कमजोर कृतिलाई पनि स्तरीय छ भनेर बेच्ने बजार, यसलाई सघाउने मिडिया र मस्तिष्कहरूबाट बच्न सक्नुपर्छ। कमजोर कृतिलाई पनि स्तरीय भनेर बेच्ने समयमा छौं हामी। साहित्यलाई पिजा र बर्गरजस्तै बनाइएको छ।
पुस्तक प्रकाशित हुन थालेको सैयौँ वर्ष भएको छ। पुस्तक प्रकाशित हुनुभन्दा धेरै अघिदेखि मानिसले लेख्न थालेको हो। लिपिको आविष्कारले लेखनलाई सम्भव बनाएको थियो। यसभन्दा अघि मानिसले अनुभव र ज्ञानलाई मौखिक रूपमा प्रस्तुत गर्थ्यो। सुनाइका माध्यमबाट अनुभव र ज्ञान एउटा पिँढीबाट अर्को पिँढीमा हस्तान्तरित हुन्थे। सबैभन्दा लामो समय अनुभव र ज्ञान यसैगरी हस्तान्तरित भएका छन्। यो परम्परा आज पनि जीवित छ।
सबैले लेख्दैनन्। सबैसँग लेख्ने सीप पनि हुँदैन। उनीहरूसँग अनुभव र ज्ञान भने हुन्छ। त्यसलाई उनीहरू सुनाउँछन् र हस्तान्तरण गर्छन्। अहिले पनि यसो गर्नेहरू नै संसारमा सबैभन्दा धेरै छन्। लेख्नेहरूको संख्या त निकै थोरै छ।
समाजको विकास सँगसँगै ज्ञानको क्षेत्रमा पनि विकास भयो। ज्ञानका अनेकन् शाखाहरू जन्मिए। विद्यालय, महाविद्यालय र विश्वविद्यालयहरू खुले। यस सँगसँगै पुस्तक लेख्नेको संख्या पनि बढ्यो। ज्ञानका विभिन्न शाखाहरूसँग सम्बन्धित हजारौँ पुस्तकहरू लेखिन र छापिन थाले। एकथरी पुस्तकहरू पाठ्यक्रमसँग सम्बन्धित रहे। अर्काथरी पुस्तकहरू अध्ययन अनुसन्धान र सिर्जनासँग सम्बन्धित रहे। आज पनि पुस्तकहरू यसैगरी लेखिँदै छन्। प्रत्येक वर्ष विभिन्न विषयका लाखौँ पुस्तकहरू छापिन्छन्। एक अध्ययनअनुसार वर्ष दिनमा औसतमा पाँचदेखि दश लाखसम्म विभिन्न शीर्षकका पुस्तकहरू छापिन्छन्। 'ई' प्रकाशनहरूको संख्या बेग्लै छ।
मानिसहरूको अभिरुचिअनुसार उनीहरूले पढ्ने पुस्तकहरू पनि भिन्न–भिन्न हुन्छन्। कोही मानवशास्त्रका पुस्तक पढ्न रुचाउँछन्, कोही इतिहासका। कोही अर्थशास्त्र पढ्न रुचि राख्छन् त कोही संस्कृति, दर्शनशास्त्र र भूगोल। रुचिको यस्तो भिन्नतालाई स्वाभाविक मानिन्छ र मान्नुपर्छ। यही रुचिभेद नै ज्ञानका विभिन्न शाखाहरूको जन्म र विकासको मूल आधार पनि हो। यो अभिरुचि आवश्यकता र प्रगतिको आकांक्षासँग सम्बन्धित रहेको छ। जीवन र जगत्लाई बुझ्ने जिज्ञासा पनि यसमा रहेको पाइन्छ। मनुष्यको प्रगतिको कथा, अर्को शब्दमा ज्ञानको कथा पनि हो। ज्ञान र प्रगति एक आपसमा जोडिएका छन्। प्रगति ज्ञानबिना अधुरै रहन्छ। ज्ञान पनि प्रगतिबिना अपूर्ण नै रहन्छ।
