बाँकी अवसरलाई प्रयोग गरेर ओडीआई मान्यता बचाउनु पहिलो प्राथमिकता हो। त्यसको लागि क्यान आफैँ बलियो बन्दै खेलाडीलाई अनुशासनमा राखेर खेल खेलाउनेतर्फ लाग्नुपर्छ।
नेपाली क्रिकेटले पाएको अहिलेसम्मकै मुख्य उपलब्धिमध्ये टी–२० विश्वकप क्रिकेट (बंगलादेश, सन् २०१४) मा सहभागिता जनाउनु र एक दिवसीय अन्तर्राष्ट्रीय (ओडीआई) मान्यता पाउनु हुन्। कुनै बेला उमेर समूहमा आईसीसीका पूर्ण सदस्य राष्ट्रहरूलाई पनि कडा टक्कर दिने नेपाली क्रिकेट अहिले खस्किँदै गएको छ। जतिसुकै राम्रो क्रिकेट खेले पनि आईसीसीका ठूला प्रतियोगितामा सहभागिता जनाउन सकिएन भने एसोसियट राष्ट्रहरूलाई विश्व क्रिकेटको रङ्गमञ्चमा छाउने अवसर पाउन मुस्किल पर्छ।
त्यसको प्रमाण हो, नेपालले खेल्दै आएको पछिल्लो क्रिकेट। वर्षको शुरूतिर यूएईमा लिग-२ अन्तर्गत घरेलु टिमविरुद्ध नेपालले जित निकाल्न सकेन। तर, गत महिना नेपालमा भएको श्रृङ्खलामा यूएईविरुद्ध जित हासिल गर्यो। यूएईको कप्तान परिवर्तन र खेलाडीहरूमा भएको व्यापक फेरबदल एउटा पाटो होला। नेपालले आफ्नो बलियो प्रतिद्वन्द्वी यूएईलाई पाखा लगाउन सफल भएको सत्य हो।
नेपाल ल्याइने प्राय: सबै विदेशी प्रशिक्षकले नेपालमा प्रतिभावान् खेलाडी रहेको बताउने गरेका छन्। तर, आईसीसीका सीमित प्रतियोगितामा नेपालले आफ्नो बलियो उपस्थिति देखाउन सकेको छैन। टेस्ट राष्ट्रले माथिल्लो स्तरको क्रिकेट खेल्छ। विश्वका ठूला टीभी ब्रोडकास्टरले तिनको खेल-प्रसारण अधिकार किन्छन्। विश्वभरका कैयौँ क्रिकेट समर्थकले ती खेल हेर्छन्। क्रिकेटप्रति गहिरो झुकाव राख्नेबाहेक नेपालजस्ता एसोसियट राष्ट्रले खेल्ने खेलमा अन्यले खासै वास्ता राख्दैनन्।
नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको टी–२० लिगमा दर्शक निकै कम संख्यामा पुगे। कुनै बेला बार भाँचेरै खेल हेर्न मैदान पुग्ने समर्थक यसपटक वास्तै नगर्ने अवस्थामा रहे। यसले क्रिकेटमा नेपाल पनि मलेसिया, सिंगापुर, नेदरल्यान्ड र स्कटल्यान्डजस्तै समर्थकविहीन अवस्थामा पुगेको हो कि भन्ने आशंका उब्जिएको छ। भुल्नु हुँदैन कि, नेपाली क्रिकेट अहिलेसम्म बाँचेको खेलाडीहरूको अथक मेहनत र समर्थकको भरोषाले हो।
किन लाग्यो नेपाली क्रिकेट अधोगति?
