प्रधानमन्त्री दाहाल सरकारी निवास बालुवाटार सरे

प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार बेलुका बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा सरेका छन्।

तस्वीर : रासस

काठमाडौँ– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रवेश गरेका छन्। गत आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका दाहाल बुधबार बालुवाटारस्थित सरकारी निवास सरेका हुन्।

नेकपा एमाले-माओवादी केन्द्र नेतृत्वको गठबन्धनमा सात दल र तीन सांसदको समर्थनबाट दाहाल प्रधानमन्त्री बनेका हुन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार शीतलनिवासमा पद तथा गोपनीयताको शपथ गराएकी थिइन्।

निवर्तमान प्रधानमन्त्री एवं नेपाली कांग्रे‍सका सभापति शेरबहादुर देउवाले निवास खाली नगर्दा प्रधानमन्त्रीको सरकारी निवासमा सर्न दाहाललाई ढिलाइ भएको हो। बुधबार बिहान देउवा बालुवाटारबाट धुम्बाराहीस्थित भाडाको घरमा सरेपछि प्रधानमन्त्री दाहाल ललितपुरको खुमलटारस्थित निजी निवासबाट सरकारी निवासमा प्रवेश गरेका हुन्। 

तस्वीर : रासस

बालुवाटारमा प्रवेश गरेपछि सहरी विकास मन्त्रालयका सचिव सुरेश आचार्यले निवासको साँचो प्रधानमन्त्री दाहाल पुत्री गंगा दाहाललाई हस्तान्तरण गरेका थिए।

बुढानीलकण्ठस्थित निजी निवास हाल मर्मतका क्रममा रहेकाले देउवा भाडाको घरमा सरेको उनका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए।