर कारबाही गर्नुस्। त्यो आयोगले कारबाही गरेको ठहर्छ।"

आयुक्त भण्डारीले आचारसंहिता पालना गराउने सम्बन्धमा कानूनमा अस्पष्टता भएमा निर्वाचन आयोगमा लेखेर पठाउन पनि अनुरोध गरे।