नेपाली क्रिकेटको सबैभन्दा उच्च प्रतियोगिता भनेको सन् २०१४ को टी–२० विश्वकप नै हो। त्यसपछि आईसीसीको टी–२० तर्फ सन् २०१६, २०२१ र २०२२ मा भएका विश्वकपमा नेपालले सहभागिता जनाउन सकेन। टी–२० वरियतामा नेपाल सधैँ माथिल्लो स्तरमा देखिन्छ, तर ठूला प्रतियोगितामा कमजोर प्रदर्शन गर्न पुग्दा नेपाल छायामा परेको छ।
बरू, नेपालभन्दा कम घरेलु समर्थक भएका राष्ट्रहरू विशेष गरी खाडी र युरोपियनले आफ्नो स्तर बढाए। आईसीसीको प्रतिबन्धमा पर्दा क्यान झन्डै चार वर्ष अभिभावकविहीन हुन पुग्यो। नेपाली क्रिकेटले आईसीसीका मुख्य प्रतियोगितामा सहभागिता जनाउन नसक्दा समर्थक, प्रायोजक बिस्तारै पाखा लाग्दै गए।
नेपालले विश्वकप खेलेसँगै प्रायोजकदेखि नेपाली क्रिकेट समर्थक हौसिएका थिए। टोलटोलमा पारस खड्का र शरद भेषावकरहरू बन्न चाहने नयाँ प्रतिभा निस्किन थालेका थिए। क्यान अभिभावकविहीन भएपछि नेपालले खेल्ने प्रतियोगितामा त्यसको प्रभाव देखिन थाल्यो।
प्रतिबन्धकालमा आईसीसीकै निगरानीमा भए पनि नेपालले महत्त्वपूर्ण प्रतियोगितामा सहभागिता जनाउँदै आएको थियो। यही बीचमा नेपालले ओडीआई राष्ट्रको मान्यता पायो। ओडीआई मान्यता पाएसँगै क्यान पनि फुकुवाको बाटोतिर लाग्यो। तर, क्यानभित्र चल्ने तीव्र राजनीतिक द्वन्द्वका कारण नेपाली क्रिकेट अहिले थिलथिलो छ।
सशर्त रूपमा निलम्बन फुकुवा भएको क्यानलाई आईसीसीले विशेष निगरानी गर्दै बिस्तारै अधिकार क्षेत्र बढाउँदै गएको छ। क्यानको निलम्बन फुकुवा भए पनि रोग पुरानै बल्झियो। क्यानभित्र गुटबन्दी देखिन्छ। अनेक समूहबीच एकता छैन। यही अवधिमा क्यानकै पदाधिकारीले राजीनामा दिने अवस्थासम्म आयो।
आन्तरिक कलह, विदेश भ्रमण मोह, विवादास्पद र अपारदर्शी निर्णय, प्रतियोगिता नै निजी कम्पनीलाई ठेक्का दिने लगायतका क्रियाकलापले गर्दा क्यान विवादमा परेको देखिन्छ। क्रिकेट विकासका लागि क्यानले दूरदृष्टि राखेर कार्यक्रम गरेको पाइँदैन। जिल्ला क्रिकेट संघमा पकड बलियो बनाउने र आगामी चुनावबाट फेरि आउने बाटो बनाउनेभन्दा माथि क्यानका पदाधिकारीहरू गम्भीर छैनन्।
बन्दै बनेन क्रिकेट विकासको रोडम्याप
क्यानमाथिको प्रतिबन्ध फुकुवापछि क्रिकेटले गति लिने अपेक्षा थियो। तर, त्यसको केही समयपछि कोरोना महामारी आयो, तय गरेका कार्यक्रम रोकिए। समयको बदलाबसँगै क्यान रनभुल्लमा पर्यो। निलम्बन फुकुवापछि नेपालमा सञ्चालनमा रहँदै आएका ईपीएल, डीपीएल र पीपीएललाई मिलाएर क्यान आफैँले बलियो प्रिमियर लिग चलाउने घोषणा गर्यो। हुँदै गरेका लिगहरूसमेत ठप्प भए। तर, क्यानले आफ्नो आधिकारिक लिग आयोजना गर्न सकेन।
