बिग बास लिगमा माइकलले लिएको क्याच विवादमा

बिग बास लिगमा ब्रिस्बेन हिट र सिड्नी सिक्सर्सबीचको खेलमा माइकल नेसेरले लिएको क्याचलाई लिएर विवाद उत्पन्न भएको छ।

अस्ट्रेलियामा जारी बिग बास लिगमा एउटा क्याचलाई लिएर विवाद उत्पन्न भएको छ। आइतबार सम्पन्न ब्रिस्बेन हिट र सिड्नी सिक्सर्सबीचको खेलमा माइकल नेसेरले लिएको क्याचलाई लिएर विवाद उत्पन्न भएको हो।

खेलको १९औँ ओभरको दोस्रो बलमा सिक्सर्सका जोर्डन सिल्कले एक्स्ट्रा कभरतर्फ हावामा सट हानेका थिए। तर, एक्स्ट्रा कभरमा रहेका माइकलले तेस्रो प्रयासमा उनलाई क्याच आउट गराए। यो क्याचलाई लिएर अहिले विवाद शुरू भएको हो।

नेसेरले बाउन्ड्री लाइनभित्र क्याच गर्दै बल हावामा फ्याँकेका थिए। तर, उक्त बल बाउन्ड्री लाइनबाहिर गएको थियो। नेसरले बाउन्ड्रीबाहिर गएर हावामा उफ्रिँदै बललाई बाउन्ड्रीभित्र ल्याएका थिए। त्यसपछि बाउन्ड्रीभित्र गएको बललाई अर्का खेलाडीले क्याच गरे। टिभी अम्पायरले सिल्कलाई आउट दिए र उनको टोलीले उक्त खेल १५ रनले हार्‍यो।

यो क्याचपछि क्रिकेट विज्ञहरू पनि अलमलमा परेका छन्। धेरै विज्ञहरूले बाउन्ड्रीबाहिर गएर फिल्डरले क्याच लिए त्यसलाई मान्यता दिन नहुने तर्क गरेका छन्, केहीले यो नियमसंगत रहेको दाबी गरेका छन्।

एमसीसीको नियमले के भन्छ?
मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) को नियम नम्बर १९.५.२ मा यस प्रकारको क्याचले मान्यता पाउने उल्लेख गरिएको छ। यस नियमअनुसार फिल्डरले क्याच लिँदा पहिला बललाई छुँदा उसको खुट्टा बाउन्ड्रीभित्र हुनुपर्छ। त्यसपछि क्याच पूरा गर्दा पनि फिल्डरको खुट्टा बाउन्ड्रीभित्र हुनुपर्छ।

नियमअनुसार बाउन्ड्रीबाहिर हावामा उफ्रिएर बललाई ब्राउन्ड्रीभित्र फ्याँक्न पाइन्छ। तर, बाउन्ड्रीबाहिर खुट्टाले भुईँमा टेकेर बललाई छुन भने पाइँदैन। यसो गर्दा क्याच पूरा भएको मानिने छैन र ब्याटर नटआउट रहनेछ।

बिग बासमा क्याच लिँदा माइकलले एमसीसीको नियम पालना गरेका देखिन्छ। पहिलोपटक बल छुँदा उनी बाउन्ड्रीभित्र थिए र क्याच पूरा गर्दा उनीका साथी बाउन्ड्रीभित्र थिए। यसैबीचमा उनी ब्राउन्ड्रीबाहिर गएका थिए। तर, त्यहाँ उनले भुईँमा टेकेर बललाई छोएनन्। उनले हावामा उफ्रिएर बललाई बाउन्ड्रीभित्र फ्याँके। त्यसैले उनको क्याचलाई मान्यता दिइयो र सिल्कलाई आउट घोषित गरियो।

फिल्डर किन बाउन्ड्रीबाहिर उभिन पाउँदैनन्?
फिल्डरले बाउन्ड्री बाहिरबाट क्याच गर्न सक्छ कि सक्दैन? भन्ने विषयमा पनि धेरै बहस भएका छन्। त्यसो भए किन बल हावामा हुनुअघि नै फिल्डरलाई बाहिर उभ्याउनुहुन्न? भन्ने कुरा पनि उठ्ने गरेको छ। एमसीसीको नियम नम्बर १९.५.२ मा बलरले बल फाल्नुअघि सबै फिल्डर बाउन्ड्रीभित्र बस्नुपर्छ।

बल फ्याँकेपछि पनि फिल्डरले बललाई एकपटक बाउन्ड्रीभित्र छुनु पर्छ। त्यसपछि मात्र उसले बाउन्ड्रीबाहिर गएर क्याच वा बाउन्ड्री बचाउने प्रयास गर्न सक्छ। साथै, यदि फिल्डर बल फ्याँक्नुअघि बाउन्ड्रीबाहिर उभिएमा त्यो बललाई नो बल घोषित गरिने छ।