मानिसहरूले आ–आफ्नो रुचिअनुसारका विभिन्न क्षेत्रसँग सम्बन्धित पुस्तकहरू पढे पनि साहित्य, कला र संगीतप्रति प्राय: सबैको रुचि पाइन्छ। आ–आफ्नो क्षेत्रको विषयगत अध्ययनका अतिरिक्त पनि मानिसहरू साहित्यका पुस्तक पढ्छन्। कलालाई नियाल्छन् र गीतसंगीत सुन्छन्। यसबाट उनीहरूलाई ज्ञान, शिक्षा र आनन्द प्राप्त हुन्छ।
साहित्य, कला र संगीत सौन्दर्यानन्द प्राप्त गर्ने सिर्जनात्मक रचनाहरू हुन्। यसै कारण एउटा वैज्ञानिक पनि उपन्यास पढ्छ र अर्थशास्त्री पनि। एउटा इतिहासकार पनि कविता पढ्छ र मानवशास्त्री पनि। राजनीतिज्ञले निबन्ध पढ्छ र संस्कृतिविद्ले पनि। सुन्दर गीतसंगीतबाट सबै भावविभोर र आनन्दित हुन्छन्।
सुन्दर कलाले सबैको मन लोभ्याउँछ। साहित्य, कला, संगीतबाट प्रबुद्ध मात्र होइन, सामान्य मानिसहरू पनि प्रभावित हुन्छन्। जीवन र समाजका निम्ति उपयोगी रचनाहरू नै सुन्दर हुन्छन्। तिनले मानिसलाई अघिल्तिर बढ्न, अन्यायको प्रतिवाद गर्न, मानवता र सामूहिकताका पक्षमा उभिन, स्वतन्त्रता, समानता, सामाजिक न्याय र जीवनको सौन्दर्यको पक्षमा खडा हुन सिकाउँछन्। साहित्य, कला र संगीतमा मानिसले आफूलाई पाउँछ। त्यसैले ती उनीहरूका निम्ति प्रिय हुन्छन्।
मानिसका निम्ति पुस्तक इतिहासदेखि नै प्रिय रहँदै आएको छ। प्रत्येक वर्ष लाखौँ शीर्षकमा छापिने पुस्तकहरू करोडौँ मानिसले पढ्छन्। अहिले पनि मानिस सबैभन्दा बढी छापिएका पुस्तक नै पढ्छन्। एक अध्ययनले अमेरिकाजस्तो प्रविधिको विकास भएको मुलुकमा पनि ७५ प्रतिशत पाठक छापिएका पुस्तकहरू पढ्छन् भनेर देखाउँछ। ई-पुस्तक पढ्नेहरू अहिले बढेका छन्। भनिन्छ ई-पुस्तकले छापालाई उछिन्न अझै केही समय लाग्नेछ।
छापिएका पुस्तक पढ्नुको आफ्नै मजा छ। यो बानी र परम्पराको कुरा मात्र होइन, सौन्दर्यको कुरा पनि हो। भविष्यमा मानिसले छापिएका पुस्तकहरू नै धरै पढ्नेछ वा पढ्नका निम्ति धेरै डिजिटल संसारलाई रुचाउनेछ, अहिले नै केही भन्न सकिन्न। छापिएका पुस्तकहरू धेरै पढिनु अहिलेको यथार्थ हो।
पुस्तक मानिसका सुख–दु:खको मित्र, संज्ञान र शिक्षाका माध्यम, विश्वसनीय गुरु, अँध्यारोमा उज्यालो प्रदान गर्ने सूर्य र अपूर्व आनन्दका स्रोत हुन्। पुस्तकमा मानिसले आफूलाई पाउँछ, नियाल्छ, हाँस्छ, रुन्छ, गम्भीर र संवेदनशील हुन्छ। खास गरी साहित्यको जादु नै दुःखमा पनि, आँसुमा पनि आनन्दको अनुभूति हुनु हो। वास्तविक जीवनमा यस्तो हुन्न। साहित्यको खास विशेषता हो यो। साहित्य विशिष्ट मानिनुको एउटा महत्त्वपूर्ण कारण मानिन्छ यसलाई।