क्यानले नेपाल प्रिमियर लिगको ब्रान्ड फर्काउन त सकेन नै, आफैँले कारबाही गरेको कम्पनीलाई पुनः टी–२० लिग चलाउने जिम्मा दियो। एकैदिनको छलफलबाट लिग खेल्ने खेलाडी छानिए। तर, मङ्सिरमा हुने चुनावको खतरा देखेर असोजमा गर्ने भनिएको प्रतियोगिताको मिति सर्यो। ६ वटा टिम बनाएर खेलाउने भनेको प्रतियोगिता शुरू हुनु केही समयअघि एउटा टिम बाहिरिएपछि फेरि अर्को मितिमा खेल गर्ने भनेर मिति सारियो। यसरी क्रिकेट संघ कमजोर संस्थाका रूपमा देखियो।
नेपालको लागि अहिलेको आवश्यकता बलियो घरेलु क्रिकेट संरचना बनाउनु हो, तर ध्यान त्यतापट्टि देखिँदैन। 'जसरी हुन्छ टी–२० लिग सम्पन्न हुनुपर्यो' भन्ने एक सूत्रीय अभियानमा देखिन्छ क्यान। शुरूदेखि नै विवादित बन्दै गएको यो लिग सम्पन्न हुने बेलासम्म कति विवादित बन्ने हो, त्यो हेर्न बाँकी छ।
नेपाली क्रिकेट विकासका लागि बढीभन्दा बढी लामो स्वरूपको क्रिकेट प्रतियोगिता आवश्यक देखिन्छ। तर, क्यानलाई थाहा छ, त्यसमा प्रायोजकहरू लोभिँदैनन्। त्यसो हुँदा सबै प्रायोजकले पत्याइदिने र रोमाञ्चकता पनि दिने 'टी–२० लिग' गराइदिने, टन्टै साफ। त्यसपछि 'केही गरेन' भन्नेहरूको मुखमा पनि बुझो लाग्छ भन्ने सोच क्यानले राखेको देखिन्छ।
आयोजनाका नाममा दुई–चार वटा विदेशी सेलेब्रिटी क्रिकेटरलाई ल्याउने र धुमधाम माउन्टेन फ्लाइट गराएपछि काम तमाम। तर, यस्ता सस्ता चर्चाले क्रिकेट विकासलाई सहयोग पुर्याउँदैन। हामीले हाम्रै क्रिकेटरलाई विश्व-सेलेब्रिटी बनाउनुपर्छ। हामीले अफगानिस्तानका रासिद खान र भारतीय पूर्व कप्तान महेन्द्रसिंह धोनीजस्ता थुप्रै खेलाडी जन्माउन सक्नुपर्छ। तब मात्र हाम्रो क्रिकेटको रूपरेखा बदलिन सक्छ।
नेपालले क्रिकेटको अन्तिम गन्तव्य टेस्ट राष्ट्र बन्न ओडीआई मान्यता बचाई राख्ने र आईसीसीको ननटेस्ट राष्ट्रहरूमध्ये पहिलो नम्बरको वरीयतामा पर्ने काम गर्नुपर्छ। त्यसका लागि खेलाडीलाई वर्षमा एकपटक होइन, वर्षैभरि खेल्ने वातावरण बनाउनुपर्छ। विद्यालय र जिल्लास्तरबाट खेलाडी छनोटका लागि गतिलो प्रदेशस्तरीय छनोट प्रतियोगिता हुनुपर्यो। प्रदेशस्तरमा लामो संरचनाको क्रिकेट प्रतियोगिता चलाउन सक्नुपर्यो। प्रदेश र जिल्लामा क्रिकेट बलियो नभएसम्म राष्ट्रिय टिम बलियो बन्न सक्दैन।
रणजी ट्रफीकै शैलीमा संघीय क्रिकेटको मोडालिटी बन्नुपर्यो। त्यति पनि सकिँदैन भने प्रधानमन्त्री कपलाई स्तरीय बनाउन सकिन्छ। अलि लामो समयसम्म खेलाएर उमेर समूहदेखि महिला क्रिकेटलाई समेत जोडेर खेलाउन सक्नुपर्यो। प्रदेशस्तरीय खेलबाट आउने खेलाडीहरूबाट गतिला ५० आसपासका खेलाडीलाई मासिक राम्रो पारिश्रमिक व्यवस्था गरेर नियमित खेल खेलाउन सकिन्छ।
यी प्रयासमा धेरै हदसम्म छिमेकी-भारतको सिको गर्न सकिन्छ। छिमेकी भएर पनि भारतीय क्रिकेटको सहयोग र साथ लिन नसक्नु नेपाली क्रिकेटको लागि निकै दुर्भाग्यपूर्ण स्थिति हो। भारतीय क्रिकेटको प्रदेशस्तरीय टिमसँग नेपाली सिनियर टिमको अभ्यास खेल गराउन सक्दा पनि खेलको गुणस्तर वृद्धिमा सहयोग गर्थ्यो। तर नेपाली क्रिकेट भारतको छायाँमा रहको देखिन्छ। यो दुखद हो।
किन निरीह क्यान?
