तमु ल्होसारका लागि दिइने आर्थिक सहयोग बढाउने प्रधानमन्त्री दाहालको प्रतिबद्धता

प्रधानमन्त्री दाहालले तमु समुदायले आर्जन गरेको वीरता र बलिदान नेपाल राष्ट्र र नेपाली जनताका लागि गर्वको विषय भएको उल्लेख गरे।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले तमु समुदायको गौरवशाली परम्परालाई सरकारले उच्च सम्मान गर्ने बताएका छन्। तमु ल्होसारको अवसर पारेर शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित विशेष समारोहमा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्। 

उनले इमानदार, लगन, निष्ठा, वीरता र बलिदानको कीर्तिमानका कारण तमु समुदायको पहिचान नेपालमा मात्रै नभई विश्वभर फैलिएको बताए। तमु समुदायले आर्जन गरेको वीरता र बलिदान नेपाल राष्ट्र र नेपाली जनताका लागि गर्वको विषय भएको पनि प्रधानमन्त्री दाहालले उल्लेख गरे। उनले तमु ल्होसारका लागि सरकारले गर्दै आएको आर्थिक सहयोग बढाउने प्रतिबद्धता जनाए।

"तमु समुदायको संस्कृतिप्रति अभिरुचि,उनीहरूको विविधता, मौलिकता र उनीहरूले रसिकताका साथ आफ्नो जीवन निर्वाह गर्ने सांस्कृतिक दृष्टिकोणले पनि आफ्नो मौलिकता र पहिचानयुक्त रहँदै आएको छ। आफ्नो मौलिक नृत्य, वाद्यवादनले उनीहरूको संस्कृतिप्रतिको अभिरुचि, लगाव, निष्ठा र आफ्नो जीवन बाँच्ने मौलिक परम्परालाई राम्रोसँग स्थापित गरेको छ। हामीलाई थाहा छ– यो तमु ल्होसार आज काठमाडौँमा मात्रै होइन नेपालका ७७ जिल्लामै मनाइँदै छ", उनले भने "सरकारले तमु ल्होसारका लागि दिँदै आएको आर्थिक सहयोग बढाउनेछ।" 

समारोहमा तमु समुदायले आफ्नो संस्कृति झल्कने खालका झाँकीसहितको नृत्य प्रस्तुत गरेका थिए। प्रधानमन्त्री दाहालले तमु समुदायको सांस्कृतिक झाँकीलाई जीवन बाँच्ने राष्ट्रिय पहिचानको मौलिक परम्पराको रूपमा चित्रण गरेका थिए। उनले तमु ल्होसारको कार्यक्रममा विशेष सुरक्षा व्यवस्था मिलाउन पनि सुरक्षाकर्मीलाई निर्देशन दिए।