ललितपुरमा मनाइयो ऐतिहासिक नृसिंह जात्रा

भाद्र कृष्ण पञ्चमीका दिन पाटनमा सञ्चालन हुने जात्रामा विष्णुको नृसिंह अवतारले दानव हिरण्यकशिपुलाई बध गरेको सम्झनामा बाजागाजा र भजनटोलीसहित शहर परिक्रमा गर्ने चलन छ।

ललितपुर– राजा सिद्धिनरसिंह मल्लको पालादेखि हुँदै आएको ऐतिहासिक नृसिंह जात्रा सम्पन्न भएको छ। हरेक वर्ष भाद्र कृष्ण पञ्चमीका दिन पाटनमा सञ्चालन हुने नृसिंह जात्रा मनाइएको हो। 

कुनै पनि दैवी प्रकोप नहोस् र विश्वमै शान्ति कायम रहोस् भन्ने कामनाका साथ यो जात्रा मनाउने गरिन्छ। ललितपुरका ६ कुलका राजोपाध्याय समुदायले उमेरको वरिष्ठताको आधारमा पालैपालो सबै व्यवस्थापनको जिम्मा लिएर यो जात्रा सञ्चालन गर्ने प्रचलन छ।

यस वर्ष गाबहालका मधुर शर्मा राजोपाध्यायको परिवारले जात्रा सञ्चालन गरेको हो। विष्णुको नृसिंह अवतारले दानव हिरण्यकशिपुलाई बध गरेको सम्झनामा बाजागाजा र भजनटोलीसहित ललितपुर शहर परिक्रमा गराइन्छ।

नृसिंहतिर फर्केर हातमा धूप लिएर प्रणाम गर्दै प्रल्हादको जस्तो उल्टो पाइला चाल्दै नगर परिक्रमा गर्ने चलन छ। नृसिंहको दायाँबायाँ लक्ष्मी र सरस्वती बस्ने चलन छ भने यो यात्रामा ६ जोडी कन्याको पनि सहभागिता रहने गर्छ। 

जात्रामा पालोवालाको पुरोहित, ज्वाइँ अथवा भान्जा नृसिंह बनेर ललितपुरको प्राचीन नगरीको सायाः अर्थात् सापारु रुटमा परिक्रमा गराउने प्रचलन रहेको छ।

जात्राको क्रममा बाजागाजा, प्रत्यक्ष भजनसहित नृसिंह देवगणको टोलीले पाटनको गाबहाल, पिम्बहाल, बंगलामुखी, कोबहाल, मंगलबजार, सुन्धारा, इकुबहाल, महाबौद्ध, टंगाल, तिच्छु गल्ली, हौगल, इखालखु, पूर्णचण्डीलगायत विभिन्न ठाउँमा यात्रा गर्ने चलन छ। 

जात्राको परिक्रमा हुने विभिन्न स्थानमा नृसिंहलगायत देवताहरूको ठाउँ–ठाउँमा विसर्जन गरी पूजापाठ गर्नुका साथै बालबालिकालाई ढोगाउने चलन छ। ललितपुरमा कात्तिक नाच र उपालकं सायाःका गरी दुई नृसिंहका रूप रहेका छन्। कार्तिक नाचका नृसिंहको उग्ररूप र उपालकं सायाः लाई शान्त स्वभावका रूपमा लिने गरिन्छ।

नेपाल संवत् ७५१ अर्थात् विक्रम संवत् १६८८ देखि यो जात्रा सञ्चालन भइरहेको जनाइन्छ।