क्यान जहिले पनि 'अन्य निकायले आफूलाई के गर्ला?' भन्ने डर मात्र पालेर बसेको देखिन्। न बलियो निर्णय गर्न सक्छ न कडा रूपमा उत्रन नै। त्यसबाहेक क्यान दुईचार जना खेलाडीमाथि कारबाहीको लौरी चलाएर मात्र बसेको छ।
क्रिकेट संघ बलियो भए खेलाडीले क्यानमाथि औँला उठाउन सक्ने अवस्था आउने थिएन। क्यान बलियो हुनपर्थ्यो तर भइदिए खेलाडी बलिया। जसले गर्दा क्यानलाई यतिसम्म डर भयो कि, अध्यक्ष चतुरबहादुर चन्दले एक कार्यक्रममा खेलाडीलाई उक्साउने पूर्वकप्तान पारस खड्का नै भएको अभिव्यक्ति दिए।
'अनुशासनको मामलामा कुनै पनि सम्झौता नगर्ने' चन्द नेतृत्वको क्यानमै सबैभन्दा बढी अनुशासनहीन काम भएका छन्। १० वर्षका लागि एक कम्पनीलाई कुनै पनि सार्वजनिक सूचनाबिना नै देशको सबैभन्दा ठूलो प्रिमियर लिगको जिम्मा दिएदेखि नै अनुशासनहीनताको शृङ्खला शुरू भएको हो। दुई-तीन वर्षको म्यान्डेट लिएर क्यानको टिम चलाउने पदाधिकारीले कुनै मापदण्ड पूरा नगरीकनै यति ठूलो निर्णय गर्नु नै अनुशासनहीनताको जब्बर उदाहरण हो।
खेलाडीहरूका समस्या अवश्य नै छन्, तर मिडियाबाजी गर्नु उचित होइन। खेलाडीहरूले तलब नपाएकोदेखि राम्रो खेल्दा पनि ग्रेड नपाएको भन्दै गुनासो गर्ने ठाउँ मिडिया नै बनाउन थालेका छन्। त्यसो हुँदा क्यानले खेलाडीको समस्या सुनिदिने एउटा निकाय बनाए धेरै हदसम्म समस्या समाधान हुन्थे।
अनुशासनहीनताको अर्को उदाहरण हो, राष्ट्रिय टिमको कप्तान नै बन्द प्रशिक्षणमा रहँदाका बखत बलात्कार आरोपमा थुनामा पर्नु। दुखको कुरा, अनुशासन र नैतिकताको गुड्डी हाँक्ने चन्द नेतृत्वको क्यानले बन्द प्रशिक्षणबाट बाहिर जान दिने म्यानेजरलगायत टिमलाई सामान्य अनुशासनको कारबाही समेत गर्न सकेन।
प्रशिक्षक टिकाउन हम्मे
नेपाली क्रिकेटमा अब मुख्य प्रशिक्षक ल्याउनैको लागि ठूलो कसरत पर्ने देखिन्छ। डेभ वाट्मोर केही समय रहे, एक वर्षे कार्यकाल पूरा नगर्दै बाहिरिए। पछि पुबुदु दासानायके आए, टिक्न नसकेर बाटो लागे। मनोज प्रभाकर आए, क्रिकेटलाई भद्रगोल बनाएर गए। मूल प्रशिक्षकलाई कम्तीमा दुई वर्षसम्म राख्न सक्दा मात्र नेपाली क्रिकेटको समग्र वातावरण बुझेर तिनले राम्रो परिणाम दिन सक्थे। तर अहिलेसम्म प्रशिक्षक ल्याउँदा ‘तातै खाउँ, जल्दै मरौँ’ गर्ने गरिएको छ।
लामो समय टिकाउनका लागि क्यानले नेपालले धान्न सक्ने र नतिजा दिन सक्ने स्तरको प्रशिक्षक मात्र ल्याउनुपर्छ। २/३ श्रृङ्खलाका लागि २/३ महिना मात्र ल्याउने हो भने सहायक 'सल्लाहकार प्रशिक्षक' ल्याए भइहाल्यो।
मूल समस्या क्यानभित्रै छ। क्यानले राम्रै काम गर्न खोजेको होला, तर नतिजा दिन नसकेपछि जतिसुकै मेहनतको पनि अर्थ हुँदैन। क्यानका पदाधिकारीहरू नै पक्ष-विपक्षमा सामाजिक सञ्जालदेखि मिडियासम्म भिडेका देखिन्छन्। त्यसको मतलब आन्तरिक सहमति गर्न नसक्नु क्यानको गम्भीर गल्ती हो। बहुमतको निर्णय भन्दै एकतर्फी र अपारदर्शी ढंगले गरिने निर्णयले कुनै गन्तव्यमा पुर्याउँदैन। क्यानले मूल रूपमा क्रिकेट विकास र व्यवस्थापनको काम गर्ने हो। तर खेलाडी छनोटदेखि विदेश भ्रमणमा को जाने भन्ने प्रतिस्पर्धाले मूल कर्ममा क्यान चुकेको देखिन्छ।