हेमिङवेले किताबजस्तो इमानदार मित्र कोही हुन्न भनेका छन्। बोल्नुभन्दा पहिले सोच र सोच्नुभन्दा पहिले पढ भन्छन् लेवोवित्ज। ल्युमिङ राम्रो किताबको कुनै अन्त्य हुन्न भन्छन्। सोच्न र जान्नका निम्ति किताब पढ्न आवश्यक छ, तर सोच्न र जान्नका निम्ति मात्र किताब पढ्नुहुन्न, संसारलाई फेर्नका लागि पनि पढ्नुपर्छ भन्छन् गोर्की।
वेरा नजिरियनको कथन छ- राम्रो किताब पढेपछि प्रकाशको नयाँ ढोका खुल्छ। जीवनमा पुस्तकको महत्त्व दर्शाउने यस्ता भनाइहरू हजारौँ छन्। यी केही उदाहरण मात्रै पनि पुस्तकको महत्त्व दर्शाउन पर्याप्त छन्। पुस्तक अहंको तुष्टि र अरूभन्दा आफूलाई भिन्न र विशिष्ट देखाउन पढिन हुन्न। पण्डित बनेर अरूमाथि आफ्नो धाक जमाउन पढ्नेहरूको सङ्ख्या पनि कम छैन। यस्तो पठनको कुनै अर्थ हुन्न। पठनले त आफूलाई जान्नु र फेर्नुको साथसाथै अरूलाई बद्लिन पनि सहयोग पुर्याउनुपर्छ। पठनले मानिसलाई स्वार्थ, अहंकार, संकीर्णता, अन्धविश्वास, रुढी, क्षुद्रता, अतार्किकता, अवैज्ञानिकता आदिजस्ता कुराहरूबाट मुक्त गर्न सक्नुपर्छ। सौन्दर्यशास्त्री बोरोन्स्की पूर्वाग्रह, मतान्धता, क्षुद्रता, संकीर्णता र अहंकारले हाम्रो आँखामा पर्दा हाल्छन् र हामी पुस्तक एवं प्रकृतिबाट सौन्दर्यानन्द प्राप्त गर्न सक्दनौँ भन्छन्। साहित्यले यसको अन्त्यका निम्ति भूमिका सम्पादन गर्छ भन्छन् उनी।
पठनको संसारमा कस्तो पुस्तक पढ्ने भन्ने कुराले औधी महत्त्व राख्छ। पुस्तकहरूको संसारमा नराम्रा र स्तरहीन पुस्तकहरूको संख्या पनि कम छैन। वास्तविक जीवनबोधबाट विरत तुल्याउने, कामुकता र विलासितालाई बढाउने, स्वार्थी र व्यक्तिवादी बनाउने, स्वतन्त्रता, समानता र सामाजिक न्यायको विपक्षमा उभ्याउने, संवेदना र गाम्भीर्यलाई नष्ट गर्ने पुस्तकहरूको पठनले मान्छेलाई जिम्मेवार र असल बनाउँदैन। व्यक्ति अघि बढ्दैन, अलमलिन्छ, उल्टै पछाडि फर्कन्छ।
नराम्रा र स्तरहीन पुस्तकहरूका बीचबाट राम्रा र स्तरीय पुस्तकहरू छान्न सजिलो छैन। बजारलाई सहयोग पुर्याउने माध्यम र मस्तिष्कले यसलाई अझ गाह्रो बनाएका छन्। बजार नराम्रो वा कमसल कुरालाई पनि आकर्षक आवरण र प्रचारसहित बेच्न सिपालु छ। प्रचार माध्यमहरूले यसलाई सघाउँछन्। हामी विज्ञापनको जादुमय संसारमा छौँ। यसलाई सघाउने मस्तिष्कहरू छन्। द्रव्यका निम्ति उनीहरू जे गर्न पनि तयार हुन्छन्। प्रचारको मायावी संसारले पाठकहरूका अघि भ्रम सिर्जना गर्छ। त्यसो हुँदा हामी नराम्रोलाई पनि राम्रो ठानेर किन्नपुग्छौँ। यसरी झुक्किने पाठकहरूको संख्या अहिले हजारौँ होइन, लाखौँ छ।
