नेपाल टी २० लिग : फारवेस्टमाथि पोखराको जित

जितसँगै ६ खेलमा २ अंक जोडेको पोखरा अंक तालिकाको पाँचौँ स्थानमा छ भने समान अंक रहेको फारवेस्ट अन्तिम स्थानमा छ।

काठमाडौँ– पोखरा एभेन्जर्सले नेपाल टी २० लिगमा पहिलो जित निकालेको छ। शुक्रबार सम्पन्न खेलमा पोखराले फारवेस्ट युनाइटेडलाई ५ बल बाँकी छँदै ३ विकेटले पराजित गरेको हो।

फारवेस्टले दिएको १८८ रनको लक्ष्य पोखराले १९ १ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्‍यो। पोखराका ओपनर आशिफ शेखले सर्वाधिक ४५ रन बनाए। उनले ३३ बलमा २ चौका र २ छक्का प्रहार गरे। कुशल मल्लले २२ बलमा ५ चौकासहित ४० रन बनाए।

ओपनर सुमित महर्जन ३८, सिद्धार्थ लोहनी २३ र अमिर हाम्जा १२ रनमा आउट भए।

फारवेस्टका करण केसी, उमैर अली र प्रकाश जोशीले २/२ विकेट लिए। भुवन कार्कीको नाममा १ विकेट रह्यो।

त्यसअघि टीयू क्रिकेट मैदानमा पहिला ब्याटिङ थालेको फारवेस्टले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८७ रन बनाएको थियो। उसका लागि उमैर अलीले सर्वाधिक ४२ रनको योगदान दिए। उनले २६ बलमा ५ चौका प्रहार गरे।

ओपनर देव खनालले ३१ बलमा ३ चौका र १ छक्कासहित ३३ रन बनाए। तल्लोक्रमका राशिद खान ३२, हासिम अन्सारी र विनोद भण्डारी समान १७ रनमा आउट भए।

पोखराका लागि जाहिर खानले सर्वाधिक ३ विकेट लिए। उनले ४ ओभरमा २४ रन दिए। अमिर हम्जा र तुल थापाले २/२ विकेट लिए। कुशल मल्ल र आशिफ शेखको नाममा १/१ विकेट रह्यो।

जितसँगै पोखराले ६ खेलमा २ अंक जोडेको छ। पोखरा अंक तालिकाको पाँचौँ स्थानमा छ। समान अंक भएको फारवेस्ट तालिकाको अन्तिम स्थानमा छ। उसले ५ खेल खेलेको छ।