नेपाल टी-२० लिग : फारवेस्टमाथि जनकपुरको फराकिलो जित

जनकपुरले दिएको १६२ रनको लक्ष्य पछ्याएको फारवेस्ट १५.१ ओभरमा सबै विकेट गुमाउँदै ७९ रनमा समेटियो।

काठमाडौँ– जनकपुर रोयल्सले नेपाल टी-२० लिगमा अंक तालिकाको पुछारमा रहेको फारवेस्ट युनाइटेडमाथि फराकिलो जित निकालेको छ। सोमबार सम्पन्न खेलमा जनकपुरले फारवेस्टमाथि ८२ रनको जित निकालेको हो।

जनकपुरले दिएको १६२ रनको लक्ष्य पछ्याएको फारवेस्ट १५.१ ओभरमा सबै विकेट गुमाउँदै ७९ रनमा समेटियो। फारवेस्टका कप्तान हशमतुल्लाह शाहिदीले सर्वाधिक ३२ रन बनाए। उनले ३२ बलमा २ चौका र १ छक्का प्रहार गरे।

तल्लोक्रमका राशिद खान १५ बलमा ३ चौकासहित १७ रनमा अविजित रहे। ओपनर भीम सार्की १६ रनमा आउट हुँदा अन्य कुनै ब्याटरले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

जनकपुरका समीउल्लाह शिनवारीले सर्वाधिक ३ विकेट लिए। ३ ओभर बलिङ गरेका उनले १६ रन खर्चिए। सोमपाल कामी र पवन सर्राफले २/२ विकेट लिए। शराफुद्दीन अशरफ, जितेन्द्र मुखिया र ललित राजवंशीको नाममा १/१ विकेट रह्यो।

त्यसअघि पहिला ब्याटिङ थालेको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १६१ रन बनाएको थियो। जनकपुरका सन्दीप जोराले अर्धशतक बनाए। ३२ बलमा उनले १ चौका र ५ छक्का प्रहार गर्दै ५५ रन बनाए।

कप्तान तथा ओपनर ट्रिभोन ग्रिफिथले २२ बलमा २ चौका र २ छक्कासहित ३२ रन बनाए। चाड्विक वाल्टन २४ शराफुद्दीन अशरफ २० र राजेश पुलामी १६ रनमा आउट भए।

फारवेस्टका प्रकाश जोशीले सर्वाधिक ३ विकेट लिए। उनले ४ ओभर बलिङ गर्दै २५ रन दिए। भुवन कार्कीले २ र नूर अमहदको नाममा १ विकेट रह्यो।

जितसँगै दोस्रो स्थानमा रहेको जनकपुरले ७ खेलबाट १० अंक जोडेको छ। पराजित फारवेस्ट ६ खेलमा २ अंक जोड्दै तालिकाको पुछारमा रहेको छ।