तीन प्रदेशमा समानुपातिकतर्फको मतपत्र ढुवानी

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र प्रदेश १, मधेस र बागमती प्रदेशका सबै निर्वाचन क्षेत्रमा पठाइसकेको जनाएको छ।

काठमाडौँ- आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तीनवटा प्रदेशमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ। 

निर्वाचन आयोगले प्रदेश १, मधेस र बागमती प्रदेशका सबै जिल्लाका सबै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भइसकेको जनाएको हो। आयोगका अनुसार सोमबार दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर र काठमाडौँ जिल्लामा मतपत्र ढुवानी भएको छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ २ करोड २२ लाख २५ हजार मतपत्र ढुवानी भएको आयोगले जनाएको छ। प्रदेशसभातर्फ १ करोड १४ लाख ९९ हजार तथा प्रतिनिधिसभाका लागि १ करोड सात लाख २६ हजार मतपत्र रहेका छन्।

ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, भोजपुर, सङ्खुवासभा, धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिराहा, सप्तरी, धनुषा, महोत्तरी, नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही र सिन्धुली जिल्लामा यसअघि नै समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी भइसकेको आयोगले जनाएको छ।

समानुपातिकतर्फ ५५ प्रतिशत महिला

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ महिला उम्मेदवारको संख्या ५५ प्रतिशतभन्दा बढिरहेको देखिएको छ। प्रतिनिसभातर्फ समानुपातिक उम्मेदवारको कूल संख्या २ हजार ४०२ छ । यसमा महिला उम्मेदवारको संख्या १ हजार ३१३ छ भने पुरुष उम्मेदवारको संख्या १ हजार ८९ छ। 

निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्यांकअनुसार प्रदेशसभातर्फ महिला समानुपातिक उम्मेदवारको संख्या २ हजार ४२६ छ भने पुरुष उम्मेदवारको संख्या १ हजार ६२९ छ। प्रदेशसभाको समानुपातिकतर्फ कूल ४ हजार ५५ जनाको उम्मेदवारी कायम भएको छ। 

प्रदेश १ मा ४०६ महिला र २५५ पुरुष, मधेसमा ५७० महिला र ३७७ पुरुष, बागमतीमा ४७१ महिला र ३५४ पुरुष, गण्डकीमा २२१ महिला र १४५ पुरुष, लुम्बिनीमा ४०३ महिला र २५४ पुरुष, कर्णालीमा १३१ महिला र ९१ पुरुष तथा सुदूरपश्चिम प्रदेशमा २२४ महिला र १५३ पुरुष उम्मेदवार रहेका आयोगले जनाएको छ। 

आगामी मंसिर ४ गते देशभर एकैचरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ। सो निर्वाचनमा ९१ लाख ४० हजार ८०६ पुरुष, ८८ लाख ४७ हजार ५७९ महिला र १८५ अन्य गरी कूल १ करोड ७९ लाख ८८ हजार ५७० मतदाताले मतदान गर्दैछन्। देशभर १० हजार ८९२ मतदानस्थल र २२ हजार २२७ मतदान केन्द्र रहनेछन्।