तामझामसहित उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अपेक्षा विपरीत आन्तरिक उडानमा मात्रै सीमित हुने त हैन भन्ने अन्योल सिर्जना भएको छ।
पोखरा- राष्ट्रिय गौरवको आयोजनाका रूपमा हेरिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएको छ। अंग्रेजी नयाँ वर्षको छेको पारेर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विमानस्थलको उद्घाटन गरेका हुन्।
विभिन्न लोक झाँकीसहित नगर परिक्रमा गर्दै ठूलो तामझामका साथ सोमबार पोखरामा विमानस्थल उद्घाटन भयो। उद्घाटनका अवसरमा पोखरा महानगरपालिकाले महानगर मातहतका सबै कार्यालयमा सार्वजनिक बिदा दिई उद्घाटन समारोहमा सहभागी हुन आह्वान गरेको थियो।
उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहालसँगै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल, प्रदेश तथा संघका सांसदसहित उच्चपदस्थ कर्मचारी तथा पोखरेलीको उल्लेख्य उपस्थिति थियो।
यद्यपि ठूलो उत्साह र तामझामसहित उद्घाटित विमानस्थलबाट बाह्य मुलुकमा उडान हुने/नहुनेबारे भने अझै टुंगो लाग्न सकेको छैन। हाललाई नयाँ विमानस्थलबाट आन्तरिक उडान मात्रै सञ्चालन गर्ने गरी विमानस्थलको उद्घाटन गरिएको हो।
विमानस्थलका प्रवक्ता अनुप जाेशीले हिमालय एयरलाइन्सकाे एयरबस ३२० जहाजले विमानस्थलबाट सफलतापूर्वक अवतरण र उडान गरेकाे बताए। “त्याे लेबलको जहाज आउँछन् भन्ने संकेत हाे। १५८ सिट क्षमताका जहाज आउन सक्छन् भन्ने प्रमाणित भयाे”, उनले भने।
जाेशीले तत्कालै अन्तर्राष्ट्रिय उडानका लागि अनुमति पाउने/नपाउनेबारे भने यसै भन्न सकिने अवस्था नरहेकाे बताए।
उद्घाटन समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले विमानस्थलबाट पोखरासँग संसारभरिका धेरै राष्ट्र सोझै जोडिने बताए। विमानस्थल निर्माणका लागि आफूले अथक प्रयासस्वरूप निरन्तर दबाब दिएकाले समयमै निर्माण सम्पन्न भएको दाबी दाहालले गरे। उनले भने, “विमानस्थलले कास्की, गण्डकीको मात्र होइन, राष्ट्रकै अर्थतन्त्रलाई टेवा पुर्याउने सुनिश्चित छ। प्रधानमन्त्रीको हैसियतले समृद्धिको चाहना पूरा गर्न सक्दो सहयोग पुर्याउने कोसिस गर्छु।”
आफ्नो जन्मस्थलमा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्दैगर्दा नयाँ ऊर्जा प्राप्त भएको समेत प्रधानमन्त्री दाहालले बताए।
कार्यक्रममा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विमानस्थल सञ्चालनपछि देशको पर्यटन प्रवर्द्धनका लागि असाधारण योगदान गर्ने विश्वास लिएको बताए। विमानस्थल निर्माणका लागि पोखरेलीले गरेको प्रयासको सम्मान गर्न चाहेको उनले बताए।
विमानस्थल बनेसँगै अधिक प्रयोगमा ल्याउन चुनौती समेत थपिएको उनको भनाइ थियो। “यसलाई कसरी प्रयोग गर्ने, नयाँ अजेन्डा बनेको छ। विमानस्थलको भरपुर उडान गर्न प्रभावकारी पहल गर्न क्यानलाई आग्रह गर्छु, पूर्ण प्रयोगमा ल्याउन अर्थ मन्त्रालयबाट कुनै सहयोग आवश्यक परे क्यानलाई पूर्ण सहयोग हुने छ”, उनले भने।
चीनको एक्जिम बैंकको २२ अर्ब रुपैयाँ ऋण सहयोगमामा निर्माण सम्पन्न भएको विमानस्थलको रन वे २५ सय मिटर लामो छ।
विमानस्थलले देशकै अर्थतन्त्रलाई टेवा पुर्याउने विश्वाससहित विमानस्थलको उद्घाटन गरिए पनि विमानस्थल कुन मोडेलमा सञ्चालन हुने तथा विमानस्थलको भरपुर प्रयोग गर्ने तौरतरिकाबारे न नागरिक उड्डयन प्राधिकरणले भन्न सकेको छ, न राज्यका उच्च ओहोदामा बसेका व्यक्तिहरूले नै भन्न सके। प्रधानमन्त्री दाहाल र अर्थमन्त्री पाैडेलले विमानस्थललाई सक्दाे सहयाेग गर्ने बाचा मात्रै गरे। तर, आन्तरिक अड्डामा मात्र सीमित विमानस्थललाई बृहत् बनाउन के-कस्ता कार्यनीति छन् भन्ने विषयमा प्रवेशै गर्न चाहेनन्।
