नेपाल टी-२० लिग : अंक तालिकामा विराटनगरले खोल्यो खाता

नेपाल टी-२० लिगमा हुसेन टलटको अर्धशतकमा विराटनगर सुपर किंग्सले पोखरा एभेन्जर्समाथि ६ विकेटको जित निकालेको छ।

काठमाडौँ– हुसेन टलटको अर्धशतकमा विराटनगर सुपर किंग्सले नेपाल टी-२० लिगमा पहिलो जित निकालेको छ।

बुधबार सम्पन्न खेलमा विराटनगरले पोखरा एभेन्जर्समाथि ६ विकेटको जित निकालेको हो। पोखराले दिएको १४० रनको लक्ष्य विराटनगरले १७.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो।

विराटनगरका हुसेनले अविजित रहँदै अर्धशतक पूरा गरे। उनले ३० बलमा ४ चौका र १ छक्का प्रहार गरे। ओपनर अर्जुन साउद २२ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २५ रनमा क्याच–आउट भए।

अर्का ओपनर आन्द्रे म्याकर्थी २१ र पृथु बास्कोटा १५ रनमा आउट भए। विवेक यादव भने ८ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १४ रनमा अविजित रहे।

पोखराका कुशल मल्ल र शरद भेषवाकरले २/२ विकेट लिए। ४ ओभर बलिङ गरेका कुशलले २१ रन खर्चिए। २ ओभर बलिङ गरेका शरदले भने १२ रन मात्रै खर्चिए।

त्यसअघि टीयू क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पोखराले निर्धारित १९ ओभरमा ७ विकेट गुमाउँदै १३९ रन बनाएको थियो। फारवेस्ट युनाइटेड र लुम्बिनी अलस्टारको दिनको पहिलो खेल सुपर ओभरमा पुगेपछि १/१ ओभर घटाइएको थियो।

पोखराका लागि कुशल मल्लले सर्वाधिक ३७ रन बनाए। उनले १८ बलमा ३ चौका र ३ छक्का प्रहार गरे।

सिद्धार्थ लोहनी १९ बलमा ३ छक्का प्रहार गर्दै २६ रनमा बोल्ड भए। कप्तान उपुल थरंगा १९, ओपनर सुमित महर्जन १२ र अर्का ओपनर आशिफ शेख १० रनमा आउट भए।

तल्लोक्रमका प्रतीश जिशी भने ४ बलमा १ छक्का प्रहार गर्दै ११ रनमा अविजित रहे।

विराटनगरका हुसेन टलट र राज नमनले २/२ विकेट लिए। नन्दन यादव आन्द्रे म्याकर्थी र शहब आलमले ११ विकेट लिए। जितसँगै विराटनगर अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ। विराटनगरको ३ खेलबाट २ अंक छ। ४ खेलको समाप्तिसम्म पनि पोखरा जितविहीन रहेको छ।