बजारले योजनाबद्ध रूपमा काम गर्छ। कमसल सामग्रीलाई पनि उम्दा सम्झने विचारधाराको निर्माण नै आजको बजारले गरेको छ। आजको बजार वस्तुहरूको क्रय-विक्रय हुने ठाउँ मात्र होइन, विचारधारा पनि हो। सत्यम्, शिवम्, सुन्दरम्विरुद्ध प्रहार गर्नु यसको चरित्र हो। पुस्तक समीक्षा वा पुस्तक पढेका पाठकहरूको पुस्तकबारेका भनाइहरू पढेर प्राय: पाठकहरू आफ्नो धारणा बनाउँछन्। पुस्तकबारे धारणा बनाउन विज्ञापन र सामाजिक सञ्जालले पनि भूमिका खेल्छन्। विज्ञापन र सामाजिक सञ्जालका आधारमा पुस्तकबारे धारणा बनाउन सजिलो छैन। यसबाट ठगिने सम्भावना नै बढी हुन्छ।
पुस्तक समीक्षा पुस्तकबारे धारणा बनाउने तुलनात्मक रूपमा सबैभन्दा भरपर्दो आधार हो। प्रबुद्ध पाठकका पुस्तकसम्बन्धी औपचारिक-अनौपचारिक टिप्पणीहरूले पनि पुस्तकबारे धारणा बनाउन सघाउँछन्। हाम्रोजस्तो मुलुकमा गरिने पुस्तक समीक्षाहरू धेरै भरपर्दा हुँदैनन्। केही पुस्तक समीक्षालाई छाडिदिने हो भने अरू प्रायोजित लाग्छन्। त्यहाँ पुस्तकको समीक्षा होइन, प्रशंसा हुन्छ। यो व्यवसायसँग जोडिएको त हुन्छ नै, लेखकलाई खुसी बनाउने चाहना पनि यसमा हुन्छ।
अर्का थरी समीक्षकहरू कृतिको सम्यक् समीक्षाभन्दा त्यसको आलोचना गर्न मात्र रुचि राख्छन्। यी दुवै थरी आफ्नो कर्मप्रति इमानदार पाइन्नन्। यस प्रकारको प्रवृत्तिका कारण पाठकहरू ठगिन्छन् र ठगिँदै आएका छन्। बेलाबखत् म आफैँ पनि ठगिएको छु। यस्तो समस्या अन्तर्राष्ट्रिय जगतमा पनि कम-वेसी पाइन्छ। हामीकहाँ भने यो समस्या अलि बढी नै रहेको छ। यसबाट साहित्य लेखन पनि प्रभावित छ।
समकालीन साहित्यको स्तरीयता, सोबारे गरिने प्रश्नहरू यससँग सम्बन्धित छन्। स्तरीय साहित्य लेखनका निम्ति स्तरीय समीक्षाले सहयोग पुर्याउँछ। समीक्षा कमजोर भएपछि वा त्यसले बाटो बिराएपछि त्यसको दुष्प्रभाव स्तरीय साहित्य सिर्जनामा पनि पर्छ। यस्तो स्थितिका माझ पाठकले गम्भीर समीक्षकको पुस्तक समीक्षालाई महत्त्व दिनुपर्छ। सम्बन्धित लेखकका बारेमा सोधखोज गर्नुपर्छ। पाठकले अलिकति जोखिम भने मोल्नै पर्छ।
मूल कुरो, बजारको वर्चस्व र मुनाफा प्रमुख भएको आजको समयमा पाठकहरू कमजोर कृतिलाई पनि स्तरीय छ भनेर बेच्ने बजार, यसलाई सघाउने मिडिया र मस्तिष्कहरूबाट बच्न सक्नुपर्छ। कमजोर कृतिलाई पनि स्तरीय भनेर बेच्ने समयमा छौँ हामी। साहित्यलाई पिजा र बर्गरजस्तै बनाइएको यथार्थ हाम्रासामु छ। यसबाट हामी सबै सचेत रहनु उचित हुन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