त्यस्तै, विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान हुने/नहुने अन्योलसमेत छ। बुद्ध एयरले १ महिना अगाडि नै नेपालमा कागजी प्रक्रिया पूरा गरी भारतसँग पोखरा-बनारस उडान अनुमति मागेको भएपनि भारतले हालसम्म उडान अनुमति दिएको छैन। बुद्ध एयर सेल्स मार्केटिङ डाइरेक्टर रुपेश जाेशीले एक महिनाअघि नै सबै प्रक्रिया पूरा गरेर कागज पठाए पनि कुनै प्रतिक्रिया नआएकाे बताए। “डिसेम्बर १५ तिर हामीले भारत सरकारलाई रुटका लागि पठाएका हाैँ, अहिलेसम्म कुनै प्रतिक्रिया नै आएकाे छैन”, उनले भने।
त्यस्तै, विमानस्थल उद्घाटनपछि पनि सहज उडानका लागि तयार भइनसकेको देखिएको छ। विमान उडान र अवतरणमा समस्या पर्ने देखिएपछि अहिले पनि पूर्वमा पर्ने रिठ्ठेपानी डाँडाको २४ मिटर भाग कटान भइरहेको छ। यस्तै, ३ किलोमिटर दूरीमा रहेको ल्यान्डफिल साइटका कारण विमानस्थलमा चराहरूको गतिविधि बढ्ने देखिएपछि ल्यान्डफिल साइट सार्नुपर्ने देखिएको छ।
‘आन्तरिक अड्डा सारेर मात्र हुँदैन’
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष तथा अर्थतन्त्रका जानकार आनन्दराज मुल्मी पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा पोखरेलीले आंशिक सफलता मात्र प्राप्त गरेको बताउँछन्।
निर्माण सम्पन्न हुनुमात्र ठूलो कुरा नहुने उनको जिकिर छ। “निर्माण सम्पन्न भएपछि विश्वका विभिन्न शहरसँग प्रत्यक्ष सम्पर्क राखेर नेपालको कूल अर्थतन्त्रलाई टेवा पुर्याउने, बाह्य देशसँग सम्पर्क हुने हाम्रो अपेक्षा थियो, त्यो अधुरै रहेको छ”, उनले भने, “आजकै उद्घाटन समारोहमा पनि प्रधानमन्त्री र अर्थमन्त्रीज्यूले यस विषयमा ठूलो कमिटमेन्ट व्यक्त गरेको पाएनौँ।”
२५ सय मिटरको रनवे ३ हजार मिटरको नबनाएसम्म पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पहिचान स्थापित हुन नसक्ने उनको भनाई छ। सरकारले बेलैमा यसबारे नसोचे आफूहरूले आवाज उठाउने उनले बताए।
आन्तरिक अड्डा एक ठाउँबाट अर्को ठाउँ सार्न मात्रै विमानस्थल निर्माण नभएको उनको भनाइ छ। “गण्डकी प्रदेशकै आम जनताको कर्तव्य मात्र होइन, यत्रो ठूलो लगानीको सार्थक उपयोगका लागि हामी सबैले प्रयास गर्न जरुरी छ”, उनले भने, “आगामी दिनमा यस विषयमा बहस अघि बढाउँछौँ।”
पोखरा उद्योग वाणिज्य महासंघ अध्यक्ष तथा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका अभियन्ता विश्वशंकर पालिखेले भने ४७ वर्षको पर्खाइपछि विमानस्थल बनेको भन्दै आजको भोलिमै सबैथोक भइहाल्छ भनेर आशा गर्न नहुने बताए।
पालिखेले पोस्ट कोभिड पिरियड भएकाले ठूला एयरलाइन्स अझै पनि नतंग्रिएको दाबी गर्दै यस्तोमा नयाँ गन्तव्यमा जहाज हाल्न कठिन हुने समेत बताए।
केन्द्रीयता हाबी हुनाले पनि कतिपय काममा बाधा पुग्ने उनको भनाइ छ। विमानस्थलको भरपुर प्रयोगका लागि पोखराबाट भद्रपुर, विराटनगर, नेपालगन्ज, धनगढी जस्ता ठाउँमा उडान गर्न सके सीमा देशबाट पर्यटक भित्र्याउन सकिने उनको भनाई छ।
“शुरूमा बढी भन्दा बढी आन्तरिक फ्लाइटका लागि प्रयास गरौँ। हामीले नचल्ने गन्तव्य लिए घाटामा जान्छौँ, चल्ने गन्तव्य चाहियो। जस्तो, लखनउ, भारतको जुनकुनै ठाउँ जाने केन्द्र हो, सयौँ फ्लाइट चल्छ। यस्ता गन्तव्यमा हामी दोस्रो फेजमा जाऊँ”, उनले भने।
चीन सरकारसँग पनि विमानस्थलको सफलताका लागि उडान रुटबारे प्रस्ताव राख्न सकिने उनको भनाइ थियो। विमानस्थल सफलतापूर्वक सञ्चालन गर्न राज्य र नागरिक उड्डयन प्राधिकरणको जिम्मेवारी ठानेर पन्छिन नहुने उनको तर्क छ।
“यहाँ तीन पक्ष छ। एउटा स्थानीय र हामी पर्यटन व्यवसायी। दोस्रो एयरलाइन्स अपरेटर र तेस्रोमा बल्ल राज्य हो”, उनले भने, “यी तीन पक्षले विमानस्थलबाट मेक्सिमम उपयोग कसरी लिन सकिन्छ भनेर संयुक्त रूपमा सोचे मात्र सफलता मिल्छ।”
पोखराबाट अहिले काठमाडौँ, भैरहवा, मुस्ताङ, धनगढी, चितवन, सिमरा, जनकपुर, विराटनगरमा हवाई उडान हुने गरेको छ। पाेखरा भित्रिने विदेशी पर्यटक सिधै पाेखरा अवतरण गर्न पाउने भएपछि पर्यटककाे संख्या समेत बढ्ने आशा पर्यटन व्यवसायीको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