समर्थकको विभाजित भावना
क्रिकेटमा दर्शकलाई १२औँ खेलाडीका रूपमा मान्ने गरिन्छ। समर्थकबिनाको क्रिकेट खल्लो हुन्छ भन्ने कुरो एसोसिएट राष्ट्रका क्रिकेटरहरूले नेपाल आएर खेल्न पाउँदाको बखत सार्वजनिक गर्ने अभिव्यक्तिहरूबाट प्रस्ट हुन्छ। उनीहरू नेपाली क्रिकेटप्रतिको क्रेज देखेर नतमस्तक हुन्छन्। तर प्यारापिटमा थुप्रने समर्थकहरू पछिल्लो समय घट्दै गए।
हिजोका दिनमा नेपालले डिभिजनस्तरका खेल जितेर आउँदा पनि एयरपोर्टमा स्वागत गर्न जाने समर्थकहरूमा अहिले त्यति ऊर्जा छैन। नेपालले निरन्तर रूपमा आईसीसीका ठूला प्रतियोगितामा सहभागिता जनाउन असफल बन्नु, खेलाडीबारे उठ्ने अनेक प्रश्न र विवाद तथा खेलाडी र क्यानबीचका द्वन्द्व जिम्मेवार छन्।
खेलाडीहरूले नै आफूबीच चलाएको गुट, संघले खेलाडीमाथि दोष थोपर्ने अभ्यास, प्रशिक्षक र खेलाडीबीचको असमझदारीलगायत विविध पक्षहरू छन्, जसले क्रिकेट समर्थक दुई चिरामा बाँडिएका छन्। समर्थकको आश र अपेक्षा स्वाभाविक रूपमा बढ्दै जानु र सोही अनुपातमा नेपालले सुधारिएको प्रदर्शन दिन नसक्दा पनि क्रिकेटप्रतिको मोह घटेको हो। प्रदर्शनमा एकरूपता नहुनु समर्थकमा निराशा बढाउने अर्को कारण हो। जितभन्दा हारको शृङ्खला बढी हुनु पनि समर्थकको ऊर्जा घटाउने कारण हो।
जित हुँदा खराब पाटोको छलफल नहुनु, तर हारपछि मात्रै सबै कमजोरीको कुरो उठ्नुलाई अन्यथा मान्न मिल्दैन। तर खराब पाटो धेरै बल्झिरहँदा समर्थकको क्रेज घटेको हुनुपर्छ।
विकल्प के त?
नेपाली क्रिकेटको भविष्य खतरामा छ। जारी विश्वकप लिग-२ को प्रदर्शनले आईसीसीको हालसम्मको निर्णय अनुसार ओडीआई मान्यताको लागि फेरि अर्को दु:ख गर्नुपर्ने देखिन्छ। यही स्तरको खेलले बाँकी खेल जिते पनि नेपालले आफ्नो ओडीआई मान्यता बचाउन निकै गाह्रो छ। च्यालेन्ज लिग ए र बीबाट आएका टिमहरूबीच पुनः अर्को संघर्ष गर्नुपर्ने देखिन्छ।
चार वर्षको लागि पाएको ओडीआई मान्यतालाई पर्याप्त ढंगले प्रयोग गर्न नसक्नु र निलम्बन फुकुवा भएपछि बलियो संस्थाको रूपमा क्यान अगाडि बढ्न नसक्नु ठूलो गल्ती हो। खेलाडीले पाउँदै आएको सुविधादेखि आईसीसीको सहयोग नै कटौती हुने भएपछि घरेलु क्रिकेटमा त्यसले अझ समस्या ल्याउनेछ। प्रतिभावान् खेलाडी क्रिकेटबाट पलायन हुने डर छ।
यदि अब क्यान बलियो हुनेतर्फ लाग्ने हो भने, बाँकी अवसरलाई प्रयोग गरेर ओडीआई मान्यता बचाउनु पहिलो प्राथमिकता हो। त्यसको लागि क्यान आफैँ बलियो बन्दै खेलाडीलाई अनुशासनमा राखेर खेल खेलाउनेतर्फ लाग्नुपर्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
