प्रदीप ज्ञवाली भन्छन्- चलिरहेको छलफल सरकारकाे दायरा विस्तार गर्नमा मात्र सीमित छ

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सङ्कटका बेला सतिसालझैँ उभिएका नेता कार्यकर्ताको भावनाविपरीत कुनै निर्णय नहुने बताएका छन्। 

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एकीकृत समाजवादीसँग तत्काल एकताको सम्भावना नरहेको सङ्केत गरेका छन्।

अहिले चलिरहेको छलफल सरकारको समर्थन र दायरा विस्तारमा मात्र सीमित भएको उनको भनाइ छ। नयाँ सरकार गठनसँगै पछिल्लो समय एमाले र एकीकृत समाजवादीबिच पार्टी एकता हुने पनि चर्चा भइरहेको छ। 

शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत उपमहासचिव ज्ञवालीले भनेका छन्, “अहिले चलिरहेको छलफल सरकारको समर्थन- दायरा विस्तार गर्नमा सीमित छ। त्यसभन्दा बाहिर चलेका चर्चा अनुमान, अतिरञ्जना र हल्ला मात्र हुन्। पार्टीभित्र र बाहिरबाट सिर्जित भयानक घेराबन्दी तोडेर आन्दोलन यहाँसम्म आइपुगेको हो।”

सङ्कटका बेला सतिसालझैँ उभिएका नेता कार्यकर्ताको भावनाविपरीत कुनै निर्णय नहुने उनले लेखेका छन्। इतिहासका केही घटना बिर्सन नसकिने र बिर्सन नहुने खालको हुने ज्ञवालीको भनाइ छ।