गत सोमबार नेपाल आइपुगेको चिनियाँ टोलीले काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत अध्ययन थालेको छ।
काठमाडौँ- संघीय राजधानी काठमाडौँलाई चीनसँग जोड्ने काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत अध्ययनको काम अघि बढेको छ। गत सोमबार काठमाडौँ आइपुगेको चिनियाँ टोलीले काम शुरू गरेको रेल विभागले जनाएको छ।
चीन सरकारको सहयोगमा गर्न लागिएको अध्ययनका लागि यसअघि नै सम्झौता भइसकेको छ। अध्ययन शुरू गर्न आएको टोलीले विभागमा भेट गरेर छलफल गरेको विभागका महानिर्देशक रोहितकुमार बिसुरालले बताए। उनले भने, “काम गर्न उनीहरू आइपुगेकाले शुरू भएको भन्ने बुझिन्छ।” अध्ययनका लागि अवधि साढे तीन वर्ष लाग्ने विभागले जनाएको छ। अहिले केरुङबाट काठमाडौँसम्मको रेलमार्ग अध्ययन गर्न लागिएको हो ।
विगतमा चीन सरकारले काठमाडौँ हुँदै पोखरा वा लुम्बिनीसम्म अध्ययन गर्ने भने पनि तत्कालका लागि त्यो योजना नरहेको महानिर्देशक बिसुरालले जानकारी दिनुभयो।
यसअघि भएको प्रारम्भिक अध्ययनअनुसार सो रेलमार्गमा नेपालभित्रै ७२ किमी लामो देखिएको उनले बताए। केरुङबाट रसुवागढी हुँदै रेलमार्ग काठमाडौँतर्फ आउने विभागले जनाएको छ। तिब्बतभित्र केरुङबाट माथि एउटा ताल रहेको र त्यहाँबाट छुटिएर यता आउने छ। महानिर्देशक बिसुरालले भने, “तालबाट मानसरोवर जाने मार्गबाट छुटिएर यतातर्फ आउने गरी रेलमार्गको अध्ययन हुनेछ।”
पाँच वर्ष पहिले भएको सहमतिका आधारमा चीन सरकारले एलवोयू (लेटर अफ अन्डरटेकिङ) पठाएको थियो। सरकारले गत ७ गते अनुमोदन गरेको उनले बताए। सरकारले आफ्नो तर्फबाट अघि बढाउनासाथ चिनियाँ टोली तुरुन्त आइपुगेका थिए। महानिर्देशक बिसुरालले भने, “उनीहरू आउन तयार थिए र यताबाट गर्नुपर्ने काम गरिएपछि तुरुन्त आइपुगेका हुन्।”
चिनियाँ पक्षले गत नोभेम्बरमा एलवोयू नेपाल पठाएको थियो। सो कागजात विभागले अर्थ मन्त्रालय पठाए पनि लामो समयसम्म विभिन्न कारणले अलमल भएको उनले बताए। अहिले काम अघि बढेकाले चिनियाँ पक्ष नेपाल आइपुगेको उनले बताए।
विसं २०७५ मंसिरमा सो रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन भएको थियो। विसं २०७६ असोजमा चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदा सम्भाव्यता अध्ययन गर्ने भनी सहमति भएको थियो। त्यसपछि विसं २०७८ चैतमा चिनियाँ विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा अध्ययन चाँडो अघि बढाउने गरी समझदारी भएको थियो। चीन सरकारले कोभिडका कारण केही वर्षयता कतिपय योजना शुरू गर्ने भने पनि अघि बढाएको थिएन। तीमध्ये यो रेलमार्गको अध्ययन पनि एक हो।
चीनको राष्ट्रिय रेल्वे प्रशासनले केरुङ काठमाडौँ रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन सरकारलाई बुझाएपछि नेपाल र चीनका अधिकारीबीच सो विषयमा छलफल हुँदै आएको थियो। सम्भाव्यता अध्ययन प्रतिवेदनले कुन ढाँचामा कसरी रेलमार्ग निर्माण गर्ने भन्ने विषयमा थप गृहकार्य गर्न मार्गप्रशस्त गरेको थियो।
सम्भाव्यता अध्ययन प्रतिवेदनमा काठमाडौँबाट नुवाकोटको त्रिशूली हुँदै केरुङसम्मको भौगर्भिक अध्ययन, भूगोलको बनावट, रेखांकनको अवस्थासहित समेटिएको छ।
यस्तै सो रेलमार्गमा सुरुङलाई विशेष प्राथमिकता दिन लागिएको छ। प्रारम्भिक अध्ययनका आधारमा विस्तृत अध्ययन हुन लागेको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणका अवसरमा हस्ताक्षर भएका महत्त्वपूर्ण दस्ताबेजमध्ये पारवहन तथा यातायात सम्झौता रहेको थियो।
यस्तै, हिमालय वारपार बहुपक्षीय कनेक्टिभिटी सञ्जाल तथा नेपाल चीन सीमापार रेलमार्गले भूपरिवेष्टित नेपालका लागि चीनसँगको कनेक्टिभिटी सञ्जाल विस्तारमा ठूलो मद्दत पुग्ने बताइएको छ।
रेलमार्गमा ९९ प्रतिशत सुरुङ
नेपालमा आशाका साथ हेरिएको रेलमार्ग निर्माण सजिलो भने नभएको बताइन्छ। कठिन भौगोलिक बनावटका कारण अधिकांश स्थानमा रेलमार्ग सुरुङभित्र हुनेछ। प्रारम्भिक अध्ययनमा रेलमार्ग ९९ प्रतिशत जमिनभित्र र एक प्रतिशत मात्रै बाहिर हुने उल्लेख थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
