सूर्यविनायक–बनेपा खण्ड स्तरोन्नति भइरहँदा कमलविनायकबाट नाला हुँदै बनेपा निस्कने वैकल्पिक सडकमा सवारीसाधनको चाप छ। तर यो सडक मर्मतमा तीन तहले नै जिम्मेवारी नलिँदा दुर्घटनाको जोखिम बढेको छ।
काठमाडौँ— सडकको चौडाइतर्फ आधा ढलान, आधा धुलै। पानी परेको बेला हिलो। लामो समयदेखि अलपत्र छाडिएको सडकमा स्थानीयले केरा, फूललगायतका बिरुवा रोपिदिए।
यो कुनै दूरदराजको घटना नभई, भक्तपुरको हो। कमलविनायकबाट नाला हुँदै बनेपा सडकको बीचमा पर्ने पण्डित पँधेरो चोकमा स्थानीयले साउन २३ र २४ गते वृक्षरोपण गरिदिए। यो भक्तपुरलाई बनेपा जोड्ने वैकल्पिक सडक हो।
भक्तपुरदेखि धुलिखेल जाने मुख्य सडक अरनिको राजमार्गको १५.८ किलोमिटर खण्ड ६ लेनमा विस्तार भइरहँदा गाडी गुडाउन मुस्किल छ। सूर्यविनायकदेखि धुलिखेलसम्म कतै भित्तो काटिँदैछ, कतै नाला बनाइँदैछ। बेलाबेला सडक नै अवरोध हुन्छ। यसको विकल्प भएको नाला हुँदै बनेपा निस्किने सडकमा सवारीसाधनको चाप छ।
तर यो सडक पनि सद्दे छैन। ठाउँठाउँमा कल्भर्टको समस्या छ। कतै पहिरो झरेर साँघुरो छ। वर्षाको बेला गाडी गुडाउन मुस्किल पर्छ। सडक निर्माणमा लापरबाही र ढिलासुस्ती भएपछि वृक्षरोपणमार्फत विरोध गरिएको चाँगुनारायण–९ का स्थानीय सुरेश गिरी बताउँछन्।
पण्डित चोकमा कल्भर्ट बनाउने र ढलान निर्माण चाँगुनारायण नगरपालिकाले गरेको हो। तर आधा काम गरेर बीचमै रोकिएपछि स्थानीय आन्दोलित छन्। उनीहरूले यो सडकका यात्रीहरूसँग हस्ताक्षर संकलन गरेर नगरपालिकामा पनि बुझाए।
स्थानीयबासी सुरेश अरनिको राजमार्गको वैकल्पिक मार्ग भनिए पनि सडक मर्मतमा बेवास्ता गर्दा सास्ती पाएको बताउँछन्। “सहायक राजमार्गको यस्तो अवस्था हुँदा पनि कसैले चासो दिएको छैन। विगत दुईतीन वर्षदेखि बाटो नबनाएपछि बाध्य भएर आन्दोलन गर्नु परेको हो।”
अर्का स्थानीय नवीन बस्नेत तीनै तहका सरकारले यो सडकलाई बेवास्ता गरेको बताउँछन्। यो सडक २०७८ सालमै कालोपत्रे हुनुपर्ने थियो। त्यस बेला नगरपालिकाले करिब दुई किलोमिटर बनाउने र बाँकी संघीय सरकारले बनाउने सहमति भएको थियो।
नगरपालिकाले आफ्नो भाग बनाउन करिब ३ करोडमा ठेक्का लगाएको थियो। ठेकेदारले अहिले कल्भर्ट भएको ठाउँमा ह्युमपाइप राखेका थिए। ह्युमपाइप मात्रै राख्दा समस्या हुने भन्दै नगरपालिकाले डिजाइन परिवर्तन गरेपछि कल्भर्ट बनाएर ढलान गर्नुपर्ने भयो।
चाँगुनारायण—९ का वडाध्यक्ष गणेश त्यात भन्छन्, “त्यहाँ कल्भर्ट राख्ने भनेर डिजाइन भएको थियो। ठेक्कामा पठाउँदा चै ह्युमपाइप राखिसकेको थियो। वडामार्फत हामीले ह्युपपाइप राखेर हुँदैन, भार थेग्दैन भनेर कल्भर्ट नै राखेर बनाउनुपर्छ भनेर रोक्यौँ।”
त्यसपछि, नगरपालिकाले गत आर्थिक वर्ष २० लाख बजेट छुट्याएर ह्युमपाइपको सट्टा कल्भर्ट बनाउन थाल्यो। कल्भर्टमा ढलान गर्न उपभोक्ता समितिमार्फत् काम बढाएको थियो। तर चौडाइको आधा भाग मात्र ढलान गरेर आधा भाग छाडियो।
आधा भाग कहिले धुलो र कहिले हिलो हुँदा सवारी आवागमनमा समस्या छ। सडकको तह पनि मिलेको छैन। वडाध्यक्ष त्यात भन्छन्, “प्राविधिकले पिचको भाग जति मात्रै ढलान गर्ने भन्नुभएको रहेछ। त्यहीअनुसार बजेट राखियो। पछि त्यसले नहुने रहेछ भन्ने भयो।”
नगरपालिकासँग ‘डबल लेन’ ढलानका लागि बजेट मागिएको र निकासा भएको रकमले जति भ्यायो, त्यति नै काम गरेर छाडेको त्यातको भनाइ छ। बाँकी काम थप बजेट मागेर निकासा भएपछि गर्नका लागि छाडिएको उनले बताए।
चालू आर्थिक वर्षमा बजेट विनियोजन भएकाले दशैँअगाडि नै काम सकिने वडाध्यक्ष त्यात बताउँछन्। “त्यस बेला उपभोक्ता समितिले फेरि गर्न नसक्ने भन्यो। नयाँ आर्थिक वर्ष शुरू भएकाले असारमा ठेक्कामा पठाउने अवस्था भएन। अब काम शुरू हुन्छ,” उनी भन्छन्।
यो सडकमा समस्या त्यही चोकमा मात्रै सीमित छैन। त्यहाँबाट बनेपातर्फ केही अगाडि बढ्दा उग्रचण्डी ग्याँस उद्याग प्रालि आउँछ। त्यसको छेउमा रहेको सानो खोल्सोमा अस्थायी कल्भर्ट बनाइएको छ। तर सडक साँघुरो भएकाले सवारीसाधन आवतजावत गर्न पर्खनुपर्छ।
सडक जीर्ण भएर कतिपय पुराना कल्भर्टमा फलामे डण्डी निस्किएका छन्। बनेपातिरको खण्डमा दुई ठाउँमा पहिरोको समस्या छ। एक ठाउँमा सडकको छेउ गत वर्ष नै पहिरोले बगाएर जोखिम भएको थियो, तर अहिलेसम्म मर्मत भएको छैन। अर्को ठाउँमा भने माथिबाट ढुंगासहितको पहिरोको जोखिम छ।
अरनिको राजमार्गको सूर्यविनायक–बनेपा खण्ड स्तरोन्नति भइरहँदा वैकल्पिक सडकमा सवारीसाधनको चाप छ। तर सडक जीर्ण छाडिँदा दुर्घटनाको जोखिम बढाएको छ। तीनै तहका सरकारले अनुगमन गरेर मर्मत गर्नुपर्ने स्थानीय बताउँछन्।
स्थानीय तहसँग पर्याप्त बजेट नभएकाले सडकको सबै खण्ड मर्मत गर्न नसक्ने चाँगुनारायण नगरपालिकाका प्रवक्ता जनक खत्री बताउँछन्। “पालिका र वडाले मात्रै सबैतिर सडक निर्माण गर्न सकिँदैन। यो पहिले नै संघीय सरकारले बनाएको हो। यसको मर्मत र सुधार प्रदेश र संघले गर्नुपर्ने हो,” उनी भन्छन्।
संघ र प्रदेशबीच अन्योल
संघ र प्रदेश मातहतका कार्यालय यो सडक कसले मर्मत गर्ने भन्ने अन्योलमा छन्। बागमती प्रदेशको पूर्वाधार विकास कार्यालय ललितपुरका प्रमुख राजु श्रेष्ठ यो सडक प्रदेशमा हस्तान्तरण नभएकाले संघीय सरकारले नै बनाउनुपर्ने बताउँछन्।
“हामीले मर्मत गर्न सडक प्रदेश अन्तर्गत पर्दैन, संघबाट हस्तान्तरण भएपछि मात्रै हामीले हेर्ने हो। अहिलेसम्म उहाँहरूले नै मेन्टेनेन्स गरिरहनुभएको छ, त्यसकारण हामीले यसै काम गर्न मिल्दैन,” उनले भने।
भक्तपुर डिभिजन सडकका प्रमुख सुमन योगेश भने यो सडक पहिले संघीय सरकारले हेर्ने भए पनि अब प्रदेश सरकारले हेर्नुपर्ने बताउँछन्। “यसलाई प्रदेश अन्तर्गत पर्ने सडक भनेर छुट्याइएको छ। यसमा कुनै ठेक्कापट्टा भए पो हस्तान्तरण गर्नु। अब प्रदेशले हेर्ने हो।”
सडक विभागले उक्त सडकमा केही नगर्न निर्देशन दिएकाले तत्काल केही काम नगरेको योगेश बताउँछन्। “गत असोजमा पहिरो गएको हो। हामीसँग पैसा थिएन, सामान्य सफा गर्ने र सडकको खाल्डो पुर्ने काम गर्यौँ। पहिरो गएको ठाउँमा डेढ करोडसम्म खर्च हुने देखियो,” उनी भन्छन्, “हामीले विभागमा माग पनि गरेका थियौँ, तर बजेट आएन।”
स्थानीय तहलाई पनि काम गर्न कुनै रोक नलगाइएको योगेशको भनाइ छ। तर प्रदेशले नै अग्रसरता लिएर काम गर्नुपर्ने उनी बताउँछन्। “स्थानीय तहले पनि काम गरेका छैनन्। काभ्रेतिर भत्किएको पुल हामीले नै बनाएका हौँ। अब बिस्तारै प्रदेशले गर्नुपर्छ। नयाँ काम हामीबाट हुँदैन, प्रदेशलाई हस्तान्तरण हुन्छ,” उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
